Showing posts with label छड्के. Show all posts
Showing posts with label छड्के. Show all posts

Thursday, February 28, 2013

छड्के: यथार्थ र भ्रम



छड्के: यथार्थ र भ्रम

छड्के 'टाइटल' : प्रोमोमा मान्छेले देखे- यो 'ग्यांगस्टर' फिल्म हो। सोचे-ग्यांग फाइट, हप्ता असुली भनेकै छड्के हो। हिजो-आज कतिले भनेको सुन्दै छु-छड्के काम गर्ने सबै मरे,फिल्मको टाइटल कसरी 'छड्के' भोफिल्म हेर्नु अघि 'छड्के'को अर्थ मलाई पनि थाहा थिएन। फिल्म हेरे पछि, टाइटल सान्दर्भिक लाग्यो। हामीले सुनिरहने छड्के चेक-जाँच रैछ भन्ने लाग्यो। नेपाली बृहद शब्दकोशमा छड्के को अर्थ यस्तो- "अचानक वा बेला-बेलामा हुने जाँचचेक"। फिल्मको मुख्य पात्र समीर ताम्राकार (सौगात मल्ल) एक बनस्पतिबिद हुन्छ र पछि बाध्यात्मक परिस्थितिमा वनस्पति र बन्यजन्तु को चोरी-शिकारी रोक्न 'छड्के' गर्न थाल्छ। नेपाली बृहत् शब्दकोश डाउनलोड गर्नुहोस यहाँ।

हाकु-काले किन बौलायो: लूटको 'हाकु-काले'लाई दर्शकले बिर्सन सकेका छैनन्। आफ्नो प्रिय पात्रलाई मान्छेहरु राम्रै स्वरुपमा देख्न चाहन्छन्। त्यसैले सौगात मल्लको निर्वस्त्र रुप धेरैलाई अपाच्य बनेको छ। खासमा ऊ बनस्पतिबिद भएको कारणले पनि प्रकृति संरक्षणमा अग्रसरता देखाउनु अस्वाभाविक लाग्दैन्। बोक्सीसँग बदलाको भावना पनि उसमा हुने नै भो। अर्को कुरा, एक दृश्यमा 'Banisteriopsis caapi' (भूत रुख)को पातहरु उसले पकाउँदै गरेको देखाइएको छ। भनिन्छ- ''Ayahuasca (Banisteriopsis caapi +DMT)को सेवनले मानिसमा आफ्नो जीवन-उदेश्य बारे बृहद आत्मिक अन्तरज्ञान प्राप्त हुन्छ, ब्रमाण्डको भित्री रहस्यबारे ज्ञान हुन्छ जसलाई अध्यात्मिक जागरण वा पुनर्जन्म पनि भनिएको छ।'' यहाँ हेर्नुहोस।

ग्यांगस्टर फिल्म हो त: यो ग्यांगस्टर फिल्म हो तर त्यति मात्र होइन। फिल्मको मूल सार हो- प्रकृति संरक्षण। यो एउटा थ्रिलर फिल्म हो र पोस्टर देखि प्रोमो सम्म यो राज रहस्यमय राख्नुलाई अझ ''भयानक थ्रिलर'' मान्छु म- जुन मैले कुनै बलिवुड वा हलिवुड चलचित्रमा पनि देखेको थिइन। कतिले पोस्टरमा यो नदेखाउनुलाई सत्तोसराप पनि गरेका छन्। अर्को कुरा- बोक्सी (अर्पण थापाले)ले टाटे (प्रतिकराज नेउपाने)लाई किन मार्यो भन्ने प्रश्न छ। यस्को जवाफ रोयल ग्यांगको मिटिंग भैराखेको फिल्मको एक दृश्यमा छ- जहाँ छेवांग लामा (रबिन तामांग), टाटे (प्रतिकराज नेउपाने) र साइको भोटे (दयाह्यांग राई)ले बोक्सी (अर्पण थापा)लाई गैंडाको खागको लागि कचकच गर्छन्। र सब ग्यांगस्टर किन मरे? भन्ने प्रश्न पनि छ। म भन्छु- "अरे यार! पाप धुरीबाट कराउँछ। गुन्डाहरु बाँचेर के काम? मृत्यु नै तिनीहरुको नियति हो।"

लूट र छड्के : उही निर्माता, उही ब्यानर तथा दुवै नयाँ धारका चलचित्र भएकाले दुबैको तुलना स्वाभाविक हो। सरल कथा भएको कारणले 'लूट' प्रस्तुतिमा अब्बल पक्कै हो। तर 'छड्के'मा 'लूट'को जस्तो एक दुई वाक्यमा भन्न सकिने सरल कथा छैन। 'छड्के'मा धेरै कथाहरु छन्। समग्रमा जटिल छ- कथा। त्यति हुदाँ-हुँदै प्रस्तुति कमजोर नै छैन। मान्छेहरुले 'फस्ट हाफ' बढी मन पराए। तर यसमा मैले scene stiching मा समस्या बढी देखेँ जसको कारण कथा घ्याच्च-घ्याच्च रोकिंदै अघि बढ्छ। तुलनात्मक रुपमा 'सेकेन्ड हाफ' सलल बगेको छ ।

प्रतिकात्मक कि बास्तविक: मान्छेहरुले हिंसा धेरै मन पराएनन् । तर यो त प्रोमो तथा पोस्टरमै प्रस्ट थियो कि- यो हिंसात्मक ग्यांगस्टर चलचित्र हो । साथै यो action/thriller genre फिल्म भएकोले मलाई खासै अस्वाभाविक लागेन। समीर ताम्राकारको हाउभाउ तथा उसको बनस्पति संरक्षण प्रयास प्रतीकात्मक वा वास्तविक जुन रुपमा पनि अर्थ्याउन सकिन्छ। अझ फिल्मको अन्त्यमा बन्यजन्तु तथा बनस्पति चोरी-शिकारी सम्बन्धी केही तथ्य राख्न सकेको भए चलचित्रको सन्देश धेरैमा पुग्ने थियो ।

कलाकार तथा प्राविधिकको काम : फिल्म सम्पादन तथा पटकथामा केही कमजोरी अवश्य छ। हिंसा सरल भएको भए पक्कै राम्रो हुने थियो। छायांकन तथा संगीत उत्कृष्ट छ। सबै कलाकारको अभिनय अब्बल छ । बिशेषगरी बिन्दु (बिपिन कार्की), बोक्सी (अर्पण थापा), साइको भोटे (दयाह्यांग राई) तथा समीर ताम्राकार (सौगात मल्ल) को काम प्रसंशनीय छ। कथा/कन्सेप्ट नौलो र 'ओरिजिनल' लाग्यो। निर्देशक निगम श्रेष्ठलाई सलाम!

मेरो भर्डिक्ट : मैले सोचेभन्दा पनि उच्च स्तरको- 'छड्के' नेपाली सिनेमाको आजसम्मकै सुन्दर सिर्जना हो !

मेरो रेटिंग : पाँचमा साँढे चार तारा।

नोट : (म चलचित्रको एक दर्शक मात्र हुँ र यो मेरो नितान्त व्यक्तिगत विचार हो। म फिल्मसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न छैन। कसैको विचार मेरो विचारसँग मेल नखाएमा बियोग मात्र हुनेछ :पि :डी)