Sunday, February 23, 2014

सत्ता सुख र छिर्के दाऊ


प्रधानमन्त्री बनेको १४ दिन बितिसक्दा पनि प्रम सुशील कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । भएका एक जना मन्त्री पनि काम बिना झिंगा धपाएर बसिरहेका छन् । सचिबहरुले मन्त्रीसरहको निर्णयको अधिकार पाएका छन् । यसो हेर्दा यो देशमा कर्मचारीतन्त्रले देश चलाए पो बढी फलिफाप हुने देखियो त !


आफुलाई लोकतान्त्रिक भनेर दावा गरे पनि सबैभन्दा बढी सभापतिको व्यक्तिगत निर्णयबाट संचालित हुने पार्टी कांग्रेसमा यतिखेर इतिहासकै कमजोर सभापति प्रम भएका छन् उनको दलको सत्ता राजनीति बडो गजबको छ । प्रम आफैले कुन चमत्कारले एक बर्षभित्र संबिधान जारी गरी रामचन्द्र पौडेललाई सत्ता हस्तान्तरण गर्ने बाचा गरेका हुन्, बुझिनसक्नु छ । त्यस्तै बाचा उनले एमालेलाई पनि गरेका छन् । आफ्नो खासै गुट नभएका पौडेलको ‘वान्ली मिसन’ प्रम बन्नु हो प्रम बन्न खुट्टा उचालीरहेका पौडेललाई त्यतिखेर एमालेले प्रम बनाईदेला ? अझ उनी गृह एमालेलाई कुनै पनि हालतमा दिनु हुँदैन भनेर कुर्लिरहेका छन् भने प्रधानमन्त्रीको हातखुट्टा नबाँध्न सबैसंग अनुनय बिनय पनि गरिरहेकै छन् । यो दोहोरो मापदण्ड बनाएर उनी प्रमको कुर्सीलाई छिर्के पनि हान्दै छन् र एमालेसँगको गठबन्धन पनि तोड्न खोज्दै छन् । तर १७ पटकसम्म प्रमको चुनाब लडेका उनले सुशील कोइरालाछि सरकारको नेतृत्व गर्न सहज देखेका होलान् ? उता शेरबहादुर देउबा पनि सरकारलाई सघाउन तयार छैनन् । ४०-६० कोटामा बार्गेनिङ गरिरहे जस्तो लागे पनि उनको भित्री मनसाय असहयोग नै हो राष्ट्रपति महोदय आफ्नो म्याद तोकिएपछि बेचैन छन्, बेग्लै प्रपन्चमा जुटेका छन् । कांग्रेसभित्रका अरु नेता पनि एक अर्कालाई छिर्के हान्दै आफु मन्त्री हुन् दौडधुप गरिरहेका छन् । सबैका आ-आफ्नै दाउ र चाल छन् ।

 त्यसो त एमालेभित्रको खेल पनि कम गजबको छैन । एमालेका सबभन्दा चालबाज खेलाडीका रुपमा भने माधव नेपाल देखिएका छन् । एकतिर गएर 'गृहमन्त्रालयलाई झिनामसिना कुरा' भनिरहेकाछन् भने अर्कातिर गएर एमाले गृह मन्त्रालयबिनै सरकारमा जाने भनिरहेका छन् । तर उनले पार्टी भित्र यो विषयमा चुइंक्क पनि बोल्न सकेका छैनन् । बामदेबलाई गृहमन्त्री बन्नबाट रोक्ने उद्देश्यले प्रेरित  भएर उनले जे बोलेपनि उनको सुनुवाई भएको छैन् । उनी पार्टीभित्रै निरिह साबित भइरहेका छन् । त्यसो त ओली-बामदेवले पनि कुनै चालबिना राष्ट्रपतिको मुद्दा छाडी कांग्रेससँग सात बुँदे सहमति गरेका होइनन् उनीहरुबीच झलनाथ खनाल सहितको अध्यक्ष पद, संसदीय दलको नेता, राष्ट्रपति र प्रम पद बाँडीचुँडी खाने उधारो सहमति भएको कुरा बाहिर आइसकेको छ भलै राष्ट्रपति र प्रम दुवै पद एमालेको पोल्टामा नपर्ला तर यसबाट माधब नेपालको अध्यक्ष बन्ने सपनामा भने  तुषारापात पक्कै भएको छ  
उता एमाओवादीको संबिधान सभाअध्यक्ष पाउने आकांक्षा साकार भएन संबिधान सभाको चुनाबले थला परेपछि यसपटक ऊ सत्ताकेन्द्रित भन्दा पनि आफ्नै आन्तरिक खिचातानीमा अड्किएको छ संबिधान सभाको चुनाबले घाइते भएका मधेसबादी दलहरुको पनि त्यस्तै बिजोक छ आफुलाई मन्त्री नबनाएको झोकमा प्रम या राष्ट्रपति बन्नका लागि दक्षिणकाली भाकल गरेका गच्छदारको दलले सुशील कोइरालाको विपक्षमा भोट हाल्यो तर संसदमा भने सुशील कोइरालाले मधेस सम्झौता बिर्सिएको भनेर दुहाई दियो त्यस्तै अवस्थामा अन्य मधेसवादी दलहरु पनि पुगे सत्ता सुखमा रहँदा मधेश आन्दोलन र मधेश सम्झौता सम्झिएको कसले पो थियो र ? एक मधेश एक प्रदेशको नारा छाडेपछि भुत्ते खुकुरी जस्ता भएका यी दलहरुको अहिलेलाई सत्तामा पुग्ने छाँट देखिएको छैन् अब सत्ता बाहिर रहेपछि यिनीहरुसँग आपसमा मिल्ने र ‘एक मधेस एक प्रदेश !’ को नारा घन्काउने बाहेक अन्य बिकल्प देखिंदैन तर गणितीय हिसाबले यिनीहरुको सुनुवाई हुने सम्भवना क्षीण छ

‘असली सुख’ जुन छ, त्यो सत्तामै छ – विद्वानहरुले भनेका छन् त्यही सिद्धान्तमा हाम्रा नेताहरु चलेका छन्, चलिरहनेछन् लाग्छ- ‘सत्ता सुख’को लागि जस्तोसुकै ‘छिर्के दाउ’ चाल्नु जायज छ


No comments:

Post a Comment

Your comments will be highly appreciated.