Friday, November 1, 2013

सम्झनामा बिगत देउसी

देउसी-भैलो, झिलिमिली, भाइटीका- बस ! यति नै त हो तिहार│ अरु सबै त प्राय: उस्तै रहँदै आएको छ, परिवर्तन आएको छ त देउसी भैलोमा │ अबको दुइचार बर्षमा त लोप नै पो हुने हो की शायद │सानो छंदा खेलेका देउसीका स्मरणहरु लेखुँ जस्तो लगेको छ आज│





********************

सानो छंदा तिहार सुरु हुनेबित्तकै हामी ‘गोरु तिहार’ कुर्दै बस्थ्यौ │कत्ति लामो लाग्थ्यो त्यो पर्खाई पनि │गाउँभरिका भुराभुरी बटुलेर ‘केशे’ अंकलले देउसी खेलाउन लान्थे │ एउटा माकल टोपी लगाएर उफ्री-उफ्री बुढाको पछि कुद्थ्यौ हामी │अँधेरो रात भएपनि देउसीमा भट्याए जस्तो ‘चिप्लो बाटो’ चाहीं कहिल्यै हुन्नथ्यो │अंकल भट्याउँथे, हामी देउसी भन्थ्यौं│ सानै देखि बुढासँग एउटा कुरामा चाहीं ठाकठुक परिरहने- बुढा ‘देउसीराम’ भन्न लगाउँथे, हामीलाई चाहीं ‘देउसी रे’ भन्नुपर्ने ! अर्को कुरा पनि पट्टकै नमिल्ने- हामीलाई पैसा बढी चाहिने, अंकललाई सेलरोटी चामल मात्र भएपनि पुग्ने │त्यसको लागि सार्की टोल (हेपेर भनेको हैन है !) जान पनि बाँकि राखेनन बुढाले │ देउसी पनि बेलुका देखि भोलिपल्ट बिहान सम्म खेल्थ्यौं │ अनि पैसा भाग लगाउने बेलामा जम्मा ५-५ रुपयाँ पर्थ्यो एकजनालाई │जती धेरै घर खेले पनि बाँड्ने बेलामा संधै कम हुन्थ्यो बा ! सबलाई शंका थियो │ एक साल त मैले बुढाले पैसा लुकाएको प्रस्ट देखें │मैले भन्नै आँटेको थिएँ, मलाई त २ रुपयाँ बढी दिए │ म त चुप !

********************


अलिक ठुलो भएपछि राजु, मेरो भाई राजाराम र मेरो देउसी ग्रुप थियो │ पैसा धेरै गुटमुट्याउन सानो-सानो ग्रुप  बनाउन थालेका थियौं │ योजना त ठुलो ठुलो हुन्थ्यो- दश रुपयाँ घटी नचल्ने, २० रुपयाँ घटी नचल्ने भनेर │ तर एउटै घरमा २-४ रुपयाँ हालेर घन्टौं झुलाईदिन्थे │कसैले त एक रुपयाँ राखेर एक एक सुका बाँडेर लिउ पो भन्थे बा │रात छिपिंदै जान्थ्यो, हाम्रो बोली मसिनो हुदै जान्थ्यो │ राजु र म त जोशले नै देउसी भन्थ्यौं, मेरो भाई चाहीं निन्द्रा लाग्न थालेपछि ‘हेउसी रे’ भन्न थाल्थ्यो │ त्यसै त पैसा नभएको झोक, अझ देउसी नै भन्न छोडे पछि मैले भाइलाई एक झाप्पु लगाईदिएँ │ भाई त ‘ह्वाँ-ह्वाँ..’ गरेर रुँदै घरतिर पो फर्कियो │ल फसाद ! अब त देउसी भन्ने झन दूई जना पो भैयो ! बाँकि घर फलैंचामा बसेर एक जना भट्याउने, एक जना देउसी भन्ने गर्दै सक्यौं │ दिएको टिपेर हिंड्यौं ( कति नै दिन्थे र- दुई जनालाई दुई रुपयाँ त हो नि ! ), धेरै पैसा कमाउने इछ्या अधुरै रह्यो │ मेरो त्यो ‘हेउसी रे’ भन्ने भाइको पर्सि मंगसिरमा बिहा छ !

********************


एक साल बाहुनहरुले बढी पैसा दिन्छन भन्ने लोभमा बाहुनटोल सम्म पुगियो │ अलि टाढा पनि थियो बाहुन टोल, बाँसमा मट्टीतेलको राँको बालेर पहिलैदेखि तयारी गरेका थियौं │जाँदा त सानो टोली गका थियौं – पछि अर्को टोलीसंग मिसिएर ‘जम्बो’ टोली भैयो │झन त्यहाँ त थालीमा अक्छ्यता, दियो बत्ती सम्म नराखी पैसा मात्र पो दिंदा रैछन │झन हामीलाई पाठ-पुजा, रिती-थिति सिकाउने बाहुन हरुले रे ! ( हे हे.... :)│बाहुनहरुले चामलको खुब लोभ गर्दा रैछन │पैसा पनि हाम्रो ठुलो टोलीको लागि खासै धेरै थिएन │ देउसी खेल्न सबैको मनै मरेर आयो │ घरभेटी निदाईसके जस्तो लागेको एउटा घरमा देउसेहरु सुन्तला घारितिर आँखा लगाउन थाले │ कतिले त टिप्न पनि भ्याए │तर घरभेटी कहाँ निदाका हुनु- देउसे आए भनेर निदाए जस्तो गरेका रहेछन │ उठेर गर्नु सम्म गाली गरे, फलाक्नु सम्म फलाके │ भिकारीलाई भिक दिए जसरि अलिकति पैसा पनि फालिदिए │हामी त्यहाँबाट हिंडेपछी देउसी खेलेनौं │ घर फर्कन पनि टाढा थियो │ एउटा घरको बाहिर खाटमा सुत्नुपर्यो │एउटै खाटमा, एक अर्काको जिउमाथि कस्तो मज्जाले सुतियो │ भोलिपल्ट उठेर फेरी एक दूई घर देउसी खेलियो │भोक लागेकोले चिया बिस्कुट खाइयो │ लास्टमा पैसा तिर्ने बेलामा त हाम्रो सबै पैसा चियामै - झ्वाम !

********************


बुझ्ने भएपछि पैसाको मोह घटिसकेको थियो │ देउसी रमाईलोको लागि खेल्न थालियो │तर भाका हालेर देउसी गाउने कला थिएन कसैको │ यसै- सुरुवाल कमिज लाएर हाकुचा बन्ने, सारी चोलो लाएर आइमाई बन्ने, मादल बोक्दै हँसिमजाक गर्ने मात्र ध्यय हुन्थ्यो सबैको │देउसी भन्न चाहीं नयाँ-नयाँ जुक्ति निकाल्थ्यौं │ जस्तो कि साधारण बोलीचालीको कुरालाई नै देउसी मा ढाल्ने:
ए कान्छी-देउसी रे !
ए मेरी कान्छी-देउसी रे !
बाहिर हेर- देउसी रे !
हुन त ‘लाले अंकल’ सार्है सृजनसिल हुन के ! यस्ता अनेक आइडिया ल्याउँथे │अर्को एउटा तरिका चाहीं मादलको धुनमा देउसी भन्ने थियो, एउटाले मादल बजाउने-अरुले देउसी रे भन्ने:
घिन्ताङ- देउसी रे │
घिन्ताङ घिन्ताङ- देउसी रे │
घिन्ताङ तांग तांग तांग- देउसी रे │
यस्तो जुक्ति नलगाई पनि सुख थिएन │ नत्र कसले सुन्थ्यो र हाम्रो देउसी ! बरु यसैमा रमाइलो मान्थे सबैले │ अझ मुरलीको धुनमा पनि देउसी खेलियो:
पिरिरी-देउसी रे !
पिरिरिरिरी-देउसी रे !
पिरि पिरि पिरि पिरि – देउसी रे !

********************

एक साल गाउँमा नयाँ मन्दिर र पाटी बनेको थियो │ हामीलाई के जोश आयो कुन्नि- देउसी खेलेको पैसा उठाएर मन्दिरको लागि हार्मोनियम, तबला, मादल जस्ता बाध्यबादनका सामग्री किन्ने कुरा भयो │अलि ‘सिरिएसली’ देउसी खेलेको साल त्यही नै थियो होला │ देउसीको टोली संख्यामा लचकता थियो, जो पनि सामेल हुन पाउँथ्यो- कुनै बन्देज थिएन │ धेरैले साथ दिए │ रमाइलो पनि भयो │ पैसा पनि राम्रै उठ्यो- हार्मोनियम चाहीं किन्न पुग्यो │ हार्मोनियम किनियो तर बजाउन जान्ने कोहि थिएन │ गाउँमा कसैलाई घर-व्यबहारमै फुर्सद हुन्न, पुस्तक किनेर पढेर सिक्न सम्भव नै भएन │ पछि त युवाहरु पनि लाखापाखा लागिहाले- कोहि राजधानी छिरे, कोइ विदेश उडे │ आज पनि हार्मोनियम छ- तर कुन अवस्थामा छ कसैलाई हेर्ने फुर्सद पनि छैन │

********************

अन्तिम पटक देउसी खेलेर त झन उल्का-बिधि गरियो, बदनामी पो कमाइयो │देउसी खेल्न हिंडेको घन्टौं नाच्दा, गाउँदा, उफ्रंदा पनि पैसै हालेनन् │ अब हामीलाई रमाइलो मात्र गर्ने ‘देउसे-टोली’ भनेर जानी सकेका थिए │हाम्रो देउसी रमाइलो मान्थे-हेरेर बस्थे │ जिस्क्याउँदै १-२ रुपयाँ हाल्थे, बढीमा ५ रुपयाँ │ दुई चार घर खेलिसके पछि चल्नु सम्म झोंक चल्यो │ उठेको पैसामा थप-थाप गरेर १५-२० पाकेट ‘दुधिया’ ल्यायौं अनि सबले मस्त खायौं │सब टिल्ल परे │ ओकल्न र छाद्न थाले │ आ-आफ्नो घर जाने अवस्था थिएन, एउटै घरमा सुत्न गयौं │ अनि त सुरु भै गो नि- जीवन र दर्शनका कुरा, आदर्शका कुरा, प्रेम र बिछोडका कुरा ! कोहि प्रेमी बनेर निस्के, कोहि कवि बनेर │कविको कविता सुनेर कोहि रुन थाले, कोहि साथी बनेर फकाउन │ त्यो रात यी नै शब्दहरु दोहोरिरहे- पीर, व्यथा, मार्मिक, चिताको ज्वाला, धोका, पागल, प्रेम, मुटुमाथि ढुँगा, मेरो अंकल ! हुन सम्म रमाइलो भयो │

तर बिहान उठ्दा गाउँमा मुख लुकाएर हिंड्नुपर्ने भै सकेको थियो │
********************

HAPPY DEEPAWALI TO ALL MY FRIENDS!

First published on  Kanchan Raj Giri's english blog on 12th November 2012

Thursday, October 10, 2013

त्यी दशैं फेरी फर्केनन् ।

शीर्षक त शायद अरु कसैले लेखिसकेको हुनुपर्छ तर म यहाँ आफ्नो कथा लेख्दै छु ! प्रत्येक वर्ष दशैं यसरी नै आउँछ, जान्छ  हामी संधै यही गुनासो गरिरहन्छौं कत्ति रमाइलो थियो पोहोर परारको दशैं, कत्ति उमङ्ग थियो बाल्यकालको दशैंमा  तर आज दशैं कत्ति नीरस छ, कत्ति खल्लो छ  बिगतमा बाँच्ने त हामीलाई बानी परिसक्यो  त्यो रमाइलो त शायद त्यो उमेरको, त्यो समयको थियो होला  त्यो उमङ्ग त बालापनको थियो होला तर हाम्रो मन त्यतैतिर अडिरहन्छ  त्यो उमेर जहाँ चिची, पापा नाना पाए मनै फुरुङ्ग हुन्छ, दशैं संधै आइरहे जस्तो नलाग्ने कुरै भएन  के थाहा ! आजकलका भुराभुरिहरुलाई पनि दशैं उत्तिकै रहरलाग्दो हुँदो हो, म यसै भन्न सक्दिन 

दशैं र मामाघरको सम्बन्ध चाहीं मलाई खुब अजीब लाग्छ - आजसम्म पनि । केटाकेटीको लागि शायद सबभन्दा प्यारो, घरबाहिर निस्कंदा जाने पहिलो ठाउँ हो मामाघर । हुँदाहुँदा दशैंमा कपडा पनि मामाघर जाने लुगाभनेर किनिदिन्छन। मेरो लागि पनि मामाघरको बिशेष महत्तो थियो । नयाँ लुगा लगाएर मामाघर जान पाइने।। मेरो मामाघर टाढा थियो, एउटा चम्चै चम्चाले घेरिएको ठुलो चौर पार गरेर जानुपर्थ्यो। म सानैदेखि अन्तर्मुखी स्वभाबको थिएँ । जिज्ञासु थिइन, सोध्ने बानी थिएन । जीवनमा जे जती सिकें, आफैं सिकेँ, परेर सिकेँ । त्यसैले त्यी चम्चाहरुको बारे ममीबुवालाई कहिल्यै सोधिन ।बसले त्यी चम्चाहरूलाई एक फन्को मार्थ्यो । अर्को बस चडेपछी तेस्ले पनि फेरी फन्को मार्थ्यो। ए राता मकै! कुरै पो बुझ्न गारो । मामाघर हिंडेको मान्छेलाई फेरी घरै पुर्याइदेला भन्ने डर! रमाइलो चाहीं- घोडा चढेका मान्छेका ठुला-ठुला शालिक देख्दा लाग्थ्यो, हेरीरहुँ जस्तो ।त्यसैले आजसम्म पनि मलाई वार मुभिजप्रति आकर्षण छ । मैले धेरै पछि मात्र थाहा पाएँ-त्यी चम्चाहरु टुंडिखेलको बार रहेछन।

मामाघर मन पर्नुको  खाँटी कारण भने अर्कै थियो । दशैंको टिका थालीमा टिका, जमरा, अनि पैसा राखेर लगाइदिन्थे-हजुरबुवा, हजुरआमा, मामाहरुले । आजसम्म पनि त्यो थालीभरी दूई रुपयाँको हरियो हरियो नोटको सम्झना ताजै छ । म चाहीं टिका लगाइदिनु भन्दा अघिनै थालीको पैसामा झम्टा मारीहाल्थेँ । पछि पछि त मलाई टिका लगाइदिने बेला पैसै लुकाउन थाले । अर्को मजाको कुरा चाहीं मलाई टिका लगाइदिन खुब गारो थियो। टिका लगाउन मरे मान्दिनथें । मेरो हात खुट्टा समातेर टिका लगाइदिनु पर्थ्यो । टीका लगाउनेबित्तिकै पुछेर फाली पनि हाल्थें । खै किन हो आजसम्म पनि मेरो निधारमा राम्ररी टीका अडिन्न । आज मामाघरको हजुरबुवा बित्नुभएको पनि बर्षौ भैसक्यो । तर त्यी स्मरणहरु भने मेटिएका छैनन् । प्रत्येक वर्ष दशैंमा मामाघर जाँदा हजुरआमाले पुराना कुरा खोतलिहाल्नु हुन्छ- कम्ता गारो थिएन, यस्लाई टीका लाउन, पैसा त यसरी लुट्थ्यो

त्यतिखेर हाम्रो गाउँमा दशैंको माहोल अबर्णनिय हुन्थ्यो । हाम्रो गाउँ वारीपारि गाउँको केन्द्रबिन्दु थियो - ब्यापारको बिशेषगरी । दूई-चार पसल भएको, बाटो चलेको हाम्रो गाउँले सबै गाउँलाई जोडेको थियो । फलत: दशैं तिहारमा मानिसको जमघट हुने नै भयो । मेलामाझैं बाक्लो उपस्थिती हुन्थ्यो मान्छेको - कोहि सहर झर्ने, कोहि पसल छिर्ने, कोहि लंगुरबुर्जा, पिंग आदिमा रमाइलो गर्ने । हाम्रो गाउँमा पिंग हाल्ने पिपलको काइदाको रुख छ, झ्याम्म परेको ठुलो रुख । पिंग पनि रुखको टुप्पोनै छोलाझैं मच्चाउन मिल्थ्यो । मान्छेहरु पिंग मच्चाउन को भन्दा को कम भन्दै प्रतिस्पर्धा गर्थे । पिंग खेल्ने र हेर्ने मान्छेको ताँती हुन्थ्यो । ठुला मान्छेले त पालो पाईनसक्नु हुन्थ्यो, हामी भुराभुरिलाई कसले खेलाईदेवोस त्यत्रो बडेमाकोपिंग । झुक्किएर खेलाईदिए पनि यो काल्लियो, काल्लियोभन्दै झार्दीहाल्थे असत्तीहरुले । त्यसैले घरको पिंडीमा हामीलाई पिंग हाल्दिन्थे । चिची खाँदै त्यस्तो पिंग खेलेको हिजोजस्तो लाग्छ । रहर त ठूलै पिंग खेल्ने हुन्थ्यो तर त्यो सम्भव थिएन । तैपनि ठुलो पिंग खेल्न नपाउनु को असन्तुस्टी एकातिर पन्छाएर त्यो समय, त्यो मान्छेको भीड सम्झिदै मात्र पनि कत्ति रमाइलो लाग्छ । उमेर बढ्दै गएपछि लिंगे पिंग पनि हालियो, ठुलो पिंग पनि मच्चाइयो ।
दशैंमा अलि मन नपर्ने दिन चाहीं मलाई अस्टमी हो । कम्ता हैरान खेलउँथेनन, घर परिवारले त्यो दिन । बिहान बिहान देखि उठेर नुहाउनु पर्ने रे । कारण नुहाएन भने अर्को जुनीमा बोका हुन्छ रे । मन नलागे पनि नुहाउन चाहीं नुहाउँथे । यही सोचेर डर लाग्थ्यो- यी सबै खसी-बोका पूर्वजन्ममा ननुहाएका होलान्, आफु पनि तेस्तै भइएला फेरी । नुहाइवरी नाला भगवती थान पुजा गर्नु जानु पर्थ्यो । ठाउँ ठाउँमा पुजा गर्दै हुल बाँधेर मन्दिर जान रमाइलै हुन्थ्यो । मन्दिरमा भने घन्टौं लाइन लाग्नुपर्थ्यो । त्यस्तै परे मान्छेले बाहिरबाटै चढाईदिन्थे । ममा भगवान प्रति आस्था (या डर भनुँ ?) चाहीं थियो र आजपनि छ । अबेरसम्म बसेर पुजा गर्थें । अनि त्यसपछि किनमेल गर्ने, खाजा खाने, लंगुरबुर्जा खेल्ने गर्थ्यौँ ।

नाला जान रहर लाग्ने मुख्य कारण भने लंगुरबुर्जा हो । मान्छेहरु लंगुरबुर्जा खेल्नकै लागि मन्दिर जान्थे । कम्ता मन पर्थेन, मलाई पनि त्यो खेल; गए एक आए डबल, तेब्बर, कति कति । आज पनी मलाई त्यो खेल तेत्तिकै मन पर्छ । खास दिमाग लगाउन पनि नपर्ने, पैसा भए  खेलो, नभए हिँडो । तेत्तिखेर सुका, मोहोर देखि रुपयाँसम्म पैसा हाल्न मिल्थ्यो । पाँच रुपयाँ राख्ने मान्छेलाई त हामी खूब धनी मान्छे भन्ठानथ्यौं । त्यस्तै परे तिनिहरुले हामी ढुकेर बसेका भुराभुरिलाई सुका मोहोर दिई पो हाल्थे । अनि तेही लंगुरबुर्जामा पैसा हाल्यो, सक्यो । एक पटक त्यसरी खेल्दा मैले बगलीभरी पैसा जितें । त्यतिखेर कुन्नि कसले एक सुका दिएको थियो । लंगुरबुर्जा खेल्ने मान्छेको भीड हुन्थ्यो, एउटा कुनाबाट छिरेर म फुच्चे पैसा राख्न बसेको थिएँ ।पैसा जितिसकेपछि भीडबाट निस्कें अनि  दङ्ग परेर शानका साथ सबैलाई देखाएँ । तर मलाई घर जानै मन लागेन । फेरी बसें, खेल्न । बिस्तारै बिस्तारै खल्ती रित्तिदैं गयो । टाट पल्टिएपछि लुत्रुक्क परेर घरतिर लागें । घर गएर सोचें- थुक्क! जितेपछि नखेलेको भए पनि हुन्थ्यो । तर त्यसपछि नि लंगुरबुर्जाको लत लागिरह्यो पछिसम्म । पछि-पछि अलि ठुलो भएपछि आफै खाले सम्म पनि भैएको छ । पैसाको लोभमा जति पनि हान्ने हुँदा खाल, बाल्टिन र गट्टी शुद्द मान्छेले थुतेर लगेको हिजो जस्तो लाग्छ ।

उमेर अलि बढ्दै गएपछि तास पनि खेल्न थालियो । गाउँमा त्यतिखेर चलेको खेल थियो- चल शत्र । शायद आजकल खेलिने फलांशको नेपाली रुप हुनुपर्छ त्यो । कुन्नि कसले सिकाइदिएको थियो त्यो खेल मलाई । हामी एकदुई जनाले जानेपछि अरु दौंतरीलाई पनि सिकायौं । केटाकेटी माझ छिट्टै लोकप्रिय भयो त्यो खेल । एक रुपयाँ सामान्य भइसकेको थियो । जतिखेर नि केटाकेटी हरु त्यही खेल्न थाले. त्यस्तै परे ठुलाबडा सँग पनि । आँगनमा, पिंडीमा, ट्वाइलेको छतमा जहाँ पनि केटाकेटीहरु तासमा झुम्मिन थाले। अत्ति भएपछि बौ-आमाहरुले गाली गरे । त्यसपछि खुलमखुल्ला तास खेलेको चाहीं देखिएन । तर उम्रेंदै तीन पातका हामी बच्चाहरु गोठमा लुकी लुकी भए पनि चल शत्र खेल्थ्यौं ।

आज बर्षौंपछि समय बदलिसकेको छ । संगै हुर्के बढेका, पढेका दौंतरीहरु पनि छुटिसके, कोहि कता कोहि कता । फेसबुकमा ‘Happy Dashan’ लेखेर दशैं सकिन्छ, विवसता छन् सबैको आ-आफ्नै । बालापन अब स्मरणमा मात्र बाँकी छ । अब मामाघर जाने लुगाकसैले किन्दिदैन । थालीको पैसा झम्टा मार्न मन लाग्दैन, टीका पुछेर फाल्न सकिन्न । यत्ती हो- हजुरआमाको कुरा सुनेर रमाइलो लाग्छ । सोच्छु- म पनि त्यस्तो थिएँ र? गाउँ सुनसान छ, पहिले जस्तो चहलपहल छैन दशैं जस्तो महान चाडमा पनि । फाट्टफुट्ट मान्छे मात्र उकालो-ओरालो गरेको देखिन्छ । त्यो ठुलो झ्याम्म परेको पिपलको रुख पनि बुढो भैसक्यो । यध्यपि त्यस्मा अझै पिंग हालिन्छ । फरक यत्ती हो- पहिला पिंग हाल्न पनि मान्छेको भीड हुन्थ्यो, आज खेल्ने मान्छे पनि छैनन् । नाला बजार, मन्दिर जान पनि त्यती उत्साह छैन । जाने पनि कोसँग? साथिहरु पनि छैनन् । मन्दिर खाली छ, बजार सुनसान । फाट्टफुट्ट भुराभुरिहरु लंगुरबुर्जा खेलेको देखिन्छ । अब त त्यती मन पनि छैन । चलशत्रको स्थान आजकल फलाँशले लिइसकेको छ । खेल्न मन पर्छ, रमाइलो गर्न मन पर्छ तर खेल्ने मान्छे खोई? जीवन बुझ्न पनि कति गारो? त्यही पुरानो समयमा फर्किन मन छ तर कसरी? त्यी सबै दशैंहरु फेरी फर्केर आए पनि हुने, तर अब त्यो सब सम्भव छैन । समयले कोल्टो फेरिसकेको छ ।


First published on insanevibes.wordpress.com on 17th October 2012

Saturday, April 13, 2013

Happy New Year 2070!


धेरै वर्ष अघि यही समयमा बनभरी लाली गुराँस फुल्थ्यो आज पनि फुल्छ सायद तर धेरै भैसक्यो नदेखेको स्कूल छुटेपछी प्राय शुक्रबार हामी बन-बन डुली हिडथ्यौं कहिले काफल खान त कहिले लाली गुराँस टिप्न त्यी सम्झनाहरु आज पनि ताजै छन् –बिशेसगरि लाली गुराँस टिप्दाताकाको नयाँ वर्ष लाग्ने बेला मलाई त्यो समय याद आउँछ र सोच्छु- ओहो ! यो त गुराँस फुल्ने बेला हो दिनभरी डुलेर कसले धेरै गुराँस टिप्ने भन्ने होडबाजी हुन्थ्यो बनको बिचमा बनदेवी को थान थियो त्यहाँ गुराँस चडाउने गर्थ्यौँ भोक लाग्दा गुराँस खान्थ्यौ पनि घाँटिमा केहि अड्किदा गुराँसले औषधिको काम गर्छ भन्ने विश्वास थियो अनि हातभरी गुराँस बोकेर घर लाग्थ्यौं आज पनि बनमा गुराँस फुलेको होला हाम्रो मनमा चाहीं त्यो मनमोहक फूल फुलेको छ कि छैन ?



नयाँवर्ष खासै मनाएको याद छैन एक साल नयाँ वर्षको दिन घुम्न गएको चाहीं संधै याद आइरहन्छ हाम्रो गाउँ बाट नजिकै छ नगरकोट – हिड्ने दुरीमा अब घुम्ने योजनाले हिडेको पनि होइन, नगरकोट जान योजना बनाउनु जरुरि पनि थिएन कसैसंग सुको पैसा पनि थिएन हिड्दा हिड्दै धेरै हिंडियो अनि भोक लाग्न थाल्यो घर फर्किन पनि टाइम लाग्ने भोक चर्को हुदै थियो एउटै उपाय थियो – टुरिस्ट फकाउने त्यो पनि सकिएन भाइहरुले चाहीं अर्कै जुक्ति निकाले नयाँ वर्षको दिन धेरै मान्छे पिकनिक आएका थिए नगरकोटमा अब तिनीहरुले ल्याएको खाने कुरा चोर्ने भैयो मैले नाइँ भनिन तर म अलि डरछेरुवा खालको मान्छे थिए भाग्नलाई ठिक्क परेर बसें मोटरमा राखेको खाने कुरा भाईहरुले चोरेर ल्याएपछी कुलेलाम ठोकियो हामी (अझ म भनुँ) यती बेस्सरी भाग्यौं- सम्झिदा पनि रमाइलो लाग्छ खाने कुरा भुजिया रहेछ त्यति मिठो खाने कुरा ‘लाईफमा’ फेरी कहिले खाइएन, या भनुँ खाको जस्तो लाग्दैन I

नयाँवर्ष आउँदा एक किसिमको जोश हुन्थ्यो ममा  त म स्कूलमा राम्रो बिद्यार्थीनै थिएँ तर आफै देखि अफ्नो पढाइ देखि चित्त बुझिराखेको थिएन प्रत्येक नयाँ वर्ष म ‘नोट’ बनाएर राम्रो संग पढ्छु भन्ने प्रण गर्थे ‘सेडुल’ बनाएर पढ्छु भन्ने अठोट गर्थें तर मेरो योजनाले संधै हावा खान्थ्यो ‘नोट’ बनाउन सुरु त गर्थे तर समय अभाब भएपछी तेस्मानै लेखिन्थ्यो क्लासमा पनि अनि नोट ‘रफ’ बन्थ्यो प्रत्येक वर्ष यसरी नै चल्दै गयो नोट बनाएर पढ्न सकिएन स्कूल पछी त झन के भयो के एउटै कापीमा चल्न थाल्यो सब बिषय आज दस वर्ष बितिसकेछ स्कूल छोडेको पनि आज बुझ्दै छु जीवन ‘नोट’ नै त नहुदो रैछ जीवनलाई सकेसम्म ‘नोट’ बनाउन कोसिस त गर्ने हो तर adjust त ‘रफ’ मा नै गर्नु पर्ने रैछ I

साथिहरु सबैको जीवनमा लाली गुराँस फुलोस, रमाइलो सम्झनाहरु संगालेर बाँच्नुहोस् , र जीवन संधै नोट जस्तै बनाउने तिर प्रेरित होस् शुभकामना

Happy new year 2070 !

प्रथमपटक २०६९ मा पुरानो ब्लग (English ब्लग) मा प्रकाशित !

Sunday, March 10, 2013

शिव-लिङ्गको कथा

शिव-लिङ्ग

शिव-लिङ्गको कथा

अनादी कालमा हिमालयको जंगलमा निर्वस्त्र तान्डव नृत्य गरिरहेका देवादी देव महादेवलाई देखेर ऋषि-पत्नीहरू मुग्ध भए | (सतीदेवीले देहत्याग गरेपश्च्यात बिरक्तिएर हिंडेका महादेवसँग ऋषिपत्नीहरू सम्मोहित भएको कुरा स्वस्थानीमा  उल्लेख गरिएको ) | ऋषिहरुको घर गृहस्ती संकटमा पर्यो | शिवजीसँग क्रोधित ऋषिहरुले श्राप दिए- ''तिम्रो जुन लिङ्गका कारण हाम्रा पत्नीहरु सम्मोहित भएउक्त लिङ्ग पतन भैजावोस !''

आफ्ना तपका बलले सर्वशक्तिमान ऋषिहरुको श्राप भगवान शंकरलाई पनि लाग्यो | लिङ्ग खस्यो | उक्त लिङ्ग एक ज्योतिर्मय स्तम्भमा परिणत भयो संसार ढाक्न थाल्यो | सम्पूर्ण सृस्टि नै प्रलय हुने खतरा बढ्यो | अग्निस्वरूप उक्त लिङ्गलाई नियन्त्रण गर्ने सामर्थ्य कसैमा थिएन | सम्पूर्ण देवगणहरु ब्रम्हाको स्तुति गर्न पुगे  | प्रलय रोक्ने सामर्थ्य ब्रम्हामा पनि थिएन | ब्रम्हाले पार्वती माताको आराधना गर्न सल्लाह दिए | देवताहरुले पार्वतीको स्तुति गरेपश्च्यात एक योनीको उत्पत्ति भयो | शिव-पार्वतीको समागम भयो  | अग्निस्वरूप शिव-लिङ्ग उक्त योनीमा लीन भएपछि सम्पूर्ण ताप विलीन भयो |   ब्रम्हाण्ड प्रलय हुनबाट जोगियो | 

पार्वतीसँग समाहित शिवको स्वरुपलाई भगवान शंकरको सबैभन्दा  'सौम्य मुद्रा' मानिन्छ | हामीसंग सुपरिचित शिव-लिङ्ग एक पुरुष योनीमात्र नभई शिव-पार्वतीको समागमको प्रतिक हो | उक्त प्रतीकमा रहस्यमय शक्ति भएको विश्वास गरिन्छ शिव-पार्वतीको प्रतिमालाई पुज्नुभन्दा शिव-शक्ति स्वरुप शिव-लिङ्गलाई पुज्नुमा बढी पुण्य प्राप्त हुने कुराको बर्णन पुराणमा पाइन्छ |  

ईसाको तेस्रो शताब्दीसम्म शिवलिङ्गलाई प्राकृतिक स्वरुपमा प्रस्तुत गरिएको पाइएको छ | मध्ययुगपश्च्यात क्रमशः यसको स्वरुप अमुर्तरुपमा परिबर्तित हुँदै गएको छ |(शिव-लिङ्गको उत्पत्ति तथा इतिहासबारे सामान्यजानकारी यहाँ) 

अझ रोचक के भने- भगवान (भग+बान) शब्द नै स्त्री-पुरुष जनेन्द्रीयको समागम हो जसमा भग (स्त्री जनेन्द्रीय) तथा बान (पुरुष जनेन्द्रीय) हो | (श्रोत: नेपाली बृहत् शब्दकोश )

(महाशिवरात्रि पर्वको सबैलाई शुभकामना !)

सामग्री श्रोत: शिव-पुराण