हामी ८ घन्टामा २०
किलोमिटर हिंडिसकेका थियौं ।
खुट्टा
बेस्मारी दुख्न थालिसकेका थिए ।
अब हामी बिष्णुद्वारको खोजमा निस्केका थियौँ । बाटो हामीलाई
थाहा थिएन । बाग्द्वार—शिवपुरी चढ्दा भेटिए जस्ता साइनेज अब देखिन छाडे । भेटिएका साइनेजको अवस्था पनि दयनीय थियो । नुवाकोटको शिवपुरी गापाको
स्थानीय बताउने दुई युवाको जानकारी पछ्याउँदै हामी मुलबाटो (ढुंगा छापिएको सिंढी)
छाडेर पश्चिमतिर झर्न थाल्यौं ।
दुई जना साथिहरु (सुमन भाई
र लबेन्द्र सर) मानिरहेका थिएनन् । थाहा नभएको बाटो नजाउं भन्न्रे उनीहरुको ध्यय
थियो । तर दुई जना कन्चन (म र मेरो भाई) को लहडमा हामी हिडि रह्यौ । बाग्द्वार
उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो । कम्तीमा
त्यहि बाटोमा हामी निस्किन्छौँ भन्ने हाम्रो अपेक्षा थियो । तर बाटो सोचेजस्तो सहज
थिएन । मान्छे नहिडेको, सुनसान र अनकन्टार बाटो । कतै रुख ढलेर बाटो छेकिएको, कतै हिंड्दा हिंड्दै
बाटो अन्त्य हुने । तैपनि बाटो पहिल्याएर हामी हिंडिरह्यौ ।
सुमन भाइले १० चोटि "हामीले त्यो दुई मान्छेको कुरा सुन्नु नै गल्ती भयो भनिरह्यो ।"
तर हामी हिंडिरह्यौ ।
५-१० मिनेट हिंडेपछि सुमन भाई र लबेन्द्र सर पनि "फर्कौ" भन्न छाडि सकेका थिए
। अब उकालो फर्कन सम्भव थिएन । तर हामी झरिरहेको ओरालो बाटोले कहाँ पुर्याउंछ भन्ने पनि
ठेगान थिएन । गलत बाटो हिंडीरहेका पो छौं कि भन्ने डर पनि थियो ।
तर हामी पश्चिमतिर एक पछि अर्को डाँडा काट्दै झर्दै गयौं ।
अचम्मको
कुरा- हाम्रो खुट्टा अब दुख्न छोडिसकेका थिए ।
झन्डै
४-५ किलोमिटर हिडेंपछि खोला सुसाएको आवाज आउन् थाल्यो । बिस्तारै आवाज बढ्दै गयो । डरलाग्दो आवाज - नजिकिँदै गयो । अन्ततः हामी एउटा खोंचमा
आइपुग्यौं । अँध्यारो डरलाग्दो खोंच । तर छंगछंग बगिरहेको कन्चन पानी । पारि तर्न
बनाइएको काठको पुल । भिमकाय ठुलो ढुंगा । ढुंगामुनि वडार । वडारमा विभिन्न
देवीदेवता स्थापना गरी पुजा गरिएको । ढुंगाका देवताहरु । बुद्धका प्रतिमाहरु ।
धुपबत्ती बालिएको अवशेषहरु । हिन्दु र बौद्द धर्मको अनुपम समागम । तोरण र
ध्वजापताकाहरु खोलाभरि टाँगिएको । रहस्यमय ठाउँ ।
त्यस्तो धार्मिक आस्थाको ठाउँमा कुनै साइनेज भने थिएन ।
काठको पुल तरेपछि बाटो उकालो लाग्यो । ल फसाद पर्यौ !
त्यो अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा शायद हामी हरायौँ ।
हामीलाई थाहा थियो - शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको गेट
पुग्न हामीलाई तल झर्नु छ । निकुन्जको गेटमा पनि छंग—छंग खोला बगिरहेको थियो । खोला
तरेपछि पक्कै टोखा पुगिन्छ ! हाम्रो सवारी साधन निकुन्जको गेटमा थियो । टोखा जाने
हाम्रो बिकल्प थिएन ।
शायद खोला तरेर सिंढी उक्लदै बिष्णुद्वार जाने बाटो पो थियो कि
?
त्यो अवस्थामा हामी चारै जना डराएका थियौं ।
हुनत खोलाबाट तलतिर काठको सिंढी पनि देखिएको हो । त्यहिँ सिंढीबाट
निस्कने बाटो पो छ कि भन्ने पनि लागेको हो । लबेन्द्र सर त्यतैबाट जाउँ भन्दै पनि
हुनुहुन्थ्यो ।
तर हामीले आँट गर्न सकेनौं । खोला पनि डरलाग्दो गरि सुसाइरहेको
थियो । शायद लबेन्द्र सर पनि डराउनुभएको थियो । उहाँले पनि कर गर्नुभएन ।
र हामी फर्कियौं ।
हामी त्यही बाटो फर्किन थाल्यौं जुन बाटो झरेका थियौं । केहि माथि
डाँडामा पुगेपछि अलिकति सास आयो । ४ बजेको थियो । उज्यालो बाँकी नै थियो । हामीलाई निकुन्जको गेटसम्म पुग्नु छ । तर कसरी ?
एउटा उपाय थियो ।
बनै बन तल झर्ने ।
र हामी बनै बन तल झर्न थाल्यौं । रुख, बुट्यान, घाँस,
पात-पतिंगर, हाँगा, जरा समात्दै । लड्दै पड्दै । माकुराको जालोसँग पौंठेजोरी
खेल्दै । अनुहारभरी माकुराको जालो लागेपनि केहि पर्वाह थिएन । हामीलाई बाटो
निस्कनु थियो ।
"निकुञ्जले हेलिकप्टर पठाएर रेस्क्यु गर्छ कि?" भन्ने ठट्टा गर्दै हामी झर्यौ । अर्को ठट्टा चाहिँ हाम्रो हालत 'गोदावरीमा हराएको बालक जोनको जस्तो हुने हो कि ?' भन्न्ने थियो ।
१० मिनेट तल झरेपछि केहि खुल्ला ठाउँ जस्तो देखियो । अलि आशा
पलायो ।
नजिकै गएर हेर्दा हाम्रो आशा टुट्यो ।
त्यहाँ थियो - ठुलो अजंगको भिर । चट्टानै चट्टानले बनेको ।
अनि फेरी हामी फर्कियौं । भीरको अर्को कान्लोतिर । र फेरी झर्न
थाल्यौं । र फेरी खुल्ला ठाउँ जस्तो देखियो ।
अलि तल झरेपछि बाटो देखियो । मोटर गुड्न सक्ने कच्ची बाटो ।
अब हाम्रो खुसीको सीमा रहेन । हामी घाँस समात्दै हतार हतार झर्यौं
। अन्ततः बाटो भेटियो ।
र हामी बाटै—बाटो लाग्यौं पूर्वतिर । किनभने बिहान बाग्द्वार
उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो ।
अलि पर पुगेपछि तीन जना केटाहरु घाम तापिरहेका भेटिए । हामीले उनीहरुलाई
भिडियो देखाउंदै एउटा अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा पुगेको बिबरण सुनायौं ।
उनीहरुले हास्दै भने- त्यहिँ ठाउँ हो बिष्णुद्वार !
वी वेर शक्ड !
वी वेर स्पीचलेस !
र उनीहरुले बिष्णुद्वार भन्दा केहि तल रहेको आकर्षक झरनाको
फोटो देखाए । त्यो झरना अलि पर यही बाटोमुनि रहेको बताए। फोटो देखेपछि हामीले
आफुलाई सम्हाल्न सकेनौं । हामी फेरी आएकै बाटो फर्कियौं- त्यो मनमोहक झरना हेर्न ।
पश्चिमतिर दिन ढल्दै थियो ।
हामी फेरि अर्को संकटमा पर्दैछौं भन्ने कुराको भेउ हामिलाइ थिएन ।
(लस्ट इन शिवपुरी २ केही दिनपछि ।)
(लस्ट इन शिवपुरी २ केही दिनपछि ।)
लस्ट इन शिवपुरी
ReplyDeleteSarai nai ramailo yaad kaar jindagi ko yatra huna pugyo !!!