Saturday, December 12, 2020

बिर्खबहादुर र हलुवा

एकदिन बिर्खबहादुर रोडमा बसेर कुनै चीजलाई एकोहोरो हेरिरहेको रैछ । अनि भन्दैरैछ कि...
"यो त ठ्याक्कै त्यस्तै देखिन्छ त !"
फेरि अलिकति झुकेर भन्न थालेछ...
"ल यो त त्यै हो कि क्या हो ? सेम टु सेम छ"
फेरि अझै झुकेर सुँघ्न थालेछ... र सुँघेपछि भनेछ...
"ल यसको त सुगन्ध पनि ठ्याक्कै त्यस्तै रैछ"
फेरि अझै झुकेर औँलाले थोरै कोट्याएछ अनि चाखेर भनेछ... हो रैछ ! मैले सही अनुमान गरेको रैछु । यो त गोबर नै हो । धन्न मैले टेकिनछु । बाल बाल बचेँ !

छेउमा उभिएका केही मान्छेहरूले उसको यो हर्कत विचार गरिरहेका रैछन् । उनीहरू बिर्खेको यो हर्कत देखेर हाँस्न थालेछन्... र भनेछन् ।
"बिर्खबहादुर ! तिम्ले त्यसलाई हेर्यौ, फेरि सुँघ्यौ... तिम्ले सुँघ्दै थाहा पाइसकेका थियौ कि त्यो गोबर हो फेरि तिम्लाई त्यो औँलाले कोट्याएर चाख्ने के आवश्यकता थ्यो ?"

बिर्खेले उनीहरूलाई हेरेर मुस्कुराएछ र भनेछ...
"तिमीहरू आफ्नो जिन्दगीमा पनि यस्तै गर्छौ । हेर्छौ, बुझ्छौ र जान्दछौ कि यो गोबर नै हो... तर सोंच्छौ कि सायद अब गोबर हलुवा बन्यो होला अनि फेरि चाख्छौ । बारम्बार पर्खिदैँ चाख्दै गर्छौँ हलुवा हुने आशमा । कतिपल्ट चाख्छौ अझै ?

कतिपल्ट भन्दा याद आयो... हाम्ले काङ्ग्रेस, नेकपा जस्ता पुराना पार्टीलाई  कतिपटक चाखेर हेरिसक्यौँ । यिनीहरू गोबर हुन् भन्ने पनि हाम्ले जानिसक्यौँ तर अझै हामी यिनिहरु  हलुवा हुने आशमा पर्खिरहेका छौँ । यी दलका कार्यकर्ता पनि बिर्खेको यो हर्कत देखेर हाँस्दै होलान् । तर वास्तवमा उनीहरू गोबर चाखेर पनि हलुवा हुने विश्वासमा पर्खिरहेका छन् । असलमा गोबर-गोबर नै हुन्छ जतिपल्ट चाखे नि ! जति पर्खिए नि गोबर हलुवा हुनेवाला छैन । चेतना भया !

आज एक्कसी यो लघुकथाको याद आयो । एकजना साथीले मलाई नेपाली काङ्ग्रेस बनेपा २ को फेसबुक ग्रुप बनाएर एड गर्नुभएछ ।संझनु भएकोमा उहाँलाई आभार व्यक्त गर्दछु ।तर उहाँले  ग्रुपमा एड गर्नुअघि  मलाई  एकपटक सोध्नुभएको भए पनि हुन्थ्यो।उहाँलाई मेरो राजनीतिक आस्थाको बारे भ्रम भएको हुनुपर्छ । 

म कसरी काङ्ग्रेस-नेकपा जस्ता पुराना आउटडेट पार्टीको पिछलग्गु बन्न सक्छु र ? 

त्यो बुझाउन तलको एउटै फोटो काफी छ ।
यो बनेपाको पुन्यमती खोला हो । त्यही खोला जुन हाम्रै गाउँको शिरबाट उत्पत्ति हुन्छ र हाम्रो धर्ती सिन्चित गर्दै बगेर जान्छ । यी हाम्री माता हुन् । हाम्री माताको यो दुर्दशा ? यो कन्तबिजोग ? यति दयनीय अवस्था ? 

बनेपा बजार हेर्नुस् । कस्तो दुर्घन्धित सहर ? शायद देशकै सबैभन्दा फोहोर सहर होला बनेपा । 
अब अहिलेको सरकारले यस्तो गर्यो भन्नुहोला । तर १८-१९ बर्ष अगाडि म स्कुल पढ्दा, काङ्ग्रेस सत्तामा हुँदा पनि अहिलेजस्तै बनेपाको त्यो दुर्गन्ध मेरो नाकले भुलेको छैन । मैले देखेदेखि  नै यस्तै फोहोर र दुर्घन्धित छ बनेपा ।

यी साना उदाहरण मात्र हुन् । अरु के उदाहरण दिउँ ? ३० बर्षदेखी यस्ता उदाहरणको ठेली पल्टाइनसक्नु छ ।

(अप्डेट: यसैबीच २/३ बहुमत प्राप्त अर्को दलका प्रमले संसद विघटन गर्ने सन्की कदम चाले २०७७/९/५ गते। कोरोनोले थिलो थिलो पारेको देशमा यो भन्दा ठुलो बहुलठ्ठी के होला ? )

एउटा सानो सहरलाई  स्वच्छ र सफा राख्ने ढंग नभएका  यस्ता पार्टीहरुले अरु के गर्न सक्लान ?जनताले ५ बर्ष स्थिर सरकार चलाउने स्पष्ट जनादेश दिदापनि लुछाचुडी गर्दै  समयनै नभई संसद विघटन गरि देशलाई बन्धक बनाउने पार्टीले कस्तो बिकास र समृद्धि ल्याउलान ? तपाईंजस्ता युवालाई कसरी डोर्‍याएर हिंड्लान ?

नेकपा, काङ्ग्रेस वा त्यस्तै पुराना, चरित्रहिन, दिशाहिन , थोत्रा सोचले ग्रस्त पार्टीहरुमा आवद्ध  हुनु भनेको तपाईं जस्ता युवाको अपमान सिवाय केही होइन । 

त्यो ग्रुपमा एड गरिदा मैले त्यही अपमान महसुस गरेको छु । कृपया मलाई यो अपमानको पिडाबाट मुक्ति दिनुहोस् ।

(अपडेट: यो ब्लगसहितको आग्रह पछि मलाई उक्त ग्रुपबाट हटाइ सकिएको छ ।)

तर यसको अर्थ युवाले राजनीति गर्नुहुन्न भन्ने होइन । गर्नुपर्छ  । अबको विकल्प युवा नै हुन् । आउनुहोस बनेपा २ मा अब नयाँ सोच र भिजन लिएर एकत्रित होऔ । नयाँ संगठन बनाऔं  । नयाँ पार्टी बनाऔं । नेतृत्व तपाईंहरु नै गर्नुस् । म जस्ता धेरै युवाको साथ र सदभाव सधैं रहन्छ ।

तपाईं हामीजस्ता युवालाई नेतृत्व गर्ने नेतृत्व त हामी भन्दा दुरदर्शी हुनु पर्यो नि । एक  पटक आफ्नो बिचार हेरौं र आफ्ना पार्टीका नेताको अनुहार सम्झौ । कुनै कुरा मेल खान्छ ?आफ्नो आंगन समेत सफा राख्न नसक्ने नेतृत्वको पछि नलागौ । 

एउटा कुरा सधैं बुझौं- गोबर कहिल्यै हलुवा बन्नेछैन।

२०७७/०८/२७ राती १० बजे






Monday, April 13, 2020

कोरोनाले उदांगिएको विश्व


कोरोनाको कहरले संसार त्रस्त छ । मानिसहरु आक्रान्त छन् । SARS-CoV-2 नामको यो भाइरस (विषाणु) द्वारा दिनहुँ हजारौं व्यक्ति संक्रमित भैरहेका छन् । हजारौंको मृत्यु भैरहेको छ । छिट्टै संक्रमण दर दैनिकनै लाखौं पुग्ने छाँट देखिदैं छ, शायद मृत्यु दर पनि । हालसम्म विश्वका २०४ देश तथा सीमामा फैलिसकेको कोभिड १९ नामको यो महामारीलाई प्रकृति र मानवबीचको विश्वयुद्दको रुपमा पनि ब्याख्या गर्न सकिन्छ । विश्व अर्थव्यबस्था नै ठप्प पारेको कोरोनाको यो  विश्वव्यापी महामारीले देश र दुनियाँका अर्थतन्त्र लगायतका धेरै क्षेत्रलाई नंग्याइदिएको छ, उदांगो पारिदिएको छ । 

विश्व नेतृत्व

कोरोना भाइरसलाई बेवास्ता गर्नेमा अग्रस्थानमा आउँछन् - अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प । नोवेम्बरमा हुने रास्ट्रपति निर्वाचनको मुडमा पुगिसकेका उनले सुरुमा कोरोना भाइरस हल्ला भएको र गर्मी लागेपछि आफै जादुजस्तै हराउँछ,  बिलाउँछ भन्ने जस्ता अभिव्यक्ति दिए । संक्रमितको संख्या बढ्न थालेपछि सबै कुरा आफ्नो नियन्त्रणमा भएको बताए । संक्रमितको संख्या हजारौं पुगेपछि कोभिड १९ लाई महामारीको रूपमा स्वीकार गरे र देशमा संकटकाल घोषणा गरे । अहिले अमेरिका संसारमै सबैभन्दा बढी कोरोना संक्रमित हुने देश बनेपछि उनी मृतकको संख्या १ लाखमा रोक्न सके त्यो आफ्नो सफलता हुने बताइरहेका छन् । यस्तै बेवास्ताका कारण इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेलायत लगायतका युरोपेली देशहरूले अहिले मृत्युको त्रासदी बेहोर्नु परिरहेकोे छ । 

 अझ केही त्यस्ता देशहरु छन् जसले आजसम्म कोभिड १९ लाई गम्भीरतापुर्वक लिएका छैनन् । बेलारुसका रास्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले कोरोना भाइरसलाई पागलपनको संज्ञा दिइरहेका छन् । छिमेकी देशहरू युक्रेन, पोलेन्ड, रसिया, लात्भिया, लिथुआनियाले सबै यातायात र सिमाना बन्द गर्नुलाई मुर्खता भन्दै उनी जनतालाई काममा जान, साउना जान र भोड्का खान भनिरहेका छन् । ब्राजिलका रास्ट्रपति जायर बोल्सोनारो कोरोना भाइरसलाई मिडियाको हौवा बताउँछन् । यस्तो सानोतिनो रुघाखोकीले केहि नहुने भन्दै उनी ब्राजिलियनहरु नालीमा पौडी खेलेर पनि बिरामी नपर्ने  दाबी गर्दै आएका छन् । ईरान, चीन र रसिया जस्ता देशहरुले संक्रमित तथा मृतकको संख्या लुकाइराखेको आरोप लाग्ने गरेको छ ।

 यसरी आजको विश्व प्रथम तथा दोस्रो विश्वयुद्धमाझैं आफ्नो क्षणिक हितलाई महत्त्व दिने, अदुरदर्शि, पपुलिस्ट, रास्ट्रवादीहरुको नेतृत्वमा पुगेको प्रष्ट भएको छ । यति सम्वेदनाहीन हातहरुमा पुगेको विश्वले त्यसको कस्तो मुल्य चुकाउनु पर्ने हो, त्यो समयक्रम संगै प्रष्ट हुँदै जानेछ ।

 विश्वस्वास्थ्यको दुर्दशा 

 बिश्वका कुनै पनि देश बिश्वब्यापी महामारी नियन्त्रण गर्ने सामर्थ्यमा छैनन् भन्ने  भन्ने कुरा कोभिड १९ महामारीले छर्लङ्ग पारिदिएको छ । WHO को Health System Performance अध्ययनको पहिलो स्थानमा रहेको फ्रान्स र दोस्रो स्थानमा रहेको इटालीनै अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त हुने देशको सूचीमा अग्रस्थानमा छन् ।  संसारकै उत्कृष्ट स्वास्थ्य सेवा भएका स्पेन, जर्मनी, बेलायत जस्ता युरोपेली देशहरुको अवस्था उत्तिकै  नाजुक छ । 

 यसले प्रशस्त स्वास्थ्य संस्था वा डाक्टर र बिरामीको अनुपात मात्र उत्कृष्ट स्वास्थ्य सेवाको मानक हुन नसक्ने कुरा प्रमाणित भएको छ  । साथै उपचार भन्दा रोकथाम नै बढी प्रभावकारी हुने कुरा प्रष्ट भएको छ । चीन र कोरियाले यो कुरालाई प्रमाणित पनि गरिदिएका छन । चीनले प्रयोग गरेको लकडाउनको मोडल, जुन पहिले लोकतन्त्र र मानवअधिकारका दृस्टिले अनुचित भनी आलोचित भएको थियो,  आज विश्वभरी प्रयोग भएको छ । र यो मोडल कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने एउटा मात्र उपाय सिद्ध भएको छ  ।

 प्रकृतिको  प्रहार 

कोरोनाको विश्वव्यापी महामारीलाई प्रकृतिलाई सन्तुलित राख्ने प्रकृतिको एक प्राकृतिक प्रक्रियाको रूपमा पनि अर्थ्याउन सकिन्छ । सुरुवाती दिनहरुमा कोरोना भाइरसलाई चीनको प्रयोगशालाबाट फुत्केको जैविक हतियार भनेर ब्याख्या गरिएको थियो । तर यो कुरा असत्य प्रमाणित भैसकेको छ । अहिले उक्त भाइरस चमेरा, सालक जस्ता जीव जन्तुहरुबाट मान्छेमा सरेको हुन सक्ने सम्भावना औंल्याइएको छ । जे भएपनि प्रकृति र मान्छेबीच हजारौं बर्षदेखी एउटा अघोषित द्वन्द चलिरहेकै छ । मानिसले पशुपन्छी माथि निर्मम प्रहार गरेकै छ । वातावरणमा बिनाशलीला मच्चाएकै छ । भनिन्छ मानव जातिको अस्तित्व पृथ्वीमा नहुने हो भने प्रकृति फस्टाउँछ भने अन्य पशुपन्छी तथा बनस्पति नहुने हो भने प्रकृति क्षणभरमै अस्ताउँछ । यस अर्थमा मानिस आफै पनि प्रकृतिको लागि भाइरस  हो । फलतः हामी आफ्नै कुकृत्यको कारण  प्रकृतिले समय समयमा मच्चाउँदै आएको तान्ड्वको प्रकोप सहन गर्न बाध्य छौं । कोभिड १९ को रुपमा आज हामी प्रकृतिको सामुन्ने निरीह बनेका छौं । घरमै थुनिनुपर्दा हामीले पशुपन्छीले चिडियाघरमा कस्तो महसुस गरिरहेका होलान भन्ने कुरा अनुभुत गरेका छौँ । प्रकृतिले मानिसको आर्थिक सामाजिक अवस्था वा जाति वा वर्णको आधारमा भेदभाव नगरी प्रहार गरेको  छ । र प्रकृतिले निश्पाप बालबालिकाहरुलाई बिशिस्ट स्थानमा राखेको छ भन्ने कुराको बोध पनि हामीलाई भएको छ । यसले प्रकृतिसामु मानिसको केही जोर नचल्ने र प्रकृति  सदैब मानवजाति भन्दा बलवान भएको पुष्टि भएको छ ।

 सभ्यता र संस्कृति

 विकसित देशहरूको विकास र समृद्धिको कारक उनीहरुको सभ्यता र अनुशासनलाई मानिदै आइएको थियो । तर उनीहरु सभ्य र सुसंस्कृत हुन्छन् भन्ने हाम्रो धारणा  कोभिड १९ को प्रकोपले गलत साबित गरिदिएको छ । लोकतन्त्र र स्वतन्त्रताको नाममा सरकारी लकडाउनलाई अवज्ञा गर्नेहरुको कारण नै युरोप र अमेरिका महामारीको यो भयानक दलदलमा फसेको देखिन्छ । अझ लकडाउनहरुको घोषणा भएपश्चात खाद्यान्न देखि ट्वाइलेट पेपर सम्म थुपार्ने होडबाजीले उनीहरुको चेतनाको स्तर पनि संसार सामु उदांगो भएको छ  ।

अर्को तर्फ पुर्वीय दर्शनका कतिपय मान्यता तथा अभ्यासले यो प्रकोप पश्चात् विश्वमा जबर्जस्त दबदबा बनाउने पक्का छ । यो महामारीले पुर्वीय संस्कृतिमा प्रचलित “नमस्कार“ लाई विश्वमा अभिवादनको सबैभन्दा स्वस्थ्यकर र सुरक्षित तरिकाको रूपमा स्थापित गरिसकेको छ। पुर्वीय दर्शनको जीवन पद्धतिको रूपमा रहेको योगा अहिले विश्वले आत्मसात गरिसकेको छ र  विगत ५ वर्ष यता बिश्वले योगा दिवस पनि मनाउँदै आएको छ । यो महामारी पश्चात पुर्वीय दर्शन र विशेष गरि हिन्दु धर्म संस्कृतिप्रति पश्चिमी समाजको रुचि तथा अध्ययन अन्वेषणमा बढोत्तरी हुन सक्ने आकलन   गर्न सकिन्छ ।

 शक्ति संरचनामा परिवर्तन ?

 के शक्तिको मानक सैन्य क्षमता मात्र हो त? यसमा संकट ब्यवस्थापन गर्न सक्ने  क्षमताले कति महत्त्व राख्दछ ? विश्वको सर्वशक्तिमान रास्ट्र अमेरिका यो प्रकोपबाट सबैभन्दा आहात हुने देखिएको छ । धर्तीको स्वर्ग मानिएको अमेरिकाको अर्थतन्त्र नराम्ररी प्रभावित हुने देखिन्छ । यो घटनापश्चात अमेरिकाले संसारमा सबैभन्दा ठुलो अर्थतन्त्र वा सैन्य शक्तिको रूपमा आफ्नो प्रभुत्व कायम राखिराख्न सक्ला ?

 उता चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट चीन भने सामान्य अवस्था तर्फ फर्कदै छ । कोरोनाबाट आक्रान्त मुलुकहरु चीनको मुख ताक्नुपर्ने अवस्थामा आइपुगेका छन् । र चीनले सबैतिर सहयोगको हात अघि बढाइरहेको पनि देखिन्छ । भनिन्छ ‘संकट व्यवस्थापन नै व्यबस्थापकीय सफलताको चुरो हो ।‘ चीन यो संकटको बुद्दिमततापुर्वक व्यबस्थापन गरेर विश्वमा नयाँ सुपरपावरको रुपमा उदाएको हो त ?

 समसामयिक प्रश्नहरु

 ढिलोचाडो कोरोना विरुद्धको युद्धमा सफलता प्राप्त गर्न त सकिएला नै तर आज सबै क्षेत्रमा उदाङिएको   विश्वसामु अनेक प्रश्न उब्जेका छन् । के विश्वको सर्वोत्कृष्ट व्यवस्था मानिएको लोकतन्त्र निरपेक्ष हुन्छ ? के हाम्रा विकासका मोडलहरु सहि छन् ? कृषिको विकासबिना अर्थतन्त्रको दिगोपना सम्भव छ ? के हाम्रो औधोगिकिकरण र शहरीकरणका मोडलहरु दीगो प्रकृतिका छन् ? कतै हामी बिज्ञान प्रविधि भन्दा बढी खेलकुदमा लगानी गरिरहेका त छैनौं  ? के स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रमा हामी सहि दिशामा अघि बढिरहेका छौं ? सम्भवतः यो महामारीको अन्त्य पश्चात यी प्रश्नहरुको उत्तर खोजिनेछ । तर एउटा कुरा भने अवश्यम्भावी छ- कोभिड १९ महामारीले विश्व इतिहासमा प्रथम विश्व युद्ध, १९२८ को आर्थिक मन्दी, दोस्रो विश्वयुद्ध र शीत युद्धझैं विश्वमा थुप्रै मान्यता तथा सिद्धान्तहरु स्थापित गरेर भने पक्कै जानेछ । 

यो लेख सम्पादन सहित सर्वप्रथम पहिलोपोस्टमा प्रकाशित भएको थियो ।