Wednesday, May 21, 2014

दामन.....द म्युजिकल जर्नी


सन्नी लिओनीहरु 'बेबी डल में सोने दि' भन्दै छमछम नाच्ने यो 'निस्सासिँदो काठमाडौँ' छाडेर नौबिसेको उकालो लागेपछि हाम्रो वास्तविक यात्रा सुरु भयो । त्रिभुवन राजपथको यो पुरानो बाटो सुरु भएसंगै शुक्ला म्यामले एउटा पुरानो चर्चित लोक-भाकाबाट संगीतमय यात्राको सुरुवात गर्नुभयो ;

मेरो माया लाग्दछ भनी,
अलि वर आइदेऊ न सान्नानी,
बल्ल पर्यो निरमाया माकुरी जालैम..........




त्रिभुवन राजपथ फनफनी घुम्दै डाँदै-डाँडा उकालो लाग्यो । दुर-दुर सम्म डाँडा माथी डाँडा देखिए । शायद, यही भू-बनोटले हाम्रा लोक कलाकारहरुलाई 'नौ-डाँडापारिका' गीतहरु  लेख्न र गाउन प्रेरित गरेको होला । प्रकृतिको यो रमणीय छंटाको दर्शन पन्छी बनेर गर्न पाए कस्तो हुँदो हो । साँचै,  संसारमा कहीं-कतै होला यस्तो कुनै देश ? हाम्रो यात्रा अघि बढ्दै गयो  । प्रकृतिले लठ्याउँदै लग्यो हामीलाई । यी डाँडा, पाखा र पर्वतले लोभ्याउँदै लगे हामीलाई । बेपत्तासँग हाम्रो 'मोटर' गुडीरह्यो। सबका ओठहरुमा लोक भाकाहरु सल्बलाई रहे ;

उकालीमा पनि हजुर मोटर जाँदो रैछ,
ड्राइभर दाईलाई शासन, माया सलल जाउँ हिंड रेलैमा !
इन्द्रकमल फुलको हजुर बोटै मरी गयो,
चल्नै छाड्यो वासना, माया सलल जाउँ हिंड रेलैमा..........




नागबेली मार्गमा मोडहरु छिचोल्दै पहाड उक्लिनुको आनन्द पनि बिछट्टको हुने रैछ . पहाडका कुना कन्दराहरुमा फाट्टफुट्ट मात्र गुराँस फुलेको देखिए . गुराँसको याम भर्खरै सकिएको थियो . नत्र त बनभरी ढकमक्क गुराँस देखिँदो हो . मन त्यसै-त्यसै बहकिँदो हो . एक ठाउँमा बाटोमा काफल र ऐंसेलु बेच्ने भुरा-भुरीलाई देखेपछि त मैले पनि मेरो ‘बचपना’लाई सम्हाली राख्न सकिन . अरुसँगै काफल किन्न म पनि गुरुरु कुदें . कुनै त्यस्ता दिन थिए, जतिखेर ऐंसेलु, चुत्रो, काफल र गुराँस खान साथीहरुसँग म पनि बन-बन कुदी हिंड्थे- तिनै केटाकेटीहरु जस्तै . तिनीहरुसँग काफल किनेर खाँदै गर्दा वाल्यकालका उत्पट्यांगहरुले ‘नोस्टाल्जिक’ बनाइरहे . लालमान दाईले गाडी कुदाईरहेका थिए . अहिलेनै गाडी चिप्लिहाल्छ कि जस्ता अत्यासलाग्दा भीरहरु देखेर म तर्सिरहें, रोमान्चित भैरहें . घुम्तीहरु आईरहे, गइरहे . ‘अन्तिम-अक्षरी’ सुरु भयो . शुक्ला म्याम, सुवास-सन्तोष-कुमार सरले आफ्नो कोकिलकन्ठी आवाजमा गाईरहे;

घुम्तीमा न आऊ है, आँखा तिमी जुधाउन !
बाँधिए माया फेरी, गारो हुन्छ छुटाउन..........



हामी टिस्टुंग पुग्यौ . खोलाको चिसो कन्चन पानीमा मुख धुँदा सबै थकान गायब भयो . साथीहरु त्यही चिसो पानीमा कोक र पानीका बोतल डुबाएर चिस्याउन थाले . मास्तिर अग्लो पहाड, तलतिर कलकल बग्ने खोलाले हामीलाई रक्तिमको त्यही जनवादी गीत सम्झाईरह्यो;

सुकेर जाँदैन, रोकेर रोकिदैन,
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी,
झरनाको चिसो पानी......................................




लालमान दाईको एक दिदीको पसलमा हामीलाई चिया खाने प्रबन्ध भयो . चिया खाएर फर्कन लाग्दा त्यी दिदीले चियाको पैसा लिन मानिनन् . अचम्म लाग्यो- संसारमा अझै पनि ‘मान्छे’हरु बाँचेका छन्  . बाटोभरी धेरैबेरसम्म त्यही चियाको न्यानोपन महसुस भैरह्यो .

छाडेर काम सारा, एक काम रोजी रहेछु,
यो देशमा मा एउटा मानिस खोजी रहेछु...........

हामी आइपुग्यौ पालुंग . मलाई त थाहा पनि थिएन- नेपालको कुनै पहाडको त्यो उचाइमा त्यति मनमोहक उपत्यका छ भनेर . पहिला कहिले नपुगेको, तर कतै देखे देखे जस्तो, चिने-चिने जस्तो अनौठो भाव मनमा पालुंग उपत्यकाले गराइरह्यो . त्यहाँको वातावरणको मादकतामा नपौडी मन किन मान्थ्यो र ? फोटो खिच्न पालुंगले हामीलाई आफूतिर खिचिरह्यो . गाडी रोकेर केहीबेर फोटोसेसनमा सबैजना व्यस्त भए . सिर-सिर हावा चलिरहेको थियो . मन त्यसै बहकिरहेको थियो . गीत गाउँदै हाम्रो यात्रा अघि बढ्यो;

चलेछ बतास सुस्तरी मनै हरर हो,
भरोसा छैन जीवनको बिताउँ हाँसेर..........



पालुंग कटेपछि गुराँसको  जंगल आइपुग्यो . संकेत थियो - 'दामन अब नजिक धेरै छ' . बतास चल्दै गयो . चिसो बढ्दै गयो . हाम्रो यात्राको गन्तव्य नजिकिंदै थियो . हाम्रो उत्कण्ठा उत्कर्षमा चड्दै गयो . उन्मादमा साथीहरू गाइरहेकै थिए ;

आकाशैमा चील घुम्यो फनन,
मेरो माया छ छैन भनन,
ऐंसेलुको पात,
ए माया बोलन किन यस्तो लाज..........







दामन आइपुग्यो . दामनको चीसो बतासले काठमाडौँको उखरमाउलो गर्मी भुलायो . दृश्यहरु 'फोटोजेनिक' थिए . वातावारण रमणीय थियो . हावा-पानी - स्वच्छ . कुनै डाँडामा, वा सडकमै टुक्रुक्क बसेर फोक्सोभरी हावा हुलिरहुँ जस्तो विचार मनमा आइरह्यो . प्रत्येक स्वासमा त्यतिको आनन्द जीवनमा कहिल्यै मिलेको थिएन . शायद, स्वर्ग भनेको यस्तै हुँदो हो . साँच्चै मेरो देश कतै स्वर्गको टुक्रा पो हो कि ?




होटल पहिल्यै 'बुक' गरेका थियौं . खसीको अर्डर तयार थियो . हातमुख धोइयो . चेन्ज गरियो . फोटोहरु खिचिए . पेटमा 'मुसाहरु' कुदिरहेकै थिए . चिउरा, तरकारी, अचार आइपुग्यो . कलेजोको भुटन तयार भयो . निकै मिठो भोक लागेको थियो . खाजा त्यतिकै मिठो भयो . भेज साथीहरु 'कोल्ड ड्रिक्स'का बोतलहरु खोल्न थाले . तर असली मजा त त्यसमा मात्र कहाँ थियो र ? 'पेग'हरु अर्डर भए . बाहिर खुला आकाशमुनि 'बार्बाक्यु'को व्यवस्था भयो  . चीसो रातमा आगो बालेर पार्टी सुरु भो भटाभट सेकुवाहरु बने . एक हातमा बोतल र अर्को हातमा सेकुवा भएपछि कम्मर मर्काई मर्काई नाच्नै पर्यो . मास्तिर हलबाट गीत बज्यो ;

एउटा हातले चुरोट ताने, अर्को हातले बोतल,
कुलतैमा फसें म त धाउन थाले होटल !
बोतलको पानीले, आँखा संकाई सानीले
इज्जत गयो पिउने बानीले !!..........




बाहिर ‘साउण्ड सिस्टम’को  व्यवस्था भने हुन सकेन . तर गीत गाउन यो टोलीलाई कसले रोक्न सक्थ्यो र ? केही गाउन नआए ‘शुक्ला म्याम’को सदाबहार गीत सबको दिमागमा ‘स्टक’ नै थियो- ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा !’ अझ हातमा पेग भएपछि नारायण गोपालको त्यो सदाबहार गीत कसले पो भुल्न सक्छ र ?

मलाई नसोध कहाँ दुख्छ घाउ,
म जे छु, ठिकै छु बिथोल्न नआऊ..........

वातावरण संगीतमय बन्दै गयो . टुर आएका कलेजका ठिटा-ठिटीहरु पनि रमाइलो मानेर कौसीबाट हाम्रो गतिविधि हेरिरहे . ठिटीहरुको उपस्थितिले माहोल रोमान्टिक बनाउदै लग्यो .  


इलामे सहर चियाबारी राम्रो त्यहीं पर्यो घर हाम्रो,
कस्की हौ छोरी नक्कली मोरी लैजाने आँट हाम्रो..........

समय बित्दै गयो . सेकुवाहरु बने, खाइए . ग्लासहरु भरिए, रित्तिए . वातावरण मादक बन्दै गयो . स्वर चर्को हुँदै गयो . जीवन जगतका गीत गाइए . आशा र निराशाका गीत गाइए . राष्ट्रप्रेमका गीत गाइए . प्रेम र बिछोडका गीत गाइए  . मात चढेपछि त संधै चुप-चाप रहने हाम्रो लाल मान दाईको स्वर पनि ‘कोइली’को जस्तो मिठो भएर निस्क्यो . उनको ‘हिट’ गीतले पटक-पटक ‘वान्स-मोर’ पाईरह्यो;

धानै पाक्यो झपक्कै,
हँसियाले सपक्कै,
मन परेको मायालाई, हातैमा राखी खेलाउँला !
मन नपरेको मायालाई, बाग्मतीमै सेलाउँला !!..........

झुम्दा-झुम्दै, पिउँदा-पिउंदै घडीले ११ बजायो . खाना खाने बेला भो . होस हुनेहरु खाना खानतिर लागे . लाल मान दाईले जादु देखाए . मुखले चुरोट पिएर पिठ्यूँबाट धुवाँ फालेर उनले सबैलाई चकित पारे . कोही गाडीमा गीत बजाएर नाच्ने भनेर लड्खडाउँदै उठे . कोहिले गाडीको ‘हर्न’ एकोहोरो बजाईरहे . ‘बोतलको पानी’ले हल्ला मच्चाइरह्यो . गीत बजाउन साथीहरु कोसिस गरिरहेकै थिए . तर सफल भै-रहेका थिएनन् .  म खाना खानातिर लागें . मासु-भात औधी मिठो लाग्यो . थकित भएर कोठामा गएर पल्टिएं .

एकछिनमा साथीहरुले खबर ल्याए- गाडी ‘लक’ भो . साँचो गाडीभित्रै छुट्यो . गाडी फोडेर साँचो झिक्नुबाहेक अन्य उपाय देखिएन .

TO BE CONTINUED……….