Wednesday, January 7, 2026

अभिभावकको रुपमा आफैले बुझ्नुपर्ने कुराहरु

​✨ बच्चाहरूले हामीलाइ नभन्ने कुराहरू ✨


🔴 १. म सँग चर्को आवाज नबोल्नुहोस् ।

तपाईंको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ।


🔴 २. मेरो कुरा सुन्नुहोस् ।

जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु ।


🔴 ३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्।

कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु ।


🔴 ४. मलाई समय दिनुहोस् ।

तपाईंले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाइ त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाइको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् ।


🔴 ५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्।

यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो।


🔴 ६. म दुखी हुँदा मलाई समाउनुहोस्।

मलाई रुन दिनुहोस्। "तिमी धेरै नाटक नगर" भनेर गालि नगर्नुहोस् । मेरा भावना पनि तपाईंकै भावनाजस्तै वास्तविक हुन्छन् ।


🔴 ७. मलाई आफूलाई कसरी हेरचाह गर्ने भनेर सिकाउनुहोस्।

तपाइ आँफू पनि आराम गर्नुहोस् । सुत्नुहोस् । मनपर्ने कामहरू गर्नुहोस् । साथीभाइ भेट्नुहोस्। अभिभावक हुनु आनन्दको कुरा हो भनेर देखाउनुहोस्। तपाईं थकित, रिसाएको वा सबै कुरामा त्याग गरेको देख्दा मलाई दुख लाग्छ । किनकि यो सबै मेरो कारणले त होइन ? भनेर मैले सोच्न सक्छु ।


🔴 ८. म डराउँदा नजिकै बसिदिनुहोस् ।

मेरा बालसुलभ डरहरूमा नहाँस्नुहोस्। तपाईं पनि सधैं अँध्यारोबाट डरिनुहुन्थ्यो भनेर मलाइ भन्नुहोस् । अनि मेरो सिरानी मुनि टर्च लाइट राख्न दिनुहोस्।


🔴 ९. मलाई केवल म भएको कारणले माया गर्नुहोस्।

म छिटो दौडिन्छु । कविता सुनाउँछु । त्यस्तै अनेक परिपक्व व्यवहार गर्दा मात्र हैन म गलत हुँदा पनि माया गर्नुहोस् । मेरा गल्तीहरूमा समेत तपाईंको माया हराउँदैन भनेर मैले थाहा पाउनु आवश्यक छ।


🔴 १०. आफ्नो जीवनसाथीलाई माया देखाउनुहोस्।

झगडा कसरी गर्ने? झगडा भउमा कसरी मिलाउने ? कठिनाइको सामना कसरी गर्ने ? साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा म आमाको गर्भभित्रहुँदैमा तपाइबाटै सिकिरहेको हुन्छु ।


🔴 ११. म तपाइँकै विश्वासहरुबाट सिक्दै हुर्किरहेको हुन्छु ।

म प्राय तपाईंका विश्वासहरू नै सिकेर हुर्किन्छु । मेरो बारेमा । अरूको बारेमा । जीवनका बारेमा । यी विश्वासहरू सही छन् कि छैनन ? मेरो जीवनमा सहयोग प्रभाव पार्छन ? त्यो कुरा सोच्नुस् । यदि दपाइले यो संसार खतरा छ । मानिसहरू खराब छन् भन्ने सोच लिनुहुन्छ भने म पनि डर र अविश्वासकै गोरेटोमा हिँडिरहेको हुन सक्छु ।


🔴 १२. म तपाईँलाइ बुझिरहेको हुन्छु ।

मलाइ यो कुरा थाहा छ की तपाईंले मलाई माया गर्नुहुन्छ । त्यसका लागी दुख र कष्ट सहँदै अनेक प्रयास गर्नुहुन्छ। खराब दिन र साना असफलताहरू सामान्य हुन्छन भनेर मलाइ सिकाउनुहोस । आँफु पनि सिक्नुहोस् । आफ्नो पनि ख्याल गर्नुहोस् । आफुले आफैलाई क्षमा गर्नुहोस । अनि म पनि त्यहीबाट सिक्नेछु।


🔴 १३. मलाई मुस्कान दिनुहोस् ।

तपाईंको साँचो मुस्कानले मलाई शान्त पार्छ। मलाई सुरक्षित महसुस गराउँछ। यसले मलाई माया पाइरहेको छु जस्तो महसुस गराउँछ। तपाइका ममतामयी हातहरुले मेरा हात समाउँदै मेरो कपाल सुम्सुम्याएर स्पर्श सहित मलाइ मुस्कान दिनुभयो भने मेरा धेरै डरहरु हराउनेछन् ।

Wednesday, April 30, 2025

नेपाली समाजका भ्रमहरु

स्नातकोत्तर सम्म अध्ययन गरेको एकजना मेरो साथीले, ‘आवधिक निर्वाचनमार्फत देशको सबै दुरावस्था अन्त्य गर्न सकिन्छ’ भन्ने मेरो पोस्टमा कमेन्ट गरे- “संवैधानिक राजा, कार्यकारी प्रधानमन्त्री, सानो मन्त्रीमण्डल, प्रमले मन्त्री छान्न पाउने ब्यबस्था, प्रदेश खारेज, धर्मनिरपेक्ष खारेज आदि बेस्ट हुन्छ ” । मैले त्यसमा जवाफ दिए- ‘रैती नै बन्न तयार भैसकेपछि स्वर्ग नै प्राप्त गरेपनि त्यसको के अर्थ हुन्छ र साथी?’

आज केही प्रौढ राजावादीहरुको बोलीमा हो मा हो मिलाउंदै नयाँ पुस्ताका केही युवाहरु पनि ‘राजा आऊ, देश बचाउ भनिरहेका पाइन्छन् । हुन त ५ वर्ष अघि दिवंगत हुनुभएको मेरो हजुरबुबा संग पनि म राजतन्त्रको विपक्षमा बहस गर्दथें । मलाई त्यो स्वाभाविक पनि लाग्थ्यो । तर अहिलेको पुस्ताका युवाको कतिपय धारणाले म चकित हुन्छु । राजतन्त्रमात्र होइन, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण र उदारीकरण सम्बन्धमा नेपाली युवाहरुको धारणाले म विस्मित हुन्छु । नेपाली समाजमा रहेका त्यस्ता केही भ्रमहरुको यस आलेखमार्फत चीरफार गर्ने कोसिस गरिएको छ ।

स्वाभिमान भन्दा ठुलो कुरो विकास होइन ।

वर्तमान समयमा यो रास्ट्रको प्रमुख आवश्यकता हो विकास र सम्वृद्धि ।यसमा शायदै कसैको दुईमत होला । तर जुनसुकै मूल्यमा विकास र सम्बृदि पाउन लालायित हौँ त हामी ? हाम्रो अधिकारको मुल्यमा, हाम्रो सार्वभौमिकताको मुल्यमा,  हाम्रो स्वतन्त्रताको मूल्यमा वा हाम्रो स्वाभिमानको मुल्यमा विकास र सम्बृदि चाहिएको हो त हामीलाई ?

यदि त्यसो हो भने भारतका कुनै नेताले हाम्रो देश बुद्धभूमि हो भन्दा हामीलाई किन घोच्छ ? चीनबाट कसैले सगरमाथा हाम्रो हो भनेर दावी गर्दा हामी किन चिढिन्छौँ ? हाम्रो आन्तरिक मामलामा कसैले निर्देशित गरेको हामी किन मन पराउँदैनौं ? वैदेशिक रोजगारीले देशको अर्थतन्त्र धानिरहेको छ भन्दा किन हामीलाई खासै गर्व महसुस हुँदैन ? खरबौं को भारी बोकेर मागेर देश चलिरहेको छ भन्दा हामीलाई किन हीनताबोध महसुस हुन्छ ? बिकसित र सम्बृद्ध देशमा पुगेका नेपालीहरु पनि किन यस्ता विषयमा रन्थनिने गरेका होलान् ?

गाँस, बास, कपास र पर्याप्त विकास हुँदैमा मानिस खुसी हुने होइन ।  त्यसो हो भने त शहरी वा विदेशको सुख सुबिधामा रमेको वर्गले माथिका विषयको वास्तै नगर्नुपर्ने हो । तर त्यही वर्गलाई यस्तो विषय- अधिकार, स्वतन्त्रता र स्वाभिमानको विषयले बढी पोलेको हुन्छ ।  किनभने अधिकारको कुरा- स्वतन्त्रता र स्वाभिमानको कुरा विकास र सम्वृद्धि भन्दा पनि ठुलो हुन्छ । मानव इतिहासका जत्ति पनि महान आन्दोलन भएका छन्, त्यी सर्वप्रथम स्वतन्त्रताका र स्वाभिमानका लागि भएका छन् । त्यसपश्चात मात्र विकास र सम्वृद्धिका लागि भएका हुन् ।

स्वतन्त्रताको प्राप्ति पश्चात मात्र मानिसले बिकास र सम्वृद्धि खोज्ने हो नकी विकास प्राप्त गरेर स्वतन्त्रता खोजिन्छ । विकास पिंजडाको चरा जस्तो मात्रै हो । जसलाई बिहान बेलुका आहार त उपलब्ध हुन्छ तर खुल्ला आकाशमा उड्ने स्वतन्त्रता उपलब्ध हुँदैन, जसको लागि ऊ जन्मेको हुन्छ ।  जबसम्म स्वतन्त्रता उपलब्ध हुँदैन, तबसम्म पेट भरिनुले मात्र तात्विक फरक पार्दैन ।

अधिकार नैतिक र कानुनी जग हुन् भने विकास लक्ष्य हो । अधिकारको जगमा बिकासको संरचना निर्माण हुने हो । अधिकार बाध्यकारी हुन्छ तर विकास हुँदैन । अधिकार सर्वव्यापी हुन्छ तर विकास परिवेशिक हुन्छ र समयसंगै परिवर्तन हुँदै हुन्छ । अधिकारले विकासलाई निर्देशित गर्दछ । समग्रमा अधिकार जग हो जसमाथि सजावटको सामाग्रीको रुपमा विकासको संरचना बस्छ । जगबिना कुनै संरचना बन्न सक्दैन ।

सम्मानपूर्वक बाँच्न पाउने अधिकार, मतदानको अधिकार, समानताको अधिकार, स्वतन्त्रताको अधिकार, संवैधानिक उपचारको अधिकार जस्ता अधिकारहरुले नागरिक सर्वोच्चता र स्वाभिमान प्रत्याभुत गर्दछन् ।

सम्मानपूर्वक बाँच्न पाउने अधिकार सम्पूर्ण अन्य अधिकारको जग हो, आधार हो । सम्मानपूर्वक बाँच्ने अधिकारले मात्र विकासलाई पूर्णता दिन्छ । बिकासले सम्मानपूर्वक बाँच्ने अधिकारलाई पूर्णता दिन सक्दैन ।

मास्लोले आवश्यकताको सिद्धान्त परिमार्जन गर्दै सम्मानपुर्वक बाँच्न पाउने अधिकार ५ वटै तहमा हुने कुरा उल्लेख गरेका छन् । एउटा भोको मान्छेले पनि सम्मान खोज्छ । गरिबी र अविकासमा पनि सम्मानको चाहाना हुन्छ ।

जब कोही नागरिकलाई अन्य नागरिक भन्दा माथिल्लो दर्जामा राखिन्छ, त्यसले नागरिकका प्राय सबै अधिकारको हनन गर्दछ । राजतन्त्रमा हुने त्यही हो । चाहे सक्रिय होस् वा संवैधानिक राजतन्त्र, नागरिकका सम्मानपूर्वक बाँच्न पाउने अधिकार, समानताको अधिकार, स्वतन्त्रताको अधिकार, मतदानको अधिकार, न्याय सम्बन्धी अधिकार, भेदभाव बिरुद्दको अधिकार लगायतका अधिकारको हनन हुन्छ । नागरिक स्वाभिमान कमजोर पुग्छ ।अत: पहिलो आवश्यकता स्वाभिमान र त्यसपछिको आवश्यकता बिकास हो । विकास स्वाभिमान भन्दा ठुलो कुरो होइन ।

नेपाल व्यबहारत: धर्मनिरपेक्ष देश होइन ।

धर्मको वास्तविक अर्थ “कर्तब्य” हो जसलाई अंग्रेजीमा Duty भनिन्छ । भागवत गीताका अनुसार ‘स्वभाव नियतं कर्म’ अर्थात आफ्नो स्वभाव अनुसारको कर्म गर्नु नै धर्म हो । नेपालको संविधानले नागरिकलाई ‘कर्मनिरपेक्ष’ बन्न उत्त्प्रेरित गरेको हुँदै होइन । यो अर्थमा हाम्रो देश नेपाल धर्म निरपेक्षदेश होइन ।

नेपालको संबिधानले निरपेक्षता खोजेको सम्प्रदायसंग हो- सम्प्रादाय निरपेक्षता । हिन्दू, बौद्ध, इशाई, ईस्लाम जस्ता धार्मिक सम्प्रदायसंगको निरपेक्षता । अर्थात हाम्रो संविधानले सम्प्रदायलाई धर्म भनेको छ । सो आधारमा नेपाललाई धर्म निरपेक्ष भनेको छ ।  तर हाम्रो देश के साँच्चै धर्म निरपेक्ष (वास्तविक अर्थमा सम्प्रदाय निरपेक्ष) छ त ? धर्मनिरपेक्षताको मूलअवाधारणा बाटै यसको चीरफार गरौँ ।  

धर्मनिरपेक्षताका पिता जर्ज ज्याकोब होलियोकका अनुसार व्यक्तिगतस्तरमा धर्मनिरपेक्षता भन्नाले धर्मप्रति बेवास्ता गर्नु, संसारमा विश्वास गर्नु , बिज्ञानमा विश्वास गर्नु र नैतिकवान हुन कुनै धर्म आवश्यकता पर्दैन भन्ने मान्यता हो । उनका अनुसार राज्यस्तरमा धर्मनिरपेक्षताको अर्थ १. राज्यको कुनै धर्म नहुने, २. धार्मिक स्वतन्त्रता हुने, ३. धार्मिक विभेद नहुने तथा ४. राज्य र धर्मबीच कामकाज गर्ने कुरामा कुनै सम्बन्ध नहुने भन्ने मान्यता हो ।

यस आधारमा विश्वको सबैभन्दा धर्मनिरपेक्ष देश फ्रान्स हो । फ्रान्स सरकारले कुनै धर्म चिन्दैन, धर्मको नाममा बजेट वा अनुदान दिदैन् र कुनै पनि धर्मलाई प्रवर्धन गर्दैन । सरकारी स्कुल, कार्यालय तथा अदालतहरु तटस्थ हुन्छन्, कुनै धार्मिक संकेत राख्न वा धार्मिक कुरा व्यक्त गर्न निषेध गरिएको हुन्छ । धर्मलाई निजी मामला मानिएको हुन्छ ।

तर नेपालको सरकारले सबै धर्म सम्प्रदायलाई चिन्छ । सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने काम समेत संविधानले गर्छ ।सरकारले सबै सम्प्रदायको चाडपर्वमा बिदा दिन्छ नै, प्रत्येक पर्वमा शुभकामना दिने देखि लिएर बजेट अनुदान दिनेसम्म गर्छ । सरकारी स्कुल, कार्यालय र अदालतमा धार्मिक कार्यक्रम गर्न, धार्मिक संकेत राख्न वा व्यक्त गर्न पाइन्छ । मन्दिरहरु भ्रमण गरेर होस् वा पूजाआजा गरेर होस नेपालका रास्ट्रपतिले धर्म संस्कृतिको संरक्षण प्रवर्धन गर्ने कार्यको अभिभावकत्व ग्रहण गरेका छन् । राष्ट्रपति मात्र होइन प्रधानमन्त्री, मन्त्री, सांसद लगायतको राज्यसंयन्त्रनै यस्ता कार्यक्रममा सरिक हुन्छ ।

यसरी नेपालमा धर्म निरपेक्षताका प्रमुख तीन तत्व- राज्यको धर्म नहुने , धार्मिक स्वतन्त्रता हुने र धार्मिक विभेद नहुने भन्ने सिद्धान्त सैदान्तिक रुपमा मिले पनि राज्य र धर्मबीच कुनै सम्बन्ध नहुने र अलग हुने भन्ने सिद्धान्त ब्यबहारगत रुपमा फिटिक्कै मिल्दैन । नेपालमा राज्य र धर्मबीच अन्योन्यास्रित सम्बन्ध छ । अझ अन्य धर्मसम्प्रादाय भन्दा हिन्दू धर्मसम्प्रदायका मानिसको बाहुल्यताका कारण हिन्दूसम्प्रदायसँग नै विशेष सम्बन्ध छ ।

अत: यी कारणहरुले नेपाल ब्यबहारगत रुपमा धर्म निरपेक्ष देश होइन । र सम्प्रदाय निरपेक्ष देश पनि होइन । हिन्दु रास्ट्रको माग जनभावना सँग खेल्न उठाइएको राजनीतिक खेल मात्रै हो ।

संघीयता धान्नै नसकिने महँगो कुरा होइन ।

अहिले राजावादीहरु ‘अहिले देशमा सयौं राजा भए, त्यो भन्दा त बरु एउटै राजा ठिक’ भन्ने तर्क गर्छन् । एकपटक २०४७ सालको संवैधानिक राजतन्त्रकाल र गणतन्त्रकालबीचको यो जनप्रतिनिधि संख्या तुलना गरौँ ।

तह संवैधानिक राजतन्त्रकाल गणतन्त्रकाल 
रास्ट्रप्रमुख १ (राजा)१ रास्ट्रपति 
प्रधानमन्त्री+मन्त्री २०-३० जना२५-३० जना
संघीय सांसद २६५ जना ३३४ जना 
प्रदेश सांसद थिएनन५५० जना 
स्थानीय तह प्रमुख/उपप्रमुख ३,९७३*२ = ७,९४६१,५०६ जना 
वडाअध्यक्ष ~३५,७५७ ६,७४३ जना 
वडासदस्य ~१,४३,०२८ २६,९७२ जना 
जम्मा ~१,८७,०२७ ~३६,१३६ 

 

यी त २०४७ को संबिधान पश्चात निर्वाचित जनप्रतिनिधिको संख्या भए - अनिर्वाचित राजाबाहेकका ।  त्यही संबिधान अनुरुपपनि राजपरिवारका सदस्यहरु पश्चात १० औं नम्बरमा अपमानजनक रुपमा निर्वाचित प्रधानमन्त्रीको मर्यादाक्रम थियो ।  साथै राजप्रतिनिधि, राजप्रतिनिधि परिषद, राज्यसहायक, राज्यसहायक परिषद जस्ता संरचना पनि थिए जहाँ प्रधानमन्त्रीभन्दा माथि राजपरिवारका सदस्यहरु हुन्थे भने राजाले चाहेजति संख्यामा टिके सदस्य समेत नियुक्त गर्न सक्दथे ।  २०१९ को सक्रिय राजतन्त्रकालमा त झन् श्री ५ ले चाहेजति सदस्य रहने समन्वय परिषद वा राजसभा थियो भने अन्चालाधीस र अन्चल सभा जस्ता संरचना पनि थिए ।

संख्यात्मक रुपमा पनि गणतन्त्रकालीन राज्य संरचना राजतन्त्रकालीन प्रणाली भन्दा सानो हो । सबैभन्दा मुख्य कुरा त सक्रिय राजतन्त्रकालमा रहेका अधिकांस प्रतिनिधिहरु अनिर्वाचित हुन्थे । चाकरी चाप्लुसी मार्फतयस्ता पद प्राप्त गरिन्थ्यो । प्रणाली गौण हुन्थ्यो, व्यक्ति प्रमुख ।जनचाहानाको ख्याल गरिन्न्थ्यो । पिछडिएको समाज थियो, कसैले गुनासो गर्ने अवस्था थिएन । काम बन्नलाई दर्शन भेट पाउनुपर्थ्यो , जाहेर गर्नुपर्थ्यो र निगाहा बक्स हुनुपर्थ्यो । सीमित मान्छे कसैले हल्लाउन नसक्ने राजा थिए । सयौं राजा- राजतन्त्रकालमा थिए – गणतन्त्रकालमा होइन । अहिलेका जनप्रतिनिधि सधैं जनताको रडारमा हुन्छन् । सत्ताले जोगाएपनि चुनावमा जनताबाट दण्डित हुन्छन् ।

जब एकात्मक राज्य हुन्छ, शासकहरु जनतासमक्ष पुग्न केन्द्रबाट दुर दराजमा पुग्नु पर्ने हुन्छ । पहिला त त्यो व्यवहारिक रुपमा नै कठिन हुन्छ ।  दोस्रो त्यसमा उल्लेखनीय खर्च हुन्छ । अहिले कहिँ कतै हेलिकप्टरमार्फत नेता गाउँमा पुग्दा त हंगामा हुन्छ भने देशैभर हेलिकप्टर उड्न थाले भने त्यो देशको लागि कति बोझिलो होला ?

जब एकात्मक राज्य हुन्छ, जनता बजेट माग गर्ने लगायतका सानो सानो कामको लागि पनि केन्द्र धाउनुपर्ने हुन्छ । यस्तो बाध्यता हुँदा जनताले दुख त पाउँछन् नै, उनीहरुको पनि समय र पैसाको बर्बादी हुन्छ । आफुले भोट हालेर जिताएको जनप्रतिनिधिलाई भेट्न यत्रो तिकडम गर्नुपर्ने अवस्था के हामी कल्पना गर्न सक्छौं त ? के हामीले कल्पना गरेको सम्वृद्धि यस्तै हो त ? 

संघीयताले त सरकारलाई जनताको घरदैलोमा पुर्याउँछ । आजको विश्वको शासनब्यबस्थाको मान्यता नै यही हो- “जनता सरकारकहाँ जाने होइन, सरकार जनताकहाँ जानुपर्छ ।“ अहिले ७ वटा प्रदेश सरकार तथा ७५३ वटा स्थानीय सरकार र त्यसअन्तरगतका वडा सरकारहरु मार्फत सरकार जनताको नजिक पुगेको छ । यसले जनतालाई थोरै भएपनि पक्कै सहज भएको छ । तर यो नै पर्याप्त भयो भन्ने पक्कै होइन । केन्द्र सरकार नीतिमा, प्रदेश सरकार विकासमा र स्थानीय सरकार सेवाप्रवाहमा केन्द्रित हुनुपर्ने हो ।अहिलेको अवस्थामा प्रदेश सरकार सबैभन्दा कमजोर भएको देखिन्छ ।केन्द्रले बिकासका कामहरु आफैमा केन्द्रिकृत गरेर बसेको छ । प्रदेशलाई बिकासका अधिकार अधिकतम मात्रामा हस्तान्तरण गर्दा मात्र पनि अहिलेको गुनासो धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ । उदाहरणको लागि- सडक संजाल निर्माणमा संघियता लागु भएको पाइंदैन । केन्द्रले यस्तो अधिकार प्रदेशहरुलाई हस्तान्तरण गर्नुपर्छ । प्रदेश सरकारको उपादायता पुष्टी गर्न पनि यो आवश्यक छ ।

एउटा उदाहरण मार्फत यसलाई बुझौं न ।

धरानका मेयर हर्क साम्पांग खानेपानीको बजेटका लागि पटक पटक सिंहदरबार धाएको समाचार हामीले सुन्ने र देख्ने गरेका छौं । हाम्रो देशमा साँच्चै संघीयता हुन्थ्यो र प्रदेशसंग पर्याप्त बिकासको अधिकार हुन्थ्यो भने उनी सयौं किलोमिटर टाढा काठमाडौं दर्जनौं पटक धाइरहनुपर्ने नै थिएन ।५१ किलोमिटर टाढा रहेको बिराटनगरमै उनी बजेट माग गर्न जान सक्थे ।उनलाई सजिलो मात्र हुने थिएन, राज्यको स्रोत सम्पत्ति पनि बचत हुने थियो ।

समावेशीकरणभित्र गरिब मात्र समेटिनुपर्छ भन्नु सही होइन ।

गणतन्त्रमा समावेशीकरणको लाभ आर्थिक रुपमा सम्पन्नहरुले लिए भन्ने कुरा चर्को रुपमा सुनिन्छ । केही मान्छेहरु समावेशीकरण र त्यसमा पनि आरक्षणको कारण आफु अवसरबाट बन्चित हुनु परेको कुरा व्यक्त गर्दछन् ।मैले त्यी साथीहरुलाई यी केही प्रश्न सोध्ने गरेको छु; “तपाईंलाई जीवन धान्न पुग्ने करोडौं रुपयाँ दिइयो भने- “के तपाईं एउटा दलितको जीवन बाँच्न स्विकार्न सक्नुहुन्छ ? तपाईंमाथि गरिने जातीय विभेद र छुवाछुतको तपाईं पर्वाह गर्नुहुन्न त ? वा भनौं तपाईं एउटा वर्णको आधारमा विभेद भोग्ने एउटा मधेशीको जीवन बाँच्न सक्नुहुन्छ ? अथवा छुट्टै मातृभाषा भएको आदिवासी जनजातिको जीवनमा भाषाका कारण खेप्नुपर्ने समस्याका आयातन कति होलान् ? पिछडिएका मुस्लिम, थारु वा अपांगको सामाजिक जीवन आर्थिक सम्पन्नताले मात्र बदलिन्छ होला त ?”

नेपालमा महिलाको समावेशीकरणको सन्दर्भमा खासै सवाल उठ्दैन किनभने प्रत्येक परिवारमा महिला हुन्छन् नै । तर अन्य सबै प्रकारका समावेशीकरणको बारेमा प्रश्न गरिन्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने- नेपालमा हाल व्यवहारिक रुपमा लागु रहेको समावेशीकरण सामाजिक समावेशीकरण हो, आर्थिक होइन । कर्णालीका ५ सहितका ९ जिल्ला वा विभिन्न ५७ स्थानीय तहलाई पिछडिएका क्षेत्रको रुपमा दिईएको आरक्षणमात्र आर्थिक समावेशीकरण हो । त्यो बाहेकको आरक्षण लैंगिक (महिला), जातीय (दलित), वर्ण (मधेशी), भाषिक (आदिवाशी जनजाती), सामाजिक रुपले पछी परेको वर्ग (अपांग, मुस्लिम, थारु) ले भोग्नु पर्ने विभेद विरुद्द त्यो वर्गलाई दिइएको क्षतिपूर्ति हो, जसले उक्त वर्गको उत्थान हुन्छ भन्ने मान्यता राख्दछ ।

मानौं, कुनै जिल्लाकी प्रमुख जिल्ला अधिकारी (सिडीयो) महिला छिन् भने त्यो जिल्लाका महिलाको शिर कति उँचो होला ? अथवा कुनै दलित वा मधेशी आफ्नो जिल्लाको सिडीयो हुँदा त्यसको सामाजिक प्रभाव कत्ति राम्रो होला ? त्यस्तै प्रभाव आदिवाशी जनजाती, मुस्लिम, थारु, अपांग वर्ग राज्यका उच्च ओहोदामा पुग्दा अवश्य नै हुन्छ । यहाँ आर्थिक कुराले होइन, सामजिक समावेशीकरणको सिद्धान्तले काम गरेको हुन्छ ।

सामजिक रुपमा पिछडिएको वर्ग भित्र न्यून आर्थिकस्तर भएका जनतालाई समावेशीकरणको लागि छान्न सकिए सुनमा सुगन्ध थपिने थियो । अबको हाम्रो बाटो पनि त्यही हुनुपर्छ । तर अहिले भइरहेको कुरा १०० % सही नभएपनि पूर्ण रुपमा गलत भने होइन । हामीले स्विकार्नुपर्दछ- जनताको आर्थिकस्तरको मापन गर्ने संस्थागत क्षमता हालसम्म देशले विकास गर्न सकेको छैन । जब यो क्षमता बिकास हुनेछ, यी समस्याहरु हल हुँदै जानेछन् ।

सरकारले उद्योग धन्दा चलाउने कुरा सहि होइन ।

नेपालले सन् १९९० मा आर्थिक उदारीकरण अँगालेदेखि नै सरकारी उद्योग धन्दाको निजीकरणको प्रक्रिया सुरु भएको हो । सो समयदेखिनै “सरकारले उद्योग धन्दा बेचिखायो” भन्ने आरोप सुनिंदै आएको छ । उद्योग धन्दा निजीकरण गर्ने क्रममा अनियमितता भएनन होला भनेर ग्यारेन्टी गर्न सकिन्न ।जग्गा जमीन सम्पत्तिको अपचलन भएका घटनाहरु पनि बाहिर आएका छन् ।त्यस्ता सम्पूर्ण संदिग्ध कारोबारको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्दछ ।

तर यसको अर्थ सरकारले नै त्यस्ता उद्योग धन्दा चलाउनुपर्छ भन्ने होइन ।हाम्रा बचेखुचेका सार्वजनिक संस्थानहरुको हालत हेरौं र बिचार गरौँ –सरकारले फेरी जुत्ता चप्पल, टायर, चिनी, सिमेन्ट, इँटा, टायल, कागज जस्ता उत्पादन गर्न थाल्यो भने के होला ? सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी, कमिसनखोरी, भ्रस्टाचारले हामी आक्रान्त छौं ।जुत्ताचप्पल किन्न घुस खुवाउनुपर्ने अवस्था कस्तो होला ? केही थान टायरहरु बनाउन फाइल उठाएर महिनौं अल्झिन थाल्यो भने के होला ? सरकारी प्रक्रियाले चिनी र सिमेन्ट सजिलै उपभोक्ताको पहुँचमा पुग्ला ? हामीले मूल्य र गुणस्तर हेरेर छनोट गर्ने अवसर पाइएला त ? अनि यी ब्यबसायमा रहेका सयौं उद्धमी ब्यवसायी संग सरकारले प्रतिस्पर्धा गर्न सक्छ त ? 

हामीले समयको मागअनुसार खुला बजार अर्थात उदारवादी अर्थब्यबस्थाको अंगालेका छौं । अर्थतन्त्र राज्य नियन्त्रित छैन । सरकारको भूमिका संकुचित हुँदै गएको छ । सरकारको मुख्य काम नियमन् हो । त्यसका अलावा सरकारले निजी क्षेत्रले नगर्ने, गर्न नसक्ने, गर्न नमिल्ने सेवाप्रवाह गर्ने हो ।वस्तु उत्पादन, आपूर्ति गर्ने काम सरकारको होइन । सरकारको काम प्रक्रियामुखी र महँगो हुनाले प्रतिस्पर्धी हुन सक्दैन । जसको कारण जनताले छनोटको अवसर प्राप्त गर्न सक्दैनन ।  वस्तु उत्पादन, आपूर्ति भूमिका त निजी क्षेत्रको हो । निजी क्षेत्र बृहद छ । उनीहरुले प्रतिस्पर्धात्मक मूल्यमा वस्तु उत्पादन, आपूर्ति गर्छन् । त्यसो हुँदा जनतालाई छनोटको अवसर हुन्छ ।चीन जस्तो कमुनिस्ट देशले समेत “समाजवादी बजार” अर्थब्यबस्था (जसलाई मिश्रित अर्थब्यबस्था भनिन्छ) अपनाएको छ भने हामी राज्य नियन्त्रित अर्थब्यबस्थामा फर्कने भन्ने कुरा हुँदैन  ।

अन्तमा,

मैले केही महिनाअघि रुसको अवस्थाको बारेमा एउटा भिडियो हेरेको थिएँ ।मस्कोका मानिसहरुले अर्थतन्त्र नाजुक भएको, रोजगारी नभएको र महंगी बढ्दै गरेको विषयमा गुनासो गरेका थिए । मेरो ध्यान चाहिं एउटा अधबैसेको कुराले तान्यो । उनी भन्दै थिए – “१९९० तिर रुसका युवाहरुमा बेग्लै किसिमको जोश थियो । देशको लागि केही गर्नुपर्छ, योगदान दिनुपर्छ, देश बनाउनुपर्छ भनेर युवाहरु भन्थे । अहिले युवाहरु त्यसो भन्दैनन् । उनीहरु भन्छन्- देशको बारेमा निर्णय लिने काम हाम्रो होइन, ठुला मान्छेहरुको हो ।अहिले युवाहरु निराश छन् । ”

त्यो निराशाले म चकित परें । देशमा नेतृत्वमा पुग्ने वा नेतृत्व चयन गर्ने अवसर भएन भने युवाहरुमा रुसको जस्तो निराशा व्याप्त हुन्छ । हुन त नेपालमा आवधिक निर्वाचन भइरहेकै छ । तरपनि रास्ट्रको नेतृत्व ३ नेताको पकडबाट बाहिर नगएकोले जनमानसमा र विशेषगरी युवाहरुमा निराशा बढ्दै गएको छ । नेतृत्व परिवर्तन भइदिएको भएको भए भोलि परिवर्तन हुन्छ भन्ने आशा गर्ने ठाउँ रहन्थ्यो । निराशा कम हुन्थ्यो । अहिलेजसरी इतिहासको पांग्रा पछाडी धकेल्न सकिन्छ कि भनेर बिभिन्न तत्वहरु सल्बलाउन सक्दैनथे। नेतृत्वको कारण चलायमान हुनुपर्ने हाम्रो सामाज स्थिर छ ।  यस्तोमा सोचौं न- कोही कहिल्यै निर्वाचित हुनु नपर्ने, जन्मसिद्ध राजगद्द्दी प्राप्त गर्ने गरी श्रेष्ठ भएर जन्मने बंशीय प्रणालीमा फर्क्यौं भने युवाको मानसिकता कस्तो होला ? निराशा घट्ला त ? बंशतन्त्रले कुनै गल्ती गर्दा के गर्ने होला ? हामीले रुसका युवाहरुझैँ निराश हुनुबाहेक कुनै बिकल्प रहनेछैन ।  

बिगतको राप-ताप बितिसकेको छ ।  हामीले भुलि पनि सकेका छौं । वर्तमान यथार्थ हो । वर्तमानले हामीलाई घोच्छ ।  त्यसैले बिगत नै पो सुन्दर थियो कि भन्ने भ्रम हामीमा रहनु स्वभाविकै हो । तर बाँच्नुपर्ने छ वर्तमानमा ।समाधान गर्नुपर्ने छ वर्तमानका समस्याहरु । यी समस्याहरुको समाधानको लागि हामी भरपर्दो नायकको खोजीमा छौं । यो राम्रो छ कि भनेर यता कुद्छौँ । त्यो राम्रो छ कि भनेर उता कुद्छौँ । यसमा गलत त केही छैन ।  तर पछाडी फर्किन खोज्नु भने बुद्धिमत्ता होइन । यो देश बनाउन कुनै चमत्कारिक व्यक्तित्व आउने होइन । यो देश तपाईंहामी जस्तै हाडछाला भएका, कमीकमजोरी सहितका मानिसले बनाउने हो । वर्तमानको बोझलाई बिगतले धान्न सक्दैन । वर्तमानको बोझलाई वर्तमानले धान्ने हो । त्यो बोझ बोक्न आजका युवाहरु तयार रहनुपर्दछ ।

यो देशको सर्वोच्च पदसम्म देशको कुनै पनि नागरिक पुग्न सक्ने सुन्दर प्रणाली हामीसंग छ । यो सामान्य संघर्षले प्राप्त भएको कुरा होइन । यो बिदेशीले थोपरिदिएको व्यवस्था पनि होइन । बैधानिक तरिकाले पुरानो ब्यबस्था फालेर बैधानिक तरिकाले नै नयाँ संविधान निर्माण भएको हो ।हामीले बुझ्नु जरुरी छ- हाम्रो संविधान सामान्य मसीले लेखिएको कागजको खोस्टो होइन, हजारौं नेपाल आमाका सन्तानको रगतले लेखिएको दस्तावेज हो । यो लचकदार छ । हेरफेर गर्न सकिने छ । अगाडी नै बढ्ने भए यो भन्दा अग्रगामी ब्यबस्थामा जाऔं ।  तर देशको अवस्था बदल्न ब्यबस्था मात्रै पर्याप्त होइन ।  व्यवस्था बदलेर मात्र अवस्था बदलिने पनि होइन ।  ब्यबस्थाको कार्यान्वन गरेर बदल्ने हो ।  त्यसमा नागरिकको पनि भूमिका हुन्छ । नागरिकको भूमिका बढाऔं । चेतनास्तर बढाऔं । आवधिक निर्वाचनको सही उपयोग गरौँ ।  यो कुरा नभुलौं- कुनै पनि समाजले आफ्नो चेतनास्तर अनुसारको नेतृत्वमात्र प्राप्त गर्न सक्दछ । चेतनास्तर बढेको दिन अवस्था फरक हुनेछ । 

Saturday, March 8, 2025

चाउमीन

विद्यार्थीहरूले खाजा खाने एउटा क्यान्टिनमा सधैँ चाउमिन मात्र पाउँदा विद्यार्थीहरू वाक्क भएका थिए। चाउमिन मात्रै भएकाेमा 80 जनाले क्यान्टिनमा गुनासाे पाेखे । हरेक दिन फरक फरक खाजा दिन तयार भयाे । तर 100 जना विद्यार्थी मध्ये 20 जनालाई भने चाउमिन धेरै मन पर्ने रहेछ। उनिहरु सधैँ चाउमिन पाएकाेमा खुशी हुन्थे। बाँकी 80 विद्यार्थी भने खाजामा परिवर्तन चाहन्थे। खाजाकाे विषयमा सधैँ विवाद हुन थाल्याे । विवाद बढेपछि खाजाको लागि चुनाव गर्ने निर्णय भयो । जुन खाजा धेरैले मन पराउछन त्यही पकाउने कुरा भयो । 


ती 20 विद्यार्थी जसलाई चाउमिन प्यारो थियो, उनीहरूले चाउमिनमै भाेट हाले । बाँकी रहेका 80 जनाले कुनै सरसल्लाहबिना आफ्नाे रुचिले अलग अलग खाजामा भाेट हाले। मत परिणाम यस्तो आयो 

*20 चाउमिन 

*18 समाेसा,

*17 राेटी पराठा,

*16 पुरी तरकारी 

*15  म:म:

*14 दही चिउरा


सबै भन्दा धेरै भोट चाउमिनमा परेकोले  त्यस क्यान्टिनमा आज पनि सधैँ चाउमिन मात्र बन्छ । चित्त नबुझे पनि बाकी 80 जना चाउमिन खान बाध्य छन । परिवर्तन हुनु पर्यो भनेर गुनासो गर्न पनि छोडेका छैनन ।#cpfromfacebook

Friday, August 16, 2024

रजत र कास्य पदक

के तपाईंले याद गर्नुभएको छ - खेलको अन्त्यमा *रजत* पदक विजेता भन्दा *कांस्य* पदक विजेता सामान्यतया *अधिक खुसी* हुन्छ।

यो कुनै अप्रत्यासित खोज होइन । रजत पदक विजेता तथा कांस्य पदक विजेताहरुको प्रतिक्रियाहरुको तुलनात्मक अध्ययन अनुसन्धानमा प्रमाणित एक तथ्य हो !

सामान्यतया, एक रजत पदक विजेता कांस्य भन्दा बढी खुशी हुनुपर्ने हो । तर, मानिसको दिमागले गणित जस्तो काम गर्दैन।

एउटा घटनालाई दिमागले यसरी सोच्ने प्रकृयालाई *प्रतिवास्तविक सोच* (counterfactual thinking) भन्न सकिन्छ ।

रजत पदक विजेताले सोच्छ, "ओहो, मैले स्वर्ण पदक जित्न सकिन।" कांस्य पदक विजेता सोच्छ, "कम्तीमा मैले पदक त पाएँ।"

रजत पदक हारेपछि जितिन्छ तर कास्य पदक जितेर जितिन्छ।

यस्तो घटना हाम्रो जीवनमा पनि हुन्छ । रजत पदक विजेता जस्तै हामीसँग भएको ‘रजत पदक’को हामी कदर गर्दैनौं तर हामीसँग नभएको ‘स्वर्ण पदक’को लागि दुःखी हुन्छौं । कास्यपदक विजेता जस्तै हामी हामीले प्राप्त गरेका  आशीर्वादहरूका लागि कृतज्ञ बनौं । तिनीहरू हामीले नपाएका, पाउन नसकेका र हाम्रा समस्याहरू भन्दा धेरै छन्।

जीवन विकल्पहरूले भरिपूर्ण छ। तपाईं के छनोट गर्नुहुन्छ भन्ने कुरा महत्वपुर्ण छ । सधैं सकारात्मक र उत्प्रेरित रहनको लागि आफूसॅग भएका, आफूले प्राप्त गरेका आशिर्वादहरु गणना गर्नुहोस् । तिनीहरु प्रति अनुग्रहित रहनुस् ।

Monday, August 12, 2024

तपाईं जे दिनुहुन्छ, त्यो फर्केर आउनेछ ।

एउटा राजा एक जोगीको झुपडीको छेउबाट जाँदै थिए । जोगी उत्साहित थियो। राजालाई देख्न लागेको कारणले होइन । किनभने राजा दयालु थिए र दया जाग्यो भने महँगो गरगहना र ठूलो रकम बाँड्ने उनको स्वभाव थियो।

जब उसले राजाको रथलाई देख्यो, राजाको जयजयकार गर्दै ऊ सडकमा दौडियो।

राजाले आफ्नो रथ रोक्न लगाए ।

"तिमी को हौ?" उनले सोधे।

जोगीले भन्यो, "तपाईको एउटा दुःखी प्रजा हुँ महाराज।"गरिबी मेरो ढोकामा बस्छ र कुकुरले जस्तै मलाई पछ्याउँछ। मैले हिजोदेखि केही खाएको छैन!"

"तिमीसँग आफ्नो राजाको लागि दिने दुःखको कथा बाहेक केही छैन?"  राजाले हात पसार्दै भने। "बरु मलाई केही कुरा देऊ।"

जोगी चकित पर्यो । “यत्रो साम्राज्यको शासकलाई दिने के कुरा हुन सक्छ एउटा जोगीसँग ?”

“हेर न, केही त होला तिमीसँग जो मलाई दिन सक्छौ?" राजाले भने ।

ऊ आफ्नो झोला हेरेर टोलाइरह्यो ।“म सँग के छ राजालाई दिन ?”

“तिमी तिम्रो झोलाको चामल मलाई देऊ ।” राजाले भने ।

“चामल दिने? मैले बिहानभर मिहेनतसाथ मागेको चामल कसरी दिने ?” जोगी असमञ्जस्यसमा पर्यो । 

चकित परेको जोगीले होसियारीसाथ आफ्नो झोलाबाट ५ दाना चामल निकालेर राजाको फैलिएको हत्केलामा राखिदियो ।

राजा त्यहाँबाट हिंडे । जोगी निराश भयो ।उसलाई ठूलो पीडा भयो । बिहानभर मागेको चामलमध्ये ५ दाना चामल लोभी राजाले लगे ।

अब उसलाई त्यहाँ बस्न मन लागेन । राजासँग लिन बसेको उसले उल्टो दिनुपर्यो ।

ऊ राजालाई मनमनै गाली गर्दै सराप्दै झुपडीतिर लाग्यो ।आजको दिन खराब भयो।

झुपडी फर्केर उसले भुइँमा झोला बिसायो।

उसले मागेर ल्याएको चामल नाङ्गलोमा खनायो ।आफ्नो आँखा अगाडीको दृष्य देखेर ऊ चकित पर्यो।

चामलको रासमा ५ टुक्रा सुन थिए ।उसले राजालाई दिएको चामलको प्रत्येक दानाको लागि  एक-एक टुक्रा सुन भेट्टाएको थियो।

"राजा लोभी भएको होइन रहेछन्, लोभी म भएको रहेछु ।" उसले दुःखी हुँदै सोच्यो। "यदि म उदार भएको भए, राजालाई पूरै झोला चामल दिने थिएॅ, र म आज धनीमान्छे हुने थिएँ।"

जीवनमा तपाईका सत्कर्महरु सुन भएर फिर्ता आउनेछन् । तपाईं जे अरुलाई दिनुहुन्छ, त्यो हजार पटक गुणान भएर तपाईंकहाँ फिर्ता आउनेछ ।

Monday, July 29, 2024

यसरी लुटिइरहेका छौं हामी

खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"

मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।

केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।

उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।

केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !

Monday, December 25, 2023

के हामी फरक फरक स्वरूपमा एउटै भगवानको प्राथना गरिरहेका छौं ?

कृष्ण र  क्राइस्टका सम्बन्धमा तलका तथ्यहरु बिचार गरौँ है त !

१. नाममा समानताहरू –' क्राइस्ट' र 'कृष्ण' –बीच  समान उच्चारण छ  । कृष्णको अर्थ "गाढा/कालो रङको" र ख्रीष्टको अर्थ "गाढा/जैतूनको तेलले ढाकिएको" हुन्छ ।

२. दुवैलाई मुक्तिदाता भनियो र दुवै त्रिमुर्ति (ट्रिनिटी) को दोस्रो व्यक्तित्व थिए ।

३. हिन्दूहरूका अनुसार कृष्ण भगवान विष्णुको ८ औं अवतार हुन् – रक्षक/पालनहार हुन्  र हिन्दू देवताहरूको त्रिमूर्ति ब्रम्हा, बिष्णु र महेश मध्ये दोस्रो व्यक्तित्व हुन्  । अधिकांश इसाईहरूले विश्वास गर्छन् कि ख्रीष्ट (येशू) परमेश्वरको पुत्र हुन् , ट्रिनिटीको Father, Son & Holy Spirit  मध्ये दोस्रो व्यक्तित्व हुन् ।

४. दुवै पृथ्वीमा मानिसको रूपमा अवतरण भएका थिए । दुवैलाई मानव र ईश्वरीय दुवै रुपमा मानिन्छ ।

५. दुवै अलौकिक रुपमा जन्मेका थिए । विष्णु स्वयं देवकीको गर्भमा अवतरण भई उनको छोरा कृष्णको रूपमा जन्मेको मानिन्छ  । (Holy Spirit) पवित्र आत्मा मरियमको गर्भावस्थाको लागि जिम्मेवार थिए ।

६. दुबै असामान्य स्थानमा जन्मेका थिए । कृष्णको जन्म जेलको कोठरीमा भएको थियो । ख्रीष्टको जन्म गुफामा भएको थियो, यद्यपि कोहीले गोठको डुँडीमा जन्मेको मान्दछन् ।

७. दुबैको जन्म हुँदा रात थियो र मानिसहरु निन्द्राको अवस्थामा थिए ।

८. उनीहरुको जन्म पछि उनीहरुको जन्मस्थल प्रकाशले उज्यालो भएको थियो  ।

९. कृष्ण जन्मदा आकाशवाणी भएको थियो । क्राइस्ट जन्मदा देवदूतले चेतावनी जारी गरेका थिए ।

१०. ख्रीष्ट र कृष्ण दुवै युवा हुँदा स्थानीय शासकको डर, त्रास र धम्की खेप्नु परेको थियो । कंसले कृष्णलाई मार्न चाहेका थिए । यसका लागि उनले राक्षसहरू पठाएका थिए  । येशू ख्रीष्टको पनि यस्तै कथा छ जसमा दुष्ट राजा हेरोदले ख्रीष्टलाई मार्न शाही आदेश जारी गरेका थिए  ।

११. भगवानको मृत्यु सुनिश्चित गर्न दुबै कथाहरुमा निर्दोष केटाकेटीहरूलाई मारिएको थियो । आफुलाई “मार्नेवाला बच्चा”को मृत्यु सुनिश्चित गर्न कंसले देवकीका सबै सन्तानहरूलाई मारेको थियो । यही कथा बाइबलमा म्याथ्यूमा निर्दोषहरूको नरसंहारको कथाको रूपमा पनि देखिन्छ जहाँ राजा हेरोदले बेथलेहेमका सबै साना केटाकेटीहरूलाई येशूको मृत्यु सुनिश्चित गर्न मार्न आदेश दिएका थिए ।

१२. तिनीहरूका आमाबाबु बसेका ठाउँहरूको नाममा समानता थियो । कृष्णका आमाबुवा देवकी र वासुदेव “मथुरा” राज्यका थिए । मरियम र यूसुफ “मुटुरिया”मा बस्थे ।

१३. कृष्ण र येशू ख्रीष्ट दुबै शाही वंशका थिए तर उनीहरूले बाल्यकाल एक साधारण केटाको रूपमा बिताए ।  कृष्ण गोठालो थिए  । ख्रीष्टलाई प्रायःभेडागोठालोको रूपमा चित्रण गरिएको छ ।

१४. दुबै शासकबाट लुकेर अन्तै हुर्किएका थिए - भगवान कृष्ण कंसबाट लुकेर गोकुल/वृन्दावनमा हुर्केका थिए, जबकि येशू हेरोदबाट लुकेर इजिप्टमा हुर्केका थिए ।

१५. तिनीहरूका पालनपोषण गर्ने आमाबाबुले कर तिर्न जानुपर्थ्यो – कृष्णका पालनपोषण  गर्ने बुबा नन्दले कर तिर्न मथुरा जानुपर्थ्यो , जसरी येशूको पालनपोषण गर्ने पिता जोसेफले कर तिर्न बेथलेहेम गएको कुरा लुकको सुसमाचारमा रेकर्ड गरिएको छ ।

१६. कृष्ण चंचल र चकचके केटा थिए । येशूले मन्दिर जान आफ्नो आमाबाबुलाई छोडेका थिए  ।

१७. पहाडसंगको सन्धर्भ  - कृष्णले गोबर्धन पर्वतलाई उठाएको बताइन्छ । येशुले भनेका थिए : "यदि तिमीमा रायोको दाना जस्तै विश्वास भएको भए तिमीले पहाडलाई आफैलाई उखेल्न र समुन्द्रमा फ्याँकिदिनको लागि भन्ने थियौ "।

१८. विशाल सर्पसंगको सन्धर्भ-

एक दिन नदीको छेउमा खेल्दै गर्दा बच्चाहरूले यमुना नदीमा विष मिसिएको देखे, त्यसैले विष हाल्ने कालिया नागलाई मार्न कृष्ण नदीमा पसे । उनले कालिया नागको टाउकोमा नाच्दै उसलाई नदी छोडेर जान आदेश दिए र नदीलाई फेरि सफा बनाए ।

यो कथा जस्तै, यहोवाले “लेविथान”लाई मारेका थिए । (यहोवाले “लेविथान”लाई सर्प भनेका छन् जसको धेरै टाउको छ, जुन एक समुद्री प्राणी हो र जो एक घिनलाग्दो शैतानको प्रत्यक्ष नेतृत्वमा थियो ) । येशू शुद्धीकरणको लागि नदीमा जानुहुनेछ । “त्यस दिन परमप्रभुले आफ्नो भयंकर तरवारले समुद्री राक्षसलाई दण्ड दिनुहुनेछ । र समुद्रमा भएको राक्षसलाई मार्नुहुनेछ । ” यशैया 27:1

१९. दुबैले रोग निको पार्ने लगायत धेरै चमत्कारहरू गरे ।

२०. दुवैलाई सर्वज्ञ (सर्व-ज्ञानी), सर्वशक्तिमान, र सर्वव्यापी (सदाबहार) मानिएको छ ।

२१. कृष्ण र येशूको मिशन एउटै थियो - मानवताको मुक्ति ।

२२. Sermon of the Mount (पर्वतमा उपदेश) र डिसेम्बर महिना –

डिसेम्बर २५ लाई “क्रिसमस”को रूपमा मनाइन्छ । भगवान कृष्णले कुरुक्षेत्रमा भगवद-गीताको उपदेश दिएको समयका रुपमा  डिसेम्बर २३ मा “गीता जयन्ती” उत्सव मनाइन्छ । ख्रीष्टको "पर्वतमा उपदेश" र कृष्ण रथमा सवार भई अर्जुनलाई दिइएको कृष्णको गीतोपदेश मिल्दोजुल्दो छ  । भगवद-गीता एक उपदेश हो, जुन ५००० वर्ष पहिले दिइएको थियो, जसले सबै मानिसहरूलाई अपरिहार्य आध्यात्मिक मार्गदर्शन प्रदान गर्दछ  ।  ख्रीष्टको उपदेशको बारेमा पनि सोही कुरा भनिन्छ, जुन जैतूनको पहाडमा भएको मानिन्छ ।

२३. शिक्षामा समानता -

•हामीले भगवद-गीतामा यो सिक्छौं कि कृष्णप्रति पूर्ण भक्तिले मानिसलाई अनन्त जीवन प्राप्त हुन्छ र मृत्यु कहिल्यै थाहा हुँदैन । नयाँ नियममा हामी ख्रीष्ट नै एक मात्र बाटो हुनुहुन्छ भनेर सिक्छौं । "ख्रीष्टमा विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् ।"

• भगवद्-गीता (७.६-७) मा कृष्णले भन्नुहुन्छ, "सम्पूर्ण ब्रह्माण्डको कारण म नै हुँ, मद्वारा नै यो सृष्टि र विघटन हुन्छ, सबै चीजहरू ममा निर्भर छन् जसरी मोतीहरू धागोमा बाँधिएका हुन्छन् ।" येशूले भन्नुभयो, "उहाँबाट र उहाँद्वारा, र उहाँमा, सबै चीजहरू छन् । सबै चीजहरू उहाँद्वारा बनाइएका थिए; र उहाँ बिना बनाइएको कुनै पनि चीज थिएन। (यूहन्ना १:३)

• कृष्णले भनेका थिए (भ. ४.७), "धर्मको स्थापनाको लागि म समय-समयमा जन्मन्छु ।" यसलाई यूहन्ना १८:३७ मा येशूसँग तुलना गर्न सकिन्छ , जहाँ उहाँले भन्नुहुन्छ, "तिमी भन्छौ कि म राजा हुँ  । यस उद्देश्यका लागि म जन्मेको थिएँ, र यसै कारणले म संसारमा आएको हुँ, कि म सत्यको साक्षी बन्न सकूँ । सत्यमा रहने प्रत्येकले मेरो आवाज सुन्छ ।”

२४. धारिलो हतियारको चोटले दुवैको मृत्यु भयो । कृष्ण वाणले र ख्रीष्ट किल्ला-काँटीको चोटले मरेका थिए  । कृष्णले यो पृथ्वी  त्याग गर्दा उनको खुट्टालाई बाणले छेडेको थियो भने येशुको पाखुरा भालाले छेडिएको थियो ।

२५. शास्त्रहरूमा दुवैले फेरि अवतार लिएको भनिएको छ ।

त्यहाँ ख्रीष्टको दोस्रो आगमनलाई संकेत गर्ने धेरै अशुभ संकेतहरूको वर्णन छ । कृष्णको अर्को अवतार कल्किको रूपमा हुने कुरा वेदहरूमा प्रकट गरिएको छ जसमा कलिको भयानक युग (जुनबाट हामी गुज्रिरहेका छौं )को अझ धेरै भयानक लक्षणहरू छन् जसले कृष्ण (भगवान विष्णुको) को आगमन अघिको समयलाई संकेत गर्दछ  ।

उपसंहार: हामी फरक फरक स्वरूपमा एउटै भगवानको प्राथना गर्छौं ।

इन्टरनेटमा उपलब्ध विभिन्न स्रोतहरु बाट यस ब्लगरद्वारा अनुवादित ।

क्राइस्ट र कृष्ण जस्तै "पैगम्बर मोहम्मद" को कथाहरुमा पनि धेरै समानता छ । त्यी के के हुन् ? त्यो तपाईं पत्ता लगाउनुस है त !