Thursday, June 22, 2023

जीवन कसैको लागि पनि सहज छैन

महाभारतमा कर्णले भगवान कृष्णलाई सोध्छन् - "मेरी आमाले मलाई जन्माएर नदीमा फालिन् । के अवैध सन्तान जन्मिनु मेरो गल्ती थियो ?

क्षत्रिय नभएकाले मैले द्रोणाचार्यबाट शिक्षा लिन पाइन।

परशुरामले मलाई सिकाउन त सिकाए तर म क्षत्रिय भएकोले सबै कुरा बिर्सने श्राप दिए।
अन्जानमा एउटा गाईलाई मेरो बाण लाग्यो तर त्यसको मालिकले बिना कुनै दोष मलाई श्राप दियो ।
द्रौपदीको स्वयंवरमा म अपमानित भएँ।
अन्ततः कुन्तीले पनि आफ्ना अरु छोराहरूलाई बचाउनको लागि मात्र मलाई मेरो सत्य बताइन्।
मैले जे पाएँ, दुर्योधनको उपकारबाट पाएँ।
त्यसकारण दुर्योधनको पक्ष लिनु मेरो गल्ती कसरी भयो ?”
भगवान कृष्णले जवाफ दिनुहुन्छ,
"कर्ण, म जेलमा जन्मिएँ ।
जन्मनुअघि नै मृत्यु मलाई पर्खिरहेको थियो ।
म जन्मेको रात नै म मेरो आमाबाबुबाट अलग भएँ।
बाल्यकालदेखि नै तिमी तरवार, रथ, घोडा, धनुष, बाणको आवाज सुनेर हुर्कियौ। म गाई चराएर, गाई गोठ हेरेर , गोबर सोहोरेर हुर्किए ।
म हिंड्नुअघि देखिनै मलाई मार्ने हजारौं प्रयास गरियो !
न सेना, न शिक्षा । मेरो बाल्यकालिन चन्चलतालाई मानिसहरूले आफ्ना सबै समस्याहरूको जड ठाने ।
जब तिमी तिम्रो वीरताको लागि तिम्रा गुरुहरूबाट प्रशंसा पाइरहेका थियौ, त्यतिन्जेल सम्म मैले कुनै शिक्षा लिन पाएको थिइनँ। १६ वर्षको उमेरमा मात्र म ऋषि सन्दीपनीको गुरुकुलमा भर्ना भएँ!
तिमीले त आफुलाई मन परेकी केटीसँग बिहे गरेका छौ । मैले आफुले प्रेम गरेकी केटीसंग विवाह गर्न पाइन । बरु मैले मलाई चाहनेहरू वा मैले राक्षसबाट छुटकारा दिलाएकाहरूसँग विवाह गरें।
जरासन्धबाट बचाउन मैले मेरो सम्पूर्ण समुदायलाई यमुनाको किनारबाट टाढा द्वारिका सार्नु परेको थियो। भागेकोमा मलाई कायर भनियो !!
दुर्योधनले युद्ध जित्यो भने तिमीले पनि श्रेय पाउनेछौ। युदिस्ठिरले युद्ध जिते भने मैले के पाउने ? मैले त युद्ध र विनाशको लागि दोष मात्र पाउनेछु ।
एउटा कुरा याद राख, कर्ण। सबैको जीवनमा चुनौती हुन्छ ।
जीवन कसैको लागि पनि सहज छैन !!!
दुर्योधनका पनि धेरै अवगुण छन् र युधिष्ठिरका पनि ।
तर सही (धर्म) के हो ? त्यो तिम्रो मन (अन्तस्करण) लाई थाहा हुन्छ। तिमीमाथि कति चोटि अन्याय भयो, कति अपमान भयो वा कति पल्ट तिमीलाई अस्वीकार गरियो भन्ने कुरा खासै महत्त्वपूर्ण छैन । त्यो बेला तिमीले कस्तो प्रतिक्रिया दियौं वा त्यो परिस्थितिलाई तिमीले कसरी सामना गर्यौ भन्ने कुरा मात्र महत्त्वपूर्ण छ।
गुनासो गर्न बन्द गर -कर्ण। जिन्दगीमा अन्याय भयो भन्दैमा गलत बाटो हिड्ने छुट कसैलाई छैन ।
सधै याद राख, जिन्दगीको कुनै बिन्दु अत्यन्त कठिन हुन सक्छ । तर भाग्य हामीले लगाउने जुत्ताले होइन, हामीले चाल्ने पाइलाले बदलिन्छ । "

Translated from https://wp.me/p1J9Lv-aG

No comments:

Post a Comment

Your comments will be highly appreciated.