एउटा राजा एक जोगीको झुपडीको छेउबाट जाँदै थिए । जोगी उत्साहित थियो। राजालाई देख्न लागेको कारणले होइन । किनभने राजा दयालु थिए र दया जाग्यो भने महँगो गरगहना र ठूलो रकम बाँड्ने उनको स्वभाव थियो।
जब उसले राजाको रथलाई देख्यो, राजाको जयजयकार गर्दै ऊ सडकमा दौडियो।
राजाले आफ्नो रथ रोक्न लगाए ।
"तिमी को हौ?" उनले सोधे।
जोगीले भन्यो, "तपाईको एउटा दुःखी प्रजा हुँ महाराज।"गरिबी मेरो ढोकामा बस्छ र कुकुरले जस्तै मलाई पछ्याउँछ। मैले हिजोदेखि केही खाएको छैन!"
"तिमीसँग आफ्नो राजाको लागि दिने दुःखको कथा बाहेक केही छैन?" राजाले हात पसार्दै भने। "बरु मलाई केही कुरा देऊ।"
जोगी चकित पर्यो । “यत्रो साम्राज्यको शासकलाई दिने के कुरा हुन सक्छ एउटा जोगीसँग ?”
“हेर न, केही त होला तिमीसँग जो मलाई दिन सक्छौ?" राजाले भने ।
ऊ आफ्नो झोला हेरेर टोलाइरह्यो ।“म सँग के छ राजालाई दिन ?”
“तिमी तिम्रो झोलाको चामल मलाई देऊ ।” राजाले भने ।
“चामल दिने? मैले बिहानभर मिहेनतसाथ मागेको चामल कसरी दिने ?” जोगी असमञ्जस्यसमा पर्यो ।
चकित परेको जोगीले होसियारीसाथ आफ्नो झोलाबाट ५ दाना चामल निकालेर राजाको फैलिएको हत्केलामा राखिदियो ।
राजा त्यहाँबाट हिंडे । जोगी निराश भयो ।उसलाई ठूलो पीडा भयो । बिहानभर मागेको चामलमध्ये ५ दाना चामल लोभी राजाले लगे ।
अब उसलाई त्यहाँ बस्न मन लागेन । राजासँग लिन बसेको उसले उल्टो दिनुपर्यो ।
ऊ राजालाई मनमनै गाली गर्दै सराप्दै झुपडीतिर लाग्यो ।आजको दिन खराब भयो।
झुपडी फर्केर उसले भुइँमा झोला बिसायो।
उसले मागेर ल्याएको चामल नाङ्गलोमा खनायो ।आफ्नो आँखा अगाडीको दृष्य देखेर ऊ चकित पर्यो।
चामलको रासमा ५ टुक्रा सुन थिए ।उसले राजालाई दिएको चामलको प्रत्येक दानाको लागि एक-एक टुक्रा सुन भेट्टाएको थियो।
"राजा लोभी भएको होइन रहेछन्, लोभी म भएको रहेछु ।" उसले दुःखी हुँदै सोच्यो। "यदि म उदार भएको भए, राजालाई पूरै झोला चामल दिने थिएॅ, र म आज धनीमान्छे हुने थिएँ।"
जीवनमा तपाईका सत्कर्महरु सुन भएर फिर्ता आउनेछन् । तपाईं जे अरुलाई दिनुहुन्छ, त्यो हजार पटक गुणान भएर तपाईंकहाँ फिर्ता आउनेछ ।
No comments:
Post a Comment
Your comments will be highly appreciated.