Thursday, June 22, 2023

खासमा के हो महाभारत ?

 ग्रन्थहरूमा भनिएको छ कि महाभारत युद्धको अठार दिनमा सभ्यताको ८० प्रतिशत पुरुष जनसङ्ख्या नष्ट भएको थियो ।

युद्धको अन्त्यमा, संजय सबैभन्दा ठूलो युद्ध भएको ठाउँ - कुरुक्षेत्रमा गए । वरपर हेरेर उनी सोचमग्न भए- के युद्ध साँच्चै भएको थियो त ? आफु मुनिको जमिनले सबै रगत सोसेको पो हो कि ? कृष्ण र पाण्डवहरू अहिले उनी उभिएको ठाउँमा उभिएका थिए कि थिएनन ?
"तपाईलाई यो युद्धको सत्यता कहिल्यै थाहा हुने छैन!" कतैबाट एउटा बुढ्यौली नरम स्वर आयो ।
सञ्जयले फर्केर हेर्दा धूलोको बीचबाट पिताम्बर बस्त्रधारी एक जना बूढो मानिस देखिए ।
"मलाई थाहा छ तपाईं यहाँ कुरुक्षेत्रको युद्धको बारेमा जान्न आउनुभएको छ; तर त्यो युद्ध के हो भन्ने थाहा नभएसम्म त्यो युद्धको बारेमा तपाईंले थाहा पाउन सक्नुहुन्न,’ बूढाले रहस्यमय ढंगले भने ।
"तपाईको मतलब के हो?"
"महाभारत एक महाकाव्य हो, एक लोकगीत हो, सायद एक वास्तविकता हो तर त्यो भन्दा पनि यो एक दर्शन हो।"
सञ्जय प्रश्नको जालमा फसेको देखेर बुढा मुस्कुराए ।
"के तपाई मलाई भन्न सक्नुहुन्छ कि त्यो दर्शन के हो?" सञ्जयले अनुरोध गरे ।
"निस्सन्देह !" बुढाले सुरु गरे ।
"पाण्डवहरू केही होइनन् - तपाईका पाँच इन्द्रियहरू हुन् : आँखा, नाक, कान, जिब्रो र त्वचा । के तपाईंलाई थाहा छ कौरवहरू के हुन्?" उनले आँखा चिम्म गरेर सोधे । सञ्जयको आँखामा अन्योल देखेर उनले भने,
"कौरवहरू सयौं विकारहरू हुन् जसले तपाईंको इन्द्रियहरूलाई दिनहुँ आक्रमण गर्दछन् तर तपाईं तिनीहरूसँग लड्न सक्नुहुन्छ । तपाईंलाई थाहा छ कसरी?"
सञ्जयले थाहा नपाएको भावमा टाउको हल्लाए ।
"जब कृष्ण तपाईंको रथमा सवार हुन्छन् !" बूढो मान्छे झन् मुस्कुराए । सञ्जय बुढाको ज्ञान देखेर अचम्मित भए ।
"कृष्ण तपाईंको भित्री आवाज, तपाईंको आत्मा, तपाईंको मार्गदर्शक प्रकाश हो। यदि तपाईंले आफ्नो जीवन उहाँको हातमा राखिदिनुभयो भने, तपाईंले चिन्ता गर्नुपर्ने केही छैन।”
सञ्जय एक क्षणको लागि स्तब्ध भए तर तत्कालै अर्को प्रश्न सोधे, "यदि कौरवहरू दुर्गुण हुन् भने द्रोणाचार्य र भीष्म उनीहरूको पक्षमा किन छन् ?"
बुढाले भने- "यसको मतलब यो हो कि तपाईको उमेर बढ्दै जाँदा तपाईको बुढाहरूप्रतिको धारणा परिवर्तन हुन्छ। तपाईंको बढ्दो वर्षहरूमा तपाईंको नजरमा "पुर्ण" देखिएका ब्यक्तिहरू सबै पछि, पुर्ण हुँदैनन्। उनीहरूले पनि गल्ती गर्छन् । एक दिन तपाईंले निर्णय गर्नुपर्ने हुन्छ कि तिनीहरूमा तपाईंको विश्वास गलत थियो । हुनसक्छ वैध कारणहरूको लागि तपाईंले तिनीहरूसँग लड्न पनि आवश्यक हुनेछ । यो हुर्कनुको सबैभन्दा कठिन भाग हो । त्यसैले त गीता महत्त्वपूर्ण छ।"
सञ्जय भुइँमा थुचुक्क बसे, थकित भएको कारणले होइन । उनी यो दर्शनको विशालताले छक्क परेका थिए।
"कर्णको कुरा नि ?" उनले सुस्केरा हाले।
"ए!" वृद्धले भने । "तपाईंले अन्त्यको लागि सबै भन्दा राम्रो प्रश्न राख्नुभयो। कर्ण तपाईंको 'इच्छा' हो । तपाईंको इन्द्रियको भाइ हो । उ तपाईंको एक हिस्सा हो तर दुर्गुण संग खडा हुन्छ। उसले आफुलाई अन्याय भएको महसुस गर्छ र सधैं दुर्गुणहरूसँग रहनको लागि बहाना बनाउँछ।"
सञ्जयले सोधे, "दुर्गुण अंगाल्ने सबैभन्दा वैधानिक बहाना 'इच्छा' होइन र ?"
संजय जमिनमा हेरिरहे जुन कुनै समय रणभूमि थियो । उनको मनमा लाखौं विचारहरू उर्लिए, सबैलाई संगालेर बुझ्ने प्रयास गरे। माथि हेर्दा बूढा कतै देखिएनन ।
जीवनको सबैभन्दा ठूलो दर्शनलाई छोडेर बुढो मान्छे धूलोको बीचमा फेरी हराए।
Traslated from: https://wp.me/p1J9Lv-aB

No comments:

Post a Comment

Your comments will be highly appreciated.