Monday, July 3, 2023

सच्चा गुरु

महान् संतहरू मध्ये एक- कबीर दासको जीवनको एउटा कथा प्रसिद्ध छ। उनी एउटा कुम्भ मेलामा गए र त्यहाँ उनलाई सोधियो, "यो ठूलो भीडमा के तपाई एक जागृत प्राणी, वास्तविक गुरुलाई चिन्न सक्नुहुन्छ?"
कबीर दासले भने, "म प्रयास गर्नेछु।" उनले एउटा लठ्ठी उठाए र एउटा 'गुरु' लाई हिर्काए। 
ती 'गुरु' रिसाए र भने , "मलाई हिर्काउने हिम्मत तलाइँ कसरी भयो? " 
कबीर दासले भने, "उनी सच्चा गुरु होइनन्।" 
उनले अर्को 'गुरु'लाई लठ्ठीले हाने । गुरुका चेलाहरू क्रोधित भए र कबीर दासलाई कुटपिट गरे। तिनीहरूका 'गुरु' ले आँखा खोले तर केही बोलेनन् । 
र कबीर दासले भने, "उनी पनि सही गुरु होइनन्।" 
त्यस प्रसिद्ध कुम्भ मेलाको अवधिभर, कबीर दासले 'गुरुहरू' लाई लठ्ठीले हिर्काइरहे । 
अन्ततः, उनले एक जना भेट्टाए, जसले कबीर दासले प्रहार गरेपछि भने, "बस्, प्रिय युवक । तिम्रो हात दुखेको हुनुपर्छ। निस्सन्देह मैले पीडा महसुस गरेको छु तर तिमीले महसुस गरेको  पीडाको पनि कल्पना गर्न सक्छु। मलाई तिम्रो हात मुसार्न देउ र तिमीले मलाई हिर्काउँदा महसुस गरेको पीडाबाट राहत दिन देउ।" 
कबीर दासले भने, "उहाँ नै सच्चा गुरु हुनुहुन्छ!" 

महान ब्यक्तिहरुका अनुसार साँचो गुरुलाई निम्न रंगहरुले प्रतिबिम्बित गर्दछ:-
1. नीलो रंग - गुरुमा आकाशको विशालता हुनुपर्छ। गुरुमा  संकीर्ण सोच हुन सक्दैन। 
2. रातो रंग - बहादुरी, प्रेम र धैर्य को प्रतिमुर्ति। साहस बिना साँचो प्रेम गर्न सकिन्न । 
3. हरियो -  संसार कल्याणको दृढ संकल्प। 
4. पहेंलो - मन, विचार र कर्मको शुद्धता । 
5. कालो - उदासहीनता (उदास/दुखी नहुने ) र अनासक्त । 
6. सेतो - गुरु शान्तिप्रिय हुनुपर्छ र अरूलाई शान्ती दिलाउने क्षमता हुनुपर्छ। 

आजको हाम्रो समाजको समस्या नै सच्चा गुरुहरुको अभाव हो ।  जसरी 'बलेको दियो'ले  मात्र अर्को दियो बाल्न सकिन्छ । निभेको  दियोले बाल्न सकिन्न ।आफुमा 'जागृत' गुरुले मात्र समाजलाई सहि बाटो देखाउन सक्छ ।

मेरो जीवनमा उज्यालो छर्दिनुहुने सम्पुर्ण गुरुहरुमा नमन 🙏

No comments:

Post a Comment

Your comments will be highly appreciated.