Friday, August 16, 2024

रजत र कास्य पदक

के तपाईंले याद गर्नुभएको छ - खेलको अन्त्यमा *रजत* पदक विजेता भन्दा *कांस्य* पदक विजेता सामान्यतया *अधिक खुसी* हुन्छ।

यो कुनै अप्रत्यासित खोज होइन । रजत पदक विजेता तथा कांस्य पदक विजेताहरुको प्रतिक्रियाहरुको तुलनात्मक अध्ययन अनुसन्धानमा प्रमाणित एक तथ्य हो !

सामान्यतया, एक रजत पदक विजेता कांस्य भन्दा बढी खुशी हुनुपर्ने हो । तर, मानिसको दिमागले गणित जस्तो काम गर्दैन।

एउटा घटनालाई दिमागले यसरी सोच्ने प्रकृयालाई *प्रतिवास्तविक सोच* (counterfactual thinking) भन्न सकिन्छ ।

रजत पदक विजेताले सोच्छ, "ओहो, मैले स्वर्ण पदक जित्न सकिन।" कांस्य पदक विजेता सोच्छ, "कम्तीमा मैले पदक त पाएँ।"

रजत पदक हारेपछि जितिन्छ तर कास्य पदक जितेर जितिन्छ।

यस्तो घटना हाम्रो जीवनमा पनि हुन्छ । रजत पदक विजेता जस्तै हामीसँग भएको ‘रजत पदक’को हामी कदर गर्दैनौं तर हामीसँग नभएको ‘स्वर्ण पदक’को लागि दुःखी हुन्छौं । कास्यपदक विजेता जस्तै हामी हामीले प्राप्त गरेका  आशीर्वादहरूका लागि कृतज्ञ बनौं । तिनीहरू हामीले नपाएका, पाउन नसकेका र हाम्रा समस्याहरू भन्दा धेरै छन्।

जीवन विकल्पहरूले भरिपूर्ण छ। तपाईं के छनोट गर्नुहुन्छ भन्ने कुरा महत्वपुर्ण छ । सधैं सकारात्मक र उत्प्रेरित रहनको लागि आफूसॅग भएका, आफूले प्राप्त गरेका आशिर्वादहरु गणना गर्नुहोस् । तिनीहरु प्रति अनुग्रहित रहनुस् ।

Monday, August 12, 2024

तपाईं जे दिनुहुन्छ, त्यो फर्केर आउनेछ ।

एउटा राजा एक जोगीको झुपडीको छेउबाट जाँदै थिए । जोगी उत्साहित थियो। राजालाई देख्न लागेको कारणले होइन । किनभने राजा दयालु थिए र दया जाग्यो भने महँगो गरगहना र ठूलो रकम बाँड्ने उनको स्वभाव थियो।

जब उसले राजाको रथलाई देख्यो, राजाको जयजयकार गर्दै ऊ सडकमा दौडियो।

राजाले आफ्नो रथ रोक्न लगाए ।

"तिमी को हौ?" उनले सोधे।

जोगीले भन्यो, "तपाईको एउटा दुःखी प्रजा हुँ महाराज।"गरिबी मेरो ढोकामा बस्छ र कुकुरले जस्तै मलाई पछ्याउँछ। मैले हिजोदेखि केही खाएको छैन!"

"तिमीसँग आफ्नो राजाको लागि दिने दुःखको कथा बाहेक केही छैन?"  राजाले हात पसार्दै भने। "बरु मलाई केही कुरा देऊ।"

जोगी चकित पर्यो । “यत्रो साम्राज्यको शासकलाई दिने के कुरा हुन सक्छ एउटा जोगीसँग ?”

“हेर न, केही त होला तिमीसँग जो मलाई दिन सक्छौ?" राजाले भने ।

ऊ आफ्नो झोला हेरेर टोलाइरह्यो ।“म सँग के छ राजालाई दिन ?”

“तिमी तिम्रो झोलाको चामल मलाई देऊ ।” राजाले भने ।

“चामल दिने? मैले बिहानभर मिहेनतसाथ मागेको चामल कसरी दिने ?” जोगी असमञ्जस्यसमा पर्यो । 

चकित परेको जोगीले होसियारीसाथ आफ्नो झोलाबाट ५ दाना चामल निकालेर राजाको फैलिएको हत्केलामा राखिदियो ।

राजा त्यहाँबाट हिंडे । जोगी निराश भयो ।उसलाई ठूलो पीडा भयो । बिहानभर मागेको चामलमध्ये ५ दाना चामल लोभी राजाले लगे ।

अब उसलाई त्यहाँ बस्न मन लागेन । राजासँग लिन बसेको उसले उल्टो दिनुपर्यो ।

ऊ राजालाई मनमनै गाली गर्दै सराप्दै झुपडीतिर लाग्यो ।आजको दिन खराब भयो।

झुपडी फर्केर उसले भुइँमा झोला बिसायो।

उसले मागेर ल्याएको चामल नाङ्गलोमा खनायो ।आफ्नो आँखा अगाडीको दृष्य देखेर ऊ चकित पर्यो।

चामलको रासमा ५ टुक्रा सुन थिए ।उसले राजालाई दिएको चामलको प्रत्येक दानाको लागि  एक-एक टुक्रा सुन भेट्टाएको थियो।

"राजा लोभी भएको होइन रहेछन्, लोभी म भएको रहेछु ।" उसले दुःखी हुँदै सोच्यो। "यदि म उदार भएको भए, राजालाई पूरै झोला चामल दिने थिएॅ, र म आज धनीमान्छे हुने थिएँ।"

जीवनमा तपाईका सत्कर्महरु सुन भएर फिर्ता आउनेछन् । तपाईं जे अरुलाई दिनुहुन्छ, त्यो हजार पटक गुणान भएर तपाईंकहाँ फिर्ता आउनेछ ।

Monday, July 29, 2024

यसरी लुटिइरहेका छौं हामी

खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"

मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे । अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ ।

केही दिन पछि मैले त्याे चाेरलाई बजारमा भेटेँ । चाेर मलाई अँगालाे हालेर रुँदै भन्याे - हजुर ! मलाई माफ गर्नुस् ! हजुरकाे पैसा चाेरेकाे बेलुका नै मेरी श्रीमती र छाेरी एकाएक मरे । सायद मेैले चाेरी गरेकाे पापले हाे कि ? माफ गर्नुस् हजुर ! याे अभागीलाई माफ गर्नुहाेस् ।

उसकाे कुरा सुनेर म पग्लिएँ । हृदय ठूलाे बनाएर माफी दिएँ । चाेर गयाे तर अँगालाे हालेर रुँदै माफी माग्ने बेला मेराे कमिजकाे खल्तीबाट फेरी पनि सबै पैसा चाेरेर लगेछ ।

केही दिनपछि म कामविशेषले माेटरसाइकलमा कतै जाँदै थिएँ, बाटाेमा त्यही चाेरले मलाई राेक्याे । चाेरले फेरी पनि रूँदै माफी माग्याे अनि चाेरेकाे सबै पैसा फिर्ता पनि गरिदियाे । त्यसपछि त्याे चाेरले मलाई नजिकैको हाेटलमा लग्याे, मलाई चिया नास्ताकाे व्यवस्था गरिदियाे अनि विदा माग्याे र निस्कियाे । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गाेजीमा चाबी थियाे न त राेकेकाे ठाउँमा माेटरसाइकल । चाेरले यसपटक त मेराे माेटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चाेरकाे हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । साेझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !