Thursday, June 22, 2023

खासमा के हो महाभारत ?

 ग्रन्थहरूमा भनिएको छ कि महाभारत युद्धको अठार दिनमा सभ्यताको ८० प्रतिशत पुरुष जनसङ्ख्या नष्ट भएको थियो ।

युद्धको अन्त्यमा, संजय सबैभन्दा ठूलो युद्ध भएको ठाउँ - कुरुक्षेत्रमा गए । वरपर हेरेर उनी सोचमग्न भए- के युद्ध साँच्चै भएको थियो त ? आफु मुनिको जमिनले सबै रगत सोसेको पो हो कि ? कृष्ण र पाण्डवहरू अहिले उनी उभिएको ठाउँमा उभिएका थिए कि थिएनन ?
"तपाईलाई यो युद्धको सत्यता कहिल्यै थाहा हुने छैन!" कतैबाट एउटा बुढ्यौली नरम स्वर आयो ।
सञ्जयले फर्केर हेर्दा धूलोको बीचबाट पिताम्बर बस्त्रधारी एक जना बूढो मानिस देखिए ।
"मलाई थाहा छ तपाईं यहाँ कुरुक्षेत्रको युद्धको बारेमा जान्न आउनुभएको छ; तर त्यो युद्ध के हो भन्ने थाहा नभएसम्म त्यो युद्धको बारेमा तपाईंले थाहा पाउन सक्नुहुन्न,’ बूढाले रहस्यमय ढंगले भने ।
"तपाईको मतलब के हो?"
"महाभारत एक महाकाव्य हो, एक लोकगीत हो, सायद एक वास्तविकता हो तर त्यो भन्दा पनि यो एक दर्शन हो।"
सञ्जय प्रश्नको जालमा फसेको देखेर बुढा मुस्कुराए ।
"के तपाई मलाई भन्न सक्नुहुन्छ कि त्यो दर्शन के हो?" सञ्जयले अनुरोध गरे ।
"निस्सन्देह !" बुढाले सुरु गरे ।
"पाण्डवहरू केही होइनन् - तपाईका पाँच इन्द्रियहरू हुन् : आँखा, नाक, कान, जिब्रो र त्वचा । के तपाईंलाई थाहा छ कौरवहरू के हुन्?" उनले आँखा चिम्म गरेर सोधे । सञ्जयको आँखामा अन्योल देखेर उनले भने,
"कौरवहरू सयौं विकारहरू हुन् जसले तपाईंको इन्द्रियहरूलाई दिनहुँ आक्रमण गर्दछन् तर तपाईं तिनीहरूसँग लड्न सक्नुहुन्छ । तपाईंलाई थाहा छ कसरी?"
सञ्जयले थाहा नपाएको भावमा टाउको हल्लाए ।
"जब कृष्ण तपाईंको रथमा सवार हुन्छन् !" बूढो मान्छे झन् मुस्कुराए । सञ्जय बुढाको ज्ञान देखेर अचम्मित भए ।
"कृष्ण तपाईंको भित्री आवाज, तपाईंको आत्मा, तपाईंको मार्गदर्शक प्रकाश हो। यदि तपाईंले आफ्नो जीवन उहाँको हातमा राखिदिनुभयो भने, तपाईंले चिन्ता गर्नुपर्ने केही छैन।”
सञ्जय एक क्षणको लागि स्तब्ध भए तर तत्कालै अर्को प्रश्न सोधे, "यदि कौरवहरू दुर्गुण हुन् भने द्रोणाचार्य र भीष्म उनीहरूको पक्षमा किन छन् ?"
बुढाले भने- "यसको मतलब यो हो कि तपाईको उमेर बढ्दै जाँदा तपाईको बुढाहरूप्रतिको धारणा परिवर्तन हुन्छ। तपाईंको बढ्दो वर्षहरूमा तपाईंको नजरमा "पुर्ण" देखिएका ब्यक्तिहरू सबै पछि, पुर्ण हुँदैनन्। उनीहरूले पनि गल्ती गर्छन् । एक दिन तपाईंले निर्णय गर्नुपर्ने हुन्छ कि तिनीहरूमा तपाईंको विश्वास गलत थियो । हुनसक्छ वैध कारणहरूको लागि तपाईंले तिनीहरूसँग लड्न पनि आवश्यक हुनेछ । यो हुर्कनुको सबैभन्दा कठिन भाग हो । त्यसैले त गीता महत्त्वपूर्ण छ।"
सञ्जय भुइँमा थुचुक्क बसे, थकित भएको कारणले होइन । उनी यो दर्शनको विशालताले छक्क परेका थिए।
"कर्णको कुरा नि ?" उनले सुस्केरा हाले।
"ए!" वृद्धले भने । "तपाईंले अन्त्यको लागि सबै भन्दा राम्रो प्रश्न राख्नुभयो। कर्ण तपाईंको 'इच्छा' हो । तपाईंको इन्द्रियको भाइ हो । उ तपाईंको एक हिस्सा हो तर दुर्गुण संग खडा हुन्छ। उसले आफुलाई अन्याय भएको महसुस गर्छ र सधैं दुर्गुणहरूसँग रहनको लागि बहाना बनाउँछ।"
सञ्जयले सोधे, "दुर्गुण अंगाल्ने सबैभन्दा वैधानिक बहाना 'इच्छा' होइन र ?"
संजय जमिनमा हेरिरहे जुन कुनै समय रणभूमि थियो । उनको मनमा लाखौं विचारहरू उर्लिए, सबैलाई संगालेर बुझ्ने प्रयास गरे। माथि हेर्दा बूढा कतै देखिएनन ।
जीवनको सबैभन्दा ठूलो दर्शनलाई छोडेर बुढो मान्छे धूलोको बीचमा फेरी हराए।
Traslated from: https://wp.me/p1J9Lv-aB

जीवन कसैको लागि पनि सहज छैन

महाभारतमा कर्णले भगवान कृष्णलाई सोध्छन् - "मेरी आमाले मलाई जन्माएर नदीमा फालिन् । के अवैध सन्तान जन्मिनु मेरो गल्ती थियो ?

क्षत्रिय नभएकाले मैले द्रोणाचार्यबाट शिक्षा लिन पाइन।

परशुरामले मलाई सिकाउन त सिकाए तर म क्षत्रिय भएकोले सबै कुरा बिर्सने श्राप दिए।
अन्जानमा एउटा गाईलाई मेरो बाण लाग्यो तर त्यसको मालिकले बिना कुनै दोष मलाई श्राप दियो ।
द्रौपदीको स्वयंवरमा म अपमानित भएँ।
अन्ततः कुन्तीले पनि आफ्ना अरु छोराहरूलाई बचाउनको लागि मात्र मलाई मेरो सत्य बताइन्।
मैले जे पाएँ, दुर्योधनको उपकारबाट पाएँ।
त्यसकारण दुर्योधनको पक्ष लिनु मेरो गल्ती कसरी भयो ?”
भगवान कृष्णले जवाफ दिनुहुन्छ,
"कर्ण, म जेलमा जन्मिएँ ।
जन्मनुअघि नै मृत्यु मलाई पर्खिरहेको थियो ।
म जन्मेको रात नै म मेरो आमाबाबुबाट अलग भएँ।
बाल्यकालदेखि नै तिमी तरवार, रथ, घोडा, धनुष, बाणको आवाज सुनेर हुर्कियौ। म गाई चराएर, गाई गोठ हेरेर , गोबर सोहोरेर हुर्किए ।
म हिंड्नुअघि देखिनै मलाई मार्ने हजारौं प्रयास गरियो !
न सेना, न शिक्षा । मेरो बाल्यकालिन चन्चलतालाई मानिसहरूले आफ्ना सबै समस्याहरूको जड ठाने ।
जब तिमी तिम्रो वीरताको लागि तिम्रा गुरुहरूबाट प्रशंसा पाइरहेका थियौ, त्यतिन्जेल सम्म मैले कुनै शिक्षा लिन पाएको थिइनँ। १६ वर्षको उमेरमा मात्र म ऋषि सन्दीपनीको गुरुकुलमा भर्ना भएँ!
तिमीले त आफुलाई मन परेकी केटीसँग बिहे गरेका छौ । मैले आफुले प्रेम गरेकी केटीसंग विवाह गर्न पाइन । बरु मैले मलाई चाहनेहरू वा मैले राक्षसबाट छुटकारा दिलाएकाहरूसँग विवाह गरें।
जरासन्धबाट बचाउन मैले मेरो सम्पूर्ण समुदायलाई यमुनाको किनारबाट टाढा द्वारिका सार्नु परेको थियो। भागेकोमा मलाई कायर भनियो !!
दुर्योधनले युद्ध जित्यो भने तिमीले पनि श्रेय पाउनेछौ। युदिस्ठिरले युद्ध जिते भने मैले के पाउने ? मैले त युद्ध र विनाशको लागि दोष मात्र पाउनेछु ।
एउटा कुरा याद राख, कर्ण। सबैको जीवनमा चुनौती हुन्छ ।
जीवन कसैको लागि पनि सहज छैन !!!
दुर्योधनका पनि धेरै अवगुण छन् र युधिष्ठिरका पनि ।
तर सही (धर्म) के हो ? त्यो तिम्रो मन (अन्तस्करण) लाई थाहा हुन्छ। तिमीमाथि कति चोटि अन्याय भयो, कति अपमान भयो वा कति पल्ट तिमीलाई अस्वीकार गरियो भन्ने कुरा खासै महत्त्वपूर्ण छैन । त्यो बेला तिमीले कस्तो प्रतिक्रिया दियौं वा त्यो परिस्थितिलाई तिमीले कसरी सामना गर्यौ भन्ने कुरा मात्र महत्त्वपूर्ण छ।
गुनासो गर्न बन्द गर -कर्ण। जिन्दगीमा अन्याय भयो भन्दैमा गलत बाटो हिड्ने छुट कसैलाई छैन ।
सधै याद राख, जिन्दगीको कुनै बिन्दु अत्यन्त कठिन हुन सक्छ । तर भाग्य हामीले लगाउने जुत्ताले होइन, हामीले चाल्ने पाइलाले बदलिन्छ । "

Translated from https://wp.me/p1J9Lv-aG

Wednesday, June 21, 2023

जंगलको भागदौड

 


एकपल्ट जङ्गलमा एउटा खरायो रुखमुनि आराम गरिरहेको थियो आराम गर्दागर्दै पृथ्वी ध्वस्त भयो भने के होला भनेर सोचिरहेको थियो त्यतिकैमा उसले निकै अनौठो र भयङ्कर ठुलो आवाज सुन्यो उसले डराएर भन्यो, “पृथ्वी ध्वस्त हुँदैछ दौडिन थाल्यो

बाटोमा अर्को खरायोले उसलाई देख्यो सोध्यो, “के भयो? किन यस्तो हतारमा कुदेको  ?

उसले जवाफ दियो, "यदि तिमी बाँच्न चाहन्छौ भने.. तिमी पनि दौडनु राम्रो हो किनकी  पृथ्वी ध्वस्त हुँदैछ

यो सुनेर दुबै जना जति सक्दो छिटो दौडन थाले जङ्गलबाट दौडदै गर्दा दुबैले कराए, "सबै दौडौ, पृथ्वी ध्वस्त हुँदैछ "

चाँडै हजारौं खरायोहरू जंगलमा दौडन थाले । उनीहरुलाई दौडिरहेको देखेर अरु जनावरहरु पनि डराए

एकैछिनमा एक जनावरबाट अर्को जनावरमा समाचार फैलियो सबैजना भाग्न खोजिरहेका थिए तिनीहरूको डरले चारैतिर अराजकता सिर्जना गर्यो ।

पहाडमा उभिएको सिंहले जङ्गलमा सबै जनावरहरू दौडिरहेको देखेर अचम्म माने, “के भयो ? किन सबै पागल जस्तै दौडिरहेका छन्..?"

सिंह डाँडाबाट ओर्लिएर भीडको सामु उभिए । सिंह यति बलियो थियो कि सबै जनावरहरू डराए तिनीहरू जहाँ थिए, त्यहाँ रोकिए ।

एउटा सानो चराले मात्र भन्यो, " पृथ्वी ध्वस्त हुँदैछ..."

सिंहले सोधे, "यो कसले भन्यो?"

चराले जवाफ दियो, "मैले मृगबाट सुनें।"

सिंहले मृगलाई सोध्दा तिनीहरूले बाँदरबाट सुनेको जवाफ दिए । बाँदरले हात्तीबाट सुनेको बताए सबैलाई सोध्दा अन्ततः खरायोहरु समातिए

जब सिंहले खरायोहरुलाई सोध्यो - तिनीहरूले एक अर्कालाई संकेत गरे र अन्तत: त्यो हल्ला मच्चाउने खरायो पत्ता लाग्यो

सिंहले उसलाई सोधे, "तिमीले  पृथ्वी ध्वस्त हुँदैछ भन्ने कसरी थाहा पायौ ?"

खरायोले जवाफ दियो, "महाराज.. मैले आफ्नै कानले भयङ्कर ठुलो आवाज सुनेँ ।"

सिंहले सम्पूर्ण मामिलाको खोजीबिन गरे अन्ततः थाहा भयो कि कुनै चट्टानमा रूखबाट नरिवलको ठूलो गुच्छा खसेको कारण आवाज आएको हो । :)

Translated from https://rothfelslab.org/2020/05/14/chaos-in-the-forest/