Saturday, October 7, 2023

रुटिन अफ थरीथरी बन्द

आजको दिन फेसबुक सर्च गर्ने हो भने रुटिन अफ नेपाल बन्द नामका दुई सय भन्दा बढी फेसबुक पेज/ग्रुप हरु संचालन भएको देखिन्छ । र यो संख्या दिनहुँ बढिरहेको छ । आधिकारिक फेसबुक पेज केही समय अप्रकाशित रहेको थियो । यी फेक पेजहरु मध्ये धेरैले आफुलाई आधिकारिक पेज दावी गरेका थिए र आधिकारिक पेजकै शैली जस्ताको तस्तै पछ्याउँदै समाचारहरु दिईरहेका थिए ।त्यस्तै देशका विभिन्न साना ठुला गाउँ-सहरका नामबाट रुटिन अफ ... बन्द नामक बग्रेल्ती पेजहरु पहिलेदेखि प्रचलनमा छँदै थिए ।जबकी बन्द भन्ने कुरा अहिले पहिले जस्तो प्रचलनमा छैन ।

तर यहाँ चर्चा - यो पेजको गर्न खोजिएको हैन, हाम्रो समाजले अँगाल्दै गइरहेको  देखासिकी संस्कृति र यसका बहुआयामिक प्रभावको हो । के नेपाली समाज गतिहीन र असिर्जनशील हुँदै गैरहेको हो ? के नेपाली समाज स्यालहुयियाँमा बाँच्न अभ्यस्त बन्दै गैरहेको हो ?

काठमाडौं बस्दा जब म कार्यालयको लागि निस्कन्थे, गौरीघाट-मित्रपार्क उकालोमा प्रत्येक दिन एउटै दृश्य देखेर दिक्क हुन्थें । जब सडक जाम हुन्थ्यो, कुनै एउटा बाइक लगभग दुइहात चौडाईको फुटपाथमा कुद्न सुरु गर्थ्यो।त्यसलाई पछ्याउँदै अरु बाइकहरु लस्करै भुरुरु कुद्न थाल्थे । फुटपाथ सबै बाइकहरुले ओगटेपछि पैदलयात्रीहरु सडकमा खाली बाटो खोज्दै अल्मलिरहेका देखिन्थे । बेलुका पेप्सीकोला-जडीबुटी सडक फुटपाथमा यस्तै दृश्य देख्दथें । काठमाडौंका भित्री सडकमा मान्छेहरुले जेब्रा क्रसबाट बाटो काटेको कमै देख्न पाइन्छ । बाटो अन्धाधुन्ध काटिन्छन् । जेब्राक्रस नजिक आएपछि गाडीहरु रोकिदैनन, अझै हुइन्किन्छन् ।अचम्म लाग्छ यो देशमा दिनहुँ कैयौं सवारी दुर्घटना हुन्छन्, मान्छे मर्छन तर हामीमा चेत कहिल्यै आउँदैन ।  

देशमा साक्षरता बढ्दै गएको भनिन्छ तर मान्छेहरु पानीका बोतल, चाउचाउ, चिप्स' भोला, फ्रुटीका खोलहरु जही तहीं फ्यात्त फ्यात्त फाल्छन् । बिभिन्न संघ संस्था वा सरकारले पटक पटक सरसफाई अभियान संचालन गर्ने गरेका छन् । तर त्यी नाम मात्रका अभियानको रुपमा मात्रै संचालित हुन्छन् । देखासिकी वा लहडमा चलाइएका । चलाउनका लागि मात्र चलाइएका । तिनीहरुबाट कुनै परिवर्तनको आशा राखिंदैन । त्यी अभियान हाम्रा दैनिकी बन्न सकेका छैनन् । अरुलाई दोष थोपर्दै, अनेक बाहाना बनाएर जथाभावी फोहोर फाल्न हामी अभ्यस्त छौं । यो देशका जनताले सरसफाई गर्न कहिले सिक्ने ?  अरुले सरसफाई गरेन भनेर हामी आफु नगर्ने? अरु संग नभएको विवेक हामी संग पनि छैन र ?

केही वर्ष अघिसम्म म सार्वजनिक यातायातबाट कार्यालय ओहोर दोहोर गर्दथें । कार्यालय समयको काठमाडौंको बसमा अत्याधिक भिड त हुने नै भयो ।सम्भवत काठमाडौंमा यात्रु संख्या सम्बन्धी मापदण्ड छैन, भएपनि पालना गरिंदैन। बसमा ढोकाको भीडले बस चढ्नै गाह्रो हुने । सबै यात्रुहरु ढोकामै झुम्मिने- मानौ अघिल्लो स्टप मै ओर्लिनेछन्। बसमा अलिक भित्र सरेर सहजतापुर्वक बस्न कोही नचाहने । म त बसको पछाडी पट्टी सम्मै छिर्थे र आनन्दले बस्थें । कहिलेकाहीँ त सिट पनि पाउँथे । दुख पाउन तयार हुने तर भीड छोड्न तयार नहुने नेपालीको रुचि म अझै पनि बुझ्न सक्दिन । 

विदेशमा नेपालीहरुले दुख पाएका कथाहरु पटक पटक सुनिन्छन तर विदेश जानेको लर्को घट्न सकेको छैन । बाध्यतामा जानेहरुको अर्कै ब्यथा होला तर ५० औं लाख ऋण गरेर पनि जो कोही नेपाली विदेश जान लालायित छन्- अझ कतिपय अवस्थामा त ज्यानै जोखिममा राखेर पनि।त्यहाँ जुन सुकै काम गर्न तयार छन्, त्यही काम यहाँ गर्न कोही तयार छैनन् । यहीँ कृषि गर्न कोहि चाहान्न्न ।उद्यम गर्न कोही चाहन्न । जोखिम मोल्न कोही चाहान्न । खासमा प्रयास गर्ने कोही चाहान्न । सीमित व्यक्ति जो चाहान्छन्, उनीहरुलाई सरकारले उत्साहित हुने वातावरण बनाउन सकेको छैन । जनमानसले देशमा सानो-सानो, नवीन काम गर्नेलाइ उत्साह थप्दैन, हेलोहोचो गर्छ ।

यो देशमा प्राय सबै नेता बन्न चाहन्छन । काम गर्ने नेता बन्ने होइन, पगरी भिर्ने नेता । भिजन भएर नेता बन्ने होइन, पदवी धारण गर्न नेता । पूराना नेताहरु शिलान्यास र उद्घाटन भन्दा माथि उठ्न सकेका छैनन् । धेरै शिक्षक पढ़ाउन चाहादैनन, राजनीति गर्न चाहन्छन् - जागीर छोडेर होइन, जागीर खाँदा खाँदै । अनुशासन, इमान्दारिता नैतिकता  अब स्कुल/कलेजबाट सिकिन्न्न । धेरै कर्मचारी काम गर्न चाहादैनन, कमाउन चाहान्छन् ।वैधानिक रुपमा होइन, लुटेर, धुतेर- जसरी पनि। प्राय जुनसुकै क्षेत्रका मान्छे यहाँ नपाएसम्म देश बिग्रियो भनेर कोकोहोलो मच्चाउँने र पाएसम्म लुट्न, धुत्न, हड्पन नै चाहन्छन् । र आफ्नै मानसिकताको प्रतिछायाँ अरुमा देख्छन् ।अनि बुझ्दै नबुझी जुनसुकै विषयमा, जो सुकै मान्छेलाई सत्तोसराप गर्छन। त्यही भीड, त्यस्तै भीड सामाजिक सामाजिक संजालहरुमा नकारात्मकता पोत्छ । कुनै पनि सकारात्मक विषयले महत्व पाउँदैन । नकारात्मक विषय छ भने धक्का मुक्की नै गरेसरी  गाली बर्सन्छ

म मेरो सरकारी सेवाको अधिकांस समय खरिद जस्तो आर्थिक क्रियाकलाप हुने ठाउँमा बसें । एक किसिमको शक्तिकै ओहोदामा बसें । यो देशको सरकारी कार्यालयको खरिद भन्ने बित्तिकै प्राय कर्मचारी-ब्यापारीको मुखमा पानी रसाइहाल्छ । मेरो ओहोदा देखेर, थाहा पाएर धेरैले परेली झिम्क्याउंथे, आँखा सन्काउंथे। अचम्मित हुन्थे ।मह काट्दा हात नचाट्ने भनेर ? झन्डै १० वर्षको  सेवा अवधीमा मैले कोही मान्छे भेटेको छैन- जसले मलाई इमान्दारीपुर्वक काम गर भनेर भनेको होस् । सबैको कुराको एउटै सार छ – लुट  । खाउ । बरु सिधा नखाऊ- घुमाएर खाउ । मिलाएर खाउ । मिलाएर खाउ भन्नेको सार हो - हामीलाई पनि रोकटोक नगर। यस्तै हो यो देश- हामीले मात्र गरेर केही हुन्न ।

यो भीडमा मलाई कुद्नु छैन । मेरो जीवन हो । मेरा आवश्यकहरु सीमित छन् । संसारका अमुल्य चीजहरु जस्तै हावा, पानी, स्वास, प्रकाश, आनन्द, शान्ति र साँचो प्रेम मलाई निशुल्क उपलब्ध छन् ।घाम र पानी मिलेर इन्द्रधनुष बनेजस्तै सुख र दुख मिलेर जीवन बन्छ भन्ने तत्वबोध मलाई छ । मलाई आत्तिनुपर्ने केही छैन । म मेरो ब्रम्हमा लागेको कुरा मात्र गर्छु । मलाई विश्वास छ- मेरो गति र मति सत्य भएसम्म, मेरो रथ श्रीकृष्णले नै चलाउने छन् ।

देशको यस्तै भद्रगोल, अस्तव्यस्तता र निराशाबीच ३ स्वतन्त्र व्यक्तिहरु देशका ३ ठुला स्थानीय तहहरुको नेतृत्वमा आए। शायद उनीहरु पनि जनताको निराशाको लहडमै चुनाव जितेर आए। तर सुरुवाती वर्ष उनीहरुले आशा जगाए, काम गर्ने ठुलो हुटहुटी पनि देखाए ।उनीहरुका काम पुराना दलका नेताहरुभन्दा फरक र प्रभावकारी पनि देखियो ।

बालेन साहको शैक्षिक सुधार, अनअधिकृत घर टहरा भत्काउने, पार्किंग ब्यबस्थापन, अतिक्रमित सार्वजनिक जग्गा तथा खोला पुनर्प्राप्ति गर्ने जस्ता काम सहासिला थिए, जनमानसमा असाध्यै लोकप्रिय भए। हर्क साम्पांगले श्रम अभियानको सफलताबाट धरानको पानीको समस्यालाई धेरै हदसम्म ब्यबस्थापन गरेका छन् । चर्चामा पछि रहेका गोपाल हमाललाई जनामानसले युवा स्वीकारेको छैन, तर उनको जुझारुपन कुनै युवाभन्दा कम छैन।सबैसंग समन्वय गर्दै उनले अझै परिपक्क कामहरु गरेका छन् । बालेन साहको निर्णय क्षमता, हर्क साम्पंगको श्रमदान र सक्रियता र गोपाल हमालको शालीनता र समन्वयको खुबी कुनै पनि नेताले अंगाल्नैपर्ने गुण हुन् ।

देशले आशाको रुपमा हेरेका यी नेताहरुमध्ये बालेन साह र हर्क साम्पंग भने पछिल्लो समय विवादित बन्दै गएका छन् ।बालेनलाई फुटपाथ ब्यापारीहरुप्रति संवेदनाहीन भएको आरोप लागिरहेकै थियो । सरकार र अदालतलाई दलाल घोसणा गरेर नमान्ने धम्की दिएका उनले सरकारलाई चोर करार गर्दै नेताहरुलाई बाग्मतीमा चोबल्नेदेखि सिसडोलमा डम्प गर्नुपर्ने जस्ता अराजक अभिब्यक्ति दिएका छन् । हर्क साम्पांगको बोली त पहिल्यैदेखि सुनिसाध्य थिएन ।उनी बिपक्षीप्रति असहिस्नु भएको,  आफ्नो अहंकार नियन्त्रण गर्न नसकेको र हलुका रुपमा प्रस्तुत भएको देखिन्छ ।

सकारात्मक विषयले खासै महत्व नपाउने हाम्रो समाजमा बालेन र हर्क साम्पंगले लोभलाग्दो लोकप्रियता हाँसिल गरेका थिए। जनमानस उनीहरुको स्तुस्तिगानमा मुग्ध थियो । केही अघिसम्म उनीहरुबिरुद्द बोल्नु नै सामाजिक बहिस्करण हुनु सरह थियो । जुन सही थिएन ।उनीहरुका कामलाई गुण र दोषका आधारमा समर्थन गरिनुपर्थ्यो । तर भीडको पछि लाग्ने हाम्रो समाजले उनीहरुको एकछत्र र बेहिसाब समर्थन गर्यो । जसका कारण उनीहरुमा उग्रता र उत्तेजना बढ्दै गएको देखिन्छ । लाखौँ समर्थक भएका उनीहरुले आफ्नो प्रभाव जनतामा आशा र सकारात्मक सोच जागृत गर्न उपयोग गर्नुपर्ने हो आफ्नो आक्रोश र उग्रता रोक्न नसक्दा जनतामा टुसाउँदै गरेको आशा अब तुसारापात हुने खतरा बढेको छ ।आक्रोश कोइलाको लप्का हो जसलाई हातमा राखेर अरुलाई आक्रमण गरिन्छ भने आफ्नै हात कालो हुन्छ, आफैलाई पोल्न सक्छ ।

यी सबै कुराहरुले के देखाउंछ भने नेपाली समाज साक्षर मात्र हुँदै गएको छ, शिक्षित हुँदै गएको छैन । शिक्षित समाजले आफ्नै विवेक प्रयोग गर्छ, भीडको पछि कुद्दैन । अक्षर चिन्नु र ज्ञान प्राप्त गर्नु फरक फरक कुराहरु हुन् । किताब मात्र पढेर हुँदैन, जीवन पनि पढ्नुपर्छ । बोल्न पनि सिक्नुपर्छ । हामीसँग दुई कान छन् र एउटा मुख । त्यसैले ज्यादा सुन्नुपर्छ । कम बोल्नु पर्छ । बोल्नुअघि सोच्नुपर्छ । कुराहरु अनुमान गर्ने होइन, तथ्यहरु पहिले रुजु गर्नुपर्छ-  अनि बोल्नुपर्छ । बोल्ने निर्णय गरिसकेपछि अल्पमतमा परिने डर त्याग्नुपर्छ । लाइक्स र कमेन्टको लागि बोल्ने होइन । सत्य र न्यायका लागि बोल्नुपर्छ । सहीलाई सही गलतलाई गलत भन्न सक्ने क्षमता विकास गर्नुपर्छ । सही कुरा बोलियो भने आफुलाई चीरकालीन संतुस्टि मिल्छ । सही जीवन बाँचिएको छ भने जीवनमा फर्केर पनि लाइक कमेंट्स आउने नै छ ।

आफ्नो जीवनको मुल्य बुझ्नुपर्छ । आफ्नो जीवनको लक्ष्य पत्ता लगाउनुपर्छ । लक्ष्य विना कर्म वेकार छ ।  लक्ष्य भएपछि हिड्न मन लाग्छ । बाटो अलमलिदा फर्कने साहास मिल्छ । लक्ष्यबिहिन जीवनमा सुख क्षणिक हुन्छ । जब जीवनको लक्ष्य थाहा हुन्छ तब दुख पनि उत्सब हुन्छ, सुख चीरकालीन हुन्छ । ठुलै लक्ष्य लिईएको छ भने जिते कप्तान बनिनेछ र हारे - सल्लाहकार । कहिल्यै पछुताउनुपर्ने छैन ।

जीवनमा थोरबहुत सुरक्षा हुनु त राम्रै हो । तर प्रकृतिको नियममा सुरक्षा हुँदैन । जोखिम नै प्रकृतिको नियम हो । उद्यम गर्नु भनेकै जोखिम लिनु हो । उद्यमशील बन्नु एकदमै प्राकृतिक कुरो हो ।सकेसम्म देशमै उद्यमशील बनौ । श्रमको सम्मान गरौँ । जीवनमा आफ्नो काम गर्नु वा अरुले नगरेको काम जत्ति सन्तुस्टीदायक केही हुँदैन ।

आफ्ना बच्चाहरुलाई अनुशासन, इमान्दारिता र नैतिकता सिकाउँ । हामी जस्तो सोच्छौं, त्यस्तै बन्दै जान्छौं ।त्यसैले सकारात्मक सोचौं । आज हामी प्रेम चाहिं आफुले पाउनुपर्ने र जिम्मेवारी चाहिं अरुले निभाइदिनुपर्ने मानसिकता बोकेर बाँचेका छौं । प्रेम अरुलाई दिउँ र जिम्मेवारी आफु लिउं । पाउनुपर्ने मात्र होइन, दिनुपर्ने पनि हिसाब राखौं । आफ्ना आवश्यकता घटाउँ र जिम्मेवारी बढाउँ । सफल हुनुभन्दा असल हुनु अझ बढी जरुरी छ । मान्छेको सबैभन्दा ठुलो लडाइँ आफैं संग हो । संसारलाई जित्नु जरुरी छैन । पहिले आफुलाई जित्नु जरुरी छ ।


यो ब्लग अनलाइनखबर मा प्रकाशित भएको थियो ।