Saturday, September 28, 2019

लस्ट इन शिवपुरी २


१० मिनेट बाटैबाटो हिंडेपछि खोला सुसाउन थाल्यो- बिष्णुमति खोला ।

नजिकै गएर हेर्दा देखियो सानो झरना । सफा, स्वच्छ , कन्चन पानी । काठमान्डौ बासी धेरैले बिष्णुमतिको यो रुप देखेका नहोलान र भन्यो भने पत्याउनेछैनन् ।


अब बल्ल थाहा भयो- हामी यही झरनाको माथितिर केही बेर अघि हराएका थियौं ।

तर हामी माथी लागेनौ । यो खोलाले हामीलाई अघिनै अत्याइसकेको थियो । हामी अलि पर ट्रस हालिएको ठाउँमा पुग्यौं र झर्न थाल्यौं ।

खोला सुसाइरहेको थियो । हामी ठाडो बाटो झर्दै गयौं । अप्ठेरो, पुरै ठाडो बाटो । रुखका लामा लामा जरा समात्दै झर्नुपर्ने । लड्ने र चिप्लने डर उत्तिकै । फेरि खोला झरेको आवाज बढ्दै जांदा मनमा उत्सुकता उत्तिकै । बिस्तारै रुखमा छेलीएर सेतो सेतो पानी को लाम्चो लाम्चो आकार देखिन थाल्यो ।



तल पुगिसक्दा सबै चिच्याउने र कराउने गर्न थाले । हाम्रो दिन भरिको खोजले सार्थकता पाएको थियो ।

त्यहाँ देखियो - एक भयंकर ठुलो झरना । अकल्पनीय । शायद कसैले जीवनमा यत्रो  ठुलो झरना देखेको थिएन ।



काठमाडौ नजिकै यस्तो झरना छ भन्ने कुरा धेरैलाई थाहा नहोला । खास 'बिष्णुद्वार' भन्ने ठाउँ  नै नौलो हुन सक्छ धेरैलाई । प्रचार त टाढाको कुरा  । त्यहाँको सुनसानले  यी कुरा प्रमाणित गरिरहेको थियो ।

मैले आफै काठमान्डौ छिरेको झन्डै १८ बर्षछि त्यो ठाउँको नाम सुने र पुग्ने मौका पाए।

त्यहाँ केहिबेर रमाइलो गरियो । जसको बर्णन गर्न सकिन्न ।  त्यो क्षणलाई भिडियोमा कैद गर्ने प्रयास मात्र भयो ।



फर्कदा नयाँ स्फुर्ती आएको थियो जीउमा । लुगा भिजेका थिए तर पर्वाह थिएन । मोजा भिजेको कारण मैले मोजा लगाइन ।

बाटोमा आएर काठमाडौं नियाल्यौ । देशको झन्डै १ चौथाई मान्छे कोचिएको सानो उपत्यका ।

पुर्बतिर सुर्यको सुन्तले किरणले शिवपुरी बन सुन्दर देखिएको थियो ।

पश्चिमतिर  सुर्य ढल्दै गयो ।

हामी बाटैबाटो हिंड्न् थाल्यौं । बाटोमा धेरै झरना देखिए । एउटा झर्ना अध्भुत थियो- तुर्तुरे तर अग्लो ।


हामी हिडिरह्यौ । त्यो बाटैबाटो जांदा बिहान उभो लागेको बाटोमा पुग्ने हाम्रो अनुमान थियो ।

पर एक ठाउँमा ढुङ्गा छापेको बाटाहरु देखियो । एउटा उकालो लाग्ने र एउटा ओरालो झर्ने । त्यहीँबाट झर्ने हो कि भन्ने बिचार पनि आयो । तर सिधै जाने निर्णय भयो ।

६:३० बजे । रात झमक्क पर्यो ।

अब मोबाइलको बत्ति बाल्नु पर्ने भयो। अध्यारो बढेसंगै डर पनि लाग्न थाल्यो ।

फेरि झाडीहरु आए । खोल्चाहरु आए । किराहरु कराउन थाले । तर बाटो भेटिएन ।

हाम्रो डर बढ्दै गयो ।

अब हामीलाई लठ्ठीको आवश्यकता पर्यो । सबैले हातमा लठ्ठी लियौ ।

तर जति हिंडेपनि बाटो भेटिएन ।

झन झन डरलाग्दा खोन्चहरु । रुखका छायांहरु ।

तलतिर हेर्दा अघि हामीले पुग्नुपर्ने ठाउँ भनी संकेत गरेको चैत्य परै छुटिसकेछ ।

आधा घण्टा हिंड्डदा पनि बाटो फेला परेन । हामी झन घना जङ्गलमा छिर्दै थियौं । खोलाको आवाज आइरहेको थियो । आवाज अझ बढ्दै गयो ।

बढ्दै गयो- हाम्रो डर पनि । शायद हामी फेरि हरायौ ।

एउटा खोन्चमा हामी टक्क रोकियौ ।

छङ छङ बजिरहेको खोला । घना जङ्गलमा छिर्दै गरेका हामी ४ साथीभाइ । अब खोला तरेर जङ्गल छिर्ने आट हाम्रो थिएन।

"हामी परै ढुङ्गा छापेको बाटो झर्नुपर्थ्यो ।"- सबैको एकमत भयो र हामी फर्कियौ ।

सबैमा डर थियो तर कसैले देखाएन । सबैलाई थाहा थियो - जस्तोसुकै परिस्थिति पनि चारै जनाले सामना गर्नुपर्नेछ । त्य्सैले त सबैले हातमा लट्ठी बोकेका थियौं ।

फेरि आधा घन्टा फर्किएपछि ढुङ्गा छापेको बाटो आयो । अनि हामी झर्न थाल्यौं ।

जति हामी झर्दै जान्थ्यौ त्यति हाम्रो डर घट्दै जान्थ्यो अनि आशा बढ्दै जान्थ्यो ।

"आर्मिले हामीलाई खोजे कि खोजेनन होला ? "भन्ने एउटा उत्सुकता पनि थियो ।

अनि उज्यालो देखिदै गयो । हाम्रो डर घट्दै गयो ।

अन्तत: हामी त्यहीँ आइपुग्यौ-जहाँबाट आजको हाइकिङ सुरु भएको थियो- शिबपुरी नागार्जुन निकुञ्जको गेट ।

८:०० बजे । त्यहाँ आइपुगेका थियौं । ठिक त्यही समयमा बिहान हामीले हाइकिङ सुरु गरेका थियौं ।

३९,१५८ पाइला । १२ घन्टा ।  झन्डै  ३० किलोमिटरको हाम्रो यात्रा समाप्त भएको थियो भर्खर ।

हामीले दिउसोभरी गरेको फोहोर फिर्ता ल्याएका थियौ ।
डस्टबिनमा फाल्यौ । आर्मीले मान्छेहरु फरक फरक बाटो फर्कने भएकोले सम्पर्क गर्ने नगरेको बताए ।

र हामी बाइक चढेर त्यहाँबाट फर्कियौ ।

घर पुगेर हेर्दा खुट्टामा जुका लागेछ । रगत रोक्न हम्मे हम्मे पर्यो ।

अनि फेरि खुट्टा बेस्मारी दुखेर निदाउन सकिएन । हाम्रो पहिलो हाइकिङ अबिस्वमरणिय रह्यो ।

शिबपुरी नागार्जुन निकुन्ज ।

चराहरुको चिर्बिराहट ।

पानीमुहान । पानीको कलकल आवाज । साना ठुला मनमोहक झर्नाहरु ।

ढुङ्गा छापेको बाटो । लेउ लाग्दा पनि सुन्दर ।

तल्लो देउराली ।

रुखको शितलतामा हिंड्डदाको आनन्द ।

अचम्मको सिस्नो ।

देउराली खोल्चा ।

बदेलले जोतेको माटो ।

रुखका टोड्काहरु ।

प्रलादसंग प्रसन्न भइ शिवको वाणीबाट उत्पत्ति भएकी पबित्र बागमतीको उदगम बाग्द्वार ।



शिवपुरी पिक । उड्दै गरेको बादल । शिबपुरी बाबाको मुर्ति ।

साथीभाइसंग सेलरोटी । चना । वाइवाइ । स्याउ । केरा । चक्लेट खादाको आनंद ।

चौरमा सुत्नुको मज्जा ।

सतरुद्देश्वर महादेवबाट तिनै उपत्यका, नुवाकोट, रसुवा, र सिन्धुपाल्चोकको मनोरम दृश्य ।

 कामधेनु शिला ।

अनि बाटो भुल्दाको हाम्रो कथा ।

जुकाले खाएको ठाउँमा खुट्टा ४ दिनसम्म सुन्नियो, चिलाइरह्यो ! घुडामाथी दुखिरह्यो ।  हप्ताभरि म खोच्याएर हिंडिरहे ।

TAKE NOTHING BUT MEMORIES.

LEAVE NOTHING BUT FOOTPRINTS.



(#unicode not edited to perfection)













Monday, September 23, 2019

लस्ट इन शिवपुरी - १


हामी ८ घन्टामा २०  किलोमिटर हिंडिसकेका थियौं । 

खुट्टा बेस्मारी दुख्न थालिसकेका थिए  

अब हामी बिष्णुद्वारको खोजमा निस्केका थियौँ । बाटो हामीलाई थाहा थिएन । बाग्द्वारशिवपुरी चढ्दा भेटिए जस्ता साइनेज अब देखिन छाडे । भेटिएका साइनेजको अवस्था पनि दयनीय थियो । नुवाकोटको शिवपुरी गापाको स्थानीय बताउने दुई युवाको जानकारी पछ्याउँदै हामी मुलबाटो (ढुंगा छापिएको सिंढी) छाडेर पश्चिमतिर झर्न थाल्यौं ।

दुई जना साथिहरु (सुमन भाई र लबेन्द्र सर) मानिरहेका थिएनन् । थाहा नभएको बाटो नजाउं भन्न्रे उनीहरुको ध्यय थियो । तर दुई जना कन्चन (म र मेरो भाई) को लहडमा हामी हिडि रह्यौ । बाग्द्वार उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो । कम्तीमा त्यहि बाटोमा हामी निस्किन्छौँ भन्ने हाम्रो अपेक्षा थियो । तर बाटो सोचेजस्तो सहज थिएन । मान्छे नहिडेको, सुनसानअनकन्टार बाटो । कतै रुख ढलेर बाटो छेकिएको, कतै हिंड्दा हिंड्दै बाटो अन्त्य हुने । तैपनि बाटो पहिल्याएर हामी हिंडिरह्यौ ।




सुमन भाइले १० चोटि "हामीले त्यो दुई मान्छेको कुरा सुन्नु नै गल्ती भयो भनिरह्यो ।"

तर हामी हिंडिरह्यौ ।

५-१० मिनेट हिंडेपछि सुमन भाई र लबेन्द्र सर पनि "फर्कौ" भन्न छाडि सकेका थिए । अब उकालो फर्कन सम्भव थिएन  । तर हामी झरिरहेको ओरालो बाटोले कहाँ पुर्याउंछ भन्ने पनि ठेगान थिएन । गलत बाटो हिंडीरहेका पो छौं कि भन्ने डर पनि थियो ।  तर हामी पश्चिमतिर एक पछि अर्को डाँडा काट्दै झर्दै गयौं ।  

अचम्मको कुरा- हाम्रो खुट्टा अब दुख्न छोडिसकेका थिए

झन्डै ४-५ किलोमिटर हिडेंपछि खोला सुसाएको आवाज आउन् थाल्यो । बिस्तारै आवाज बढ्दै गयो । डरलाग्दो आवाज - नजिकिँदै गयो । अन्ततः हामी एउटा खोंचमा आइपुग्यौं । अँध्यारो डरलाग्दो खोंच । तर छंगछंग बगिरहेको कन्चन पानी । पारि तर्न बनाइएको काठको पुल । भिमकाय ठुलो ढुंगा । ढुंगामुनि वडार । वडारमा विभिन्न देवीदेवता स्थापना गरी पुजा गरिएको । ढुंगाका देवताहरु । बुद्धका प्रतिमाहरु । धुपबत्ती बालिएको अवशेषहरु । हिन्दु र बौद्द धर्मको अनुपम समागम । तोरण र ध्वजापताकाहरु खोलाभरि टाँगिएको । रहस्यमय ठाउँ ।



त्यस्तो धार्मिक आस्थाको ठाउँमा कुनै साइनेज भने थिएन ।

काठको पुल तरेपछि बाटो उकालो लाग्यो । ल फसाद पर्यौ !




त्यो अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा शायद हामी हरायौँ ।

हामीलाई थाहा थियो - शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको गेट पुग्न हामीलाई तल झर्नु छ । निकुन्जको गेटमा पनि छंग—छंग खोला बगिरहेको थियो । खोला तरेपछि पक्कै टोखा पुगिन्छ ! हाम्रो सवारी साधन निकुन्जको गेटमा थियो । टोखा जाने हाम्रो बिकल्प थिएन ।

शायद खोला तरेर सिंढी उक्लदै बिष्णुद्वार जाने बाटो पो थियो कि ?

त्यो अवस्थामा हामी चारै जना डराएका थियौं ।

हुनत खोलाबाट तलतिर काठको सिंढी पनि देखिएको हो । त्यहिँ सिंढीबाट निस्कने बाटो पो छ कि भन्ने पनि लागेको हो । लबेन्द्र सर त्यतैबाट जाउँ भन्दै पनि हुनुहुन्थ्यो ।

तर हामीले आँट गर्न सकेनौं । खोला पनि डरलाग्दो गरि सुसाइरहेको थियो । शायद लबेन्द्र सर पनि डराउनुभएको थियो । उहाँले पनि कर गर्नुभएन   

र हामी फर्कियौं ।




हामी त्यही बाटो फर्किन थाल्यौं जुन बाटो झरेका थियौं । केहि माथि डाँडामा पुगेपछि अलिकति सास आयो । ४ बजेको थियो । उज्यालो बाँकी नै थियो ।  हामीलाई निकुन्जको गेटसम्म पुग्नु छ । तर कसरी ? एउटा उपाय थियो ।

बनै बन तल झर्ने ।

र हामी बनै बन तल झर्न थाल्यौं । रुख, बुट्यान, घाँस, पात-पतिंगर, हाँगा, जरा समात्दै । लड्दै पड्दै । माकुराको जालोसँग पौंठेजोरी खेल्दै । अनुहारभरी माकुराको जालो लागेपनि केहि पर्वाह थिएन । हामीलाई बाटो निस्कनु थियो ।




"निकुञ्जले हेलिकप्टर पठाएर रेस्क्यु गर्छ कि?" भन्ने ठट्टा गर्दै हामी झर्यौ । अर्को ठट्टा चाहिँ हाम्रो हालत 'गोदावरीमा हराएको बालक जोनको जस्तो हुने हो कि ?' भन्न्ने थियो ।  

१० मिनेट तल झरेपछि केहि खुल्ला ठाउँ जस्तो देखियो । अलि आशा पलायो ।

नजिकै गएर हेर्दा हाम्रो आशा टुट्यो ।

त्यहाँ थियो - ठुलो अजंगको भिर । चट्टानै चट्टानले बनेको ।

अनि फेरी हामी फर्कियौं । भीरको अर्को कान्लोतिर । र फेरी झर्न थाल्यौं । र फेरी खुल्ला ठाउँ जस्तो देखियो ।

अलि तल झरेपछि बाटो देखियो । मोटर गुड्न सक्ने कच्ची बाटो ।

अब हाम्रो खुसीको सीमा रहेन । हामी घाँस समात्दै हतार हतार झर्यौं । अन्ततः बाटो भेटियो ।




र हामी बाटै—बाटो लाग्यौं पूर्वतिर । किनभने बिहान बाग्द्वार उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो ।

अलि पर पुगेपछि तीन जना केटाहरु घाम तापिरहेका भेटिए । हामीले उनीहरुलाई भिडियो देखाउंदै एउटा अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा पुगेको बिबरण सुनायौं ।

उनीहरुले हास्दै भने- त्यहिँ ठाउँ हो बिष्णुद्वार !

वी वेर शक्ड !
वी वेर स्पीचलेस !

र उनीहरुले बिष्णुद्वार भन्दा केहि तल रहेको आकर्षक झरनाको फोटो देखाए । त्यो झरना अलि पर यही बाटोमुनि रहेको बताए। फोटो देखेपछि हामीले आफुलाई सम्हाल्न सकेनौं । हामी फेरी आएकै बाटो फर्कियौं- त्यो मनमोहक झरना हेर्न ।

पश्चिमतिर दिन ढल्दै थियो ।

हामी फेरि अर्को संकटमा पर्दैछौं भन्ने कुराको भेउ हामिलाइ थिएन ।

(लस्ट इन शिवपुरी २ केही दिनपछि ।)








Monday, February 25, 2019

प्रधानमन्त्रीलाई खुल्लापत्र


पशुपति शर्माले गीतमा उठाएका प्रश्न:
हाम्रा पनि प्रश्न हुन् ।


प्रिय प्रधानमन्त्रीमन्त्रीज्यु,
नमस्कार !

सरकार गठनको १०० दिन पुग्दै गर्दा हजुरले भन्नुभयो - "बच्चा पाउन त नौ महिना लाग्छ । अहिल्यै कहाँबाट ल्याउने रेल र पानीजहाज ?" हामीले रेल र पानीजहाजमा त्यति जोड  कहिल्यै गरेका थिएनौ तर नमागेकै कुरा पुर्याइदिने मनकारी प्रधानमन्त्री पाएपछि दङ्ग पर्यौ । हजुरको सरकार रेल र पानीजहाज मात्रै विकास हो भन्ने जबर्जस्त मानसिकता बनाएर बस्यो । भर्खरै सरकार गठनको एक वर्ष पुग्दै गर्दा सरकारले विकासको आधार तयार भएको रिपोर्ट कार्ड निकाल्यो । संचारमन्त्रीले समुन्द्रको छालजस्तै काम अघि बढेको दाबी गरे । भोलिपल्टै लोकगायक पशुपति शर्माको भाइरल गीत 'लुट्न सके लुट कान्छा'ले सरकारको 'सफलताको सूची'मा कालो पोत्ला जस्तो भो । गीत सरकारलाई  टाउको दुखाई बन्दै गएको र सरकार गीत प्रतिबन्धित गर्ने मुडमा पुगेको समाचार बाहिरियो । हजुरका उग्र कार्यकर्ता सामाजिक संजालमा कुर्लिए । अन्तत: कुनै गल्ती नै नगरेका, जनताको मनको गीत गाएका पशुपति शर्मा माफी माग्दै युट्युबबाट गीत हटाउन बाध्य भए ।

राणा र पंचायतकालिन झल्को दिने शासकिय प्रवृति हामीले यसै हप्ता भोग्यौ, बेहोर्यौं - हामीले बिश्वास गरेर दुई तिहाई मत दिएको सरकारले एक वर्ष पुरा गरेको अवसरमा । भ्रष्टाचार माथि व्यंग्य गरिएको गीतमा आकासनै खस्ने वा धर्तीनै भासिने कुनै विषय थिएन । विवेकसम्मत रुपले सोच्ने हो भने गीत सरकारलाई पृष्ठपोषण थियो । जनताको दैनिक जीवनयापन सहज पार्ने गरी काम गर्न मार्गदर्शन थियो । सरकार र विशेषगरी हजुरका कार्यकर्ताले गीतको सतही अर्थ निकाले । गीतको गुदी बुझ्न सकेनन् र बोक्रामै अल्मलिए । आठ अन्तरा रहेको गीतमार्फत गायकले निम्न प्रश्न उठाएका थिए :

१.    आफ्नो सन्तानलाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयको स्थायी शिक्षकले विद्यालयमा कस्तो पढाउँछ ?
२.    सरकारी तलबभत्ता खाने सरकारी डाक्टर कार्यालय समयमा किन निजी क्लिनिक धाउँछ ?
३.    थोरै तलब खाने, सानो तहको सानो कर्मचारीले छोटै अवधिमा शहरमा कसरि महल बनाउँछ ?
४.    गरिब देशकी आलंकारिक रास्ट्रपतिलाई किन राजसी ठाँटबाँटको मोह जागेको हो ?
५.    वाइडबडी र सुनकाण्डजस्ता भ्रस्टाचार र तस्करीका विषयहरु किन ओझेल पर्दै छन् ?
६.     जनतालाइ सहज हुने ट्राफिक बत्तीहरु सडकमा जोड्दा सरकारको ढुकुटी नै रित्तिने हो र ?
७.     सडक बनाउने जिम्मा लिएको ठेकदारले बाटो झनै बिगारेर जनतालाइ सास्ती दिंदा सरकार किन कानमा तेल हालेर बस्छ ?
८.    स्वर्गजस्तो देशमा यमराजको शाशन किन भो ? किन सबै जना लुट्नै पर्ने मानसिकता बोकेर हिंडेका छन् ?

गीत समयसान्दर्भिक छ । साथै व्यंग्यात्मक पनि छ । व्यंग्य भन्नु नकारात्मक वा सकारात्मक हुँदैन । व्यंग्य भन्नुनै घोचपेच हो । कसैलाई कलामार्फत घोचेर जगाउनु व्यंग्य हो । व्यंग्यमा बोल्नेले उल्टो समेत बोल्छ, तर बुझ्नेले सुल्टो बुझ्नुपर्छ । हजुरजस्तो व्यंग्य चेत भएको ब्यक्तिलाई यो ज्ञात नै छ । यहाँ देशको बागडोर सम्हालेको हजुरको शासनलाई व्यंग्य गरिएको छ । यसबाट सरकार त ब्युझिनुपर्ने हो । कार्यकर्ता समेत सचेत र जागरुप हुनुपर्ने हो । किनभने गीतमा उठाइएका विषय जनचासोका विषय हुन् । जनताको दैनिक जीवनयापन प्रभावित गर्ने विषय हुन् । जनताका प्रश्न हुन् । हाम्रा प्रश्न हुन् । हामीले यिनै प्रश्नको सम्बोधन गर्न दुई तिहाई मत दिएर यो सरकार बनाएका हौं । हाम्रो मत, हाम्रो बिश्वास यी प्रश्नको सम्बोधन गर्न हो, यी प्रश्न प्रतिबन्धित गर्न होइन ।

प्रिय प्रधानमन्त्रीज्यु,

गायक पशुपति शर्माको कन्ठबाट निस्केको आवाज नेपाली जनताको आवाज हो । भलै उनले माफी माफी माग्दै सच्याएर अप्लोड गर्ने वाचा गरेका किन नहुन् । अब यो गीतलाई नेपाली जनताले अर्को रुपमा स्विकार्दैनन् भन्ने कुरा युट्युबमा छिन छिनमा भैरहेको अप्लोडले प्रमाणित गरिरहेकै छ । गीतको एक शब्द मात्र चलाउदा पनि गीतको भाव मर्नेछ । गीतमा रास्ट्रपतिलाई विवादमा तानिएको विषय पनि गलत हो । किनभने सार्वभौम जनता हुन् । जनता भन्दा माथी कुनै संस्था छैनन् । संस्था पनि ब्यक्ति बाटै बन्ने हो । यो संसारमा भगवान त आलोचनामुक्त छैनन् भने संस्था आलोचना मुक्त हुने कुरै हुँदैन । सम्मानित संस्थाले पनिठिकै छ, म गरिब देशकि रास्ट्रपति, मलाई ठुलो सुख सुबिधा चाहिन्नभन्न सक्ने उदारता देखाउन सकेको भए जनतामा उहाँप्रतिको आदर कति बढ्थ्यो होला  हजुर ?

अनि एक जना गायकलाई आफ्नो सृजनाको घांटी न्याक्न बाध्य पार्ने हजुरका कार्यकर्तालाई के कारबाही हुन्छ हजुर ? सामाजिक संजालमा बाहुबली देखाउने, खुल्लम खुल्ला डर, धाक धम्कीको भाषा प्रयोग गर्ने छुट उनीहरुलाई कसले दियो ? सडकबाट गाडी गुल्टेर सयौंले ज्यान गुमाउँदा खासै वास्ता नगर्ने हजुरको सरकार सामाजिक संजालमा आउने प्रतिक्रियाले किन तरंगित हुन्छ ? सरकार किन प्रतिकृयात्मक बनेको हो ? प्रत्येक झिनामसिना क्रियामा प्रतिक्रिया जनाउनु जरुरी छ र हजुर  ? अनि आलोचना गर्नेहरु सबैलाई काङ्ग्रेसिको बिल्ला किन भिराइन्छ ? यति हो सत्तासिन पार्टीको चेतनाको स्तर ?

प्रिय प्रधानमन्त्रीज्यु,

सुचना र संचार प्रविधिको आजको युगमा बिचार र अभिव्यक्ति स्वतन्त्रताको महत्व कति छ भन्ने कुरा त्यही स्वतन्त्रताको लागि बर्षौ जेलनेल भोग्नुभएको हजुरलाई भनिरहन परोइन । हजुरले त्यो स्वतन्त्रताको राम्रै उपयोग गरिरहनुभएकै छ । हजुरको बोल्ने स्वतन्त्रतामा कसैले हस्तक्षेप गरेको हजुरलाई स्वीकार्य छ ? पक्कै छैन् । तर हजुरको लोकतान्त्रिक सरकारले सामाजिक सन्जाल नियमन गर्ने कानुनलाई किन प्राथमिकतामा राखेको छ ? सामाजिक संजाल बिकास र समृद्धिको बाधक हो र हजुर ? लोकतान्त्रिक दाबी गर्ने सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सेन्सर सीप गर्ने कुरा कसरी सोच्न सक्छ ?

मानौँ, सामाजिक संजालमा सेन्सरसिप लाग्यो । त्यो कार्यान्वयन हुन्छ चाहिँ कसरी ? बिश्वको कुना कुनाबाट प्रयोग हुने संजाल नियमन गर्ने हैसियत छ हामीसंग ? त्यस्तो मिहिन कार्य गर्न सक्ने ल्याकत, पूंजी, प्रविधि र जनशक्ति छ त हामीसंग ? आज पशुपति शर्माले एउटा गीत हटाउँदा सोही गीत हजारौंले अप्लोड गरिरहेका छन् । सरकारले यसबाट सिकोस् । र बिकासको मुल मुद्दामा आफ्नो ध्यान केन्द्रित गरोस् 

हजुरको सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम राम्रो छ । नेपालको पानी जनताको लगानी, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम पनि राम्रा छन्  । तर त्यी कार्यक्रमले हाम्रो जनजीवनलाइ छोइसकेका छैनन् नि त हजुर । जुनदिन हाम्रो जीवनलाई छुनेछन्, त्यस दिन हामी प्रसंशा नै गरौंला । तर आज सरकारका सकारात्मक कार्यक्रमहरुको प्रशंसा भएन भनेर चित्त नदुखाईदिनुहोला ।

प्रिय प्रधानमन्त्रीज्यु,

हजुरले देशविदेश घुम्नुभएको छ । संसार देख्नुभएको छ । हजुरलाई सुझाव दिने हैसियत त हामी राख्दैनौ । तर सरकार बाटोको भेउ नपाएर अलमलिएको जस्तो देखिएकोले जनताको जीविकासंग सम्बन्ध राख्ने, “काम गर्न १०० दिन पनि नलाग्ने८ सरल  सुझाव/प्रश्नहरु गायक पशुपति शर्माले उठान गर्नुभएको ८ प्रश्नमा थप गर्ने धृष्टता यहाँ गरिएको छ कुनै माध्यमबाट हजुरकहाँ पुग्नेछन् र मनन हुनेछन् भन्ने आशा छ ।

१.  सडकमा ट्राफिक नियम कडाइपुर्वक लागु गरियोस्  । नियम मिच्नेलाई सके जेल नसके भारी जरिवानाको व्यवस्था होस् । जरीवाना तिर्न महिनौं लाग्ने भएपछि कसले मिच्छ नियम ? सडकको प्रभाव अरु क्षेत्रमा पनि पर्छ । सरकारको मुड सबले थाहा पाउँछन्  । यति काम गर्न विकासको आधार तयार पारिरहन पर्छ र हजुर?
२.  शहरहरुमा फोहोर व्यवस्थापनको लागि जैविक/अजैविक छुट्टिने गरि कन्टेनरहरु राखियोस् । उपयुक्त व्यवस्था गरि पोलिथिन निषेध गरियोस् । सार्वजनिक स्थानमा धुम्रपानजस्ता कसुरहरु निषेध होउन् । यी सबै कसुरको लागि माथिको जस्तै कडा कारवाही होस् । कानुनहरु छँदै छन्, थोरै समयानुकुल परिमार्जन गरे पुग्छ । यति काम गर्न कति समय लाग्छ हजुर ?
३.  सिण्डिकेटले सारै दुख पाइयो हजुर । एक बर्ष अघि प्रक्रिया सुरु भएको- नियम कानुन बनिसक्यो होला नि । अब त सिण्डिकेट हटाइदिनुस् ! सार्वजनिक सवारीको सास्तीले साना दुइपाङ्ग्रे, चारपाङ्ग्रे साधन किन्ने बाध्यता छ । सडकहरु साँघुरा हुँदै छन् ।   अगाडि पछाडी दुवैतिर ढोका भएका ठुला -ठुला बसहरु चलाउने वातावरण बनाइदिनुस् । अनि बिस्तारै साना-साना सवारीको आयात घटाइदिनुस् । यति गर्न कति समय लाग्छ हज्रुर ?
४.  महंगीले बाँच्न गाह्रो भो हजुर । पेशागत संगठन मार्फत मूल्यसुची तय गर्ने परिपाटि अन्त्य होस् । भर्खरै लेख्दा लेख्दै जेन्ट्स कपाल काटेको मुल्य १३० रुपयाँ पुग्यो । बजार त खुल्ला बजारको आधारमा चल्नुपर्ने होइन र हजुर ? बजार अनुगमन गरि कार्टेल गर्ने, मिलेमतो गर्ने, कालाबजारी गर्नेलाई कडा कारवाही होस् । सरकारले किसानलाई हेरोस् । कृषिउपजको किसानले उचित मुल्य पाउन् । बिचौलिया नियन्त्रण गरि उपभोक्तालाई राहत दिइयोस् । सीमामा कडाई गरि ब्यापारीक बस्तुको सहज आपूर्ति होस् यति गरेपछि मूल्यबृद्दिको तथ्यांकमा बुद्धिजीवीसंग किन बहस गरिरहन पर्यो हजुर ?
५.  १० वर्ष अघि पिच रहेका सडक अहिले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे छन् । वर्षामा पानी परेकोले हो, हिउँदमा सबै पिच हुन्छन् भन्नुभएकोले दंग परेर बसियो । अब फेरी अर्को वर्षा आउन लागिसक्यो । सडक पिच हुने हिउँद कहिले आउँछ हजुर ?
६.  रास्ट्रसेवक कर्मचारीदेखि सार्है आजित छौं हजुर सरकारी कार्यालय जान पनि दर्है मुटु चाहिन्छ उहाँहरु शासक हो कि सेवक हो ? उहाँहरुले मिठो बोल्दा पाप लाग्ने हो कि उहाँहरुले बोल्दा पैसा लाग्ने हो हजुर ? उहाँहरुलाई मिठो बोल्न, समयमा कार्यालय आउन-जान, जनताको काम समयमै गर्न आदेश दिन मिल्दैन ? सयौं कानुन बनिरहेकै छन्, कर्मचारी 'फायर' गर्ने कानुन बनाउन कति समय लाग्छ हजुर ?
७.  सार्वजनिक पदाधिकारी कर्मचारीलाई सम्पति विवरण भराएर, बोरामा हालेर, पोको पारेर के प्रयोजनको लागि राखिएको हो ? देशमा हजारौ आइटी एक्स्पर्ट छन् । अख्तियारले एउटा सफ्टवेयर बनाएर अध्ययन गर्ने ब्यबस्था गर्न मिल्दैन ? अकुत अवैधानिक सम्पति आर्जन गर्ने र भ्रस्टाचार गर्नेलाई जेल कोच्न अब देशले कति समय कुर्नुपर्ने हो हजुर ?
८.  अन्त्यमा, सरकार आफैं सधैं आसेपासे, कार्यकर्ताको स्तुतिगानमा रमाइरहनु पर्ने हो हजुर ? चुनाबमा सहयोग गर्नेले मात्र तपाईंसंग पहुँच पाउनुपर्ने हो ? तपाईंलाई भोट हाल्ने मात्र तपाईंका जनता हुन् ? प्रतिपक्षी वा विपक्षी, बुद्धिजीवी वा   तपाईंलाई भोट नहाल्ने अरु- सबै तपाईंका जनता होइनन् ? तपाईं हामी सबैको प्रधानमन्त्री होइन ? देशमा थिति बसाईदिनुस्, कसैलाई काखा कसैलाई पाखा गर्नै पर्दैन नि हजुर । जनताले गर्बसाथ मेरो प्रधानमन्त्री भन्ने दिन कहिले आउँछ हजुर ?

बस्, तत्कालै हामीले चाहेको यत्ति हो । हामीसंग ठुला ठुला इच्छा आकांक्षाहरु छैनन् । बस दैनिक जीवनयापन सहज होस् भन्ने चाहेका छौं । देशमा थिति बसोस्, गरि खाने वातावरण बनोस् भन्ने चाहेका छौं । आफ्नो परिवारसंग बिछोडिन नपरोस् भन्ने चाहेका छौं । देशमा थिति बसेपछि देशभरी पक्की सडक पनि बन्ला । राष्ट्रिय गौरवका आयोजनाहरु पनि कार्यान्वन होलान् । जलबिद्युत आयोजनामार्फत बिद्युत निर्यात पनि गरौंला । रेल र पानीजहाजमा शयर पनि गरौंला ।  सरकारले सुरु गरेका राम्रा कामको प्रसंशा पनि गरौंला । आज पशुपति शर्माको गीत सुनेर मन भुलाउने चेस्टा गरेका हौं । उनले गीतमा उठाएका प्रश्न - हाम्रा पनि प्रश्न हुन् ।  हाम्रो प्रश्न गर्न पाउने हकलाई गणतन्त्रमाथिको प्रहार नसम्झीदिनुस् ।  झन्डै पौने शताब्दी लगाएर बनाएको संबिधानले दिएको हाम्रो बिचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई नखुम्च्याइदिनुहोस्  । बिन्ती छ !

आम नेपाली जनताको तर्फबाट 

यो ब्लग पहिलोपोस्ट मा सम्पादित शीर्षक सहित पढ्न सकिन्छ