Saturday, December 12, 2020

बिर्खबहादुर र हलुवा

एकदिन बिर्खबहादुर रोडमा बसेर कुनै चीजलाई एकोहोरो हेरिरहेको रैछ । अनि भन्दैरैछ कि...
"यो त ठ्याक्कै त्यस्तै देखिन्छ त !"
फेरि अलिकति झुकेर भन्न थालेछ...
"ल यो त त्यै हो कि क्या हो ? सेम टु सेम छ"
फेरि अझै झुकेर सुँघ्न थालेछ... र सुँघेपछि भनेछ...
"ल यसको त सुगन्ध पनि ठ्याक्कै त्यस्तै रैछ"
फेरि अझै झुकेर औँलाले थोरै कोट्याएछ अनि चाखेर भनेछ... हो रैछ ! मैले सही अनुमान गरेको रैछु । यो त गोबर नै हो । धन्न मैले टेकिनछु । बाल बाल बचेँ !

छेउमा उभिएका केही मान्छेहरूले उसको यो हर्कत विचार गरिरहेका रैछन् । उनीहरू बिर्खेको यो हर्कत देखेर हाँस्न थालेछन्... र भनेछन् ।
"बिर्खबहादुर ! तिम्ले त्यसलाई हेर्यौ, फेरि सुँघ्यौ... तिम्ले सुँघ्दै थाहा पाइसकेका थियौ कि त्यो गोबर हो फेरि तिम्लाई त्यो औँलाले कोट्याएर चाख्ने के आवश्यकता थ्यो ?"

बिर्खेले उनीहरूलाई हेरेर मुस्कुराएछ र भनेछ...
"तिमीहरू आफ्नो जिन्दगीमा पनि यस्तै गर्छौ । हेर्छौ, बुझ्छौ र जान्दछौ कि यो गोबर नै हो... तर सोंच्छौ कि सायद अब गोबर हलुवा बन्यो होला अनि फेरि चाख्छौ । बारम्बार पर्खिदैँ चाख्दै गर्छौँ हलुवा हुने आशमा । कतिपल्ट चाख्छौ अझै ?

कतिपल्ट भन्दा याद आयो... हाम्ले काङ्ग्रेस, नेकपा जस्ता पुराना पार्टीलाई  कतिपटक चाखेर हेरिसक्यौँ । यिनीहरू गोबर हुन् भन्ने पनि हाम्ले जानिसक्यौँ तर अझै हामी यिनिहरु  हलुवा हुने आशमा पर्खिरहेका छौँ । यी दलका कार्यकर्ता पनि बिर्खेको यो हर्कत देखेर हाँस्दै होलान् । तर वास्तवमा उनीहरू गोबर चाखेर पनि हलुवा हुने विश्वासमा पर्खिरहेका छन् । असलमा गोबर-गोबर नै हुन्छ जतिपल्ट चाखे नि ! जति पर्खिए नि गोबर हलुवा हुनेवाला छैन । चेतना भया !

आज एक्कसी यो लघुकथाको याद आयो । एकजना साथीले मलाई नेपाली काङ्ग्रेस बनेपा २ को फेसबुक ग्रुप बनाएर एड गर्नुभएछ ।संझनु भएकोमा उहाँलाई आभार व्यक्त गर्दछु ।तर उहाँले  ग्रुपमा एड गर्नुअघि  मलाई  एकपटक सोध्नुभएको भए पनि हुन्थ्यो।उहाँलाई मेरो राजनीतिक आस्थाको बारे भ्रम भएको हुनुपर्छ । 

म कसरी काङ्ग्रेस-नेकपा जस्ता पुराना आउटडेट पार्टीको पिछलग्गु बन्न सक्छु र ? 

त्यो बुझाउन तलको एउटै फोटो काफी छ ।
यो बनेपाको पुन्यमती खोला हो । त्यही खोला जुन हाम्रै गाउँको शिरबाट उत्पत्ति हुन्छ र हाम्रो धर्ती सिन्चित गर्दै बगेर जान्छ । यी हाम्री माता हुन् । हाम्री माताको यो दुर्दशा ? यो कन्तबिजोग ? यति दयनीय अवस्था ? 

बनेपा बजार हेर्नुस् । कस्तो दुर्घन्धित सहर ? शायद देशकै सबैभन्दा फोहोर सहर होला बनेपा । 
अब अहिलेको सरकारले यस्तो गर्यो भन्नुहोला । तर १८-१९ बर्ष अगाडि म स्कुल पढ्दा, काङ्ग्रेस सत्तामा हुँदा पनि अहिलेजस्तै बनेपाको त्यो दुर्गन्ध मेरो नाकले भुलेको छैन । मैले देखेदेखि  नै यस्तै फोहोर र दुर्घन्धित छ बनेपा ।

यी साना उदाहरण मात्र हुन् । अरु के उदाहरण दिउँ ? ३० बर्षदेखी यस्ता उदाहरणको ठेली पल्टाइनसक्नु छ ।

(अप्डेट: यसैबीच २/३ बहुमत प्राप्त अर्को दलका प्रमले संसद विघटन गर्ने सन्की कदम चाले २०७७/९/५ गते। कोरोनोले थिलो थिलो पारेको देशमा यो भन्दा ठुलो बहुलठ्ठी के होला ? )

एउटा सानो सहरलाई  स्वच्छ र सफा राख्ने ढंग नभएका  यस्ता पार्टीहरुले अरु के गर्न सक्लान ?जनताले ५ बर्ष स्थिर सरकार चलाउने स्पष्ट जनादेश दिदापनि लुछाचुडी गर्दै  समयनै नभई संसद विघटन गरि देशलाई बन्धक बनाउने पार्टीले कस्तो बिकास र समृद्धि ल्याउलान ? तपाईंजस्ता युवालाई कसरी डोर्‍याएर हिंड्लान ?

नेकपा, काङ्ग्रेस वा त्यस्तै पुराना, चरित्रहिन, दिशाहिन , थोत्रा सोचले ग्रस्त पार्टीहरुमा आवद्ध  हुनु भनेको तपाईं जस्ता युवाको अपमान सिवाय केही होइन । 

त्यो ग्रुपमा एड गरिदा मैले त्यही अपमान महसुस गरेको छु । कृपया मलाई यो अपमानको पिडाबाट मुक्ति दिनुहोस् ।

(अपडेट: यो ब्लगसहितको आग्रह पछि मलाई उक्त ग्रुपबाट हटाइ सकिएको छ ।)

तर यसको अर्थ युवाले राजनीति गर्नुहुन्न भन्ने होइन । गर्नुपर्छ  । अबको विकल्प युवा नै हुन् । आउनुहोस बनेपा २ मा अब नयाँ सोच र भिजन लिएर एकत्रित होऔ । नयाँ संगठन बनाऔं  । नयाँ पार्टी बनाऔं । नेतृत्व तपाईंहरु नै गर्नुस् । म जस्ता धेरै युवाको साथ र सदभाव सधैं रहन्छ ।

तपाईं हामीजस्ता युवालाई नेतृत्व गर्ने नेतृत्व त हामी भन्दा दुरदर्शी हुनु पर्यो नि । एक  पटक आफ्नो बिचार हेरौं र आफ्ना पार्टीका नेताको अनुहार सम्झौ । कुनै कुरा मेल खान्छ ?आफ्नो आंगन समेत सफा राख्न नसक्ने नेतृत्वको पछि नलागौ । 

एउटा कुरा सधैं बुझौं- गोबर कहिल्यै हलुवा बन्नेछैन।

२०७७/०८/२७ राती १० बजे