Friday, June 6, 2014

दामन.....द म्युजिकल जर्नी (२)



म त भुइँमै सुत्दिन्छु..........!

Simple living, high drinking……….!!

दुइजना साथीहरु बिहान-बिहानै उठेर हल्ला मच्चाइरहेका थिए . एउटा रमाइलो साँझ, एउटा रमाइलो रात-भर्खरै गुज्रेको थियो . तर त्यसको ‘ह्यांगओभर’ अझै उत्रेको थिएन . शायद, त्यी पलका प्रत्येक पदचापहरु स्मरणमा दुर-दुर सम्म गुन्जीरहनेछन् . बिस्तारै सबैजना ब्युँझे, दामनबाट सुर्योदय हेर्ने उत्कण्ठाले . तर धुम्म आकाशले हाम्रो मनसुबा पुरा हुन पाएन . हामी गफमा मस्त भै’रहयौं . साथीहरु फेसबुकमा व्यस्त भैरहे . लालमान दाई काठमाडौँबाट ‘चाबी’ मगाउने भगीरथ प्रयेत्नामा लागिरहे . केही साथीहरु घुम्न पनि निस्किहाले . नित्यकर्म सकेर हामी पनि हतार-हतार होटलबाट निस्क्यौं . 


म त जिल खाएँ .
 
काठमाडौँको धुलो र धुवाँमा दिनहुँ पौंठेजोरी खेल्दै उबड खुबड सडकमा मिति गुज्रीसकेका सार्वजनिक यातायातका साधनमा निस्सासिंदै कस्टकर यात्रा गर्ने मेरो दिनहुँको बानी . दामनको चिल्लो सडक देखेर म त जिल खाएँ . ठाउँ-ठाउँमा सडकको छेउ-छाउमा बनाईएका माइलस्टोनहरु . चिटिक्क पारेर पोतिएका रंगहरु . गाडीको कोकोहोलो यहाँ थिएन . टुक्रुक्क बाटोमै बसेर ‘तपस्या’ पो गरूँझैं लाग्ने शीतल, शान्त यहाँको पर्यावरण थियो . कुनै दिन म जर्मनीको यस्तै एउटा गाउँमा पुगेको थिएँ - जहाँ यतिकै सुन्दर सडक थियो . फरक यत्ति थियो – सडक छाडेर जर्मनीको जस्तो बैभव यहाँ थिएन .


हामी दामन रिसोर्टको ‘भ्यू टावर’ पुग्यौं - मकवानपुर जिल्ला र यसको सेरोफेरोलाई एकै नजरमा आँखाभरी कैद गर्न सकिने टावर . मलाई त यस्तो लाग्यो - नेपालका प्रत्येक डाँडा-काँडा सबै ‘भ्यू टावर’ हुन् . हाम्रो देशैभरी यस्ता अनगिन्ती ‘एफिल टावर’हरु छरिएर बसेका छन् . बस्- तिनलाई देख्ने आँखाको जरुरत छ . तिनलाई परख्नु जरुरी छ . दामनले जस्तै, नगरकोट वा ककनीले जस्तै तिनले पर्यटक आकर्षण गर्नु जरुरी छ .


हाम्रो पैदल यात्रा जारी रह्यो . त्यहाँबाट हामी पर्वतीय वनस्पति उद्यान पुग्यौं – हाम्रै डाँडा-पाखामा फुल्ने सुन्दर फूलहरु तथा बनस्पतिहरुको बगैंचा . पर्वतीय बनस्पतिको नर्सरी हेर्दै हामी अघि बढ्यौं . बगैंचा र नर्सरी भन्दा पनि तिनलाई जसरी व्यवस्थितरुपमा ‘मेन्टेन’ गरिएको थियो, त्यसले मलाई आकर्षित गरिरहेको थियो . हामीले चाहयौं भने के नहुने रहेछ र ? हाम्रै गाउँ-घरका बाँझा गरा-सूर्का, कान्ला, पाखा र पखेराहरु सुन्दर नर्सरी वा उद्यानमा परिवर्तित हुन सक्ने रहेछन् .


 
गाडी नभएकोले केही टाढाको ‘सिम भन्ज्याङ’ पुग्ने हाम्रो सपनामा लगभग तुषारापात भै’सकेको थियो . हामी हिंडीनै रहेका थियौं . हाम्रो अर्को गन्तव्य थियो – ‘ऋषेश्वोर महादेव’ मन्दिर . तर फोटो खिच्ने ध्याउन्नमा लाग्दा केही साथी अघि बढी सकेका थिए . हामी पछि छुटीसकेका थियौं . हामी मन्दिर पुग्न हिंडीरहयौं . घुमाउरो लामो बाटो छल्न जंगलको बीचबाट हामीले ‘शर्ट-कट’ प्रयोग गरिरहयौं . बाटो लामो थियो तर पट्यारलाग्दो थिएन . प्रकृतिको सुरम्यताले थकान भुलाइरहेको थियो . व्यवस्थित हरियो बनले लोभ्याईरहेको थियो . नजिकै कतै खोल्सा-खाल्सीहरु सुसाइरहे . गुराँसको लागि प्रख्यात दामनले आफ्नो धर्म छाडेन – गुराँसका बुट्यानहरु, ढकमक्क फुलेका गुराँसका मनमोहक फूलहरु पनि फाट्टफुट्ट देखिईनै रहे . बिस्तारै हिउँले खाएका अनौठा रुप-रंगका रुखहरु देखा परे . मन्दिरको नामो-निशान कतै देखिएन . हामी धेरै हिंडीसकेका थियौं . थकाई लाग्दै गयो . भोक-प्यास बढ्दै गयो . हामी धेरै माथि उक्लिसकेका थियौं . बिस्तारै मानब-  बस्ती देखा पर्दै गयो .
 
पर एउटा साइनबोर्ड देखा पर्यो – सिम भन्ज्याङ  (२३८८ मिटर)

‘परिश्रमको फल मिठो हुन्छ’ भनेको साँच्चै हो रहेछ . सिम भन्ज्याङ पुग्दा यस्तै अनुभूति भै’रह्यो खुब मज्जा आयो . स्थानीय दुध-चिया, सेल-तरकारीले हाम्रो थकान भुलायो . शायद यति मिठो खाजा जीवनमा कहिल्यै खाइएको थिएन . अझ मेरो मस्तिस्कमा त दामनको विकासले खुबै प्रभाब पारीरह्यो . हुन त त्रिभुवन राजपथले पनि यहाँको विकासमा उलेख्य भूमिका खेलेको हुँदो हो . यधपि त्यी कार्यहरु अनुकरणीय लागे . यहाँको प्रहरी सेवा पनि प्रसंसनिय लाग्यो . ठाउँ-ठाउँमा प्रहरीका ‘टोल-फ्री’ सम्पर्क नम्बर टाँसिएका थिए . दामन ‘खुल्ला दिशा–मुक्त’ गाबिस पनि रहेछ . हुन त खुल्ला दिशा मुक्त हुनु मात्र कुनै नौलो कुरो होइन . एउटा पनि सार्वजनिक शौचालय नभएको मेरो गाउँ पनि ‘खुल्ला दिशा–मुक्त’ गाबिस नै हो . तर दामनको कथा बेग्लै छ . यहाँ सार्वजनिक शौचालयहरु पनि रहेछन् . त्यो पनि नाम मात्रको शौचालय होइन – एकदमै अत्याधुनिक र सफा . १३ वर्ष लामो काठमाडौँ बसाईमा मैले कहिल्यै कतै यस्तो सार्वजनिक शौचालय देखिन !

हामी मन्दिर काटेर धेरै अघि बढेका रहेछौं भन्ने कुरा छर्लंग भैसकेको थियो . साथीहरु सँग सम्पर्क गरेर हामी मन्दिरतिरै फर्क्यौं . ओरालो झर्न खासै गारो भएन . ‘ऋषेश्वोर महादेव’को गेटनेर आइपुगेपछि थाहा भयो – हामीलाई त्यो घुम्तीलाई नै ‘शर्ट कट’ मारेर अघि लम्केका रहेछौं . अब हामी मन्दिर दर्शन गर्न सिंढी ओर्लन थाल्यौं . केहीबेरमा सिंढी फेरी उकालो लाग्यो . अनि फेरी ओरालो . फेरी उकालो . नागबेली चालमा पूर्णतया ढलान गरिएको सिंढीयुक्त बाटोले मन्दिर ‘आयो कि’ ‘आयो कि’ भन्ने भ्रम छरीरह्यो . बाटैभरी टाँगीएका ध्वजा-पताकाले अलौकिक आनन्द दिईरहे . बाटोको एउटा तिर-तिरे धारोमा प्यास मेटाउँदै हामी अघि बढ्यौं . बाटो सफा गरिरहेका केटाकेटीहरुले हामीसँग पैसा मागे . काम गरेर पैसा माग्ने कुरा मलाई खुब घत लाग्यो . सन्तोष सरले बाटो सफा गरिरहे फर्कंदा दिने बाचा गर्नुभयो . मन्दिर पुगेर फर्कंदा तिनीहरुले झन्डै ३०० मिटर जति बाटो सफा गरेका थिए . हामीलाई हाम्रो बाचा पुरा गर्न करै लाग्यो . बिशेषत: एउटा साधारण मन्दिर पुग्न जुन सिर्जनात्मकताका साथ बाटो बनाई पर्यटन आकर्षण गरिएको थियो – त्यो सार्है अचम्भित पार्ने खालको थियो .
 
मन्दिरबाट फर्कंदा गेटमा साथीहरु गाडी लिएर कुरिरहेका थिए . कस्तो संयोग ! काठमाडौँबाट चाबी आइपुगेछ . उधुम गर्मीलाई खर्भुजाले शान्त पर्यो . हिजो रातिदेखिको ‘साउण्ड सिस्टम’मा नाच्ने रहर बल्ल पुरा भयो . सबै छम-छमी नाचे .
 
काम पाईएन डिग्री पास गरेर 
भैसी पाले गाउँ तिरै झरेर 
चिन्ता छैन केहि 
मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही !


त्यहाँबाट हामी पुनः ‘सिम भन्ज्यांग’ पुग्यौं – त्यहाँ जहाँबाट त्रिभुवन राजपथ फनफानी घुम्दै अब ओरालो झर्दथ्यो . पहाडका पत्रै-पत्र यहाँबाट बहुतै अदभुत देखिए . सिम भन्ज्यांगको रमणीय चौरमा उफ्रंदै, नाच्दै हामीले फोटो खिचायौं . 


अनि हामी होटल फर्क्यौं . खाना खायौं . १२ बज्न लागेको थियो . र नयाँ योजना बन्यो – कुलेखानी (इन्द्र सरोबर) जाने .
 
दामन छाड्दा एउटा लामो समय गुजारेको, चिर-परिचित ठाउँ छोड्दाको जस्तो अनुभूति भै’रह्यो . घुम्नको लागि, बुझ्नको लागि र सिक्नको लागि एकपटक सबैले पुग्नै पर्ने ठाउँ हो दामन . दामनलाई पछाडी छाड्दै हाम्रो गाडी ओरालो झर्दै गयो . तर साथीहरुको उत्साहमा कमी थिएन . गीत गाउन हामीलाई कसले रोक्ने? लोक संगीतको मेहफिल फेरी जम्यो :-

आउन बस छेवैमा, कदमको छायाँमा !
मौरी घुम्यो रसैमा, म भुलें माया-जालैमा !!

पालुंगबाट कुलेखानीको बाटो तताएपछि गाउँ-बस्ती, साना सहर र बजार छिचोल्दै हाम्रो गाडी अघि बढ्यो . गाउँले परिवेशको सु-स्पस्ट चित्र हाम्रो अगाडी देखा परिरह्यो, बिलाइरह्यो . आमाहरु, दिदीहरु, बहिनीहरु हाम्रा अघि घाँस बोकेर, दाउरा-बोकेर, कुटो र कोदालो समातेर झुल्कीरहे, हराइरहे . हाम्रो समुहले गाइरह्यो:-  

आफ्नै पौरख खान्छन्,
आफ्नै सीपमा बाँच्छन्,
दुख कस्ट सहेर सृस्टी यिनले थाम्छन्,
असल महान व्यक्तिहरु यिनैले जन्माउँछन्,
ज्ञान-बिबेक बुद्दिहरु यिनैले सिकाउँछन्,
तर पनि अँधेरोमा जीवन बिताउँछन्,
आमा दिदी-बहिनी हो,
कति बस्छौ दाशी भै, सुखको संधै प्यासी बनेर !

हाम्रो टोलीको जनवादी गीतहरु प्रतिको मोह पनि बुझीनसक्नुको थियो . खेत-बारीमा काम गर्ने किसान तथा मजदूरहरु देख्दा उनीहरुले दिल खोलेर गाए :- 
     
सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको !
उमेर भैसक्यो असी, झन् ठुला दुखले घेरेको !!

तर कच्ची बाटोमा यात्रा भने सहज थिएन . बस्- त्यी लोक संगीतनै थिए जसले हाम्रो यात्रामा त्राण थपेका थिए:-

बारीको डिलमा ओखरबोट,
ओखरबोटमा चील बस्यो,
भन्नै नहुने माया, तिमीसित सार्है नै दिल बस्यो !

जाल-जालैमा
मैं माछी मारुंला, फेवा तालैमा !

बिस्तारै आइपुग्यो इन्द्र-सरोवर- नेपालको सबैभन्दा ठुलो मानब-निर्मित जलासय . इन्द्र-सरोवरको स्वच्छ कन्चन पानीमा हामीले आँखाभरी डुबुल्की मार्यौं . भीमकाय उक्त जलासयको दर्शननै हाम्रो यात्राको चरमोत्कर्ष थियो .

इन्द्र सरोबरबाट फर्कंदै गर्दा बाटोभरी देखिएका भीर तथा पहराहरुले नेपाली आर्थिक सामाजिक परिवेशको सु-स्पष्ट चित्र पस्किरहे . यात्राको दौरान म भावनामा बगिरहें . बाटोभरी मैले सोचिरहें – मैले यीनै भीर-पहराहरुसँग मीत लाउनु छ . मैले यीनै पाखा-पखेराहरुसँग प्रिती गाँस्नु छ . मलाई यो देशका प्रत्येक कुना काप्चा र कन्दराहरुमा पुग्नु छ . मेरो यात्रा अझै सकिएको छैन . मेरो यात्रा त भर्खर सुरु मात्र भएको छ .



No comments:

Post a Comment

Your comments will be highly appreciated.