शीर्षक त शायद अरु कसैले
लेखिसकेको हुनुपर्छ तर म यहाँ आफ्नो कथा लेख्दै छु ! प्रत्येक वर्ष दशैं यसरी नै
आउँछ, जान्छ । हामी संधै यही गुनासो गरिरहन्छौं –कत्ति रमाइलो थियो पोहोर परारको दशैं, कत्ति
उमङ्ग थियो बाल्यकालको दशैंमा । तर आज दशैं कत्ति नीरस छ, कत्ति
खल्लो छ । बिगतमा बाँच्ने त हामीलाई बानी परिसक्यो । त्यो रमाइलो त शायद त्यो उमेरको, त्यो
समयको थियो होला । त्यो उमङ्ग त बालापनको थियो होला तर हाम्रो मन त्यतैतिर अडिरहन्छ । त्यो
उमेर जहाँ चिची,
पापा नाना पाए मनै फुरुङ्ग हुन्छ, दशैं
संधै आइरहे जस्तो नलाग्ने कुरै भएन । के थाहा ! आजकलका भुराभुरिहरुलाई पनि दशैं
उत्तिकै रहरलाग्दो हुँदो हो, म यसै भन्न सक्दिन ।
दशैं र मामाघरको सम्बन्ध
चाहीं मलाई खुब अजीब लाग्छ - आजसम्म पनि । केटाकेटीको लागि शायद सबभन्दा प्यारो, घरबाहिर
निस्कंदा जाने पहिलो ठाउँ हो मामाघर । हुँदाहुँदा दशैंमा कपडा पनि ‘मामाघर
जाने लुगा’ भनेर किनिदिन्छन। मेरो लागि पनि मामाघरको बिशेष महत्तो थियो । नयाँ लुगा लगाएर
मामाघर जान पाइने।। मेरो मामाघर टाढा थियो, एउटा चम्चै चम्चाले घेरिएको ठुलो चौर पार
गरेर जानुपर्थ्यो। म सानैदेखि अन्तर्मुखी स्वभाबको थिएँ । जिज्ञासु थिइन, सोध्ने
बानी थिएन । जीवनमा जे जती सिकें, आफैं सिकेँ, परेर सिकेँ । त्यसैले त्यी चम्चाहरुको बारे
ममीबुवालाई कहिल्यै सोधिन ।बसले त्यी चम्चाहरूलाई एक फन्को मार्थ्यो । अर्को बस
चडेपछी तेस्ले पनि फेरी फन्को मार्थ्यो। ए राता मकै! कुरै पो बुझ्न गारो । मामाघर
हिंडेको मान्छेलाई फेरी घरै पुर्याइदेला भन्ने डर! रमाइलो चाहीं- घोडा चढेका
मान्छेका ठुला-ठुला शालिक देख्दा लाग्थ्यो, हेरीरहुँ जस्तो ।त्यसैले आजसम्म पनि मलाई ‘वार
मुभिज’ प्रति आकर्षण छ । मैले धेरै पछि मात्र थाहा पाएँ-त्यी चम्चाहरु टुंडिखेलको बार
रहेछन।
मामाघर मन पर्नुको
खाँटी कारण भने अर्कै थियो । दशैंको टिका थालीमा टिका, जमरा, अनि
पैसा राखेर लगाइदिन्थे-हजुरबुवा, हजुरआमा, मामाहरुले । आजसम्म पनि त्यो थालीभरी दूई
रुपयाँको हरियो हरियो नोटको सम्झना ताजै छ । म चाहीं टिका लगाइदिनु भन्दा अघिनै
थालीको पैसामा झम्टा मारीहाल्थेँ । पछि पछि त मलाई टिका लगाइदिने बेला पैसै लुकाउन
थाले । अर्को मजाको कुरा चाहीं मलाई टिका लगाइदिन खुब गारो थियो। टिका लगाउन मरे
मान्दिनथें । मेरो हात खुट्टा समातेर टिका लगाइदिनु पर्थ्यो । टीका लगाउनेबित्तिकै
पुछेर फाली पनि हाल्थें । खै किन हो आजसम्म पनि मेरो निधारमा राम्ररी टीका अडिन्न
। आज मामाघरको हजुरबुवा बित्नुभएको पनि बर्षौ भैसक्यो । तर त्यी स्मरणहरु भने
मेटिएका छैनन् । प्रत्येक वर्ष दशैंमा मामाघर जाँदा हजुरआमाले पुराना कुरा
खोतलिहाल्नु हुन्छ- ‘कम्ता गारो थिएन,
यस्लाई टीका लाउन, पैसा त यसरी लुट्थ्यो’।
त्यतिखेर हाम्रो गाउँमा
दशैंको माहोल अबर्णनिय हुन्थ्यो । हाम्रो गाउँ वारीपारि गाउँको केन्द्रबिन्दु थियो
- ब्यापारको बिशेषगरी । दूई-चार पसल भएको, बाटो चलेको हाम्रो गाउँले सबै गाउँलाई जोडेको
थियो । फलत: दशैं तिहारमा मानिसको जमघट हुने नै भयो । मेलामाझैं बाक्लो उपस्थिती
हुन्थ्यो मान्छेको - कोहि सहर झर्ने, कोहि पसल छिर्ने, कोहि
लंगुरबुर्जा, पिंग आदिमा रमाइलो गर्ने । हाम्रो गाउँमा पिंग हाल्ने पिपलको काइदाको रुख छ, झ्याम्म
परेको ठुलो रुख । पिंग पनि रुखको टुप्पोनै छोलाझैं मच्चाउन मिल्थ्यो । मान्छेहरु
पिंग मच्चाउन को भन्दा को कम भन्दै प्रतिस्पर्धा गर्थे । पिंग खेल्ने र हेर्ने
मान्छेको ताँती हुन्थ्यो । ठुला मान्छेले त पालो पाईनसक्नु हुन्थ्यो, हामी
भुराभुरिलाई कसले खेलाईदेवोस त्यत्रो ‘बडेमाको’ पिंग । झुक्किएर खेलाईदिए पनि ‘यो काल्लियो, काल्लियो’ भन्दै झार्दीहाल्थे असत्तीहरुले । त्यसैले घरको पिंडीमा
हामीलाई पिंग हाल्दिन्थे । चिची खाँदै त्यस्तो पिंग खेलेको हिजोजस्तो लाग्छ । रहर
त ठूलै पिंग खेल्ने हुन्थ्यो तर त्यो सम्भव थिएन । तैपनि ठुलो पिंग खेल्न नपाउनु
को असन्तुस्टी एकातिर पन्छाएर त्यो समय, त्यो
मान्छेको भीड सम्झिदै मात्र पनि कत्ति रमाइलो लाग्छ । उमेर बढ्दै गएपछि लिंगे पिंग
पनि हालियो, ठुलो पिंग पनि मच्चाइयो ।
दशैंमा अलि मन नपर्ने दिन
चाहीं मलाई अस्टमी हो । कम्ता हैरान खेलउँथेनन, घर परिवारले त्यो दिन । बिहान बिहान देखि
उठेर नुहाउनु पर्ने रे । कारण – नुहाएन भने अर्को जुनीमा बोका हुन्छ रे । मन
नलागे पनि नुहाउन चाहीं नुहाउँथे । यही सोचेर डर लाग्थ्यो- यी सबै खसी-बोका
पूर्वजन्ममा ननुहाएका होलान्, आफु पनि तेस्तै भइएला फेरी । नुहाइवरी नाला
भगवती थान पुजा गर्नु जानु पर्थ्यो । ठाउँ ठाउँमा पुजा गर्दै हुल बाँधेर मन्दिर
जान रमाइलै हुन्थ्यो । मन्दिरमा भने घन्टौं लाइन लाग्नुपर्थ्यो । त्यस्तै परे
मान्छेले बाहिरबाटै चढाईदिन्थे । ममा भगवान प्रति आस्था (या डर भनुँ ?) चाहीं
थियो र आजपनि छ । अबेरसम्म बसेर पुजा गर्थें । अनि त्यसपछि किनमेल गर्ने, खाजा
खाने, लंगुरबुर्जा खेल्ने गर्थ्यौँ ।
नाला जान रहर लाग्ने मुख्य
कारण भने लंगुरबुर्जा हो । मान्छेहरु लंगुरबुर्जा खेल्नकै लागि मन्दिर जान्थे ।
कम्ता मन पर्थेन,
मलाई पनि त्यो खेल; गए एक आए डबल, तेब्बर, कति कति । आज पनी मलाई त्यो खेल तेत्तिकै मन
पर्छ । खास दिमाग लगाउन पनि नपर्ने, पैसा भए खेलो, नभए
हिँडो । तेत्तिखेर सुका, मोहोर देखि रुपयाँसम्म पैसा हाल्न मिल्थ्यो ।
पाँच रुपयाँ राख्ने मान्छेलाई त हामी खूब धनी मान्छे भन्ठानथ्यौं । त्यस्तै परे
तिनिहरुले हामी ढुकेर बसेका भुराभुरिलाई सुका मोहोर दिई पो हाल्थे । अनि तेही
लंगुरबुर्जामा पैसा हाल्यो, सक्यो । एक पटक त्यसरी खेल्दा मैले बगलीभरी
पैसा जितें । त्यतिखेर कुन्नि कसले एक सुका दिएको थियो । लंगुरबुर्जा खेल्ने
मान्छेको भीड हुन्थ्यो, एउटा कुनाबाट छिरेर म फुच्चे पैसा राख्न
बसेको थिएँ ।पैसा जितिसकेपछि भीडबाट निस्कें अनि दङ्ग परेर शानका साथ सबैलाई
देखाएँ । तर मलाई घर जानै मन लागेन । फेरी बसें, खेल्न । बिस्तारै बिस्तारै खल्ती रित्तिदैं
गयो । टाट पल्टिएपछि लुत्रुक्क परेर घरतिर लागें । घर गएर सोचें- थुक्क! जितेपछि
नखेलेको भए पनि हुन्थ्यो । तर त्यसपछि नि लंगुरबुर्जाको लत लागिरह्यो पछिसम्म ।
पछि-पछि अलि ठुलो भएपछि आफै खाले सम्म पनि भैएको छ । पैसाको लोभमा जति पनि हान्ने
हुँदा खाल, बाल्टिन र गट्टी शुद्द मान्छेले थुतेर लगेको हिजो जस्तो लाग्छ ।
उमेर
अलि बढ्दै गएपछि तास पनि खेल्न थालियो । गाउँमा त्यतिखेर चलेको खेल थियो- चल शत्र
। शायद आजकल खेलिने फलांशको नेपाली रुप हुनुपर्छ त्यो । कुन्नि कसले सिकाइदिएको
थियो त्यो खेल मलाई । हामी एकदुई जनाले जानेपछि अरु दौंतरीलाई पनि सिकायौं ।
केटाकेटी माझ छिट्टै लोकप्रिय भयो त्यो खेल । एक रुपयाँ सामान्य भइसकेको थियो ।
जतिखेर नि केटाकेटी हरु त्यही खेल्न थाले. त्यस्तै परे ठुलाबडा सँग पनि । आँगनमा, पिंडीमा, ट्वाइलेको
छतमा जहाँ पनि केटाकेटीहरु तासमा झुम्मिन थाले। अत्ति भएपछि बौ-आमाहरुले गाली गरे
। त्यसपछि खुलमखुल्ला तास खेलेको चाहीं देखिएन । तर उम्रेंदै तीन पातका हामी
बच्चाहरु गोठमा लुकी लुकी भए पनि चल शत्र खेल्थ्यौं ।
आज
बर्षौंपछि समय बदलिसकेको छ । संगै हुर्के बढेका, पढेका दौंतरीहरु पनि छुटिसके, कोहि कता कोहि कता । फेसबुकमा ‘Happy
Dasha।n’ लेखेर
दशैं सकिन्छ, विवसता छन् सबैको आ-आफ्नै
। बालापन अब स्मरणमा मात्र बाँकी छ । अब ‘मामाघर
जाने लुगा’ कसैले किन्दिदैन । थालीको
पैसा झम्टा मार्न मन लाग्दैन, टीका
पुछेर फाल्न सकिन्न । यत्ती हो- हजुरआमाको कुरा सुनेर रमाइलो लाग्छ । सोच्छु- म
पनि त्यस्तो थिएँ र? गाउँ सुनसान छ, पहिले जस्तो चहलपहल छैन दशैं जस्तो महान चाडमा पनि ।
फाट्टफुट्ट मान्छे मात्र उकालो-ओरालो गरेको देखिन्छ । त्यो ठुलो झ्याम्म परेको
पिपलको रुख पनि बुढो भैसक्यो । यध्यपि त्यस्मा अझै पिंग हालिन्छ । फरक यत्ती हो-
पहिला पिंग हाल्न पनि मान्छेको भीड हुन्थ्यो, आज
खेल्ने मान्छे पनि छैनन् । नाला बजार, मन्दिर
जान पनि त्यती उत्साह छैन । जाने पनि कोसँग? साथिहरु
पनि छैनन् । मन्दिर खाली छ, बजार
सुनसान । फाट्टफुट्ट भुराभुरिहरु लंगुरबुर्जा खेलेको देखिन्छ । अब त त्यती मन पनि
छैन । चलशत्रको स्थान आजकल फलाँशले लिइसकेको छ । खेल्न मन पर्छ, रमाइलो गर्न मन पर्छ तर खेल्ने मान्छे खोई? जीवन बुझ्न पनि कति गारो? त्यही पुरानो समयमा फर्किन मन छ तर कसरी? त्यी सबै दशैंहरु फेरी फर्केर आए पनि हुने, तर अब त्यो सब सम्भव छैन । समयले कोल्टो फेरिसकेको छ ।
First
published on insanevibes.wordpress.com on 17th October 2012
No comments:
Post a Comment
Your comments will be highly appreciated.