Friday, October 27, 2017

म विदेश जान्न ।

केही वर्ष पहिले विदेश, त्यसमा पनि अमेरिका जाने खुबै हुटहुटि थियो ममा नेपालमा बस्यो भने त जीवननै सकिन्छ कि भनेझैं लाग्थ्यो डिभी पनि ४-५ पटक भरेको छु तर बिगत ५ वर्ष यता मेरो जीवनमा धेरै ठुलो परिवर्तन आएको छ  आज नेपालीहरुको लागि  डिभी, पि आर, ग्रीन कार्ड, विदेश भन्ने  शब्द त ‘पेट वर्ड’ जस्तै भैसकेको छ  म चाहिं यी शब्दहरु देखि दिनहुँ ‘एलर्जीक’ हुँदै गैरहेको छु विदेशमा बस्ने त म कल्पना पनि गर्न सक्दिन  यही निर्णयमा पुगेको छु  – म विदेश  जान्न तर विदेशमा कहिल्यै टेक्ने छैन भन्ने मेरो प्रतिज्ञा कदापि होइन बिदेशमा बस्ने, बिदेशीको लागि काम गर्ने वा त्यहीं जीवन बिताउने कुरामा मेरो रुची छैन भन्ने मात्र मेरो आशय हो 

अहिले म ३१ बर्षको भए नेपालीको औषत आयुको लगभग आधा उमेर टेक्न लागें जीवनको एकदमै उर्जाशील, उत्पादनशील दशकमा दौडिरहेको छु म   यस्तो उर्जाशील उमेर बिदेशमा बिताएर जीवनको उत्तरार्द्धमा ‘रिटायर्ड लाइफ’ बिताउन नेपाल फर्कने पक्षमा म छैन  पिआर, ग्रीनकार्ड बोकेर स्थायी रुपमा विदेश बस्ने कल्पना त मैले कहिले पनि गरिन बितेको दशक त देशको अस्थिर राजनीति र संक्रमणकालको छायाँमा जीवन जगतका कुराहरु सिक्दै, बुझ्दै र अनुभव बटुल्दै बित्यो कम्तीमा यो दशक आफुले सिकेका कुराको व्यवहारिक उपयोग गर्न चाहान्छु म

संसारका सबैभन्दा सम्पन्न केही मुलुकहरुमा पुगेको छु त्यहाँको विकास देखेको छु, पद्दति बुझेको छु र सिकेको पनि छु त्यी देशहरुबाट हामीले नक्कल गर्नुपर्ने कुराहरु पनि धेरै छन् । तर सुनको लंकालाई आफ्नो मानेर अपनाउन कसरी पो सकिन्छ र ? मलाई त मेरै हिमाल पहाड र तराई प्यारा छन् मलाई त यहीँका उकाली ओराली भन्ज्यांग चौतारीहरुमा टहलिने रहर छ  यहींका गाउँ वस्तीहरुमा पुग्ने उत्कण्ठा छ  यहींको कला, संस्कृति, रहनसहनमा  समाहित हुने मन छ  बस ! त्यी पाखा र पहरा, गोरेटा, गल्लि र फाँटहरुमा बिकास पनि घोलिदिन पाए कति निखार आउथ्यो होला तिनको रमणीयतामा ?

देश अति कम बिकसित हुनुको अभिषाप त हामी बेहोरिरहेका नै छौं गैर जिम्मेवार राजनैतिक नेतृत्वबाट हामी प्रताडित पनि छौं  रोग भोक गरिबी र बेरोजगारीले  कैयौ नेपालीलाई विदेशिन बाध्य पारिरहेकै छ  तर यसको अर्को पाटो पनि छ  ‘अमेरिकामा त ट्वाइलेटनै सोहोर्न पनि तयार छु’ भन्ने मनोविज्ञान हाम्रो समाजमा झाँगिदै गैरहेको छ तर देशमा हामीलाई आफ्नै गोठको भकारो सोहोर्न पनि लाज लाग्छ  डोको-नाम्लो, कुटो-कोदालो, मेलापात नै गर्नुपर्यो भने त हामो इज्जत नै जान्छ कि भनेझै गर्छौ १२ कक्षाको प्रमाणपत्र या त विदेश जाने वा डिभी भर्ने न्यूनतम योग्यता मात्र बनेको छ समाजले एस एल सीको प्रमाणपत्र पाएपछि कृषि कर्म नै गर्न नहुने भन्ने खालको आडम्बर भिराइदिएको छ उद्योग धन्दाको बिकास भएको छैन पूर्वाधारको विकास सुस्त छ  र हामी निर्विकल्प बिदेशिएका छौँ

गाउँ गाउँमा हामी कांग्रेस र कम्युनिष्टमा बिभाजित छौं  केन्द्रिय नेतृत्व बरु सँगै ‘डिनर पार्टी गर्छ’ तर गाउँमा दाजुभाईको पानी बाराबार छ । यहाँ कर्मचारी, शिक्षक, विद्यार्थी, मजदुर, किसान सबै राजनीतिक पार्टीको झन्डा बोकेर दौडन्छन्  बिपक्षीले जतिनै राम्रो काम गरेपनि त्यसको सराहना गर्नसक्ने ठुलो चित्त हामीसंग छैन बरु कुनै उपलब्धीबिनाको चियापान, बधाई तथा शुभकामना ज्ञापन जस्ता कार्यक्रम गरेर हामी गौरवान्वित हुन्छौँ  त्यस्ता कार्यक्रम ‘भब्य र सभ्य’ रुपमा आयोजना गर्ने भन्दै वैठक र समिक्षामा समय र पैसाको फजुल खर्च गर्छौँ  बिपक्षीको खुट्टा तान्नै पर्ने, पेल्नै पर्ने हाम्रो मानसिकता छ समाज सकारात्मक छैन कुनै पनि कुराको सुरुवात नकारात्मकता बाट हुन्छ यहाँ विकास र सम्बृदीको कुरा हुन्न यहाँ लुट्ने र कमाउने कुरा हुन्छ  यहाँ सिक्ने र सिकाउने कुरा हुन्न यहाँ भत्काउने र बिगार्ने कुरा हुन्छ यहाँ असल संस्कार र पद्धतिको कुरा हुन्न यहाँ दलाली र कमिशनको कुरा हुन्छ  यहाँ ज्ञान-विज्ञान र नैतिकताको कुरा हुन्न यहाँ पहुँच र भनसुनको कुरा हुन्छ यहाँ शिक्षा र योग्यताको कुरा हुन्न यहाँ नाताबाद र कृपाबादको कुरा हुन्छ यहाँ कसले कस्ता काम गर्यो भन्ने कुरा हुन्न यहाँ कसले कति कमायो भन्ने कुरा हुन्छ । हामी 'सहिलाई सहि र गलतलाई गलत' भन्ने साहस गर्न सक्दैनौ । हाम्रो लागि 'आफु र आफ्नो' सहि र 'अरु र अर्काको' गलत हुन्छ । हाम्रो साक्षरता मात्र बढेको छ, शिक्षामा बढोत्तरी भएको छैन । 

हामीलाई थाहा छ यो देशको राजनीतिक नेतृत्वले हामीलाई दिनुसम्म दुख दिएको छ । परनिर्भर  बनाएको छ । रोग, भोक, गरिबी, बेरोजगारी, महंगी, भ्रस्टाचार कमिसनखोरी र कालाबजारीको दलदलमा डुबाएको छ । आसेपासेलाइ पोसेर सामाजिक न्याय, समानता र समावेशीकरणको भद्दा मजाक उडाएको छ । लोकतन्त्रलाई लुटतन्त्रमा रुपान्तरण गरेको छ । गणतन्त्र जोकतन्त्र भएको छ । बिदेशीसामु आफ्नै देशको चिरहरण गरिएको छ । कहिल्यै पराधीन नभएको हाम्रो देशको इतिहासमा कालो पोतिएको छ । यो देशको दुर्दशा हामी देखिरहेका छौ, टुलुटुलु हेरिरहेका छौं । सामाजिक संजालका भित्ताहरुमा हामी बर्षैभरी यस्तै राग अलाप्छौ । तर जब त्यही नेता आउछ, हामी कहिले १०० त कहिले ५०० किलोको माला बोकेर उसैको चाप्लुसी गर्न प्रतिस्पर्धा गर्छौ । जब जब चुनाब आउँछ, 'गधी पे दिल आया तो परी क्या चिज हे' भनेजस्तो गरी हामी आँखा चिम्लेर तिनै नेतालाई घरिघरि भोट हाल्छौ ।

यो सबै दुर्गतिको जिम्मेवार को हो ?

यो सबै दुर्गतिको जिम्मेवार अरु कोही नभएर म हुँ । तपाई हो  । हामी हौँ  अझ कुनै आवश्यकताबिना, बाध्यताबिना, रहरै रहरले विदेशिने हामी नेपाली यो गन्जागोल र भद्रगोलको सबैभन्दा ठुलो दोषी हौँ । अनैतिक, अयोग्य र असक्षमहरुलाई आफ्नो देशको बागडोर सुम्पेर हामी कुन संसार जित्न दौडेका छौं ? विद्यावारिधि सम्म गरेका हामीहरु कहिल्यै पढेर पास नभएका, ढुंगामुढा र हड्ताल गरेर अरुलाई पढ्न समेत नदिएर बनेका नेताहरुको कार्यकर्ता बनेर किन कुदेका छौ ? ज्वरो जाँच्न जाकार्ता जाने नेताबाट हामीले कस्तो विकास र सम्वृद्धिको अपेक्षा गरेका छौं ? कसैले देश बनाईदेला र बुढेसकालमा गएर 'रिटायर्ड लाइफ' बिताउँला भन्ने कुन स्वप्न संसारमा हामी भुलेका छौ ? बेथितिको यो जडलाई उखेलेर फाल्न हामीले कुन साइत पर्खेर बसेका छौं ?

म विदेश जान्न ।

म विदेश जान्न किनभने देशको यो दुर्दसा टुलुटुलु हेरेर बस्ने तागत म संग छैन । म विदेश जान्न किनभने यो देशका समस्याहरुसँग भागेर होइन म जुधेर बाँच्न चाहान्छु । म विदेश जान्न किनभने मेरो समाजको सानो भन्दा सानो घेरोमा म स-सानो योगदान दिन चाहान्छु । म विदेश जान्न किनभने मेरो समाजमा 'सहिलाई सहि र गलतलाई गलत' भन्ने संस्कारको म बिकास गर्न चाहान्छु । म विदेश जान्न किनभने मेरो समाजमा म इमान्दारिता र नैतिकताको प्रयोग गर्न चाहन्छु । म विदेश जान्न किनभने मेरो समाजमा म सकारात्मक सोचको बिजारोपण गर्न चाहन्छु । म विदेश जान्न किनभने मेरो समाजमा म उद्यमशीलताको प्रवर्द्धन गर्न चाहान्छु  । म विदेश जान्न किनभने मेरो समाजमा म प्रत्येक किसिमका श्रमको सम्मान भएको हेर्न चाहान्छु । म विदेश जान्न किनभने म मेरो समाजमा सुसंस्कृत राजनीतिको सुरुवात भएको हेर्न चाहान्छु । लाखौं मानिस भोक र रोगले मर्ने यो देशमा मेरो पनि त्यही नियति हुन सक्छ । जीविका चलाउनकै लागि पनि अनेक अड्चन आउन सक्छन् । चुनौती मलाई स्वीकार्य छ । तर एकपटक कोशिस गरेरै बाँच्ने हो । ‘छेरेर हैन हेरेरै’ मर्ने हो ।

त्यसैले म विदेश जान्न । 

म त भन्छु कोही पनि नेपाली विदेश जानु हुन्न । विदेश गएका सम्पूर्ण नेपालीहरु घर फर्कनुपर्छ बिदेशमा सिकेका सीपको उपयोग गर्ने उपयुक्त अवसर यही हो । सबै मिलेर दिनानुदिन विकृत बन्दै गैरहेको हाम्रो समाजलाई बदल्नुपर्दछ । न्याय, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, ब्यापार लगायतका प्रत्येक क्षेत्रमा सकारात्मक र निर्णायक धक्का दिनुपर्दछ । प्रत्येक किसिमका श्रमको सम्मान र उद्यमशीलताको प्रवर्द्धन गर्नुपर्दछ । र सबैभन्दा महत्वपूर्ण कुरा- देशमा सुसंस्कृत राजनीतिको सुरुवात गर्नुपर्दछ । अब बिकल्प कुर्दै बस्ने होइन, आफै पनि बिकल्प बन्न सक्नुपर्दछ । यो देश हाम्रो लागि अरु कसैले बदलिदिनेवाला छैन । यो देशलाई हामी आफैले बदल्नुपर्ने छ । परिवर्तन चाहाने सबैले जिम्मेवारीबोध गर्नुपर्दछ । इमान्दारितालाई अंगाल्नुपर्दछ । प्रतिबद्द हुनुपर्दछ । आ-आफ्नो गाउँ टोलबाटै स-सानो सुरुवात गर्न सकिन्छ । काम गर्दा  एक्लै पर्न पनि सकिन्छ । बाटो असहज र अप्ठेरो छ तर असंभव भने छैन । प्रतिबद्द नागरिकहरुको सानो समुहले नै संसार बदल्छ- यही यथार्थ हो । आजसम्म यसरी नै बदलिएको छ संसार ।

यो लेख केहि सम्पादन सहित पहिलोपोस्ट मा समेत पढ्न सकिन्छ ।