Friday, November 24, 2017

अब त सोचौं ।

फेरी चुनाब आएको छ फेरी थरीथरीका विकासे नारा बोकेर नेताहरु हाम्रा गाउँ बस्तीमा पसेका छन् । फेरी नयाँ पूराना प्रतिबद्धताका ठेलीहरु बोकेर नेताहरु जनताको आँखामा छारो हाल्न आतुर छन् । देशलाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउने सपना बाँड्न फेरी नेताहरु तम्तयार छन् । उनीहरूले अबको पाँचै बर्षमा देशलाई धनी बनाउने सपना बाँड्नेछन् । निमेषभरमै देशको मुहार फेर्ने कुरा गर्नेछन् । देशैभरी बिकासको मूल फुटाउने आश्वासन बाँड्ने छन् । उनीहरूले यस्तै गफ लडाउने छन् । हामी सुन्नेछौँ । मख्ख पर्नेछौं । र शायद, भोट पनि गर्नेछौं ।

आज देशमा प्रजातन्त्र आएको ३० वर्ष पुग्नै आँटेको छ । यो देश बनाउनको लागि पर्याप्त समय हो । तीसौं वर्षदेखि हामीले हाम्रा नेता देखेकै छौं । उनीहरुको कार्यक्षमता पनि देखेकै छौँ । सबैले अवसर पनि पाएकै छन् । तीसौं वर्षसम्म पटक पटक सत्तामा पुग्दा समेत परिवर्तनको संकेत समेत नदिएका उनीहरूसँग देशको कायापलट गर्ने त्यस्तो के अचुक फर्मुला छ ? एकपटक सोधौं ।

बिगत २५ वर्षको देशको बिकासको गति चिप्लेकीराको जस्तो छ । यही समयमा समान अवस्थाका देशहरु बिश्वकै सबल अर्थव्यवस्थाको रुपमा दरिएका छन् । हामी फगत त्यी देशलाई नौजवान युवाहरु निर्यात गर्ने कारखाना बनेका छौँ । देशमा पूर्वाधारको विकास सुस्त र  उद्यमशीलता शुन्य छ । भोक, रोग, गरिबी, बेरोजगारीको चपेटामा परेका छौं । भ्रस्टाचारमा जकडिएका छौँ । कुशासनको शिकार भएका छौँ । समग्रमा दुखै दुख पाएका छौँ । हण्डरै हण्डर खाएका छौँ । तैपनि देशलाई यो दुरावस्थामा पुर्याउनेहरुलाई हामीले पटक पटक भोट गरेका छौँ । एकपटक त सोचौं ।

हाम्रा नेताहरुले बर्षौंदेखि लोकतन्त्रको नाममा भोट माग्ने गरेका छन् । परिवर्तनको नाममा भोट माग्ने गरेका छन् । उनीहरू लोकतन्त्र र परिवर्तनको रटान लगाएर थाक्दैनन् । तर यो देशमा लोकतन्त्र र परिवर्तनलाई व्यवहारिक रुपमा आत्मसात गर्न नसक्ने कोही छन् भने - त्यो उनीहरू नै हुन् । उनीहरुलाई लोकतन्त्र आफैले ल्याएको भन्ने भ्रम परेको छ । तर लोकतन्त्र त जनचाहाना र जनताको शक्तिको उपज हो । उनीहरुमा लोकतन्त्र आफ्नै सेवा सुविधाको लागि आएको भन्ने अल्पज्ञान छ । तर लोकतन्त्र त जनताको हित र सम्वृद्धिको लागि आएको हो । ‘हामीले ल्याएको लोकतन्त्रमा हामीले नै हालीमुहाली गर्न पाउनुपर्छ’ भन्ने तुच्छ मानसिकता बोकेर बसेका छन् उनीहरू । यस्ता मानसिकता भएका नेताले के लोकतन्त्रको बास्तविक अर्थ बुझेका होलान ? केही समयअघि एक नेताले ‘ मैले यति जनालाई जागिर लगाइदिएँ । यति जनाको भनसुन गरें, सरुवा मिलाएँ, त्यसैले म नै योग्य छु’ भनेर भोट मागेको सुनियो । यस्ता मानसिकता भएका नेताबाट देशको सम्वृद्धि सम्भव होला त ? एकपटक सोचौं ।

हाम्रा नेताहरुले कहिल्यै आफु नियम कानुनको अधीनमा रहेर चल्छु भन्न सकेनन् । देशलाई बिधि र पद्धतिमा चलाउन सकेनन् । इमान्दारिता र सदाचारिताको पालना गर्छु भनेनन् । भ्रस्टाचार, घुसखोरी र कमिसनखोरी गर्दिन र गर्न दिन्न भन्न सकेनन् । भनसुन, नातावाद कृपावाद, धनबाद र डनबादसँग नाता तोड्न सकेनन् । नेतामा यति मात्र गुण हुने हो भने देश बन्न केही समय लाग्ने थिएन । तर अपसोच - राजनीतिलाई कमाइखाने भाँडो बनाएका बेशरम हरुलाई उल्टै पेन्सन पो चाहिएको छ । नियत खराब भएका यी नेताहरुलाई फेरी पनि भोट दिने ? एकपटक त सोचौं ।

एकपटक हाम्रा राजनीतिक दलका घोषणापत्रहरु हेरौं । त्यी कुनै मनगढन्ते किस्सा भन्दा कम छैनन् । हावा र हचुवा, नाजुक र कच्चा योजनाहरुका पुलिन्दा हुन् त्यी प्रतिबद्दताहरु । देशमा चमत्कार गर्ने ठुल्ठुला कुरा गरेका छन् । स्मार्ट र स्याटेलाइट सिटीका गड्डी हाँकेका छन् । रेल, मोनोरेल, मेट्रोरेल, र स्काईरेलका कुरा जोतेका छन् । काठमाडौंदेखि सगरमाथासम्म केवलकार हाल्ने कुरा खोकेका छन् । समुन्द्रमा पानीजहाज चलाउने गफ ठोकेका छन् । के साँच्चै त्यी हाम्रा आवश्यकता हुन त ? एकपटक सोचौं ।

हाम्रो आवश्यकता त सेवक सरकार हो । चुस्त, दुरुस्त, जनमुखी प्रशासन हो । नियमकानुनको समयानुकुल परिमार्जन र प्रभावकारी कार्यान्वयन हो । सबैद्वारा बिधि र पद्धतिको परिपालाना हो । जनताका आधारभूत आवश्यकताको परिपूर्ति हो । शिक्षा, स्वास्थ्य सेवाको गुणस्तरियता अभिबृद्धि गरी सबैको पहुंच स्थापित गर्नु हो ।  कृषिको ब्याबसयीकरण र विविधिकरण हो । स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उद्योगको स्थापना र विकास हो । जलबिद्युतको उत्पादन र निर्यात हो ।  देशभर पक्की सडकसंजालको विकास हो । घोषित राष्ट्रिय गौरबका आयोजनाहरु यथासक्य छिटो सम्पन्न गर्नु हो । फोहोरमैला, विपद तथा प्रकोपको उचित व्यवस्थापन हो । पर्यटनको प्रवर्धन र विकास हो । श्रमको सम्मान र उद्यमशीलताको प्रवर्द्धन गर्नु हो  । यी सबको माध्यमबाट रोजगारी सिर्जना गरी युवाशक्तिको विदेश पलायन रोक्नु हो ।

यो देशको समस्या समाधानका उपायहरु सारै सरल छन् । तर पुरातनवादी पार्टीहरुले यसलाई जटिल बनाईदिएका छन् । साँच्चै भन्ने हो भने यो देशको विकासमा कोही बाधक छन् भने त्यी यी पुरातनपन्थी पार्टीहरु हुन् । यिनीहरुले विकासित गरेको भ्रष्ट पद्दति देशको सम्वृद्दिमा सबैभन्दा ठुलो तगारो हो । जसले आज समाजका हरेक तह र तप्कामा जरो गाडेर बसेको छ  । यिनीहरुलाई हटाउने बित्तिकै विकासका ढोकाहरु आफ से आफ खुल्नेछन् । अब त सोचौं ।

बिस्तारै यो देशमा एउटा कुरा भने प्रस्ट हुँदै गएको छ – यो देशको विकास अब पूराना पार्टीहरुबाट सम्भव छैन । अनैतिक पद्दतिको जगमा उभिएका, भ्रष्टाचारले मक्किएका र कमिसनखोरीले चर्किएका त्यी पार्टीहरु अब टालेर सम्भव छैन, रेट्रोफिटिंग गरेर फाइदा पनि छैन । त्यी पार्टीहरुलाई बिस्थापित गर्ने बेला आइसकेको छ । सुसंस्कृत राजनीतिको सुरुवात गर्ने बेला आइसकेको छ । अब बिकल्प कुर्दै बस्ने होइन, आफै बिकल्प बन्ने बेला आइसकेको छ । असल नियत भएका नेताहरूलाई खोज्नेबेला आइसकेको छ ।  यो देशलाई हाम्रै जीवनकालमा  परिवर्तन गर्नुछ । पद्दति, पारदर्शिता र इमान्दारीता अबलम्बन गर्ने उम्मेदवार  रोज्नेबेला आइसकेको छ । हाम्रै जीवनकालमा सम्बृद्ध बनाउनु छ । हाम्रै जीवनकालमा उद्यमशील नेपाली समाजको निर्माण गर्नुछ । बिदेशिएका सन्तानको बाटो हेरेर टोलाइरहने, लोलाइरहने आँखाहरुमा मुस्कान ल्याउनु छ । नेपाललाई सिंगापुर र स्विट्जरल्यान्ड होइन, नेपाललाई नेपाल बनाउनु छ । त्यसैले भोट हाल्नुअघि एकपटक - सोचौं ।