Saturday, September 28, 2019

लस्ट इन शिवपुरी २


१० मिनेट बाटैबाटो हिंडेपछि खोला सुसाउन थाल्यो- बिष्णुमति खोला ।

नजिकै गएर हेर्दा देखियो सानो झरना । सफा, स्वच्छ , कन्चन पानी । काठमान्डौ बासी धेरैले बिष्णुमतिको यो रुप देखेका नहोलान र भन्यो भने पत्याउनेछैनन् ।


अब बल्ल थाहा भयो- हामी यही झरनाको माथितिर केही बेर अघि हराएका थियौं ।

तर हामी माथी लागेनौ । यो खोलाले हामीलाई अघिनै अत्याइसकेको थियो । हामी अलि पर ट्रस हालिएको ठाउँमा पुग्यौं र झर्न थाल्यौं ।

खोला सुसाइरहेको थियो । हामी ठाडो बाटो झर्दै गयौं । अप्ठेरो, पुरै ठाडो बाटो । रुखका लामा लामा जरा समात्दै झर्नुपर्ने । लड्ने र चिप्लने डर उत्तिकै । फेरि खोला झरेको आवाज बढ्दै जांदा मनमा उत्सुकता उत्तिकै । बिस्तारै रुखमा छेलीएर सेतो सेतो पानी को लाम्चो लाम्चो आकार देखिन थाल्यो ।



तल पुगिसक्दा सबै चिच्याउने र कराउने गर्न थाले । हाम्रो दिन भरिको खोजले सार्थकता पाएको थियो ।

त्यहाँ देखियो - एक भयंकर ठुलो झरना । अकल्पनीय । शायद कसैले जीवनमा यत्रो  ठुलो झरना देखेको थिएन ।



काठमाडौ नजिकै यस्तो झरना छ भन्ने कुरा धेरैलाई थाहा नहोला । खास 'बिष्णुद्वार' भन्ने ठाउँ  नै नौलो हुन सक्छ धेरैलाई । प्रचार त टाढाको कुरा  । त्यहाँको सुनसानले  यी कुरा प्रमाणित गरिरहेको थियो ।

मैले आफै काठमान्डौ छिरेको झन्डै १८ बर्षछि त्यो ठाउँको नाम सुने र पुग्ने मौका पाए।

त्यहाँ केहिबेर रमाइलो गरियो । जसको बर्णन गर्न सकिन्न ।  त्यो क्षणलाई भिडियोमा कैद गर्ने प्रयास मात्र भयो ।



फर्कदा नयाँ स्फुर्ती आएको थियो जीउमा । लुगा भिजेका थिए तर पर्वाह थिएन । मोजा भिजेको कारण मैले मोजा लगाइन ।

बाटोमा आएर काठमाडौं नियाल्यौ । देशको झन्डै १ चौथाई मान्छे कोचिएको सानो उपत्यका ।

पुर्बतिर सुर्यको सुन्तले किरणले शिवपुरी बन सुन्दर देखिएको थियो ।

पश्चिमतिर  सुर्य ढल्दै गयो ।

हामी बाटैबाटो हिंड्न् थाल्यौं । बाटोमा धेरै झरना देखिए । एउटा झर्ना अध्भुत थियो- तुर्तुरे तर अग्लो ।


हामी हिडिरह्यौ । त्यो बाटैबाटो जांदा बिहान उभो लागेको बाटोमा पुग्ने हाम्रो अनुमान थियो ।

पर एक ठाउँमा ढुङ्गा छापेको बाटाहरु देखियो । एउटा उकालो लाग्ने र एउटा ओरालो झर्ने । त्यहीँबाट झर्ने हो कि भन्ने बिचार पनि आयो । तर सिधै जाने निर्णय भयो ।

६:३० बजे । रात झमक्क पर्यो ।

अब मोबाइलको बत्ति बाल्नु पर्ने भयो। अध्यारो बढेसंगै डर पनि लाग्न थाल्यो ।

फेरि झाडीहरु आए । खोल्चाहरु आए । किराहरु कराउन थाले । तर बाटो भेटिएन ।

हाम्रो डर बढ्दै गयो ।

अब हामीलाई लठ्ठीको आवश्यकता पर्यो । सबैले हातमा लठ्ठी लियौ ।

तर जति हिंडेपनि बाटो भेटिएन ।

झन झन डरलाग्दा खोन्चहरु । रुखका छायांहरु ।

तलतिर हेर्दा अघि हामीले पुग्नुपर्ने ठाउँ भनी संकेत गरेको चैत्य परै छुटिसकेछ ।

आधा घण्टा हिंड्डदा पनि बाटो फेला परेन । हामी झन घना जङ्गलमा छिर्दै थियौं । खोलाको आवाज आइरहेको थियो । आवाज अझ बढ्दै गयो ।

बढ्दै गयो- हाम्रो डर पनि । शायद हामी फेरि हरायौ ।

एउटा खोन्चमा हामी टक्क रोकियौ ।

छङ छङ बजिरहेको खोला । घना जङ्गलमा छिर्दै गरेका हामी ४ साथीभाइ । अब खोला तरेर जङ्गल छिर्ने आट हाम्रो थिएन।

"हामी परै ढुङ्गा छापेको बाटो झर्नुपर्थ्यो ।"- सबैको एकमत भयो र हामी फर्कियौ ।

सबैमा डर थियो तर कसैले देखाएन । सबैलाई थाहा थियो - जस्तोसुकै परिस्थिति पनि चारै जनाले सामना गर्नुपर्नेछ । त्य्सैले त सबैले हातमा लट्ठी बोकेका थियौं ।

फेरि आधा घन्टा फर्किएपछि ढुङ्गा छापेको बाटो आयो । अनि हामी झर्न थाल्यौं ।

जति हामी झर्दै जान्थ्यौ त्यति हाम्रो डर घट्दै जान्थ्यो अनि आशा बढ्दै जान्थ्यो ।

"आर्मिले हामीलाई खोजे कि खोजेनन होला ? "भन्ने एउटा उत्सुकता पनि थियो ।

अनि उज्यालो देखिदै गयो । हाम्रो डर घट्दै गयो ।

अन्तत: हामी त्यहीँ आइपुग्यौ-जहाँबाट आजको हाइकिङ सुरु भएको थियो- शिबपुरी नागार्जुन निकुञ्जको गेट ।

८:०० बजे । त्यहाँ आइपुगेका थियौं । ठिक त्यही समयमा बिहान हामीले हाइकिङ सुरु गरेका थियौं ।

३९,१५८ पाइला । १२ घन्टा ।  झन्डै  ३० किलोमिटरको हाम्रो यात्रा समाप्त भएको थियो भर्खर ।

हामीले दिउसोभरी गरेको फोहोर फिर्ता ल्याएका थियौ ।
डस्टबिनमा फाल्यौ । आर्मीले मान्छेहरु फरक फरक बाटो फर्कने भएकोले सम्पर्क गर्ने नगरेको बताए ।

र हामी बाइक चढेर त्यहाँबाट फर्कियौ ।

घर पुगेर हेर्दा खुट्टामा जुका लागेछ । रगत रोक्न हम्मे हम्मे पर्यो ।

अनि फेरि खुट्टा बेस्मारी दुखेर निदाउन सकिएन । हाम्रो पहिलो हाइकिङ अबिस्वमरणिय रह्यो ।

शिबपुरी नागार्जुन निकुन्ज ।

चराहरुको चिर्बिराहट ।

पानीमुहान । पानीको कलकल आवाज । साना ठुला मनमोहक झर्नाहरु ।

ढुङ्गा छापेको बाटो । लेउ लाग्दा पनि सुन्दर ।

तल्लो देउराली ।

रुखको शितलतामा हिंड्डदाको आनन्द ।

अचम्मको सिस्नो ।

देउराली खोल्चा ।

बदेलले जोतेको माटो ।

रुखका टोड्काहरु ।

प्रलादसंग प्रसन्न भइ शिवको वाणीबाट उत्पत्ति भएकी पबित्र बागमतीको उदगम बाग्द्वार ।



शिवपुरी पिक । उड्दै गरेको बादल । शिबपुरी बाबाको मुर्ति ।

साथीभाइसंग सेलरोटी । चना । वाइवाइ । स्याउ । केरा । चक्लेट खादाको आनंद ।

चौरमा सुत्नुको मज्जा ।

सतरुद्देश्वर महादेवबाट तिनै उपत्यका, नुवाकोट, रसुवा, र सिन्धुपाल्चोकको मनोरम दृश्य ।

 कामधेनु शिला ।

अनि बाटो भुल्दाको हाम्रो कथा ।

जुकाले खाएको ठाउँमा खुट्टा ४ दिनसम्म सुन्नियो, चिलाइरह्यो ! घुडामाथी दुखिरह्यो ।  हप्ताभरि म खोच्याएर हिंडिरहे ।

TAKE NOTHING BUT MEMORIES.

LEAVE NOTHING BUT FOOTPRINTS.



(#unicode not edited to perfection)













Monday, September 23, 2019

लस्ट इन शिवपुरी - १


हामी ८ घन्टामा २०  किलोमिटर हिंडिसकेका थियौं । 

खुट्टा बेस्मारी दुख्न थालिसकेका थिए  

अब हामी बिष्णुद्वारको खोजमा निस्केका थियौँ । बाटो हामीलाई थाहा थिएन । बाग्द्वारशिवपुरी चढ्दा भेटिए जस्ता साइनेज अब देखिन छाडे । भेटिएका साइनेजको अवस्था पनि दयनीय थियो । नुवाकोटको शिवपुरी गापाको स्थानीय बताउने दुई युवाको जानकारी पछ्याउँदै हामी मुलबाटो (ढुंगा छापिएको सिंढी) छाडेर पश्चिमतिर झर्न थाल्यौं ।

दुई जना साथिहरु (सुमन भाई र लबेन्द्र सर) मानिरहेका थिएनन् । थाहा नभएको बाटो नजाउं भन्न्रे उनीहरुको ध्यय थियो । तर दुई जना कन्चन (म र मेरो भाई) को लहडमा हामी हिडि रह्यौ । बाग्द्वार उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो । कम्तीमा त्यहि बाटोमा हामी निस्किन्छौँ भन्ने हाम्रो अपेक्षा थियो । तर बाटो सोचेजस्तो सहज थिएन । मान्छे नहिडेको, सुनसानअनकन्टार बाटो । कतै रुख ढलेर बाटो छेकिएको, कतै हिंड्दा हिंड्दै बाटो अन्त्य हुने । तैपनि बाटो पहिल्याएर हामी हिंडिरह्यौ ।




सुमन भाइले १० चोटि "हामीले त्यो दुई मान्छेको कुरा सुन्नु नै गल्ती भयो भनिरह्यो ।"

तर हामी हिंडिरह्यौ ।

५-१० मिनेट हिंडेपछि सुमन भाई र लबेन्द्र सर पनि "फर्कौ" भन्न छाडि सकेका थिए । अब उकालो फर्कन सम्भव थिएन  । तर हामी झरिरहेको ओरालो बाटोले कहाँ पुर्याउंछ भन्ने पनि ठेगान थिएन । गलत बाटो हिंडीरहेका पो छौं कि भन्ने डर पनि थियो ।  तर हामी पश्चिमतिर एक पछि अर्को डाँडा काट्दै झर्दै गयौं ।  

अचम्मको कुरा- हाम्रो खुट्टा अब दुख्न छोडिसकेका थिए

झन्डै ४-५ किलोमिटर हिडेंपछि खोला सुसाएको आवाज आउन् थाल्यो । बिस्तारै आवाज बढ्दै गयो । डरलाग्दो आवाज - नजिकिँदै गयो । अन्ततः हामी एउटा खोंचमा आइपुग्यौं । अँध्यारो डरलाग्दो खोंच । तर छंगछंग बगिरहेको कन्चन पानी । पारि तर्न बनाइएको काठको पुल । भिमकाय ठुलो ढुंगा । ढुंगामुनि वडार । वडारमा विभिन्न देवीदेवता स्थापना गरी पुजा गरिएको । ढुंगाका देवताहरु । बुद्धका प्रतिमाहरु । धुपबत्ती बालिएको अवशेषहरु । हिन्दु र बौद्द धर्मको अनुपम समागम । तोरण र ध्वजापताकाहरु खोलाभरि टाँगिएको । रहस्यमय ठाउँ ।



त्यस्तो धार्मिक आस्थाको ठाउँमा कुनै साइनेज भने थिएन ।

काठको पुल तरेपछि बाटो उकालो लाग्यो । ल फसाद पर्यौ !




त्यो अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा शायद हामी हरायौँ ।

हामीलाई थाहा थियो - शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको गेट पुग्न हामीलाई तल झर्नु छ । निकुन्जको गेटमा पनि छंग—छंग खोला बगिरहेको थियो । खोला तरेपछि पक्कै टोखा पुगिन्छ ! हाम्रो सवारी साधन निकुन्जको गेटमा थियो । टोखा जाने हाम्रो बिकल्प थिएन ।

शायद खोला तरेर सिंढी उक्लदै बिष्णुद्वार जाने बाटो पो थियो कि ?

त्यो अवस्थामा हामी चारै जना डराएका थियौं ।

हुनत खोलाबाट तलतिर काठको सिंढी पनि देखिएको हो । त्यहिँ सिंढीबाट निस्कने बाटो पो छ कि भन्ने पनि लागेको हो । लबेन्द्र सर त्यतैबाट जाउँ भन्दै पनि हुनुहुन्थ्यो ।

तर हामीले आँट गर्न सकेनौं । खोला पनि डरलाग्दो गरि सुसाइरहेको थियो । शायद लबेन्द्र सर पनि डराउनुभएको थियो । उहाँले पनि कर गर्नुभएन   

र हामी फर्कियौं ।




हामी त्यही बाटो फर्किन थाल्यौं जुन बाटो झरेका थियौं । केहि माथि डाँडामा पुगेपछि अलिकति सास आयो । ४ बजेको थियो । उज्यालो बाँकी नै थियो ।  हामीलाई निकुन्जको गेटसम्म पुग्नु छ । तर कसरी ? एउटा उपाय थियो ।

बनै बन तल झर्ने ।

र हामी बनै बन तल झर्न थाल्यौं । रुख, बुट्यान, घाँस, पात-पतिंगर, हाँगा, जरा समात्दै । लड्दै पड्दै । माकुराको जालोसँग पौंठेजोरी खेल्दै । अनुहारभरी माकुराको जालो लागेपनि केहि पर्वाह थिएन । हामीलाई बाटो निस्कनु थियो ।




"निकुञ्जले हेलिकप्टर पठाएर रेस्क्यु गर्छ कि?" भन्ने ठट्टा गर्दै हामी झर्यौ । अर्को ठट्टा चाहिँ हाम्रो हालत 'गोदावरीमा हराएको बालक जोनको जस्तो हुने हो कि ?' भन्न्ने थियो ।  

१० मिनेट तल झरेपछि केहि खुल्ला ठाउँ जस्तो देखियो । अलि आशा पलायो ।

नजिकै गएर हेर्दा हाम्रो आशा टुट्यो ।

त्यहाँ थियो - ठुलो अजंगको भिर । चट्टानै चट्टानले बनेको ।

अनि फेरी हामी फर्कियौं । भीरको अर्को कान्लोतिर । र फेरी झर्न थाल्यौं । र फेरी खुल्ला ठाउँ जस्तो देखियो ।

अलि तल झरेपछि बाटो देखियो । मोटर गुड्न सक्ने कच्ची बाटो ।

अब हाम्रो खुसीको सीमा रहेन । हामी घाँस समात्दै हतार हतार झर्यौं । अन्ततः बाटो भेटियो ।




र हामी बाटै—बाटो लाग्यौं पूर्वतिर । किनभने बिहान बाग्द्वार उक्लदा पश्चिमतिर तेर्सीएको बाटोमा बिष्णुद्वार लेखिएको साइनेज थियो ।

अलि पर पुगेपछि तीन जना केटाहरु घाम तापिरहेका भेटिए । हामीले उनीहरुलाई भिडियो देखाउंदै एउटा अँध्यारो, अनकन्टार, रहस्मय खोंचमा पुगेको बिबरण सुनायौं ।

उनीहरुले हास्दै भने- त्यहिँ ठाउँ हो बिष्णुद्वार !

वी वेर शक्ड !
वी वेर स्पीचलेस !

र उनीहरुले बिष्णुद्वार भन्दा केहि तल रहेको आकर्षक झरनाको फोटो देखाए । त्यो झरना अलि पर यही बाटोमुनि रहेको बताए। फोटो देखेपछि हामीले आफुलाई सम्हाल्न सकेनौं । हामी फेरी आएकै बाटो फर्कियौं- त्यो मनमोहक झरना हेर्न ।

पश्चिमतिर दिन ढल्दै थियो ।

हामी फेरि अर्को संकटमा पर्दैछौं भन्ने कुराको भेउ हामिलाइ थिएन ।

(लस्ट इन शिवपुरी २ केही दिनपछि ।)