Monday, July 31, 2023

जीवनका मौसमहरू

एक जना मानिसका चार छोराहरु थिए। उनी आफ्ना छोराहरूले कुनै पनि कुराको बारेमा हतारमा धारणा बनाउन नसिकून् भन्ने चाहन्थे। त्यसैले उनले तिनीहरूलाई एउटा खोजमा पठाए, पालैपालो- एक वर्षभित्र धेरै टाढा रहेको नाशपातीको रूख हेर्न।

पहिलो छोरा जाडोमा, दोस्रो वसन्तमा, तेस्रो गर्मीमा र कान्छो छोरा शरद ऋतुमा गयो।

जब तिनीहरू सबै फर्के, उनले तिनीहरूलाई एकसाथ बोलाए । र आफुले देखेको कुराको वर्णन गर्न लगाए ।

पहिलो छोराले रुख कुरूप, झुकेको र कुप्रीएको कुरा बतायो ।

दोस्रो छोराले उक्त कुरा स्विकारेन । "रुख त हरियो, कोपिलाले ढाकिएको, र फलको आशा गर्न सकिने, आशालाग्दो देखिएको थियो।"

तेस्रो छोरा त्यसमा असहमत भयो । उसले भन्यो कि "रुख फूलले भरिएको थियो जसमा धेरै मीठो सुगन्ध थियो । रुख आफैंमा धेरै सुन्दर थियो ।" र यो उसले जीवनमा  देखेको सबैभन्दा सुन्दर चीज थियो ।

अन्तिम छोरा ती सबैसँग असहमत थियो; उसले भन्यो कि "रुख पाकेका फलले भरिएको; जीवन, पूर्णता र तृप्तिले भरिएको थियो।" 

त्यसपछि  ती मानिसले आफ्ना छोराहरूलाई- तिनिहरू सबै ठीक छन् भनी व्याख्या गरे, किनभने तिनीहरूले रूखको जीवनमा एउटा मात्र मौसम देखेका थिए ।

उनले तिनीहरूलाई भने कि तिमीहरूले रूख वा व्यक्तिका बारेमा केवल एक मौसमले मात्र धारणा बनाउन सक्दैनौ । तिनीहरू को हुन् भन्ने सार - र त्यो जीवनबाट प्राप्त हुने आनन्द र प्रेम - तबमात्र मापन गर्न सकिन्छ, जब सबै मौसमहरूको समग्रतालाई हेरिन्छ ।

यदि तपाईंले आफ्नो जीवनको "जाडोको समयलाई हेरेर हार मान्नु भयो भने, तपाईंले आफ्नो वसन्तको आशावादीता, तपाईंको गर्मीको सुन्दरता र तपाईंको शरदको पुर्णतालाई गुमाउनुहुनेछ।"

एउटा कठिन मौसमको आधारमा जीवनको मुल्यांकन नगर्नुहोस्। एक मौसमको पीडाले बाँकी सबै मौसमको आनन्दलाई नष्ट गर्न नदिनुहोस्।

Translated from https://steemit.com/writing/@noime/things-i-learned-from-life-the-four-seasons-inspirational-story

   

Monday, July 3, 2023

सच्चा गुरु

महान् संतहरू मध्ये एक- कबीर दासको जीवनको एउटा कथा प्रसिद्ध छ। उनी एउटा कुम्भ मेलामा गए र त्यहाँ उनलाई सोधियो, "यो ठूलो भीडमा के तपाई एक जागृत प्राणी, वास्तविक गुरुलाई चिन्न सक्नुहुन्छ?"
कबीर दासले भने, "म प्रयास गर्नेछु।" उनले एउटा लठ्ठी उठाए र एउटा 'गुरु' लाई हिर्काए। 
ती 'गुरु' रिसाए र भने , "मलाई हिर्काउने हिम्मत तलाइँ कसरी भयो? " 
कबीर दासले भने, "उनी सच्चा गुरु होइनन्।" 
उनले अर्को 'गुरु'लाई लठ्ठीले हाने । गुरुका चेलाहरू क्रोधित भए र कबीर दासलाई कुटपिट गरे। तिनीहरूका 'गुरु' ले आँखा खोले तर केही बोलेनन् । 
र कबीर दासले भने, "उनी पनि सही गुरु होइनन्।" 
त्यस प्रसिद्ध कुम्भ मेलाको अवधिभर, कबीर दासले 'गुरुहरू' लाई लठ्ठीले हिर्काइरहे । 
अन्ततः, उनले एक जना भेट्टाए, जसले कबीर दासले प्रहार गरेपछि भने, "बस्, प्रिय युवक । तिम्रो हात दुखेको हुनुपर्छ। निस्सन्देह मैले पीडा महसुस गरेको छु तर तिमीले महसुस गरेको  पीडाको पनि कल्पना गर्न सक्छु। मलाई तिम्रो हात मुसार्न देउ र तिमीले मलाई हिर्काउँदा महसुस गरेको पीडाबाट राहत दिन देउ।" 
कबीर दासले भने, "उहाँ नै सच्चा गुरु हुनुहुन्छ!" 

महान ब्यक्तिहरुका अनुसार साँचो गुरुलाई निम्न रंगहरुले प्रतिबिम्बित गर्दछ:-
1. नीलो रंग - गुरुमा आकाशको विशालता हुनुपर्छ। गुरुमा  संकीर्ण सोच हुन सक्दैन। 
2. रातो रंग - बहादुरी, प्रेम र धैर्य को प्रतिमुर्ति। साहस बिना साँचो प्रेम गर्न सकिन्न । 
3. हरियो -  संसार कल्याणको दृढ संकल्प। 
4. पहेंलो - मन, विचार र कर्मको शुद्धता । 
5. कालो - उदासहीनता (उदास/दुखी नहुने ) र अनासक्त । 
6. सेतो - गुरु शान्तिप्रिय हुनुपर्छ र अरूलाई शान्ती दिलाउने क्षमता हुनुपर्छ। 

आजको हाम्रो समाजको समस्या नै सच्चा गुरुहरुको अभाव हो ।  जसरी 'बलेको दियो'ले  मात्र अर्को दियो बाल्न सकिन्छ । निभेको  दियोले बाल्न सकिन्न ।आफुमा 'जागृत' गुरुले मात्र समाजलाई सहि बाटो देखाउन सक्छ ।

मेरो जीवनमा उज्यालो छर्दिनुहुने सम्पुर्ण गुरुहरुमा नमन 🙏