Friday, November 1, 2013

सम्झनामा बिगत देउसी

देउसी-भैलो, झिलिमिली, भाइटीका- बस ! यति नै त हो तिहार│ अरु सबै त प्राय: उस्तै रहँदै आएको छ, परिवर्तन आएको छ त देउसी भैलोमा │ अबको दुइचार बर्षमा त लोप नै पो हुने हो की शायद │सानो छंदा खेलेका देउसीका स्मरणहरु लेखुँ जस्तो लगेको छ आज│





********************

सानो छंदा तिहार सुरु हुनेबित्तकै हामी ‘गोरु तिहार’ कुर्दै बस्थ्यौ │कत्ति लामो लाग्थ्यो त्यो पर्खाई पनि │गाउँभरिका भुराभुरी बटुलेर ‘केशे’ अंकलले देउसी खेलाउन लान्थे │ एउटा माकल टोपी लगाएर उफ्री-उफ्री बुढाको पछि कुद्थ्यौ हामी │अँधेरो रात भएपनि देउसीमा भट्याए जस्तो ‘चिप्लो बाटो’ चाहीं कहिल्यै हुन्नथ्यो │अंकल भट्याउँथे, हामी देउसी भन्थ्यौं│ सानै देखि बुढासँग एउटा कुरामा चाहीं ठाकठुक परिरहने- बुढा ‘देउसीराम’ भन्न लगाउँथे, हामीलाई चाहीं ‘देउसी रे’ भन्नुपर्ने ! अर्को कुरा पनि पट्टकै नमिल्ने- हामीलाई पैसा बढी चाहिने, अंकललाई सेलरोटी चामल मात्र भएपनि पुग्ने │त्यसको लागि सार्की टोल (हेपेर भनेको हैन है !) जान पनि बाँकि राखेनन बुढाले │ देउसी पनि बेलुका देखि भोलिपल्ट बिहान सम्म खेल्थ्यौं │ अनि पैसा भाग लगाउने बेलामा जम्मा ५-५ रुपयाँ पर्थ्यो एकजनालाई │जती धेरै घर खेले पनि बाँड्ने बेलामा संधै कम हुन्थ्यो बा ! सबलाई शंका थियो │ एक साल त मैले बुढाले पैसा लुकाएको प्रस्ट देखें │मैले भन्नै आँटेको थिएँ, मलाई त २ रुपयाँ बढी दिए │ म त चुप !

********************


अलिक ठुलो भएपछि राजु, मेरो भाई राजाराम र मेरो देउसी ग्रुप थियो │ पैसा धेरै गुटमुट्याउन सानो-सानो ग्रुप  बनाउन थालेका थियौं │ योजना त ठुलो ठुलो हुन्थ्यो- दश रुपयाँ घटी नचल्ने, २० रुपयाँ घटी नचल्ने भनेर │ तर एउटै घरमा २-४ रुपयाँ हालेर घन्टौं झुलाईदिन्थे │कसैले त एक रुपयाँ राखेर एक एक सुका बाँडेर लिउ पो भन्थे बा │रात छिपिंदै जान्थ्यो, हाम्रो बोली मसिनो हुदै जान्थ्यो │ राजु र म त जोशले नै देउसी भन्थ्यौं, मेरो भाई चाहीं निन्द्रा लाग्न थालेपछि ‘हेउसी रे’ भन्न थाल्थ्यो │ त्यसै त पैसा नभएको झोक, अझ देउसी नै भन्न छोडे पछि मैले भाइलाई एक झाप्पु लगाईदिएँ │ भाई त ‘ह्वाँ-ह्वाँ..’ गरेर रुँदै घरतिर पो फर्कियो │ल फसाद ! अब त देउसी भन्ने झन दूई जना पो भैयो ! बाँकि घर फलैंचामा बसेर एक जना भट्याउने, एक जना देउसी भन्ने गर्दै सक्यौं │ दिएको टिपेर हिंड्यौं ( कति नै दिन्थे र- दुई जनालाई दुई रुपयाँ त हो नि ! ), धेरै पैसा कमाउने इछ्या अधुरै रह्यो │ मेरो त्यो ‘हेउसी रे’ भन्ने भाइको पर्सि मंगसिरमा बिहा छ !

********************


एक साल बाहुनहरुले बढी पैसा दिन्छन भन्ने लोभमा बाहुनटोल सम्म पुगियो │ अलि टाढा पनि थियो बाहुन टोल, बाँसमा मट्टीतेलको राँको बालेर पहिलैदेखि तयारी गरेका थियौं │जाँदा त सानो टोली गका थियौं – पछि अर्को टोलीसंग मिसिएर ‘जम्बो’ टोली भैयो │झन त्यहाँ त थालीमा अक्छ्यता, दियो बत्ती सम्म नराखी पैसा मात्र पो दिंदा रैछन │झन हामीलाई पाठ-पुजा, रिती-थिति सिकाउने बाहुन हरुले रे ! ( हे हे.... :)│बाहुनहरुले चामलको खुब लोभ गर्दा रैछन │पैसा पनि हाम्रो ठुलो टोलीको लागि खासै धेरै थिएन │ देउसी खेल्न सबैको मनै मरेर आयो │ घरभेटी निदाईसके जस्तो लागेको एउटा घरमा देउसेहरु सुन्तला घारितिर आँखा लगाउन थाले │ कतिले त टिप्न पनि भ्याए │तर घरभेटी कहाँ निदाका हुनु- देउसे आए भनेर निदाए जस्तो गरेका रहेछन │ उठेर गर्नु सम्म गाली गरे, फलाक्नु सम्म फलाके │ भिकारीलाई भिक दिए जसरि अलिकति पैसा पनि फालिदिए │हामी त्यहाँबाट हिंडेपछी देउसी खेलेनौं │ घर फर्कन पनि टाढा थियो │ एउटा घरको बाहिर खाटमा सुत्नुपर्यो │एउटै खाटमा, एक अर्काको जिउमाथि कस्तो मज्जाले सुतियो │ भोलिपल्ट उठेर फेरी एक दूई घर देउसी खेलियो │भोक लागेकोले चिया बिस्कुट खाइयो │ लास्टमा पैसा तिर्ने बेलामा त हाम्रो सबै पैसा चियामै - झ्वाम !

********************


बुझ्ने भएपछि पैसाको मोह घटिसकेको थियो │ देउसी रमाईलोको लागि खेल्न थालियो │तर भाका हालेर देउसी गाउने कला थिएन कसैको │ यसै- सुरुवाल कमिज लाएर हाकुचा बन्ने, सारी चोलो लाएर आइमाई बन्ने, मादल बोक्दै हँसिमजाक गर्ने मात्र ध्यय हुन्थ्यो सबैको │देउसी भन्न चाहीं नयाँ-नयाँ जुक्ति निकाल्थ्यौं │ जस्तो कि साधारण बोलीचालीको कुरालाई नै देउसी मा ढाल्ने:
ए कान्छी-देउसी रे !
ए मेरी कान्छी-देउसी रे !
बाहिर हेर- देउसी रे !
हुन त ‘लाले अंकल’ सार्है सृजनसिल हुन के ! यस्ता अनेक आइडिया ल्याउँथे │अर्को एउटा तरिका चाहीं मादलको धुनमा देउसी भन्ने थियो, एउटाले मादल बजाउने-अरुले देउसी रे भन्ने:
घिन्ताङ- देउसी रे │
घिन्ताङ घिन्ताङ- देउसी रे │
घिन्ताङ तांग तांग तांग- देउसी रे │
यस्तो जुक्ति नलगाई पनि सुख थिएन │ नत्र कसले सुन्थ्यो र हाम्रो देउसी ! बरु यसैमा रमाइलो मान्थे सबैले │ अझ मुरलीको धुनमा पनि देउसी खेलियो:
पिरिरी-देउसी रे !
पिरिरिरिरी-देउसी रे !
पिरि पिरि पिरि पिरि – देउसी रे !

********************

एक साल गाउँमा नयाँ मन्दिर र पाटी बनेको थियो │ हामीलाई के जोश आयो कुन्नि- देउसी खेलेको पैसा उठाएर मन्दिरको लागि हार्मोनियम, तबला, मादल जस्ता बाध्यबादनका सामग्री किन्ने कुरा भयो │अलि ‘सिरिएसली’ देउसी खेलेको साल त्यही नै थियो होला │ देउसीको टोली संख्यामा लचकता थियो, जो पनि सामेल हुन पाउँथ्यो- कुनै बन्देज थिएन │ धेरैले साथ दिए │ रमाइलो पनि भयो │ पैसा पनि राम्रै उठ्यो- हार्मोनियम चाहीं किन्न पुग्यो │ हार्मोनियम किनियो तर बजाउन जान्ने कोहि थिएन │ गाउँमा कसैलाई घर-व्यबहारमै फुर्सद हुन्न, पुस्तक किनेर पढेर सिक्न सम्भव नै भएन │ पछि त युवाहरु पनि लाखापाखा लागिहाले- कोहि राजधानी छिरे, कोइ विदेश उडे │ आज पनि हार्मोनियम छ- तर कुन अवस्थामा छ कसैलाई हेर्ने फुर्सद पनि छैन │

********************

अन्तिम पटक देउसी खेलेर त झन उल्का-बिधि गरियो, बदनामी पो कमाइयो │देउसी खेल्न हिंडेको घन्टौं नाच्दा, गाउँदा, उफ्रंदा पनि पैसै हालेनन् │ अब हामीलाई रमाइलो मात्र गर्ने ‘देउसे-टोली’ भनेर जानी सकेका थिए │हाम्रो देउसी रमाइलो मान्थे-हेरेर बस्थे │ जिस्क्याउँदै १-२ रुपयाँ हाल्थे, बढीमा ५ रुपयाँ │ दुई चार घर खेलिसके पछि चल्नु सम्म झोंक चल्यो │ उठेको पैसामा थप-थाप गरेर १५-२० पाकेट ‘दुधिया’ ल्यायौं अनि सबले मस्त खायौं │सब टिल्ल परे │ ओकल्न र छाद्न थाले │ आ-आफ्नो घर जाने अवस्था थिएन, एउटै घरमा सुत्न गयौं │ अनि त सुरु भै गो नि- जीवन र दर्शनका कुरा, आदर्शका कुरा, प्रेम र बिछोडका कुरा ! कोहि प्रेमी बनेर निस्के, कोहि कवि बनेर │कविको कविता सुनेर कोहि रुन थाले, कोहि साथी बनेर फकाउन │ त्यो रात यी नै शब्दहरु दोहोरिरहे- पीर, व्यथा, मार्मिक, चिताको ज्वाला, धोका, पागल, प्रेम, मुटुमाथि ढुँगा, मेरो अंकल ! हुन सम्म रमाइलो भयो │

तर बिहान उठ्दा गाउँमा मुख लुकाएर हिंड्नुपर्ने भै सकेको थियो │
********************

HAPPY DEEPAWALI TO ALL MY FRIENDS!

First published on  Kanchan Raj Giri's english blog on 12th November 2012

No comments:

Post a Comment

Your comments will be highly appreciated.