पशुपति शर्माले गीतमा उठाएका प्रश्न:
हाम्रा पनि प्रश्न हुन् ।
प्रिय प्रधानमन्त्रीमन्त्रीज्यु,
नमस्कार !
सरकार गठनको १०० दिन पुग्दै गर्दा हजुरले भन्नुभयो - "बच्चा पाउन त नौ महिना लाग्छ । अहिल्यै कहाँबाट ल्याउने रेल र पानीजहाज
?" हामीले रेल र पानीजहाजमा त्यति जोड कहिल्यै गरेका थिएनौ तर नमागेकै कुरा
पुर्याइदिने मनकारी प्रधानमन्त्री पाएपछि दङ्ग पर्यौ । हजुरको सरकार रेल र पानीजहाज
मात्रै विकास हो भन्ने जबर्जस्त मानसिकता बनाएर बस्यो । भर्खरै सरकार गठनको एक वर्ष
पुग्दै गर्दा सरकारले विकासको आधार तयार भएको रिपोर्ट कार्ड निकाल्यो । संचारमन्त्रीले
समुन्द्रको छालजस्तै काम अघि बढेको दाबी गरे । भोलिपल्टै लोकगायक पशुपति शर्माको भाइरल
गीत 'लुट्न सके लुट कान्छा'ले सरकारको
'सफलताको सूची'मा कालो पोत्ला जस्तो भो । गीत सरकारलाई टाउको दुखाई बन्दै गएको र सरकार गीत
प्रतिबन्धित गर्ने मुडमा पुगेको समाचार बाहिरियो । हजुरका उग्र कार्यकर्ता सामाजिक
संजालमा कुर्लिए । अन्तत: कुनै गल्ती नै नगरेका, जनताको मनको गीत गाएका पशुपति शर्मा माफी माग्दै युट्युबबाट गीत हटाउन बाध्य
भए ।
राणा र पंचायतकालिन झल्को दिने शासकिय प्रवृति हामीले यसै हप्ता भोग्यौ, बेहोर्यौं
- हामीले बिश्वास गरेर दुई तिहाई मत दिएको सरकारले एक वर्ष पुरा गरेको
अवसरमा । भ्रष्टाचार माथि व्यंग्य गरिएको गीतमा आकासनै खस्ने वा धर्तीनै भासिने कुनै
विषय थिएन । विवेकसम्मत रुपले सोच्ने हो भने गीत सरकारलाई पृष्ठपोषण थियो । जनताको
दैनिक जीवनयापन सहज पार्ने गरी काम गर्न मार्गदर्शन थियो । सरकार र विशेषगरी हजुरका
कार्यकर्ताले गीतको सतही अर्थ निकाले । गीतको गुदी बुझ्न सकेनन् र बोक्रामै अल्मलिए
। आठ अन्तरा रहेको गीतमार्फत गायकले निम्न प्रश्न उठाएका थिए :
१.
आफ्नो सन्तानलाई निजी विद्यालयमा पढाउने सामुदायिक
विद्यालयको स्थायी शिक्षकले विद्यालयमा कस्तो पढाउँछ ?
२. सरकारी तलबभत्ता खाने
सरकारी डाक्टर कार्यालय समयमा किन निजी क्लिनिक धाउँछ ?
३. थोरै तलब खाने, सानो
तहको सानो कर्मचारीले छोटै अवधिमा शहरमा कसरि महल बनाउँछ ?
४. गरिब देशकी आलंकारिक रास्ट्रपतिलाई
किन राजसी ठाँटबाँटको मोह जागेको हो ?
५. वाइडबडी र सुनकाण्डजस्ता
भ्रस्टाचार र तस्करीका विषयहरु किन ओझेल पर्दै छन् ?
६. जनतालाइ सहज हुने ट्राफिक बत्तीहरु
सडकमा जोड्दा सरकारको ढुकुटी नै रित्तिने हो र ?
७. सडक बनाउने जिम्मा लिएको ठेकदारले
बाटो झनै बिगारेर जनतालाइ सास्ती दिंदा सरकार किन कानमा तेल हालेर बस्छ ?
८. स्वर्गजस्तो देशमा यमराजको
शाशन किन भो ? किन सबै जना लुट्नै पर्ने मानसिकता बोकेर हिंडेका छन्
?
गीत समयसान्दर्भिक छ । साथै व्यंग्यात्मक पनि छ । व्यंग्य भन्नु नकारात्मक वा
सकारात्मक हुँदैन । व्यंग्य भन्नुनै घोचपेच हो । कसैलाई कलामार्फत घोचेर जगाउनु व्यंग्य
हो । व्यंग्यमा बोल्नेले उल्टो समेत बोल्छ, तर बुझ्नेले सुल्टो बुझ्नुपर्छ
। हजुरजस्तो व्यंग्य चेत भएको ब्यक्तिलाई यो ज्ञात नै छ । यहाँ देशको बागडोर सम्हालेको
हजुरको शासनलाई व्यंग्य गरिएको छ । यसबाट सरकार त ब्युझिनुपर्ने हो । कार्यकर्ता समेत
सचेत र जागरुप हुनुपर्ने हो । किनभने गीतमा उठाइएका विषय जनचासोका विषय हुन् । जनताको
दैनिक जीवनयापन प्रभावित गर्ने विषय हुन् । जनताका प्रश्न हुन् । हाम्रा प्रश्न हुन्
। हामीले यिनै प्रश्नको सम्बोधन गर्न दुई तिहाई मत दिएर यो सरकार बनाएका हौं । हाम्रो
मत, हाम्रो बिश्वास यी प्रश्नको सम्बोधन गर्न हो, यी प्रश्न प्रतिबन्धित गर्न होइन ।
प्रिय प्रधानमन्त्रीज्यु,
गायक पशुपति शर्माको कन्ठबाट निस्केको आवाज नेपाली जनताको आवाज हो । भलै उनले
माफी माफी माग्दै सच्याएर अप्लोड गर्ने वाचा गरेका किन नहुन् । अब यो गीतलाई नेपाली
जनताले अर्को रुपमा स्विकार्दैनन् भन्ने कुरा युट्युबमा छिन छिनमा भैरहेको अप्लोडले
प्रमाणित गरिरहेकै छ । गीतको एक शब्द मात्र चलाउदा पनि गीतको भाव मर्नेछ । गीतमा रास्ट्रपतिलाई विवादमा तानिएको विषय पनि गलत हो । किनभने सार्वभौम
जनता हुन् । जनता भन्दा माथी कुनै संस्था छैनन् । संस्था पनि ब्यक्ति बाटै बन्ने हो
। यो संसारमा भगवान त आलोचनामुक्त छैनन् भने संस्था आलोचना मुक्त हुने कुरै हुँदैन
। सम्मानित संस्थाले पनि “ठिकै छ, म गरिब
देशकि रास्ट्रपति, मलाई ठुलो सुख सुबिधा चाहिन्न” भन्न सक्ने उदारता देखाउन सकेको भए जनतामा उहाँप्रतिको आदर कति बढ्थ्यो होला हजुर ?
अनि एक जना गायकलाई आफ्नो सृजनाको घांटी न्याक्न बाध्य पार्ने हजुरका कार्यकर्तालाई
के कारबाही हुन्छ हजुर ? सामाजिक संजालमा बाहुबली देखाउने, खुल्लम
खुल्ला डर, धाक धम्कीको भाषा प्रयोग गर्ने छुट उनीहरुलाई
कसले दियो ? सडकबाट गाडी गुल्टेर सयौंले ज्यान गुमाउँदा खासै
वास्ता नगर्ने हजुरको सरकार सामाजिक संजालमा आउने प्रतिक्रियाले किन तरंगित हुन्छ
? सरकार किन प्रतिकृयात्मक बनेको हो ? प्रत्येक झिनामसिना क्रियामा प्रतिक्रिया जनाउनु
जरुरी छ र हजुर ? अनि
आलोचना गर्नेहरु सबैलाई काङ्ग्रेसिको बिल्ला किन भिराइन्छ ? यति
हो सत्तासिन पार्टीको चेतनाको स्तर ?
प्रिय प्रधानमन्त्रीज्यु,
सुचना र संचार प्रविधिको आजको युगमा बिचार र अभिव्यक्ति स्वतन्त्रताको
महत्व कति छ भन्ने कुरा त्यही स्वतन्त्रताको लागि बर्षौ जेलनेल भोग्नुभएको हजुरलाई
भनिरहन परोइन । हजुरले त्यो स्वतन्त्रताको राम्रै उपयोग गरिरहनुभएकै छ । हजुरको बोल्ने
स्वतन्त्रतामा कसैले हस्तक्षेप गरेको हजुरलाई स्वीकार्य छ ? पक्कै
छैन् । तर हजुरको लोकतान्त्रिक सरकारले सामाजिक सन्जाल नियमन गर्ने कानुनलाई किन प्राथमिकतामा
राखेको छ ? सामाजिक संजाल बिकास र समृद्धिको बाधक हो र हजुर ? लोकतान्त्रिक दाबी गर्ने सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सेन्सर सीप गर्ने
कुरा कसरी सोच्न सक्छ ?
मानौँ, सामाजिक संजालमा सेन्सरसिप लाग्यो । त्यो कार्यान्वयन हुन्छ
चाहिँ कसरी ? बिश्वको कुना कुनाबाट प्रयोग हुने संजाल नियमन गर्ने
हैसियत छ हामीसंग ? त्यस्तो मिहिन कार्य गर्न सक्ने ल्याकत,
पूंजी, प्रविधि र जनशक्ति छ त हामीसंग
? आज पशुपति शर्माले एउटा गीत हटाउँदा सोही गीत हजारौंले अप्लोड गरिरहेका
छन् । सरकारले यसबाट सिकोस् । र बिकासको मुल मुद्दामा आफ्नो ध्यान केन्द्रित गरोस् ।
हजुरको सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम राम्रो छ । नेपालको
पानी जनताको लगानी, प्रधानमन्त्री रोजगार
कार्यक्रम लगायतका कार्यक्रम पनि राम्रा छन् । तर त्यी कार्यक्रमले हाम्रो जनजीवनलाइ छोइसकेका छैनन् नि त हजुर
। जुनदिन हाम्रो जीवनलाई छुनेछन्, त्यस
दिन हामी प्रसंशा नै गरौंला । तर आज सरकारका सकारात्मक कार्यक्रमहरुको प्रशंसा भएन
भनेर चित्त नदुखाईदिनुहोला ।
प्रिय प्रधानमन्त्रीज्यु,
हजुरले देशविदेश घुम्नुभएको छ । संसार देख्नुभएको
छ । हजुरलाई सुझाव दिने हैसियत त हामी राख्दैनौ । तर सरकार बाटोको भेउ नपाएर अलमलिएको
जस्तो देखिएकोले जनताको जीविकासंग सम्बन्ध राख्ने, “काम गर्न १०० दिन पनि नलाग्ने” ८ सरल सुझाव/प्रश्नहरु
गायक पशुपति शर्माले उठान गर्नुभएको ८ प्रश्नमा थप गर्ने धृष्टता यहाँ गरिएको छ । कुनै माध्यमबाट हजुरकहाँ पुग्नेछन् र मनन हुनेछन् भन्ने
आशा छ ।
१. सडकमा ट्राफिक
नियम कडाइपुर्वक लागु गरियोस् । नियम मिच्नेलाई सके जेल नसके भारी जरिवानाको व्यवस्था
होस् । जरीवाना तिर्न महिनौं लाग्ने भएपछि कसले मिच्छ नियम ? सडकको प्रभाव अरु क्षेत्रमा पनि पर्छ । सरकारको
मुड सबले थाहा पाउँछन् । यति काम गर्न विकासको आधार तयार पारिरहन
पर्छ र हजुर?
२. शहरहरुमा फोहोर व्यवस्थापनको लागि जैविक/अजैविक छुट्टिने गरि कन्टेनरहरु राखियोस् । उपयुक्त व्यवस्था गरि पोलिथिन निषेध गरियोस् । सार्वजनिक स्थानमा धुम्रपानजस्ता कसुरहरु निषेध होउन् । यी सबै कसुरको
लागि माथिको जस्तै कडा कारवाही होस् । कानुनहरु छँदै छन्, थोरै समयानुकुल परिमार्जन गरे पुग्छ । यति काम गर्न कति समय लाग्छ हजुर ?
३. सिण्डिकेटले सारै दुख पाइयो हजुर । एक बर्ष अघि प्रक्रिया सुरु भएको- नियम कानुन
त बनिसक्यो होला नि । अब त सिण्डिकेट हटाइदिनुस् ! सार्वजनिक सवारीको सास्तीले
साना दुइपाङ्ग्रे, चारपाङ्ग्रे साधन किन्ने बाध्यता छ । सडकहरु
साँघुरा हुँदै छन् । अगाडि पछाडी दुवैतिर ढोका भएका ठुला -ठुला बसहरु चलाउने वातावरण बनाइदिनुस् । अनि बिस्तारै साना-साना सवारीको आयात घटाइदिनुस् । यति गर्न कति समय लाग्छ
हज्रुर ?
४. महंगीले बाँच्न गाह्रो भो हजुर । पेशागत संगठन मार्फत मूल्यसुची तय गर्ने परिपाटि अन्त्य होस्
। भर्खरै लेख्दा लेख्दै जेन्ट्स कपाल काटेको मुल्य १३० रुपयाँ पुग्यो
। बजार त खुल्ला बजारको आधारमा चल्नुपर्ने होइन र हजुर ? बजार अनुगमन गरि कार्टेल गर्ने, मिलेमतो गर्ने, कालाबजारी गर्नेलाई कडा कारवाही होस्
। सरकारले किसानलाई हेरोस् । कृषिउपजको
किसानले उचित मुल्य पाउन् । बिचौलिया नियन्त्रण
गरि उपभोक्तालाई राहत दिइयोस् । सीमामा कडाई गरि ब्यापारीक बस्तुको सहज आपूर्ति होस् । यति गरेपछि मूल्यबृद्दिको तथ्यांकमा बुद्धिजीवीसंग किन बहस गरिरहन
पर्यो हजुर ?
५. १० वर्ष अघि पिच रहेका सडक अहिले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे
छन् । वर्षामा पानी परेकोले हो, हिउँदमा सबै पिच हुन्छन् भन्नुभएकोले दंग परेर बसियो । अब फेरी अर्को वर्षा आउन लागिसक्यो । सडक पिच हुने हिउँद कहिले
आउँछ हजुर ?
६. रास्ट्रसेवक कर्मचारीदेखि सार्है आजित छौं हजुर । सरकारी कार्यालय जान पनि दर्है मुटु चाहिन्छ । उहाँहरु शासक हो कि सेवक हो ? उहाँहरुले मिठो बोल्दा पाप लाग्ने हो कि उहाँहरुले बोल्दा पैसा लाग्ने
हो हजुर ? उहाँहरुलाई मिठो
बोल्न, समयमा कार्यालय आउन-जान,
जनताको काम समयमै गर्न आदेश दिन मिल्दैन ? सयौं
कानुन बनिरहेकै छन्, कर्मचारी 'फायर'
गर्ने कानुन बनाउन कति समय लाग्छ हजुर ?
७. सार्वजनिक पदाधिकारी र कर्मचारीलाई सम्पति विवरण भराएर, बोरामा हालेर, पोको पारेर के प्रयोजनको लागि राखिएको हो ? देशमा हजारौ आइटी एक्स्पर्ट छन् । अख्तियारले एउटा सफ्टवेयर बनाएर अध्ययन
गर्ने ब्यबस्था गर्न मिल्दैन ? अकुत
अवैधानिक सम्पति आर्जन गर्ने र भ्रस्टाचार गर्नेलाई जेल कोच्न अब देशले कति समय कुर्नुपर्ने हो
हजुर ?
८. अन्त्यमा, सरकार आफैं सधैं आसेपासे, कार्यकर्ताको स्तुतिगानमा रमाइरहनु पर्ने हो र हजुर ? चुनाबमा सहयोग गर्नेले मात्र तपाईंसंग पहुँच पाउनुपर्ने हो र ? तपाईंलाई भोट हाल्ने मात्र तपाईंका जनता हुन् र ? प्रतिपक्षी वा विपक्षी, बुद्धिजीवी वा तपाईंलाई भोट नहाल्ने अरु- सबै तपाईंका जनता होइनन् र ? तपाईं हामी सबैको प्रधानमन्त्री होइन र ? देशमा थिति बसाईदिनुस्, कसैलाई काखा कसैलाई पाखा गर्नै पर्दैन नि हजुर । जनताले गर्बसाथ मेरो प्रधानमन्त्री भन्ने दिन कहिले आउँछ हजुर ?
बस्, तत्कालै हामीले चाहेको यत्ति हो
। हामीसंग ठुला ठुला इच्छा आकांक्षाहरु
छैनन् । बस दैनिक जीवनयापन सहज होस् भन्ने चाहेका छौं । देशमा थिति बसोस्, गरि खाने वातावरण बनोस् भन्ने चाहेका छौं । आफ्नो परिवारसंग बिछोडिन
नपरोस् भन्ने चाहेका छौं । देशमा थिति बसेपछि देशभरी
पक्की सडक पनि बन्ला
। राष्ट्रिय गौरवका आयोजनाहरु पनि कार्यान्वन होलान् । जलबिद्युत आयोजनामार्फत बिद्युत निर्यात पनि गरौंला । रेल र पानीजहाजमा
शयर पनि गरौंला ।
सरकारले सुरु गरेका राम्रा कामको प्रसंशा पनि गरौंला । आज पशुपति
शर्माको गीत सुनेर मन भुलाउने चेस्टा गरेका हौं । उनले गीतमा उठाएका प्रश्न - हाम्रा पनि प्रश्न हुन् । हाम्रो प्रश्न गर्न पाउने हकलाई गणतन्त्रमाथिको
प्रहार नसम्झीदिनुस् । झन्डै पौने शताब्दी लगाएर बनाएको संबिधानले दिएको
हाम्रो बिचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई
नखुम्च्याइदिनुहोस् । बिन्ती छ !
No comments:
Post a Comment
Your comments will be highly appreciated.