Saturday, June 18, 2022

लोकसेवा परीक्षार्थीलाई केही फरक सल्लाह

लोकसेवाको तयारी गर्नुका पछाडी मेरा स्वभाविक अपेक्षा थिए - स्थायित्व, आकर्षक तलबभत्ता र सुरक्षित जीवन । यी सबै अपेक्षा म आफैभित्र स्वस्फूर्त पलाएका विषय थिएनन - मैले समाजमा सुनेका-देखेका, समाजबाट सिकेका अर्थात समाजबाट आर्जित अपेक्षा थिए  । अझ भनौं लोभले आकर्षित गरेको थियो मलाई सरकारी सेवामा । त्यो लोभले जन्म दियो डरलाई । समकालीन साथीहरूले यी सुबिधा प्राप्त गर्दै गर्दा आफुले प्राप्त गर्न नसक्ने हो कि भन्ने डर । मलाई लाग्छ - मेरा प्रारम्भिक असफलता पछिका असफलताका प्रमुख कारक नै यिनै थिए- लोभ र डर । मेरो जीवनले मलाई यिनै कुरा सिकाउन खोजिरहेको थियो । यो कुरा मैले धेरै पछि मात्र बुझ्न सकें ।

लोभ र डर माथी नियन्त्रण 

संभवत: सबै लोकसेवा परिक्षार्थीको सबैभन्दा ठुलो समस्या नै यही हो- लोभ र डर । यस्तो मानसिकता बोकेर परीक्षामा बस्दा परीक्षामा असर पर्छ । परीक्षा बिग्रन्छ ।

आजको दिनमा लोभ र डर दुबै समाजबाट आर्जित हुन्छ । स्वयंमबाट उत्पत्ति नभएको विषयको सीमा हुँदैन । सीमा खिच्न गाह्रो हुन्छ । सीमारहित कुराको चाहानाले मनमा अस्पष्टता पैदा हुन्छ । अस्पष्टताले नकारात्मक सोचलाई जन्म दिन्छ । नकारात्मक सोच असफलताको प्रमुख कारण हो । 

अत: लोभ र डरलाई नियंत्रित गर्नु नै लोकसेवा तयारीको पहिलो खुट्किलो हो । यही मानसिक स्पष्टताको बिन्दुबाट सुरु गर्नुपर्दछ- लोकसेवाको तयारी । 

वास्तवमा मानिसको आवश्यकता सीमित छ । बाच्नकै लागि त गाँस, बास र कपास नै काफी छ । तर समाजको प्रभाव वा देखासिकिमा हामीलाई अरु धेरै 'थोक' चाहिएको छ । हाम्रा कतिपय आवश्यकता त सरकारी सेवाबाट प्राप्त गर्न सकिएला । तर अधिकांस चाहाना पूरा हुनु असम्भवप्रायः छ । बरु अन्य पेशाबाट बढी सहजताका साथ त्यी कुराहरु प्राप्त गर्न सकिन्छन्  । गलत पेशाको छनोटले जागीर प्राप्त गरिसकेपछि पनि निराशा हात लाग्छ ।  हाम्रो समाजमा यस्ता परिघटना छ्याप-छ्याप्ती  देखिएकै छन् । 

अत: सरकारी सेवा प्रवेश गर्ने नै हो भने यो विषयमा स्पष्ट हुनु जरुरी छ । हामीले  लोभलाई जित्नुपर्दछ । समाजबाट प्रभावित नभइकन आफ्ना आवश्यकताका सीमाहरु कोर्नुपर्दछ । त्यसरी कोरिएका सीमाले मनमा स्पष्टता ल्याउछ । विचारमा सकारात्मकता ल्याउछ । सकारात्मक सोचले सफलताको बाटोमा डोर्‍याउछ- सेवा प्रवेश गर्दा पनि, सेवा प्रवेश पश्चात् पनि । 
लोकसेवा दिंदै गर्दा स्वभाविक रूपमा असफल पनि भइन्छ । अनि डर बढ्न थाल्छ । उमेर बढ्दै जान्छ, डर अझ बढ्न थाल्छ । बाहिर समकक्षी साथीहरू वृतिपथमा माथी चढ्दै गरेको देखिन्छ, डर झन्  बढ्दै जान्छ। यस्तो डरलाई पनि जित्नुपर्दछ । डरलाई जित्ने उपाय हो-नडराउनु । किनभने हामी जति डराउछौ, डर त्यति बढ्दै जान्छ । हामी जति डराउन छाड्छौ, डर त्यति घटदै जान्छ । आफुले चाहेको ठाउँमा पुग्ने छिटो उपाय नै बिस्तारै हिंड्नु हो भन्ने कुरा सधैं हेक्का राख्नुपर्द्छ । कडा मिहिनेत गरिरहनुपर्दछ तर जस्तोसुकै परिणामलाई पनि स्विकार्छु भन्ने हिम्मत लिएर अघि बढ्नु पनि जरुरी छ। नहराइकन जीवनमा नयाँ बाटाहरु फेला पर्दैनन् । असफलताबाट धेरै कुरा सिकिनेछ, जसले जीवनका बाटाहरु सहज हुनेछन् भन्ने कुराको ख्याल राख्नुपर्दछ । सफलताले खुसी दिनसक्छ तर असफलताले हाम्रो वास्तविक शक्तिसंग परिचय गराउछ ।  त्यसैले सधै तयार रहनुहोस् - सफलताको लागि असफल हुनलाई । 

आर्थिक-पारिवारिक चिन्ता

लोकसेवा तयारीको क्रममा हुने अर्को प्रमुख समस्या हो- आर्थिक-पारिवारिक चिन्ता । मैले सबै काम छोडेर लोकसेवाको तयारीमै घोटिने साथीहरू देखेको छु । लगनशिलता राम्रो कुरा हो तर त्यसो गर्दा डर पैदा हुन्छ । फेरि हाम्रो दिमागी क्षमताको सीमितता पनि छ । यसलाई भिन्न-भिन्न खाले अभ्यासको जरुरत छ । अत: सानो तिनो काम गरेर जीविकोपार्जन गर्न र मस्तिष्कलाई स्फुर्त राख्न सल्लाह दिन्छु म । यसले डर कम गर्न मद्दत गर्छ । फेरि पनि मानसिक रुपमा बलियो हुनु अत्यन्तै जरुरी छ । आर्थिक वा पारिवारिक अवस्थालाई लिएर  चिन्तित हुनु बेकारको कुरा हो । जीवनमा प्रगतिको लागि सबैभन्दा ठुलो चुनौती सहजता हो, अप्ठेरो होइन ।  जीवनमा तुफान आउन पनि जरुरी छ-तब न पत्ता लाग्छ कसले हात दिन्छ र कसले साथ छोड्छ भन्ने कुरा । संघर्षको बेला मात्र मान्छे एक्लो हुने हो, सफलता पाएपछि सन्सार पछि लाग्ने नै छ । "आजको समय पनि बितेर जानेछ" भन्ने् कुरा संधै संझनुपर्दछ । 

सकारात्मक रहनुस् 

लोकसेवा तयारीको क्रममा होस् वा जीवनको जुनसुकै परिस्थितिमा किन नहोस्-नकारात्मक कुरा सुन्नु एकदमै हानिकारक हुन्छ । उत्प्रेरक विचार वा भाषण सुन्नु राम्रो हुन्छ ।  जीवनमा सधैंभरी गुनासा मात्रै गरिरहने साथीहरू छन् भने टाढै रहनु उचित हुन्छ । साथीहरू गुमाएकोमा पीर मान्नु पनि हुँदैन । किनभने जसले साथीहरू गुमाउँदैनन, उनीहरु कहिल्यै परिपक्व हुँदैनन। फेरि सहि नियत हुनेहरुले कहिल्यै कसैलाई गुमाउँदैनन, बदनियत हुनेहरुले मात्रै गुमाउने हुन् । आफ्नो तुलना अरुसंग गर्नुहुँदैन । गर्नै परे आफुभन्दा तल रहेकाहरुसंग गर्नु उपयुक्त हुन्छ ।  संसारमा धेरै कष्टकर अवस्थामा मान्छेहरु छन् भन्ने कुरा बिर्सनुहुँदैन । अरुको आलोचना गर्ने बानी गर्नुहुँदैन । र आफ्नो समस्या पनि सम्भव भएसम्म अरुलाई भन्नु हुँदैन । किनभने असी प्रतिशत मानिसले हाम्रो समस्याको वास्ता गर्दैनन् । बाँकी बीस प्रतिशत त खुसी नै  हुन्छन् । अत: तुलना गर्ने, गुनासा गर्ने, आलोचना गर्ने र दु:ख पोख्दै हिंड्ने बानी छ भने त्यागी दिनुहोस् । यी कुराहरु शान्ति खल्बलिएको मान्छेका परिचय हुन् । बरु जीवनलाई बृहत दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस् । संसारप्रति जति दायित्वबोध गरिन्छ, आफ्ना समस्याहरु त्यति नै साना लाग्न थाल्छन् । जीवनमा खुसी हुनलाई  हामीले सधैं आफ्ना आवश्यकताहरु  घटाउनुपर्छ र जिम्मेवारीहरु बढाउनुपर्छ । र सकेसम्म प्राणायाम, योगा, ध्यान गर्ने बानी बसाल्नु असल हुन्छ । 

मिहेनत गरिरहनुस्  

मिहेनत गर्न कहिल्यै नछोड्नुहोस् ।  भाग्य भन्ने कुरा परिश्रमले मात्र बदल्न सक्छ । जति धेरै परिश्रम, त्यति नै धेरै भाग्यका ढोकाहरु खुल्न थाल्नेछन् । जो आफ्नो लक्ष्यप्राप्तिमा केन्द्रित हुन्छ , उसले कुनै पनि असहज परिस्थितिलाई स्किकार्दैन । उसले लक्ष्य मात्र देख्छ र निरन्तर प्रयास गरिरहन्छ । सपना कहिल्यै जादुमयी तरिकाले वास्तविकतामा परिणत हुँदैन । त्यसको लागि अठोट र पसिना नै चाहिन्छ । चुपचाप परिश्रम गरिरहनुस्, तपाईंको सफलताले आवाज पक्कै निकाल्ने छ ।

पढ्ने- लेख्ने तरिका 

मानसिक रूपमा सकारात्मक हुनुनै लोकसेवाको आधा तयारी हो जस्तो लाग्छ मलाई । त्यसपश्च्यात लोकसेवाको पाठ्यक्रम सरसर्ती एक पटक पढेको पनि अवस्य हुनुपर्दछ । अनि बल्ल दोस्रो चरणको तयारी सुरु हुन्छ । यो चरणमा धेरै भन्दा धेरै प्रश्नको अभ्यास गर्नुपर्छ । उत्तरहरुलाई उत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । उत्तर किताब र ईन्टरनेटबाट खोज्न सकिन्छ । निजामती सेवाको लागि सबै भन्दा उत्कृष्ट स्रोत आवधिक योजनाको दस्तावेज हो । लोकसेवामा प्राय सोधिने अवस्था, समस्या, चुनौती, समाधान, तथ्यांक, नवीनतम आयाम जस्ता कुराहरु  त्यहीँ उपलब्ध छ । सरकारका अन्य प्रकाशित दस्तावेज र प्रतिवेदनहरु पनि राम्रा स्रोतहरु हुन् ।

विभिन्न अन्लाईनहरुमा प्रकाशित हुने पाठ्यक्रम सम्बद्ध पछिल्ला  लेख रचनाहरु पढ्ने र टिपोट गर्ने बानी गर्नुपर्छ । मलाई लाग्छ बिज्ञले लेख्ने त्यस्ता लेखहरु किताब लेखकद्वारा संकलित सामाग्री भन्दा उत्कृष्ट हुन्छन् र ब्यबहारिक ज्ञानको कसीमा पनि अब्बल हुन्छन् । 

पाठ्यक्रमलाई "होलिस्टिक"रूपमा पढ्नुपर्दछ । धेरै प्रश्नको उत्तर समग्रतामा दिनुपर्नेहुन्छ । जस्तै केही वर्ष अगाडी शाखा अधिकृतको परिक्षामा सोधिएको 'बिकासका अन्तरसम्बन्धित समसामयिक मामला के के हुन् ?' भन्ने प्रश्नले तेस्रो पत्रको बिकासका मामिला सम्बन्धी सबै पाठ समेट्छ । 

यो कुरा ख्याल गर्नुपर्छ कि परिक्षामा पढेका सबै कुरा लेख्न सकिन्न । त्यसैले 'कि वर्डस्' याद गरेर जाने र मिलाएर लेख्ने गर्नुपर्छ । लेखाइमा मौलिकता चाहिन्छ तर राम्रा भनाई र परिभाषाहरु पनि प्रयोग गर्नुपर्छ । खण्ड-खण्ड छुट्ट्याएर पढ्दा पनि सम्झन सजिलो हुन्छ । जस्तो विभिन्न सिद्धान्तहरु, विभिन्न समस्याहरु आदि ।

लेख्दा संरचना मिलाएर लेख्नुपर्छ । राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा लेख्ने बानी गर्नुपर्छ। सुरुवातमा मुख्य कुरा लेख्ने गर्नुपर्छ ।

ब्याकरणीय शुद्धतामा ध्यान दिनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने, हाइलाइट गर्ने  गर्नु उपयुक्त हुन्छ । समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुनुपर्दछ । उत्तर आशावादी किसिमको हुनुपर्छ ।  सकारात्मक निष्कर्ष दिनुपर्छ ।

अन्त्यमा,
सम्भवत: लोकसेवा पास गर्ने sureshot फर्मुला त कसैसंग नहोला ।  यो संयोगको कुरा पनि हो- परीक्षार्थी, परिक्षक, परिश्रम, समय र भाग्यको । तर पनि कुनै चीज प्राप्त गर्न हामी दृढ भएर लाग्दा यो बिस्वब्रम्हाण्डले नै हामीलाई साथ दिन्छ भनिन्छ । यही विस्वासका साथ अघि बढ्न सके लोकसेवा परीक्षामा पक्कै सफलता प्राप्त गर्न सकिन्छ ।

*****

(प्रदेश लोक सेवा आयोग, प्रदेश नं १, बिराटनगरको 
 २०७८ माघ ९ गते प्रकाशित प्रदेश लोक सेवा आयोग स्मारिका, अंक २ मा प्रकाशित लेख । )

1 comment:

Your comments will be highly appreciated.