Saturday, June 18, 2022

लोकसेवा परीक्षार्थीलाई केही फरक सल्लाह

लोकसेवाको तयारी गर्नुका पछाडी मेरा स्वभाविक अपेक्षा थिए - स्थायित्व, आकर्षक तलबभत्ता र सुरक्षित जीवन । यी सबै अपेक्षा म आफैभित्र स्वस्फूर्त पलाएका विषय थिएनन - मैले समाजमा सुनेका-देखेका, समाजबाट सिकेका अर्थात समाजबाट आर्जित अपेक्षा थिए  । अझ भनौं लोभले आकर्षित गरेको थियो मलाई सरकारी सेवामा । त्यो लोभले जन्म दियो डरलाई । समकालीन साथीहरूले यी सुबिधा प्राप्त गर्दै गर्दा आफुले प्राप्त गर्न नसक्ने हो कि भन्ने डर । मलाई लाग्छ - मेरा प्रारम्भिक असफलता पछिका असफलताका प्रमुख कारक नै यिनै थिए- लोभ र डर । मेरो जीवनले मलाई यिनै कुरा सिकाउन खोजिरहेको थियो । यो कुरा मैले धेरै पछि मात्र बुझ्न सकें ।

लोभ र डर माथी नियन्त्रण 

संभवत: सबै लोकसेवा परिक्षार्थीको सबैभन्दा ठुलो समस्या नै यही हो- लोभ र डर । यस्तो मानसिकता बोकेर परीक्षामा बस्दा परीक्षामा असर पर्छ । परीक्षा बिग्रन्छ ।

आजको दिनमा लोभ र डर दुबै समाजबाट आर्जित हुन्छ । स्वयंमबाट उत्पत्ति नभएको विषयको सीमा हुँदैन । सीमा खिच्न गाह्रो हुन्छ । सीमारहित कुराको चाहानाले मनमा अस्पष्टता पैदा हुन्छ । अस्पष्टताले नकारात्मक सोचलाई जन्म दिन्छ । नकारात्मक सोच असफलताको प्रमुख कारण हो । 

अत: लोभ र डरलाई नियंत्रित गर्नु नै लोकसेवा तयारीको पहिलो खुट्किलो हो । यही मानसिक स्पष्टताको बिन्दुबाट सुरु गर्नुपर्दछ- लोकसेवाको तयारी । 

वास्तवमा मानिसको आवश्यकता सीमित छ । बाच्नकै लागि त गाँस, बास र कपास नै काफी छ । तर समाजको प्रभाव वा देखासिकिमा हामीलाई अरु धेरै 'थोक' चाहिएको छ । हाम्रा कतिपय आवश्यकता त सरकारी सेवाबाट प्राप्त गर्न सकिएला । तर अधिकांस चाहाना पूरा हुनु असम्भवप्रायः छ । बरु अन्य पेशाबाट बढी सहजताका साथ त्यी कुराहरु प्राप्त गर्न सकिन्छन्  । गलत पेशाको छनोटले जागीर प्राप्त गरिसकेपछि पनि निराशा हात लाग्छ ।  हाम्रो समाजमा यस्ता परिघटना छ्याप-छ्याप्ती  देखिएकै छन् । 

अत: सरकारी सेवा प्रवेश गर्ने नै हो भने यो विषयमा स्पष्ट हुनु जरुरी छ । हामीले  लोभलाई जित्नुपर्दछ । समाजबाट प्रभावित नभइकन आफ्ना आवश्यकताका सीमाहरु कोर्नुपर्दछ । त्यसरी कोरिएका सीमाले मनमा स्पष्टता ल्याउछ । विचारमा सकारात्मकता ल्याउछ । सकारात्मक सोचले सफलताको बाटोमा डोर्‍याउछ- सेवा प्रवेश गर्दा पनि, सेवा प्रवेश पश्चात् पनि । 
लोकसेवा दिंदै गर्दा स्वभाविक रूपमा असफल पनि भइन्छ । अनि डर बढ्न थाल्छ । उमेर बढ्दै जान्छ, डर अझ बढ्न थाल्छ । बाहिर समकक्षी साथीहरू वृतिपथमा माथी चढ्दै गरेको देखिन्छ, डर झन्  बढ्दै जान्छ। यस्तो डरलाई पनि जित्नुपर्दछ । डरलाई जित्ने उपाय हो-नडराउनु । किनभने हामी जति डराउछौ, डर त्यति बढ्दै जान्छ । हामी जति डराउन छाड्छौ, डर त्यति घटदै जान्छ । आफुले चाहेको ठाउँमा पुग्ने छिटो उपाय नै बिस्तारै हिंड्नु हो भन्ने कुरा सधैं हेक्का राख्नुपर्द्छ । कडा मिहिनेत गरिरहनुपर्दछ तर जस्तोसुकै परिणामलाई पनि स्विकार्छु भन्ने हिम्मत लिएर अघि बढ्नु पनि जरुरी छ। नहराइकन जीवनमा नयाँ बाटाहरु फेला पर्दैनन् । असफलताबाट धेरै कुरा सिकिनेछ, जसले जीवनका बाटाहरु सहज हुनेछन् भन्ने कुराको ख्याल राख्नुपर्दछ । सफलताले खुसी दिनसक्छ तर असफलताले हाम्रो वास्तविक शक्तिसंग परिचय गराउछ ।  त्यसैले सधै तयार रहनुहोस् - सफलताको लागि असफल हुनलाई । 

आर्थिक-पारिवारिक चिन्ता

लोकसेवा तयारीको क्रममा हुने अर्को प्रमुख समस्या हो- आर्थिक-पारिवारिक चिन्ता । मैले सबै काम छोडेर लोकसेवाको तयारीमै घोटिने साथीहरू देखेको छु । लगनशिलता राम्रो कुरा हो तर त्यसो गर्दा डर पैदा हुन्छ । फेरि हाम्रो दिमागी क्षमताको सीमितता पनि छ । यसलाई भिन्न-भिन्न खाले अभ्यासको जरुरत छ । अत: सानो तिनो काम गरेर जीविकोपार्जन गर्न र मस्तिष्कलाई स्फुर्त राख्न सल्लाह दिन्छु म । यसले डर कम गर्न मद्दत गर्छ । फेरि पनि मानसिक रुपमा बलियो हुनु अत्यन्तै जरुरी छ । आर्थिक वा पारिवारिक अवस्थालाई लिएर  चिन्तित हुनु बेकारको कुरा हो । जीवनमा प्रगतिको लागि सबैभन्दा ठुलो चुनौती सहजता हो, अप्ठेरो होइन ।  जीवनमा तुफान आउन पनि जरुरी छ-तब न पत्ता लाग्छ कसले हात दिन्छ र कसले साथ छोड्छ भन्ने कुरा । संघर्षको बेला मात्र मान्छे एक्लो हुने हो, सफलता पाएपछि सन्सार पछि लाग्ने नै छ । "आजको समय पनि बितेर जानेछ" भन्ने् कुरा संधै संझनुपर्दछ । 

सकारात्मक रहनुस् 

लोकसेवा तयारीको क्रममा होस् वा जीवनको जुनसुकै परिस्थितिमा किन नहोस्-नकारात्मक कुरा सुन्नु एकदमै हानिकारक हुन्छ । उत्प्रेरक विचार वा भाषण सुन्नु राम्रो हुन्छ ।  जीवनमा सधैंभरी गुनासा मात्रै गरिरहने साथीहरू छन् भने टाढै रहनु उचित हुन्छ । साथीहरू गुमाएकोमा पीर मान्नु पनि हुँदैन । किनभने जसले साथीहरू गुमाउँदैनन, उनीहरु कहिल्यै परिपक्व हुँदैनन। फेरि सहि नियत हुनेहरुले कहिल्यै कसैलाई गुमाउँदैनन, बदनियत हुनेहरुले मात्रै गुमाउने हुन् । आफ्नो तुलना अरुसंग गर्नुहुँदैन । गर्नै परे आफुभन्दा तल रहेकाहरुसंग गर्नु उपयुक्त हुन्छ ।  संसारमा धेरै कष्टकर अवस्थामा मान्छेहरु छन् भन्ने कुरा बिर्सनुहुँदैन । अरुको आलोचना गर्ने बानी गर्नुहुँदैन । र आफ्नो समस्या पनि सम्भव भएसम्म अरुलाई भन्नु हुँदैन । किनभने असी प्रतिशत मानिसले हाम्रो समस्याको वास्ता गर्दैनन् । बाँकी बीस प्रतिशत त खुसी नै  हुन्छन् । अत: तुलना गर्ने, गुनासा गर्ने, आलोचना गर्ने र दु:ख पोख्दै हिंड्ने बानी छ भने त्यागी दिनुहोस् । यी कुराहरु शान्ति खल्बलिएको मान्छेका परिचय हुन् । बरु जीवनलाई बृहत दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस् । संसारप्रति जति दायित्वबोध गरिन्छ, आफ्ना समस्याहरु त्यति नै साना लाग्न थाल्छन् । जीवनमा खुसी हुनलाई  हामीले सधैं आफ्ना आवश्यकताहरु  घटाउनुपर्छ र जिम्मेवारीहरु बढाउनुपर्छ । र सकेसम्म प्राणायाम, योगा, ध्यान गर्ने बानी बसाल्नु असल हुन्छ । 

मिहेनत गरिरहनुस्  

मिहेनत गर्न कहिल्यै नछोड्नुहोस् ।  भाग्य भन्ने कुरा परिश्रमले मात्र बदल्न सक्छ । जति धेरै परिश्रम, त्यति नै धेरै भाग्यका ढोकाहरु खुल्न थाल्नेछन् । जो आफ्नो लक्ष्यप्राप्तिमा केन्द्रित हुन्छ , उसले कुनै पनि असहज परिस्थितिलाई स्किकार्दैन । उसले लक्ष्य मात्र देख्छ र निरन्तर प्रयास गरिरहन्छ । सपना कहिल्यै जादुमयी तरिकाले वास्तविकतामा परिणत हुँदैन । त्यसको लागि अठोट र पसिना नै चाहिन्छ । चुपचाप परिश्रम गरिरहनुस्, तपाईंको सफलताले आवाज पक्कै निकाल्ने छ ।

पढ्ने- लेख्ने तरिका 

मानसिक रूपमा सकारात्मक हुनुनै लोकसेवाको आधा तयारी हो जस्तो लाग्छ मलाई । त्यसपश्च्यात लोकसेवाको पाठ्यक्रम सरसर्ती एक पटक पढेको पनि अवस्य हुनुपर्दछ । अनि बल्ल दोस्रो चरणको तयारी सुरु हुन्छ । यो चरणमा धेरै भन्दा धेरै प्रश्नको अभ्यास गर्नुपर्छ । उत्तरहरुलाई उत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । उत्तर किताब र ईन्टरनेटबाट खोज्न सकिन्छ । निजामती सेवाको लागि सबै भन्दा उत्कृष्ट स्रोत आवधिक योजनाको दस्तावेज हो । लोकसेवामा प्राय सोधिने अवस्था, समस्या, चुनौती, समाधान, तथ्यांक, नवीनतम आयाम जस्ता कुराहरु  त्यहीँ उपलब्ध छ । सरकारका अन्य प्रकाशित दस्तावेज र प्रतिवेदनहरु पनि राम्रा स्रोतहरु हुन् ।

विभिन्न अन्लाईनहरुमा प्रकाशित हुने पाठ्यक्रम सम्बद्ध पछिल्ला  लेख रचनाहरु पढ्ने र टिपोट गर्ने बानी गर्नुपर्छ । मलाई लाग्छ बिज्ञले लेख्ने त्यस्ता लेखहरु किताब लेखकद्वारा संकलित सामाग्री भन्दा उत्कृष्ट हुन्छन् र ब्यबहारिक ज्ञानको कसीमा पनि अब्बल हुन्छन् । 

पाठ्यक्रमलाई "होलिस्टिक"रूपमा पढ्नुपर्दछ । धेरै प्रश्नको उत्तर समग्रतामा दिनुपर्नेहुन्छ । जस्तै केही वर्ष अगाडी शाखा अधिकृतको परिक्षामा सोधिएको 'बिकासका अन्तरसम्बन्धित समसामयिक मामला के के हुन् ?' भन्ने प्रश्नले तेस्रो पत्रको बिकासका मामिला सम्बन्धी सबै पाठ समेट्छ । 

यो कुरा ख्याल गर्नुपर्छ कि परिक्षामा पढेका सबै कुरा लेख्न सकिन्न । त्यसैले 'कि वर्डस्' याद गरेर जाने र मिलाएर लेख्ने गर्नुपर्छ । लेखाइमा मौलिकता चाहिन्छ तर राम्रा भनाई र परिभाषाहरु पनि प्रयोग गर्नुपर्छ । खण्ड-खण्ड छुट्ट्याएर पढ्दा पनि सम्झन सजिलो हुन्छ । जस्तो विभिन्न सिद्धान्तहरु, विभिन्न समस्याहरु आदि ।

लेख्दा संरचना मिलाएर लेख्नुपर्छ । राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा लेख्ने बानी गर्नुपर्छ। सुरुवातमा मुख्य कुरा लेख्ने गर्नुपर्छ ।

ब्याकरणीय शुद्धतामा ध्यान दिनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने, हाइलाइट गर्ने  गर्नु उपयुक्त हुन्छ । समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुनुपर्दछ । उत्तर आशावादी किसिमको हुनुपर्छ ।  सकारात्मक निष्कर्ष दिनुपर्छ ।

अन्त्यमा,
सम्भवत: लोकसेवा पास गर्ने sureshot फर्मुला त कसैसंग नहोला ।  यो संयोगको कुरा पनि हो- परीक्षार्थी, परिक्षक, परिश्रम, समय र भाग्यको । तर पनि कुनै चीज प्राप्त गर्न हामी दृढ भएर लाग्दा यो बिस्वब्रम्हाण्डले नै हामीलाई साथ दिन्छ भनिन्छ । यही विस्वासका साथ अघि बढ्न सके लोकसेवा परीक्षामा पक्कै सफलता प्राप्त गर्न सकिन्छ ।

*****

(प्रदेश लोक सेवा आयोग, प्रदेश नं १, बिराटनगरको 
 २०७८ माघ ९ गते प्रकाशित प्रदेश लोक सेवा आयोग स्मारिका, अंक २ मा प्रकाशित लेख । )

Friday, May 27, 2022

बनेपाको नेतृत्व लिन आजैदेखि तयार रहनुस् ।

केही दिन अघि हामीले हाम्रै बनेपाको लफडा हेरिहाल्यौँ । करै-कर र निगमको नालायकीका कारण भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिले हाम्रो ढाड सेकिएकै छ। हाम्रो नेताहरु कहिल्यै सुध्रिनेवाला छैनन् । अब ६५ वर्ष देखि वृद्ध भत्ता दिने रे ! कतै किरियाका लागि खर्च तथा कतै सुत्केरी खर्च दिने रे !  दिनु त राम्रो हो तर उत्पादन खोइ ? युवालाई रोजगारी खोइ ? भ्रस्टाचार, घुसखोरी, कमिसनखोरी, कालाबजारी, नातावाद, कृपावाद जस्ता देशका तमाम बेथितिको अन्त्य खोई ?

स्रोत, आम्दानी र उत्पादन बिनाको वितरण थेग्न सक्छ देशले ? यसले के संकेत गर्छ ? यसले यी नेताको कुनै "भिजन" नभएको संकेत गर्छ । र, देश छिट्टै श्रीलंकाको हालतमा पुग्ने संकेत गर्छ ।

अर्कोतिर हाम्रो समाज । उसलाई आफु, आफ्नो परिवार, आफ्नो घर, आफ्नो सुखसुबिधा बाहेक अरुको मतलब छैन । बस् सुँगुरको सपना जस्तै आफ्नो डुँड भरिए पुग्छ । उसलाई सुशासन हैन, आफ्नो मान्छेलाई ठाउँमा पुर्याएर फाइदा लिनु छ । हिमाल ढलोस् कि सिमा सरोस् , न्याय मरोस् कि सत्य जलोस् उसलाई बाल छैन । देशको माया छैन । सही र गलत थाह छैन । पार्टीको दासत्व भित्र पार्टीकै झन्डा ओढेर जनता जुधाउँछन्  । भ्रष्ट र दुष्टको शासनमा  गिद्द र हुँडार लुछाचुँडी गर्छन् । सिनोको टुक्रामा झिंगा रमाउँछ्न् । अब हामी परिवर्तन हुनुपर्छ । र यो भेडाबाख्राको बथानलाई मान्छे बनाउनुपर्छ ।

यो अवसर हामीसंग छ । ५ वर्षको समय पनि छ । बालेन शाह, हर्क साम्पाङ, गोपाल हमाल जस्ता स्वतन्त्र उम्मेदवारको बिजयले देशमा नयाँ आशा पलाएको छ । उनीहरुले राम्रा काम गरे भने अर्कोपटक देशमा नयाँ लहर आउनेछ । युवाहरु संगठित हुने अवसर हुनेछ । नयाँ पार्टी बन्ने अवसर हुनेछ । यी थोत्रे नालायक पार्टी बिस्थापित गर्ने अवसर समेत हुनेछ ।

हामी सबैको देश बदलिएको हेर्नै चाहाना हो । त्यसैले केही सुरुवात हामी गर्दै गरौं । जनतासंग जोडिँदै गरौं । जनतालाई जगाउँदै गरौं । सचेत पार्दै गरौं । जनताका समस्या उठाउँदै गरौं । जनताका चासो र सरोकारका विषयमा छलफल, बहस, वकालत, पैरवी गर्दै गरौं । युवाहरु संगठित हुँदै गरौं । 

म एउटा फरक भुमिकामा काम गर्न गइरहेको छु । त्यसको अर्थ मैले हरेस खाएको होइन । बनेपा बदल्ने, देश बदल्ने मेरो सपना ज्युँ का त्युँ छ। मैले प्रत्यक्ष राजनीति गर्न त मिल्दैन ।  तर म जनतासंगै रहनेछु । जनताको कुरा सुन्नेछु । जनताका समस्याको वकालत गर्नेछु । र आवश्यक परेमा म फेरी मैदानमा उत्रनेछु । तर मेरो प्राथमिकता चाहीँ तपाईंहरु मध्येबाट नयाँ नेतृत्व आवोस भन्ने हो । 

अर्को स्थानीय चुनावमा देशमा बलियो जग हाल्नुपर्छ । अहिलेजस्तो ३ ठाउँमा होइन, देशै भर स्वतन्त्र उम्मेदवार जित्ने लहर ल्याउनुपर्छ ।  त्यसैले बनेपाको नेतृत्व लिन तयार रहनुस् । बनेपाको प्रमुख हुने हो कि उपप्रमुख ?आफ्नो वडाको वडाध्यक्ष हुने हो कि वडा सदस्य सोच्दै गर्नुस् है । अर्कोपटक पालो तपाईंको हो !

मैले बनेपाको १४ वटै वडाका युवा युवती समेट्न १४ वटा म्यासेन्जर ग्रुप पहिल्यै बनाएको थिएँ । अब १४ वडाको "देश बदल्ने सपना" नामको फेसबुक ग्रुप पनि बनाएको छु । यो अवधारणामा बिश्वास गर्ने साथीहरू "जोइन" गरौं । उस्तै बिचारका साथीलाई पनि "जोइन" गराऔँ। बिचार नमिल्ने साथीहरू म्यासेन्जर ग्रुपबाट हट्न सक्नुहुन्छ । कोही साथी एडमीन को रूपमा यी म्यासेन्जर तथा फेसबुक ग्रुपको जिम्मा लिन चाहानुहुन्छ भने स्वागत छ । मलाई भन्नुहोला ।  म handover गर्नेछु ।

नयाँ यात्रामा सबैलाई स्वागत छ ।

*ब्लगका केही अंश हर्क साम्पाङको गीतबाट साभार गरिएका छन् ।



Thursday, May 19, 2022

मेरो चुनावी खर्च विवरण

 चुनावी अभियानका दाताहरु:-

१. रुपेश काफ्ले- रु १०००/-
२. राजाराम गिरी-रु १०००/-
३. प्रेम भट्टराई- रु १०००/-
४. दिपक राज गिरी- रु १०००/-
५. रोयल गिरी- रु १०००/-
६. सन्जित कुमार शाह- ५००/-
७. हरि प्रसाद सापकोटा- ४५,०००.४४/-

मेरो ब्यक्तिगत तथा संकलित जम्मा रकम रु ५०,५००.४४/-  निम्न कार्यमा खर्च भयो:-

१. म्युजिक भिडियो सहयोग- रु १०,०००/-
२. गाडीबाट प्रचार प्रसार (७ दिनको) - रु ३०,७३५/-
३. स्पिकर भाडा (७ दिनको)- रु ६२००/-
४. झन्डाको खर्च- रु ५०००/- ( फोकट खर्च, प्रयोग आएन)
५. इन्धन ( मोसा)- रु ५०००/-
६. उम्मेदवारी धरौटी- रु १५००/-
७. खाना, खाजा, विविध - रु ७०००/- (कहिलेकाहीं, कहिले त शुभेच्छुकले तिरिदिनुभएको)
८. पर्चा, घोषणापत्र- शुभेच्छुकले निशुल्क छापिदिनुभएको ।
९. धेरै जसो अवस्थामा शुभेच्छुक, टिमका साथीहरुले खाजा, इन्धनको खर्च आफै गर्नुभएको ।

जम्मा खर्च रु:- ६५, ४३५/-
प्राप्त सहयोग रु:- ५०,५००/-
मेरो आफ्नो खर्च रु:- १४,९३५/-

यसरी रु १४,९३५/- मा बनेपा नगरपालिकाको नगर प्रमुखको १ महिना लामो चुनावी प्रचार प्रसार सकियो ।

Tuesday, April 26, 2022

बदल्नुस नेता, बदल्नुस बनेपा अभियानका सहयात्रीहरु

स्वतन्त्र उम्मेदवारको समर्थनमा विवेक रानाद्वारा रचना, संगीत तथा गायन गरिएको "जिन्दावाद" गीतको छायांकनको लागि सहयोग गर्ने सहयात्रीहरु निम्न अनुसार हुनुहुन्छ:-

१. रुपेश काफ्ले- रु १०००/-
२. राजाराम गिरी-रु १०००/-
३. प्रेम भट्टराई- रु १०००/-
४. दिपक राज गिरी- रु १०००/-
५.रोयल गिरी- रु १०००/-
६. सन्जित कुमार शाह- ५००/-

रु १०००/- भन्दा बढी सहयोग गर्नेको नाम यहाँ समावेश छैन । फेस्बुक पोस्टमै त्यसो भनिएकोले यहाँ नाम नराखिएको हो ।

मेरो अभियानको लागि स्वस्फुर्त रूपमा छुट्टै सहयोग गर्ने सहयात्रीको नाम अर्को शिर्षकमा प्रकाशित गर्नेछु । खर्च नभएको पैसा दातालाई फिर्ता दिनेछु वा उनीहरुको अनुमतिले कुनै सामाजिक/ कल्याणकारी काम गर्नेछु ।

गीत तथा मेरो अभियानको लागि हालसम्म रु ५०,५००.४४/- प्राप्त भैसकेको छ । सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।


Sunday, April 24, 2022

म आउँदैछु बनेपा बदल्न !



मैले ९ वर्ष लगाएर २२ औं प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ वर्षे उमेरहद पार गर्ने लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें- नेपाल बिद्युत प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ) तहमा । बिगत ५ महिनादेखि म बिद्युत प्राधिकरण अन्तर्गतको सबैभन्दा ठुलो जलबिद्युत केन्द्र कालीगण्डकी ‘ए’ जलबिद्युत केन्द्रको प्रशासन प्रमुखको रुपमा कार्यरत थिएँ ।

२०७८/१२/२४ गते उक्त पदबाट राजीनामा गर्दै यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको “मेयर” पदमा चुनाव लड्ने निर्णय गरेको छु ।

मैले तलब, भत्ता, इपिआर, ओभरटाइम गरि महिनामा लगभग सत्तरी हजार रुपयाँ तलबभत्ता बुझ्ने गरेको थिएँ । संचयकोष, अवकाश कोष, आवास तथा बिद्युत सुविधा गरी लगभग पच्चिस हजार बराबरको थप सुविधा पनि मैले पाउने गरेको थिएँ । मेरो जीवन एकदमै सहज तरिकाले चलिरहेको थियो । मेरो वर्तमान पनि सुनिश्चित छ र भविष्य पनि । तर म र मेरो परिवार भन्दा पनि मेरो गाउँ र नगरप्रतिको जिम्मेवारीबोधले गर्दा मैले यो अस्वाभाविक निर्णय लिएको छु ।

यो निर्णय गर्दा मलाई डर नलागेको होइन । केही डर पनि लागेको छ र केही अत्यास पनि । तर डर र अत्यासको अगाडी टिक्नु नै साहस हो । फेरी कुनै चीजले साँच्चै अत्याउंछ भने त्यो एकपटक परख्नैपर्ने चीज हो ! मेरो लागि जीवन कि त रोमाञ्चक यात्रा हो कि त केही पनि होइन । त्यसैले मैले यो साहस गरेको हुँ ।

मलाई सान्सारिक प्रतिस्पर्धामा कुद्ने कुनै रहर छैन । म यो संसारमा एउटा अस्तित्व मात्र भएर बस्न चाहान्न । म त वास्तविक अर्थमा बाँच्न चाहान्छु । मेरो गाउँ र नगर बनाउने सपनाले मलाई जीवित भएको महसुस गराउंछ । त्यसैले म मेरो सपना पछ्याउन निस्केको हुँ ।  

मलाई कि त फुल बनेर फक्रिनुछ । कि त सुगन्ध छरेर सिद्दिन म तयार छु ।

यो निर्णय लिएर मैले जीवनलाई एउटा बृहद कोणबाट हेर्ने प्रयास मात्र गरेको हुं । संसारप्रतिको दृस्टीकोण जति व्यापक हुन्छ, वैयक्तिक समस्याहरु त्यति नै गौण हुन्छन् । इच्छा जति कम हुन्छ, त्यति नै ज्यादा हुन्छ इच्छाशक्ति ! त्यसैले हाम्रो प्रयास संधै व्यक्तिगत इच्छा र आवश्यकता घटाउने र समाजप्रतिको जिम्मेवारी बढाउने तर्फ केन्द्रित हुनुपर्दछ भन्ने मलाई लाग्छ । शायद त्यही गरेका हुन् भगवान राम र बुद्दले । रामले राज्य नत्यागेको भए, यो संसारमा मर्यादा भन्ने कुराको अस्तित्व कहाँ हुन्थ्यो र ? सिद्धार्थ गौतमले राजकाज नत्यागी बुद्द्त्व कसरी प्राप्त गर्ने सक्थे र ? उनीहरुले पाइसकेको ऐश्वर्य त्यागे र त युग युगान्तरसम्म संसारले उनीहरुको कृति गाइरहेछ ।

अनि चुनाब हारियो भने नि ? 
सबै युद्दहरू जित्नकै लागि लड़िदैनन भन्ने म जान्दछु । केही युद्दहरु यसकारण पनि लडिन्छन् कि संसारले थाहा पाउनु जरुरी हुन्छ कि- कोही बदलावको पक्षमा एक्लै युद्दमा भिडिरहेको थियो । 

म पनि यो चुनाब नजित्न सक्छु । सोचेजति भोट नपाउन सक्छु । तर सही सोच र असल नियतको मापन कहिल्यै संख्याले हुँदैन । यसको मापन त दृढताबाट हुन्छ । म दृढ छु । यो निर्णयबाट मैले के पाउँछु वा के गुमाउँछु भन्ने बारे मलाई रत्तिभर चिन्ता छैन । म संग त केवल मेरो गाउँ र नगर बदल्ने आशा छ । भावी सन्ततिको भविष्य उज्ज्वल हुनेछ भन्ने बिश्वास छ । जबसम्म आशा हुन्छ, तबसम्म हारिंदैन भन्ने कुरा मैले बुझेको छु ।

म एउटा किसानको छोरो हु । जमीनसंग जोडिएको छु । खसे पनि जमीनमै खस्नेछु । त्यसले मलाई कुनै पीडा हुनेछैन ।  मेरो आवश्यकता बिहान बेलुकाको दुई छाक खाना न हो  ।  त्यति आवश्यकता पूरा गर्न म  मेरो पुर्ख्यौली बारीमा हलो चलाउँला । संघर्ष गरुँला । यो देश बदलेन भने, मेरा सन्ततिले अझै बढी दुख पाउनेनै छन् । के भो त, उनीहरुलाई दुई गाँस खान र परिश्रम गर्न सिकाउन म पनि दुखै गरुँला ।


बनेपा बदल्ने मेरो सपना 

२३ वर्ष अघि म घरबाट ५ किमि टाढा बनेपा बजारमा अवस्थित स्कूल जान्थेँ  । नजिकै राम्रो सामुदायिक बिद्यालय नहुनुको बाध्यता थियो त्यो । धुलाम्य बाटो हिंडेर स्कूल पुग्थेँ । बनेपा बजार र पुण्यमाता खोलाको फोहोर देखेर मेरो  आँखा बिझाउँथ्यो । बसपार्कको गन्धले मलाई रिंगटा लाग्थ्यो । 

प्राचीन नगर बनेपाका प्राचीन सम्पदा चण्डेश्वरी र उग्रचण्डी (नाला भगवती) माताको संरक्षणमा गरिएको उपेक्षा देखेर म चकित पर्थेँ । त्यति महत्वपूर्ण भईकन पनि त्यी मन्दिरको गुमनामी देखेर म छक्क पर्थेँ । 

चर्कंदो द्वन्दबीच गाउँका युवाहरु गाउँघरनै रित्तिने गरी विदेशिएको देखेर म  नरमाइलो मान्थेँ ।

सामुदायिक बिद्यालयहरुको दुरावस्था । राजधानीसंग जोडिएको तर स्वास्थ्यसेवामा जनताको पहुँच सहज नभएको अवस्था । नगरमा व्याप्त भ्रस्टाचार, घुससोरी, कमिसनखोरी, नातावाद, कृपावादको चर्चा गल्लीगल्लीमा सुन्दै म हुर्किँए ।

२३ वर्षपछि म बयस्क भएर फर्केको छु । तर बनेपा उस्तै छ ।
 
२३ वर्षपछि पनि बनेपा उस्तै छ । बनेपाको फोहोर उस्तै छ । बिहे गरेको पर्सिपल्ट आफ्नी दुलही छोडेर बिदेशिनुपर्ने युवाको कथा उस्तै छ । चाडबाडमा सन्तानलाई सम्झेर आँसु खसाल्नुपर्ने आमाबुवाको व्यथा उस्तै छ । सामुदायिक बिद्यालयहरुको दुरावस्था उस्तै छ । उपचार गर्न नसकेर/नपाएर मर्नुपर्ने जनताको बाध्यता उस्तै छ । उपेक्षित उग्रचण्डी र चण्डेश्वरी माताको चित्कार उस्तै छ । नगरपालिकाको पुरानो ढर्रा उस्तै छ । सरकारी  रवैया उस्तै छ । कुशासन उस्तै छ । भ्रस्टाचार, घुससोरी, कमिसनखोरी, नातावाद, कृपावादको संस्कार अझै झ्याँगिएको छ । जनप्रतिनिधिले आफ्नो ठाउँमा बजेट पार्न पहल गर्ने बाहेक अन्य काम नदेखेपछि ब्यबस्थित र सन्तुलित पुर्वाधार विकास हुने त कुरै भएन ।

यो सब टुलुटुलु हेरेर सुविधाभोगी जीवन बिताउने सामर्थ्य ममा छैन । यही अवस्थालाई बदल्न म फर्केको हुँ । 

म बनेपालाई एउटा यस्तो नगर बनाउन चाहन्छु जसलाई आफैंले प्रत्येक दिन हेर्दा आँखा नबिझाओस् । म बनेपालाई एउटा यस्तो नगर बनाउन चाहन्छु जसलाई सम्झिंदा बनेपावासीको छाती गर्वले ढक्क फुलोस् । यही हो मेरो सपना । म मेरो यही सपना पूरा गर्न फर्केको हुँ ।

देश बदलेको हेर्ने हाम्रो सपना 

हामी नेपालीलाई एउटा भ्रम छ कि- एकदिन एउटा चामात्कारिक नेता आउनेछ र हाम्रो देशलाई सम्पूर्ण दुखकस्टबाट मुक्त गर्नेछ । त्यो भ्रममा हामी नपरौं । यो देश त्यसरी कहिल्यै बदलिने छैन । यो देश कमीकमजोरी सहितका तपाईंहामी जस्तै हाडछाला भएका युवाहरु मिलेरै बदलिने छ ।

बर्षौ राजनीतिक दलको झोला बोक्ने प्रणालीबाट कुनै अलौकिक नेताको उत्पत्ति हुनै सक्दैन । भएपनि त्यस्तो नेतृत्वलाई फुल्नै नदिई निमोठिनेछ । उसलाई छिर्के हानिनेछ । लडाइनेछ । त्यसैले अब हामीले फरक कोणबाट सोच्नुपर्ने बेला आएको छ । 

हामीले हाम्रा नेताहरुलाई पटक-पटक परखीसकेका छौं । हामी पटक-पटक एउटै प्रयोग गरेर फरक नतिजाको अपेक्षा गरिरहेका छौं । जुन असम्भव छ । कसैले पनि आफ्नो औकात, हैसियत, क्षमता भन्दा माथिको काम गर्नै सक्दैन । पानीमा पौडिने माछाले रुख कहिल्यै चढ्न सक्दैन - लाख कोसिस गरेपनि । व्यक्तिगत, दलगत, स्वार्थ समूहगत लाभहानी हेर्ने नेतृत्वले समग्र देशको स्वार्थ सोच्नै  सक्दैन । ‘के सही’ भन्दा पनि ‘को सही’ भन्ने झिनाझप्टीमा लागिरहने साँघुरो सोच भएका नेताले यो देश बदल्नै सक्दैन ।  यो कुरा हामी बुझौं ।
यो देश बदल्ने सबैभन्दा राम्रो अवसर ३० वर्ष अगाडी थियो । दोस्रो राम्रो अवसर यही वर्ष हो- २०७९ साल । 

मेरो पुस्ताका युवाहरुको लागि यो देश बदल्ने पहिलो र अन्तिम अवसर नै यही हो ।

हामी हाम्रा सन्ततिको लागि कस्तो देश छोडेर जान चाहान्छौँ ? के हामी यो संसारमा आफ्नो पाइला छोडेर जान चाहान्नौँ ?  के हाम्रो जीवन त्यस्तो पदचाप छोड्न लायकको छैन ? हामी र हाम्रो भविस्य भयानक हुनु अघि नै यो देशलाई बदल्नु जरुरी छ ।

हामीले हरेक दिन गाँस, बास र कपासको चिन्ता गरेका छौं । हरेक दिन बाँच्नको लागि संघर्ष गरेका छौं  । केही तयारी मर्नको लागि पनि त गरुँ । मर्ने तयारीबाटै त सुरु हुन्छ वास्तविक जीवन । यो संसारमा आफ्नो निशानी त छोड़ूँ । भावी सन्ततिको लागि बस्न लायक देश त बनाइदिउँ । 

सबै मानिस मर्छन तर सबै वास्तविक रूपमा बाँच्दैनन । आउनुस् हामी हाम्रो आफ्नो वास्तविक जीवन बाँचौ । सार्थक जीवन बाँचौ । कसैको  गुलाम बनेर होइन, आफ्नै मर्जीको मालिक बनेर बाँचौ ।

जब जीवन सुबिधाजनक हुन्छ, तब त्यसबाट निस्कन गाह्रो पर्छ । सुनको पिंजडामा सब्बै कुरा प्राप्त गर्दै गर्दा हामी त्यहीँ रमाइरहेका हुन सक्छौं । तर हामी पिंजडाभित्र कैद हुन् जन्मेका होइनौं । हामी त खुल्ला आकाशमा स्वतन्त्र र निर्भिक उडान भर्न जन्मेका हौं । त्यसैले हामी सुबिधाभोगी नबनौं । सुविधाका जन्जीरहरु तोडौं । र खुल्ला आकाशमा उडौँ । 

यदी यो देश बदल्नेनै हो भने, कम्तीमा पनि आफ्नो दैनिक जीवनयापन सहज हुने र गाँस, बास र कपासको जोहो गर्न धौधौ नहुने युवाहरुले यत्ति साहस गर्नै पर्छ । यो देशमा बदलावको जग हाल्न ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि ७५३ जना साहासी युवाहरु अगाडी आउनु जरुरी छ । युवाहरुले आफ्नो विवेक प्रयोग गर्नु जरुरी छ । र युवाहरुले परिवर्तनको पक्षमा मत दिने साहस गर्नु जरुरी छ ।

यो पटकको स्थानीय तहको चुनावमा ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि देशैभरी स्वतन्त्र उम्मेदवारहरु उठौं ।  पुरानो राजनीतिक ‘सिंडीकेट’ तोडौं । बिकल्प कुर्दै नबसौं । आफैँ बिकल्प बनेर हेरौं । बिकल्प बन्न साहस गर्ने युवाहरुलाई मत दिने साहस गरौँ ।

हामीले हाम्रो राजनीतिलाई मात्रै हैन, समाजलाई पनि नयाँ बाटो लानुछ । देशमा आशा जगाउनु छ । अरुलाई सत्तोसराप  गर्ने राजनीति होइन, विकासको मोडलबारे छलफल गर्ने राजनीति गर्नु छ । देशको प्रणाली बदल्नु छ । थिति बसाल्नुछ।  ईतिहासले पनि देखोस, देश खत्तम भयो, बर्बाद भयो भनेर मात्र नभनी केही पागल युवाहरु बिना कुनै संगठन आफ्नो गाउँ, नगर र देश बनाउन मैदानमा उत्रेका थिए । 

त्यसको लागि आवश्यक एक मात्र योग्यता हो- इमान्दारिता । कसैले नहेरेको बेलामा पनि सही कुरा गर्न सक्नु नै इमान्दारीता हो । इमानदारीता भनेको सर्वोच्च नीति हो । इमान्दारिता “ब्रान्ड” हो । इमान्दारिताले मात्र बदलिने छ यो देश ।  

हामी यो चुनाबमा पहिलो पाइला चालौं । बाटो आफैँ देखिंदै जानेछ । सही बाटो हिंडेको खण्डमा एउटा अलौकिक शक्तिले हामीलाई डोहोर्यौनेछ । यत्ति विश्वास गरौँ - जसको मति र गति सही छ, उसको रथ आज पनि श्रीकृष्ण भगवानले चलाउनुहुन्छ । 

आज त हामी सबै नालीमै छौं । तर हामीमध्ये केहीले आकाशमा झिलमिल ताराहरु देखिरहेका छौं । हामीलाई विश्वास छ - यो कालो रात सकिनेछ । घाम लाग्नेछ ।  उज्यालो हुनेछ ।  हामी डुबेको हिलोमैलो हट्नेछ । र, यो देशको दुर्दशाको अन्त्य हुनेछ ।

(यो लेख फरक शिर्षकमा २०७९ बैशाख ३ गते नेपाल समाचारपत्र दैनिक मा प्रकाशित भएको थियो ।)