Sunday, November 21, 2021

२१ पटक लोकसेवा अधिकृत परीक्षा फेल हुँदा...


जीवन साँच्चै अचम्मको छ ।

सुरक्षा निकायमा काम गर्ने मेरा केही साथीहरु "रिटायर्ड" भैसके । केही छिट्टै निवृत हुँदैछन् । म चाहिँ भर्खर जागीर खाने सुर कस्दै छु,  जागीर प्राप्त गर्नका लागि मैले गरेका प्रयास र अनुभवको कथा लेख्न बसेको छु ।

मेरो बिद्यालय र बिश्वबिद्धालय अध्ययनको अनुभव अत्यन्तै सुखद: रह्यो । सानै देखि मिहेनत गर्न सिकेको थिएँ  । किन थाहा छैन । शायद लोकलाजले होला । अलि अलि लेखनसीप पनि बिकास भएको थियो । परीक्षाको परिणाम मेरो मिहेनतमा गुणान भएर आउँथ्यो । सधैं अपेक्षाकृत भन्दा अब्बल परिणाम । सधैं सफल । जीवन अब यत्तिकै सहज तरिकाले कट्छ भन्ने मेरो अनुमान थियो । तर जीवन मलाई अर्कै पाठ सिकाउन तम्तयार भएर बसेको थियो ।

एमएस्सीको अध्ययनपछि मैले पीएचडी अध्ययनका लागि गरेका केही प्रयास असफल भए । जर्मनीमा प्रि-पीएचडी  ट्रेनिङबाट पीएचडीको लागि छनौट हुन म सकिन । जर्मनीको विश्वस्तरिय न्युरोसाइन्स ल्याबहरुमा रहँदा मलाई  कहिल्यै त्यो काम गर्ने उत्साह र उर्जा प्राप्त भएन । जर्मनीको निराश बसाईबाट फर्केपछि मेरो निस्कर्ष रह्यो – I am not Man of Science  ( म बिज्ञानको लागि जन्मेकै होइन । )

त्यसपश्चात् मेरो बेरोजगार जीवन सुरु भो । र त्यो नै मेरो जिवनको "टर्निङ पोइन्ट" बन्यो ।

२०६९ साल माघमा गाउँमा "श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ" भयो । सप्ताहको दुई दिन अघि गाउँ जाँदा सप्ताह हुने-नहुने अन्योल थियो । पैसाको अभाव थियो, गाउँमा थरीथरी स्वार्थको द्वन्द थियो । तर युवाहरुको जोडबलमा सप्ताह भयो । पैसा उठ्यो । सामुदायिक भवन बन्यो । पुस्तकालय बन्यो । चौतारो चिनियो । राधाकृष्ण मन्दिर प्राङ्गण बिस्तार भयो । उक्त परिशर वडाको केन्द्र बिन्दु बन्यो ।  त्यसमा धेरै थोरै योगदान भएको मेरो जीवन पनि बदलियो । मैले थाहा पाएँ – “मेरो उत्साह र रुचि ब्यबस्थापनतिर छ । म ब्यबस्थापनको मान्छे हु ।“ 

"तिमीले तिमीलाई मन पर्ने काम खोज्यौ भने जीवनमा कहिल्यै काम गर्नुपर्ने छैन् ।" कन्फ्युसियसको यही विचार अनुसरण गर्दै म लोकसेवा अधिकृतको परिक्षा दिने निर्णयमा पुगें । तयारी थालें ।

त्यही साल दिएको पहिलो लोकसेवा अधिकृतको प्रारम्भिक परिक्षामा म असफल भैसकेको थिएँ  । अलि बढी दृढताका साथ अर्को तयारी थालें  । कसो कसो निजामती कर्मचारी अस्पतालमा दिएको खुल्ला प्रतियोगितात्मक परीक्षामा नायब सुब्बा सरहको प्रशासन सहायक पदमा नाम निस्क्यो । त्यो जागीरले मलाई आर्थिक रूपमा राहत दियो । दैनिक जीवन यापन सहज भयो । तर करार थियो पद । कार्य सम्पादनका आधारमा बर्सेनि करार थपिंदै जाने अनि चौथो वर्षपश्चात् आन्तरिक प्रतियोगिता मार्फत स्थायी हुने प्रावधान भएको । पक्का स्थायी थिएन जागीर तर त्यो मेरो चिन्ताको विषय थिएन । म अधिकृतमै नाम निकाल्न चाहन्थें ।

बर्षभरी मिहेनत गरेको लोकसेवा अधिकृत दोस्रो चरणको परीक्षाको व्यग्र पर्खाई थियो । नतिजा आउँदा फेल भएँ । पहिलो चोटि त आकाश खसेर थिचेजस्तो भयो । अकल्पनीय, अबिस्वसनीय । फेरि अर्को वर्ष दिएँ । फेरि फेल । अब अलि डर लाग्न थाल्यो । आत्मबिश्वास घट्यो । नाम निकाल्नै पो सकिन्न कि भन्ने चिन्ता बढ्यो । तर मैले लगातार परिक्षा दिईरहें ।  शायद २०७४ सालमा लोक सेवा खुलेन । त्यसपश्चात् फेरि खुल्यो, फेरि दिएँ । प्रारम्भिक परीक्षा पास गर्थें तर दोस्रो चरणमा सधैं फेल । २०७० सालदेखि नै म सार्वजनिक संस्थानहरुको परीक्षा पनि दिन थालिसकेको थिएँ  । संविधान जारी भएपछि त्यहाँ पनि लोक सेवाको संलग्नता हुन थाल्यो, परीक्षाको विश्वसनियता बढ्यो । तर मेरो फेल हुनुको नियति रोकिएन, दोहोरीरह्यो ।

यो अवधीमा मेरो जीवन पनि बदलिरहेको थियो ।

सुरुमा जीवन खुबै अप्ठेरो भयो । असफलतालाई सहजै स्वीकार्न गाह्रो भयो – ‘लेस ब्राउन’को “चिनियाँ बाँस”को कथा जस्तै । चिनियाँ बाँस - जसलाई  प्रत्येक दिन पानी हालिरहनुपर्छ । प्रत्येक दिन मल छरिरहनुपर्छ । तर पाँचौ बर्ष नपुगे सम्म टुसा सम्म पनि पलाउँदैन ।

जब पाँचौ बर्षमा चिनियाँ बाँस उम्रन्छ, पाँचै हप्तामा ९० फिट अग्लो रुख बन्छ । देख्नेहरुले बाँस पाँच हप्तामा उम्रेको देख्छन् तर वास्तवमा उक्त बाँस ५ वर्षमा बढेको हुन्छ ।  यदि कुनै पनि दिन उक्त बाँसमा मलपानी नहालिएको थियो भने उक्त बाँस मर्ने थियो । मानिसहरुको गिज्याईमा अल्झेको भए  उक्त सपना मर्ने थियो । त्यसैले लडाइँ जति गाह्रो हुन्छ, जीत त्यति नै मीठो हुन्छ । जीवनमा जति ठुलो आँधी आउँछ, त्यति नै चहकिलो हुन्छ- इन्द्रेणी । आँधीहरु बाटो छेक्न मात्र आउँदैनन्, बाटो देखाउन पनि आउँछन् । अप्ठ्याराहरुले बाटो छेक्दैनन्, अप्ठ्याराहरु आफैमा बाटो पनि हुन् । अप्ठ्याराहरुले नै भविष्यको चुनौतीहरुसंग जुध्न हामीलाई तयार बनाउँछ । संघर्षको अवधीमा जे बनिन्छ, त्यो जीत भन्दा पनि महत्त्वपूर्ण हुन्छ । जस्तो मान्छे हामी बन्छौं, जस्तो चरीत्रको हामी निर्माण  गर्छौं, जुन साहस हामी बिकास गर्छौं, जुन आत्मबिश्वास हामी आर्जन गर्छौं त्यसले हामीलाई अर्कै मानिस बनाउँछ । तर त्यसको लागि आफुमा विश्वास राख्नु जरुरी छ, आफ्नो कर्ममा विश्वास गर्नु जरुरी छ । विश्वासले धैर्यता सिकाउँछ । जबसम्म हामी रोकिदैनौं, तबसम्म हामी कति ढिलो वा चांडो हिंडेका छौं भन्ने कुराको खासै अर्थ हुन्न ।

युट्युबमा र ईन्टरनेटमा यत्रतत्र यस्तै उत्प्रेरणात्मक प्रवचनहरु हेरेर सुनेर म उत्प्रेरित हुन्थें । स्टिभ जब्स, गान्धी, मन्डेला, सदगुरु, रबिशंकर, सोनु शर्माले मलाई उक्साइरहे । मैले मिहेनत गरिरहें । असफलताबाट सिकिरहें । मेरो परिश्रमभित्र एउटा खजाना लुकेको छ भन्ने विश्वास गरिरहें । जब सम्म आशा रहन्छ, तबसम्म हारिंदैन भन्ने सम्झिरहें । कि त जित्छु कि त सिक्छु भन्ने कुरा ठानिरहें । हरेस नखाएसम्म जुनसुकै  पुलहरु तर्न सकिन्छ भन्ने कुरा मानिरहें । 

असफलताबाट कहिलेकाहीं अत्यास नलागेको होइन तर मलाई थाहा भयो- जुन काम गर्न अत्यास लाग्छ, त्यो नै गर्नको लागि सबैभन्दा उपयुक्त काम हो । जीवनमा सुरुवाती पाइलाहरु नै सबैभन्दा अप्ठ्यारा हुन्छन् । त्यी  पाइलाहरु कष्टकर भएनन् भने  हिंडिरहेको बाटो गलत हुन सक्छ । त्यसैले गाह्रो हुन्छ । गाह्रो हुनै पर्छ । सजिलो बाटो त जोसुकै हिंड्न सक्छ । जहाजको लागि सजिलो र  सुरक्षित त समुन्द्रको तटनै  हुन्छ, तर जहाज त्यसको लागि बनेको हुँदैन । जहाज त जानैपर्छ  समुन्द्रको बीचमा - आधीबेहेरीसंग पौंठेजोरी खेल्न । 

यो अवधीमा कुनै बिद्यालय वा विश्वबिद्यालयमा नसिकेको कुरा सिकियो । धेरै-थोरै अध्यात्मिक कुराहरु पनि जानियो । हामीले प्रकृतिको गतिलाई स्वीकार्नु पर्दछ, जसको रहस्य हो- धैर्यता । यो विश्वास गर्नुपर्द्छ कि सहि बाटो हिंडेको खण्डमा एउटा अलौकिक शक्तिले हामीलाई डोहोर्याउनेछ । भागवत गीतामा भनिएको छ- "तिमी धैर्य गर, जो तिम्रो हो- त्यो तिमीले पाउनेछौ ।"  हामीले जीवनमा त्यही पाउँछौ, जसको हामी हकदार छौं । त्यसैले मनले चाहेको हुनु राम्रो हो । नहुनु अझै राम्रो हो । किनभने दुबै ईश्वरको मर्जी हो ।

म त अर्कै मान्छे थिएँ , अर्कै मान्छे बन्दै गएँ । 

म संगसंगै अर्को एउटा संस्था पनि बदलिरहेको थियो । म काम गर्ने मेरो कार्यालय- निजामती कर्मचारी अस्पताल । म त्यहाँ काम गर्न रमाउथें । आफ्नो कामलाई माया गर्थें । तर अस्पताल भने मैले सोचेजस्तो बन्न सकिरहेको थिएन । कुनै समय राम्रो ख्याति भएको मेरो कार्यालयको सेवा दिनानुदिन खस्कंदै गयो । एक समयको अब्बल कार्य सम्पादन भएका कर्मचारीहरु निरुत्साहित हुदै गए । कारण थियो - अस्पतालको विनियमावली । 

खुल्ला प्रतियोगितामार्फत जाँच लिएर ४ बर्षपश्चात् आन्तरिक प्रतियोगितामार्फत स्थायी गराउने विनियमावलीको ब्यबस्था अस्पतालले पूरा गरेन । २०७२ को संविधानअनुकुल हुने गरी विनियमावली संसोधन गर्ने काम २०७७ सालसम्म पुरा हुन सकेन । २०७८ सालमा जब बिनियावली संसोधन भएर आयो, सबलाई चकित पार्ने गरि आयो । नियमानुसार करारलाई स्थायी गर्ने प्रावधान हटाइयो । अनि अस्पताललाई भर्तीकेन्द्र बनाउने  उदेश्यले करार कार्यबिधि नामको नयाँ कानुन ल्याइयो । देशको प्रशासकिय प्रमुख "मुख्य सचिब" संचालक समितिको अध्यक्ष रहेको समिति बिरुद्ध कर्मचारीहरु अदालत गए ।

निजामती अस्पतालमा जे भयो त्यो नै यो देशको शासन-प्रशासनको सुक्ष्म प्रतिबिम्ब हो । देशको राज्य संयन्त्र नै सुशासन र बिकास भन्दा बढी नागरिकका मौलिक हक अधिकार हननमा बढी उद्धत देखिन्छ । त्यसैले अदालतमा राज्यबिरुद्धका मुद्दाका चांग छन् । कार्यसम्पादनमा बिधि, पद्धति, प्रक्रिया र कानुनको  कुरा गर्ने कर्मचारीतन्त्र भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी रोक्न भने कुनै बिधि, पद्धति र कानुन पालना गर्दैन । हाम्रो कर्मचारीतन्त्र चाकरी, चाप्लुसी, ढिलासुस्ती र उत्तदायित्व पन्छाउने संयन्त्रको जिउँदो जाग्दो परिचय बनाएर बसेको छ । मुख्य सचिब अध्यक्ष रहेको समिति अक्षम भएको देशमा बढी अपेक्षा गर्ने ठाउँ नै छैन । 

अनि यसरी देशको शासन-प्रशासनबारे पनि बुझियो । जानियो ।  पढियो । 

मेरो कार्यालयको झमेला र देशको अस्तब्यस्तताबीच म अर्को अप्ठेरोतिर पनि अघि बढिरहेको थिएँ  । मेरो उमेर ३५ पुग्दै थियो- सरकारी सेवा प्रवेशको अधिकतम उमेरहद । तर असफलताले पछ्याउन छाडेको थिएन । ब्यबस्थापकिय काममा मेरो रुचि  थियो । आत्मविस्वास भरपुर थियो  । परिक्षा राम्रै दिन्थें तर पास हुन्नथें ।  अब उमेरले पनि मलाई भिरतिर धकेलिरहेको थियो । 

तैपनि म हार मान्नेहरुमा थिइन । मिहिनेत गर्न छाड्नेहरुमा थिइन।  मलाई थाहा थियो- हाम्रो वर्तमानको परिस्थितिले हामी कहाँ पुग्छौं भन्ने कुराको निर्क्योल गर्दैन । यसले फगत हामी कहाँबाट सुरु गर्छौं भन्ने कुराको निर्क्योल गर्छ । चुचुरोमा पुग्नेहरु त्यहीँ जन्मेका हुँदैनन् । अनवरत परिश्रमले मात्र त्यहाँ पुग्ने हुन् । त्यसैले अन्तिमसम्मै प्रयास गर्ने दृढता मनमा थियो ।

मलाई प्रभावित गर्ने मध्येको अर्को एउटा कथा थियो - कुकुर र हात्तीको । जो राम्रा साथी थिएँ  । दुबै एकै चोटि गर्भवती भए । कुकुरले ३ महिनामा आधी दर्जन छाउरा जन्माइन् । अर्को तीन महिनामा फेरि अर्को आधा दर्जन छाउरा । अर्को तीन महिनामा फेरि अर्को आधा दर्जन छाउरा । १८ महिनामा ३ दर्जन छाउरा । तर दुई बर्ष पुग्न लाग्दा पनि हात्तीको सुरसार छैन । कुकुर दौडेर हात्तीको सामु पुगी  र भनी- 'तिमी  साच्चै गर्भवती छौ त ? मेरो त तीन दर्जन बच्चा भैसके । तिम्रो अहिलेसम्म एउटै भएको छैन ।'  हात्तीले उसलाई भनी- "हेर ! जे चिज मेरो पेटमा हुर्कदै छ, त्यो गज्जबको छ । यो छाउरा हैन- हात्ती हो । जब यो मेरो पेटबाट खस्नेछ, धर्तीले महसुस गर्नेछ ं । पृथ्वी थर्किनेछ ं । जब बाटोमा मेरो बच्चा हिंड्नेछ, संसार उसलाई हेर्न  झुम्मिनेछ । उसको तारिफ हुनेछ । म हात्ती जन्माउदै छु, छाउरा हैन । त्यसैले समय लाग्छ । हात्ती जन्माउन राम्रै समय लाग्छ । "

मेरो पनि समय लाग्यो । अधिकृत तहको परिक्षा दिन थालेको नवौं वर्षमा नेपाल विद्युत प्राधिकरण, प्रशासन सेवाको सातौं तह (प्रशासकिय अधिकृत) मा नाम निकाल्न सफल भएँ, २०७८ कार्तिकमा । 

म अधिकृत त बनें । तर त्यो भन्दा महत्वपूर्ण कुरा - यो क्रममा म रुपान्तरित मान्छे पनि बनें । मेरो जीवनलाई हेर्ने दृष्टिकोण बद्लेको छ । मैले आफ्ना कमीकमजोरी पनि स्वीकार्न सिकेको छु । आफ्नो अपुर्णतामा पनि रमाउन थालेको छु । त्यसैले मैले आफू लोकसेवा अधिकृतको परीक्षामा २१ पटक फेल भएको कुरा भनें, लेखें । यसो भन्न ठुलो हिम्मत चाहिन्छ । भिडमा मिसिन केही आवश्यक पर्दैन, एक्लै उभिन ठुलो हिम्मत चाहिन्छ । समाजको खोक्रो ढर्रा अंगालेको भए मैले पनि भन्ने थिएँ होला  "यसो ट्राइ मार्दैको थिएँ, नामै पो निस्केछ ।" 

संघर्ष गर्दै गर्दा कहिल्यै आत्तिनु हुँदैन किनकि संघर्षको बखत मात्र मान्छे एक्लो हुन्छ, सफलता पाएपछि  सारा संसार साथमा हुन्छ । हाम्रो सबैभन्दा ठुलो डर 'असफल हुन्छु कि?' भन्ने भयमा हुनुहुँदैन । ठुलो डर त त्यस्तो सफलता प्राप्त गर्दा हुनुपर्छ, जसको कुनै अर्थ छैन । असफल हुने स्वतन्त्रताबाट नै सबैभन्दा ठुला-ठुला सफलता प्राप्त भएका छन् । जीवनमा सधैं सिकिरहनुपर्छ । सिक्नलाई कहिल्यै बुढो र नेतृत्व गर्नलाई कहिल्यै जवान भइदैन । 

मलाई लाग्छ हाम्रो समाजलाई यस्तै कथाहरुको जरुरत छ । 

हाम्रो समाजले परम्परागत रूपमा नै "हुने बिरुवाको चिल्लो पात", "बहुमुखी प्रतिभाको धनी", "जीवनमा कहिल्यै दोस्रो नभएको", "जता जाँच दियो , त्यतै नाम निकाल्ने" जस्ता अपवादका कथाहरुलाई सफलताको मानक मान्दै आएको छ । तर समाजमा औसतमा मानिसहरु असफल हुन्छन् । र प्रयास गर्न छोड्छन् । उनिहरुलाई उत्प्रेरित गर्न संघर्षका कथाहरु चाहिन्छ । मिहेनतका  कथा चाहिन्छ । पसिनाका कथा चाहिन्छ । किनभने जसले पानीले नुहाउँछ, उसले केवल छाला बदल्न सक्छ । जसले पसिनाले नुहाउँछ, उसले इतिहास बदल्न सक्छ ।

(यो लेखलाई थोरै सम्पादन गरि सेतोपाटीले प्रकाशित गरेको थियो । उक्त लेख यहाँ पढ्नुहोस् )


 

 (लोक सेवा आयोग-२, घरेलु तथा साना उद्योग बिकास समिति-१, नेपाल आयल निगम-१, नेपाल नागरिक उड्डयन प्राधिकरण-१, का परिक्षा प्रवेश पत्र हराएका छन् ।)

यो लेख केही सम्पादन सहित २०७८/०७/२७ गते सेतोपाटीमा प्रकाशित भएको थियो । 

 

 

 

 

 


No comments:

Post a Comment

Your comments will be highly appreciated.